मंगलबार , भाद्र ३१, २०८२

लुकेको इतिहास, पुरातात्विक सुरुङ कुलो

image

पर्यटन भनेको मनोरञ्जनका लागि गरिने यात्रा मात्र होइन । पर्यटनको क्षेत्रमा धेरै पर्यटकहरुको रुचि लुकेका इतिहासको अध्ययन अवलोकन गर्ने पनि हुन्छ । पाल्पा तानसेनको ऐतिहासिक सम्पदामा इतिहास लुकेको छ । इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि लुुकेका इतिहास रोचक बन्दछन् । इतिहास हेर्ने कुरा मात्र होइन अनुभव गर्ने कुरा पनि हो । पर्यटनको क्षेत्रमा इतिहास पुरानो हुँदैन । पर्यटनको यात्रामा लुकेको इतिहासले गहिरो ज्ञान र थप जिज्ञासा दिलाउँछ । वास्तवमा शिलालेख इतिहासका स्रोतहरु हुन् । इतिहास निरन्तर खोज र अनुसन्धानको विषय हो । शिलालेख भएन भने इतिहास लुक्न जान्छ । इतिहास लुक्न गयो भने तथ्य कुरा सबै सामु आउँदैन ।

तानसेन पुगेपछि धेरै पर्यटकहरुको रोजाइ श्रीनगर, भैरवस्थान, रानी दरवार, पाल्पा दरवार अर्थात् संग्रहालय, भगवतीको मन्दिर, शितलपाटीको ऐतिहासिक गेट, नारायणस्थान र टुँडिखेलमा धेरै पर्यटकहरु पुग्छन् । तानसेनका जे जति पर्यटनका लागि पूर्वाधार निर्माण भएका छन् ती सबैको इतिहास विभिन्न कालखण्डमा भएका हुन् । इतिहासमा रुचि भएका पर्यटकहरुलाई तानसेनका विभिन्न पुरातात्विक सम्पदाको अध्ययन गर्न इतिहास पढ्नैपर्दछ । इतिहासको कुनै कालखण्डमा पाल्पा राज्य एक चौबिसे राज्य थियो । त्यो बेला चौबिसे राज्यहरुमा पाल्पालाई सबैभन्दा शक्तिशाली मानिन्थ्यो । प्राचीनकालमा पाल्पा राज्यको स्थापना हुनु भन्दा पहिले पाल्पा क्षेत्रमा स–साना थुम राज्यहरु थिए । थुम राज्यहरुमा मगर मुखियाहरुले शासन गरेको इतिहास छ । त्यो समयमा सेन वंशका शासकहरुले पाल्पा क्षेत्र आफ्नो अधिनमा पारेर तीन शताब्दीसम्म शासन गरेका थिए । पाल्पा राज्यको स्थापना बि.सं. १५५० मा रुद्र सेनले गरेका हुन् । बि.सं. १५५०–१८६१ सम्म पाल्पामा सेनवंशका बाह्रजना राजाहरुले शासन गरेका थिए ।

तानसेन जाँदा पर्यटकहरुले प्याकेज कार्यक्रम बनाउन सके छोटो समयमा धेरै ठाउँको अध्ययन अवलोकन गर्न सक्छन् । आजभोलि कालिगण्डकी करिडोरले रानीघाट–रिडीसमेत जोडिदिएको छ । तानसेन–रानीमहल–रिडी र भैरवस्थानको भूगोल रिङरोड जस्तै भएको छ । तानसेन जाँदा पर्यटकहरुले लुकेको इतिहास खोज्छन् । तानसेनमा जोर्ते–अर्गली र छेर्लुङको सुरुङ मार्गको राजकुलो मात्र नभएर चन्डिभञ्ज्याङको खानेपानी पुरातात्विक ऐतिहासिक सम्पदा हो । पर्यटकहरु लुकेको इतिहास अध्ययन अवलोकन गर्न सुरुङबाट निर्मित राजकुलो हेर्न पुग्छन् ।

तानसेनको जोर्ते–अर्गली राजकुलो अर्थात् सुरुङ कुलोको ऐतिहासिक पृष्ठभूमि अत्यन्त रोचक छ । विक्रम सम्वत १५७५ देखि १६१० सम्म पाल्पामा मणिमुकुन्द सेनले शासन गरेका थिए । त्यस बेला पाल्पा राज्यको राजधानी भैरवस्थानमा थियो । राजा मणिमुकुन्द सेनले कालीगण्डकी नदीमा स्नान गर्दा ऋषिकेशको शिला  निधारमा ठोकिन पुग्यो । त्यसै दिन राति सपनामा स्नान गर्दा ठोकिएको शिला मेरो हो, म विष्णु भगवान हो, मलाई कालीगण्डकी आसपासमै मन्दिर बनाएर राख र सेवा गर भनेपछि मणिमुकुन्द सेनले भेटिएको शिलालाई कालिगण्डकी र रिडी खोलाको संगम स्थानमा ऋषिकेश मन्दिर निर्माण गरेका थिए । ऋषिकेशको मन्दिर निर्माण गरेपछि पूजाआजाको लागि अक्षता आवश्यक भयो । अर्गलीमा त्यस समयमा सबै पाखो जमिन रहेछ । मणिमुकुन्द सेनकै निर्देशनमा धान उत्पादन गर्न र ऋषिकेशको मन्दिरमा अक्षता बनाउनका लागि जोर्ते खोलाको कुलुङबाट अर्गलीसम्म तीन किलोमिटर दूरीको कुलो निर्माण भएको हो ।

जोर्ते–अर्गलीमा निर्माण भएको राजकुलोको करिव १ किलोमिटर लम्बाईमा सुरुङ निर्माण भएको छ । जुन कुलो राजकुलो र जेठी कुलोको नामबाट प्रचलित छ । राजकुलो निर्माण गर्दा चट्टानको भाग १४ स्थानमा छुट्याएर सुरुङ निर्माण भएको छ भने सुरुङ निर्माणमा निस्कने माटो र चट्टानका टुक्रा बाहिर फाल्न ११४ स्थानमा प्वाल समेत राखिएको छ । चट्टानको भिरबाट सुरुङ निर्माण गरिएको राजकुलो हेर्न आजभोलि जोर्ते खोलाको कुलुङमा खोजअनुसन्धान गर्न पर्यटकहरु पुग्ने गर्दछन् । जोर्ते–अर्गलीको सुरुङ कुलो निर्माण गर्न भिर पहरामा टनेल खन्ने काममा बिशेष दक्ष सीप भएका आग्री जातिलाई लगाइएको थियो । आग्री जातिहरु परम्परागत सुरुङ खन्नमा सीप भएका श्रमिकहरु हुन् । आग्री जातिले स्थानीय कालीगढले उत्पादन गरेका छिनो, कोदाला र गल जस्ता औजारबाट खनिएको अर्गलीको सुरुङ कुलो आज भन्दा करिव ५०० वर्ष अगाडि खनिएको थियो । पाँच सय वर्षअघि यस्ता प्रविधिका संरचना नेपालमा बाहेक अन्यत्र निर्माण भएका थिएनन् । कुलो निर्माण गर्न मणिमुकुन्द सेनको निर्देशन भए पनि सुरुङ कुलो निर्माण गर्न कति समय लाग्यो ? यो निर्माण गर्न कस्ता किसिमका औजारहरु प्रयोग भएको थियो । निर्माण गर्दा मानवीय क्षति भयो भएन ? सुरुङ कुलाको डिजाइन अर्थात नक्सा त्यो समयमा कसले बनायो ? यस्ता कुराहरु खोज अनुसन्धान गर्न जरुरी छ ।

त्यतिबेला निर्माण गरिएको एउटा कुलोको पानीले अर्गली फाँटको सिंचाई सम्भव नभएपछि स्थानीय वासिन्दाहरुले पछि माइली, साइँली र कान्छी कुलोको निर्माण गरेका थिए । तर पनि सबै कुलोहरुको पानी वितरण प्रणाली एउटै छ । अर्गलीमा रहेका कुलोहरुका कारणले बाह्रै महिना सिंचाईका कारण किसानहरुले राम्रो उत्पादन लिदै आएका छन् । अर्गली फाँटमा सिंचाईका लागि जेठी, माइली, साइली र कान्छी नामका चारवटा कुलाले अर्गली क्षेत्रको दुई सय १५ हेक्टर क्षेत्रफलमा सिंचाई गरिन्छ । यी सबै कुलाहरुमा जमिनको क्षेत्रफलको आधारमा समानरुपले पानी वितरण गर्ने वैज्ञानिक साँचो रहेको छ । यही साँचोले गर्दा नै पानी वितरणमा कहिल्यै कसैलाई बढी र कसैलाई कम हुँदैन । जमिनको क्षेत्रफलको आधारमा बढी जमिन हुनेका लागि बढी र कम जमिन हुनेका लागि कम पानी लोकतान्त्रिक पद्धतिमार्फत् वितरण हुँदै आएको छ ।

पर्यटनका लागि जोर्ते–अर्गलीको सुरुङ कुलो मात्र होइन तानसेन नगरपालिका–११ मा रहेको खानेपानीको लागि निर्माण भएको चन्डीभञ्ज्याङ सुरुङमा पनि पर्यटकहरु पुग्ने गर्दछन् । ऐतिहासिक चन्डीभञ्ज्याङ सुरुङ करिब दुई सय पचास मिटर लामो छ । बद्रिनरसिंहले तानसेनमा खानेपानीको लागि रानीवनको पानी वितरण गर्न चन्डीभञ्ज्याङमा सुरुङको योजना बनाएका थिए । त्यसपछि तैनाथवाला प्रताप शमशेरको पालामा चन्डीभञ्ज्याङमा सुरुङ बनाइ श्रीनगरको उत्तरबाट खानेपानीको पाइप भुसलडाँडा नजिक गोर्खेकोटमा पु¥याएर तानसेनमा पानी ल्याइएको थियो । सुरुङसम्म पुग्नको लागि आजभोलि मोटरमार्ग समेत निर्माण भएको छ । छेर्लुङ शब्द मगर भाषा अर्थात जातिको हो । छेर्लुङ शब्दको अर्थ पानी निस्कने ढुंङ्गाबाट बनेको ठाउँ वा मूल भएको पहाड भन्ने हुन्छ । आग्री जातिहरुद्वारा चट्टान काटेर बनाइएको छेर्लुङको सुरुङ कुलो निर्माण गर्दा चार ठाउँमा प्वाल छाडिएको छ । बिस.१९९० र १९९५ मा रुद्र शमसेरको पालामा निर्माण भएका सुरुङ कुलाले छेर्लुङ र अर्तुङ्गासम्म सिंचाई हुन्छ । छेर्लुङको कुलो हेर्न र यसको सञ्चालन प्रक्रिया बुझन पर्यटकहरु पुग्ने गर्दछन् । छेर्लुङको सुरुङ सिंचाई कुलो ऐतिहासिक सिंचाई प्रणाली हो ।

छेर्लुङको कुलो हेर्न जाँदा पर्यटकहरु रानीमहल पुगेन भने यात्रानै अधुरो बन्छ । पाल्पा र स्याङ्जा जिल्लाको सीमामा रहेको कालीगण्डकी किनारको रानीमहल तानसेनबाट १३ किलोमिटर दूरीमा पर्दछ । वि.स.१८९२ मा रानी तेजकुमारीको अचानक मृत्युपछि खड्गशमशेरले दरबार निर्माण गरेका हुन् । दरबार निर्माण गर्न भारत तथा विदेशबाट दक्ष कालिगड ल्याइएको थियो । विशेष वास्तुकलाको प्रयोग गरी निर्माण गरिएकोले रानी महल अहिले पर्यटकहरु पुग्ने गर्दछन् । रानीको सम्झनामा बनाइएकाले रानीमहललाई प्रेमको प्रतीकका रुपमा लिइन्छ । शुरुमा यो महलको नाम तेजमहल राखिएको थियो । पछि यसलाई रानीमहल भन्न थालिएको हो । अहिले रानीमहललाई नेपालको ताजमहल भन्ने गरिन्छ । महलको छेउबाट कालीगण्डकी बगेको छ । रानी महलमा कालीगण्डकी उत्तरतर्फ बगेको छ । रानीमहलमा प्रेम दिवसको अवसरमा नेपालका धेरै जिल्लाका युवायुवतीहरु पुग्ने गर्दछन् । रानीदरवारको भित्तामा आफ्नो नाम लेखियो भने आफ्नो प्रेम अमर रहन्छ भन्ने विश्वासले प्रेममा भुलेका जोडीहरुले भित्तामा नाम लेख्ने गर्दछन् ।

रानीमहलदेखि आफ्नो यात्राको समय लम्ब्याउने पर्यटकहरु कालीगण्डकी करिड ोरबाट अर्गली हुँदै रिडी पनि पुग्न सकिन्छ । कालीगण्डकी र रिडी खोलाको दोभान नै रिडी अर्थात् रुरु क्षेत्र भनिन्छ । रिडी अथवा रुरु क्षेत्रको महिमा हिमवतखण्ड र बराह पुराणमा पाइन्छ । विष्णुको स्वरुप शालिग्राम पाइने हुनाले रुरु क्षेत्रको विशेष महत्व रहेको छ । रिडीमा भएका सबै मन्दिरमध्ये ऋषिकेशको मूर्ति सबैभन्दा महत्वपूर्ण मानिन्छ । ऋषिकेशको मन्दिरलाई वि.सं.१८१९ सालमा रणदत्त पाण्डेले पुनर्निर्माण गराएका हुन् । त्यहाँ राधाकृष्ण, विष्णु, राम, हनुमानलगायतका थुपै्र देवीदेवताका मूर्ति र मन्दिरहरु समेत छन् । रिडी क्षेत्रका बारेमा प्रचलित किंवदन्ती अनुसार, विष्णुले वृन्दाको सतित्व नष्ट गरेकाले स्वर्गमा तारकासुरको मृत्यु भएको थियो । त्यसबाट दुःखित भएकी वृन्दाले विष्णुलाई पत्थर भएर बस्नुपर्ने श्राप दिएपछि विष्णु शालिग्रामका रुपमा रुरुमा बसेका हुन् । त्यसैगरी देवदत्त ऋषिको तपस्याबाट डराएर इन्द्रले पठाएकी अप्सराको गर्भबाट जन्मेकी रुरु कन्याको कथा पनि यस क्षेत्रसँग जोडिएको छ । रुरुकन्याको मूर्ति ऋषिकेशको मूर्तिको सामुन्ने स्थापित छ ।

रुरु क्षेत्रमा कालीगण्डकीमा स्नान गर्ने र ऋषिकेश मन्दिर, देवदत्त ऋषि तथा रुरुकन्या मूर्तिमा पूजाआजा गरेमा मोक्ष प्राप्ति हुने विश्वासले तीर्थाटनका पर्यटकहरु पुग्ने गर्दछन् । माघे संक्रान्तिमा मेला लाग्ने रुरु क्षेत्रमा देवदत्त ऋषिले तपस्या गरेर रुरु कन्याको जन्म भएको र ती कन्यालाई मृृगहरुले दूध खुवाई हुर्काएको र विष्णुले चतुर्वाहु रुप लिएका थिए । रुरु क्षेत्रमा प्राचीन ऋषिकेश मन्दिर, भृगुतुङ्गेश्वर महादेवको गुफा, अचम्मेश्वर, रुरु कन्या मन्दिर अर्थात गलफूल गुफा, यज्ञमुक्तेश्वर महादेव, रुद्रवेणी, मणिमुकुन्देश्वर महादेव, कञ्चनेश्वर महादेव, लक्ष्मीनारायण मन्दिर, राम जानकी मन्दिर, रुरु कन्याले तपस्या गरेको गुफा, भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका ऐतिहासिक धार्मिकस्थल रिडीमा रहेका छन् । रिडी नजिकै उत्तर पट्टी भृगुतुंग नामक गुफा रहेको छ । भृगुतुंग गुफामा भगवान शिवले सतिदेवीको शव बोकेर भ्रमण गर्दै जाँदा उपल्लो दाँत पतन भएको मान्यता रहेको छ । जुन श्रीस्वस्थानी महात्यम्यमा ब्याख्या गरिएको छ । त्यस ठाउँमा खासगरी माघे सक्रान्ति र शिवरात्रिमामा तीर्थाटन पर्यटकहरुको भिड हुने गर्दछ । भृगुतुंग नामक गुफा स्याङ्जा जिल्लामा पर्दछ । आजभोलि रिडीमा स्याङ्जा, पाल्पा र गुल्मी जोडने तिनमुखे पुल समेत निर्माण भएको छ ।

रिडीबाट पर्यटकहरु तानसेन फर्कदा अर्गलीको ऐतिहासिक महत्व र जुद्ध शमशेरको दरबार समेत अवलोकन गर्न सक्छन् । रुरु र अर्गली क्षेत्र तीर्थाटन एवं ऐतिहासिक खोज अनुसन्धान गर्ने पर्यटकहरुको लागि महत्वपूर्ण स्थल भएको छ । जुद्ध शमशेरले प्रधानमन्त्री पद त्याग गरी सन्यासी जीवन बिताउन अर्गलीमा दरबार बनाएका थिए ।

तानसेनमा जाँदा श्रीनगर पुगेन भने पर्यटकहरुको यात्रा अधुरो हुन्छ । श्रीनगर जाँदा प्रकृतिसँग रमाउने पर्यटकहरु फर्कन गाह्रो मान्छन् । थोरै समय भए पनि श्रीनगरको सौन्दर्यसँग प्रीति गाँस्न खोज्छन् । श्रीनगरमा बिशेष गरी युवा पुस्ताको आकर्षणको केन्द पनि मानिन्छ । बिदाका दिन सयांै जोडीहरु माया साटासाट गर्न र पारिवारिक रुपमा समय ब्यतित गर्नका निम्ति श्रीनगर पुग्ने गर्दछन् । श्रीनगरको घुमफिरपछि तानसेन दरबार अवलोकन गर्ने सबै पर्यटकहरुको इच्छा हुन्छ । वि.सं.१९६३ सालमा तत्कालीन जनरल प्रताप शमशेरद्वारा दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि दरबार निर्माण गरेका हुन् । राणा शासनको अन्त्यपछि २०१५ सालदेखि ऐतिहासिक दरबारलाई तत्कालीन सरकारले सरकारी कार्यालयको रुपमा परिणत गरेपछि करिब एक दर्जन विभिन्न कार्यालयहरु रहँदै आएका थिए । माओवादी जनयुद्धमा ध्वस्त भएको तानसेनको दरबार पुन निर्माण भएपछि दरवार परिसरभित्र रहेका सबै कार्यालय हटाई ऐतिहासिक संग्रहालयको रुपमा परिणत गरिएको छ । तानसेन दरबार बहुउद्देश्यीय संग्रहालय भएकोले ऐतिहासिक तथा पुरातात्विक महत्व झल्किने सम्पदाहरु संग्रहालयमा छन् । दरवार पसिरमा जोडिएको भगवती मन्दिर उजीरसिंह थापाले निर्माण गरेका हुन् । उजीरसिंह थापाले तत्कालीन पाल्पाको जीतगढीमा अंग्रेजहरुलाई परास्त गर्न सफल भएपछि भगवतीको मन्दिर निर्माण गरेका हुन् । ब्रिटिश इण्डिया कम्पनीलाई पराजित गरेमा मन्दिर बनाउने भाकल उजीरसिंह थापाले गरेका थिए ।

इतिहासको कालखण्डमा प्रधानमन्त्रीको रोलक्रमबाट खेदिएका राणाहरुले पाल्पामा गरेका विकास निर्माण अहिले तानसेनको पहिचान मात्र नभएर पर्यटकहरुका लागि खोज अनुसन्धान हुने गरेको छ । सेनवंशी शासकहरुले जग बसालेको तानसेन बजार र राणाकालीन शासनमा आएको नयाँ परिर्वतन तानसेनको इतिहास छ । खडक शमशेरद्वारा हावा खान र सैनिकहरुको जमघट गराउन वि.स. १९५० मा निर्माण गरिएको शितलपाटी र एशियाकै ठूलो मानिने काठबाट निर्मित शितलपाटीको मूलढोका, अमरसिंह थापाले निर्माण गरेका अमरनारायण मन्दिर पर्यटकहरुका लागि अध्ययन अनुसन्धान र अवलोकनका स्थलहरु बन्दछन् ।

सम्बन्धित समाचार