सोमबार , साउन ११, २०८३

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

समाचार पत्र 'द डन'का अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन् ।

image

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । समाचार पत्र ‘द डन’का अनुसार पञ्जाब प्रान्तमा बिहीबार भएको र्‍यालीका क्रममा अज्ञात बन्दुकधारीले गोली चलाएका हुन् । वाजिरावादको हो चौकमा खान चढेको कन्टेनरमा गोली हानेका हुन् ।

इमरानको खुट्टामा गोली लागेको छ । अस्पताल भर्ना भएका उनको अवस्था खतरामुक्त छ ।

गोली लागेर पाकिस्तान तेहरिक इन्साफका केही नेताहरू पनि घाइते भएका छन् । बन्दुकधारीले स्वचालित हतियार चलाएका थिए । उनको दलका नेताहरूले आक्रमण इमरानको हत्या प्रयास भएको बताएका छन् ।

प्रधानमन्त्री शेहबाज सरिफले घटनाको निन्दा गर्दै तत्काल छानबिन गर्न निर्देशन दिएका छन् । समाचार संस्थाले एएफपीले खानका सहयोगीलाई उद्धृत गर्दै सुरक्षाकर्मीको कारबाहीमा बन्दुक चलाउने व्यक्ति मारिएको उल्लेख गरेको छ ।

केही दिनअघि पाकिस्तानको निर्वाचन आयोगले खानलाई चुनाव लड्न प्रतिबन्ध लगाइदिएको थियो । गत अप्रिलमा बहुमत गुमाएपछि खानले संसद विघटन गरेर नयाँ चुनाव घोषणा गरेका थिए । सर्वोच्च अदालतले उनको निर्णय उल्ट्याइदिएपछि उनी प्रधानमन्त्री छोड्न बाध्य भएका थिए ।

सत्ता छोड्नु परेपछि उनले विदेशीको इशारामा आफ्नो सरकार ढालेको भन्दै विभिन्न सहरमा र्‍याली गर्दै आएका छन् । प्रतिबन्ध लगाउने निर्वाचन आयोगको निर्णयविरूद्ध पनि उनले कानुनी उपचार खोज्ने बताएका छन् ।

सम्बन्धित समाचार