आज इन्द्र ध्वजोत्थान । इन्द्र ध्वजोत्थानको लागि आज बिहान ७:१७ को शुभसाइत छुट्टयाइएको छ ।
भोटाहिटीदेखि हनुमानढोकास्थित कागेश्वरी मन्दिर- कालभैरवको मूर्ति अगाडी रहेको यः सिं (इन्द्रध्वज, लिङ्गो) आज ठडिदै छ ।
यः सिं का गुठियार मानन्धर समूह र नेपाली सेनाको टोलीले गत आइतबार भोटाहिटीदेखि इन्द्रध्वज तानेर हनुमानढोकासम्म ल्याएको थियो ।
प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन काठमाडौंको हनुमानढोका परिसरमा इन्द्रको पूजाआजा गरी इन्द्रध्वजा सहितको लिङ्गो ठड्याएसँगै जात्रा सुरू हुने गर्छ ।
इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें या:’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र या: भनेको मुख्य जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रासम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ ।
लिंगो ठड्याउने क्रममा परम्परागत बाजा, गुरुजुको पल्टन र मंगलधुनका साथ तोप पड्काउने गरिन्छ । हिन्दू र बौद्ध धर्मावलम्बी नेवार समुदायको यो साझा चाडका रूपमा लिइन्छ ।