बिहिबार , कार्तिक २८, २०८२

जितगढी र सेनाको पदयात्रा

image

पर्यटनको क्षेत्रमा पदयात्राको छुट्टै महत्व छ । पदयात्रा आजभोलि नेपाली सेनाले समेत शुरुवात गरेको छ । तर सेनाको पदयात्रामा तत्कालीन गोरखा राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाह र उनका फौज ओहोरदोहोर गरेको ऐतिहासिक पदमार्गमा हुुने गरेको छ । सेनाको पदयात्राले ऐतिहासिक महत्वका कोट, गढी र किल्लाहरुलाई संरक्षण, सम्वद्र्धन र विकास गर्ने उद्देश्य रहेको छ । पदयात्रामा नेपाली सेनाले पदमार्गमा पर्ने गोरखा, तनहुँ, स्याङ्जा र पाल्पा जिल्लाको ऐतिहासिक महत्वका कोट, गढी र किल्लाहरु अवलोकन गर्दै गोरखा–जितगढी पुग्नेछ ।

नेपाली सेनाले गोरखा–जितगढी एकीकरण पदयात्राको थालनी गरेको तीन वर्ष भएको छ । पृथ्वीनारायण शाहले खडा गरेका कालीबक्स गण, पुरानो गोरख, बर्दवाणी गण, सवुज गण र जितगढीको लडाइँमा भाग लिएको गुरुबक्स पल्टनको टोली पदयात्रामा सहभागी भएका छन् । नेपालको राष्ट्रिय झण्डा, टर्च लाइट र पाँचवटै गणको झन्डा बोकेर सेनाको टोलीले गोरखा देखि पदयात्रामा बुटवलको जितगढी पुगेर विजयोत्सवमा सहभागी हुने गर्दछन् । तत्कालीन ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपालबीच भएको लडाइँमा विजय प्राप्त गरेको दिन जितगढीमा वैशाख ७ गते विजयोत्सव मनाउने गरिन्छ । गोरखादेखि जितगढीसम्म ३०५ किलोमिटर दूरी पार गर्दै एघारौँ दिनमा रुपन्देहीको जितगढी पुगेर पदयात्रा समापन हुन्छ । पदयात्रामा सेनाले गोरखा–तनहुँको सिमाना सतिघाटसम्म ३० किलोमिटर, तनहुँको भूगोल १०५ किलोमिटर र केलादीघाटबाट पाल्पाको नुवाकोट हुदै बुटवलको जितगढीसम्म १६५ किलोमिटर दूरी पदयात्रा गर्ने गर्दछन् ।

गोरखा दरबारको हनुमान भन्ज्याङ चौताराबाट शुरु हुने सेनाको पदयात्रा छेपेटार, सातदोबाटो, बिर्दी, सेराबेसी, कमलटार, पौवाटार भएर सतिघाट पुग्छ । सेनाले पदयात्रामा तनहुँमा सतिघाट, चुदी रम्घा, भीमसेनगढी, बाङेरह, तनहुँसुर दरवार, धेनुङ देउराली, हुँदै भिमाद, ऋसिङ घिरिङ भएर केलादीघाट पुग्छ । केलादीघाट स्याङ्जा र पाल्पाको सीमा हो । पाल्पामा रामपुरको देवीस्थान, दर्छाको सीताकुण्ड, बेलडाँडा, सिलुवा, जव्गादी, बीरकोट, पूर्वखोलाको बाकुमगढी, हुमीन, देवीनगर, झडेवा, जगत, गोठादी हुँदै सेनाको पदयात्रा माथागढी पुग्नेछ । माथागढीदेखि पुनःगोठादी हुँदै झडेवा, मर्मरा, शिकारकोट, सराई, माडी, दमकडा, बाँसटारी, प्रभासको पदयात्रा गर्नेछ । सेनाको पदयात्रा लामडाँडाबाट तानसेन र पुनः प्रभास पुगी डुम्रे, मस्याम, मरेक हुँदै दोभानदेखि नुवाकोटगढी भएर बुटवलको जितगढी पुग्छ । आजभन्दा २०९ वर्ष अगाडि गोरखा–जितगढी एकीकरणको समयमा सेनाले प्रयोग गरेको पदमार्गमा अहिले धेरै ठाउँमा मोटरमार्ग बनेको छ । तर पनि धेरै डाँडाकाँडामा पुरानै पदमार्गमा यात्रा गर्नुपर्ने हुन्छ । गोरखा–जितगढी पदमार्गमा दरौंदी, मस्र्याङ्दी, मादी, सेती, कालीगण्डकी र तिनाउ खोला पर्दछ । अहिले सबै नदी र खोलामा मोटरेवल पुल समेत बनेका छन् ।

जितगढी विजयोत्सवमा नेपाल अंग्रेज युद्धको स्मरण हुन्छ । नेपाल–अंग्रेजबीच भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशियालीमा बुटवल उपमहानगरपालिकाले वैशाख ७ गते लाई विजयोत्सव मनाउँदै आएको छ । जितगढी उत्सवका अवसरमा गोरखादेखि पैदलयात्रामा आएका नेपाली सेनाको टोलीलाई बुटवलमा स्वागत गर्दै पैदलयात्रा समापन पनि गरिन्छ । वि.सं. १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । जितगढी किल्लामा १८७१ पुस २१ देखि १८७२ वैशाख ७ गतेसम्म नेपाल–अंग्रेजबीच युद्ध भएको थियो । अमरसिंह थापा, बलभद्र कुँवर, भक्ति थापा नेतृत्वको नेपाली फौजले विभिन्न स्थानमा युद्ध लडे पनि जित हात पार्न सकेको थिएन । कुमाउ–गढवाल नाहान, मकवानपुरगढी, कोशी–टिस्टा र बुटवल जितगढीमा अंग्रेज फौजसँग लडाईं भए पनि बुटवलमा नेपालले जित हासिल गरेको थियो । जनरल अक्टरलोनीको नेतृत्वमा पश्चिम नेपाल आक्रमण गर्ने, मेजर जनरल जिलेस्पीको नेतृत्वमा देहरादून हुँदै गढवाल कब्जा गर्ने, जनरल उडको नेतृत्वमा पाल्पा–बुटवल हात पार्ने र जनरल मार्लेको नेतृत्वमा मकवानपुर कब्जा गर्ने गरी अंग्रेजले सेना पठाएको थियो ।

पाल्पा राज्य कब्जा गर्न गोरखपुरबाट जनरल उडको नेतृत्वमा अंग्रेज फौज नेपालतर्फ अघि बढेको थियो । अंग्रेज फौज जितगढी आइपुगेपछि नेपाली सेनासँग घमासान युद्ध भएको थियो । युद्धमा अंग्रेज टोलीले ठूलो क्षति व्यहोरेर फिर्ता भएको थियो । जनरल उडकै नेतृत्वमा तीन महिनापछि फेरि बुटवलमा आक्रमण गरेको इतिहास छ । आक्रमणबाट बुटवलमा रहेको सेनकालीन दरबार ध्वस्त भयो । दरबार ध्वस्त भए पनि किल्लाभित्र लुकेर रहेका नेपाली सेनाले अंग्रेजमाथि आक्रमण गरे । जब अंग्रेजको फौज तिनाउ नदी पार गर्न लागेको थियो । नेपाली फौजले जितगढीबाट गोलीको पर्रा छुटाउन थाले । अंग्रेज फौज केही मरे अरु भागाभाग भए । त्यस बखत कम्पनी सरकारसँग विकसित हतियार र नेपालीसँग आफ्नै परम्परागत हतियार मात्र थिए । तर युद्ध त हतियारले लडिँदैन विचारले लडिन्छ भन्ने मान्यता नेपालीहरुमा थियो । युद्धको समयमा पनि नेपालीसँग राष्ट्रियताको सोच थियो । त्यो सोच नै युद्धका लागि पर्याप्त थियो । लडाईंमा पनि नेपाली सेनाले प्रतिकार गरी अंग्रेजलाई पराजित गरे । अंग्रेजतर्फ ठूलो क्षति भयो । पाल्पा बुटवल क्षेत्रको नेतृत्व गरेका कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले कुशल रणकौशल प्रदर्शन गरी अंग्रेज फौजमाथि युद्धमा विजय हासिल गरेपछि उजिरसिंहले पाल्पामा विजयोत्सव मनाएका थिए । अंग्रेज सँगको लडाइमा विजय प्राप्त गरेपछि कर्नेल उजिर सिंह थापाले पाल्पा तानसेन वजारमा रहेको भगवतीको मन्दिर निर्माण गरेका हुन् ।

बुटवल उपमहानगरपालिका–२, पुरानो बटौली क्षेत्रमा पर्ने मणिमुकुन्द सेन उद्यान जितगढी क्षेत्र पर्यटकीय स्थलमात्र नभई ऐतिहासिक र पुरातात्विक क्षेत्र समेत हो । पुरातात्विक र ऐतिहासिक महत्व बोकेको जितगढी १६ औं शताब्दीतिर सेनकालमा निर्माण भएको मानिएको छ । तिनाउ नदीको दायाँ किनारमा रहेको गढीको नामाकरण उजिरसिंह थापाको नेतृत्वमा रहेको फौजले पराक्रम र चलाखी देखाई यसै गढीमा बसेर इष्ट इण्डिया कम्पनीको फौजलाई हराएकोले जितगढी भनिएको जनश्रुति रहेको छ । तत्कालीन पाल्पाली राजा रुद्र सेनका जेठा छोरा मुकुन्द सेनको जन्म वि.सं १५५३ सालमा भएको थियो । उनी बि.स.१५७५ सालमा पाल्पाका राजा भएका थिए । पछि छोराहरुको सहयोगमा राज्यहरु एकीकरण गरे । उनै मुकुन्द सेनले बुटवलमा शीतकालीन तथा पाल्पा र रुपन्देहीको सीमाक्षेत्र नुवाकोटमा गृष्मकालीन दरबार निर्माण गरी राज्य चलाएको इतिहास छ । जाडो याममा बुटवल बस्ने मुकुन्द सेन गर्मी याममा नुवाकोटगढीमा बस्ने गर्थे । मुकुन्द सेन विसं १६१० मा देवघाटमा तपस्यामा सिद्धि प्राप्ति गरेका मुकुन्द सेनलाई धेरैले मुनि मुकुन्द पनि भन्ने गर्दछन् । यिनै मुनि मुकुन्द सेन पछि मणिमुकुन्द सेन भएका हुन् ।

मणिमुकुन्द सेनको इतिहास स्मरणीय बनाउन जितगढीको उद्यानभित्र मणिमुकुन्दको पूर्ण कदको घोडसवार शालिक निर्माण गरिएको छ । कलात्मकढंगले निर्माण गरिएको शालिकले उद्यानको आकर्षण त बढाएकै छ । अर्कोतर्फ यहाँको ऐतिहासिक महत्व पनि उजागर गरेको छ । नुवाकोटगढीको काखमा विभिन्न बोटबिरुवाको हरियाली र रंगीचंगी फूलका उद्यानले पार्कमा पुगेपछि सबै पर्यटकहरु आकर्षित हुने गर्दछन् । जितगढीमा अंग्रेज फौजसँगको युद्धमा नेतृत्व गर्ने कर्णेल उजिरसिंह थापा र सहादत प्राप्त गर्ने १३ जना वीर नेपाली सैनिकको शालिक निर्माण गरिएको छ । जितगढी किल्लाको कलात्मक प्रवेशद्वारबाट प्रवेश गर्ने बित्तिकै बायाँतर्फ लस्करै १३ जना सैनिकहरुका अर्धकदका शालिक देख्न सकिन्छ । जहाँ तत्कालीन लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा, सुरवीर बोहरा, हवलदार रणसुर बानियाँ, सिपाही हंसवीर अधिकारी, थरधर नकुल बानियाँ, दलखम्ब थापा, काजी वीरमन्जन पाँडे, जुठे बस्नेत र शमशेर राना मगरले वीरगति प्राप्त गरेकाले उहाँहरुको लस्करै शालिक राखिएको छ ।

इतिहासमा रुचि भएका पर्यटकहरु जितगढीमा हुने विजय उत्सवका दिन पुग्ने गर्दछन् । पर्यटकहरुलाई नेपाल–अंग्रेज युद्धको नालीबेली अध्ययन गर्न खोज्छन् । पर्यटनको पूर्वाधार क्रमशः बिस्तार हँुदै गएपछि आजभोलि इतिहासमा रुचि राख्ने धेरै पर्यटकहरु नुवाकोटगढीमा पुग्छन् । नेपाल–अंग्रेज युद्धमा नेपालीले अंग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्ला नुवाकोटगढी हो । गौतम बुद्धका बाबु शुद्धोधनका गुरु ऋषि कालदेवलको आश्रमस्थलका ऐतिहासिक तथा पुरातात्विक क्षेत्र पाल्पा र रुपन्देहीको सीमा नुवाकोटगढी हो । नुवाकोटमा भगवती मन्दिर, भैरवकामना मन्दिर, खड्ग मन्दिर, राजा मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, हतियार राख्ने र लुकाउने खरखजाना घर छ । बुद्धकालीन संरचना झल्काउने राजा शुद्धोधनका गुरु ऋषि कालदेवल आशुतोषको आश्रमस्थल, रानीकुवालगायत ऐतिहासिक र पुरातात्विक संरचना रहेका छन् । नुवाकोटगढी ऐतिहासिक स्थल मात्र नभएर प्राकृतिक भ्यूटावर पनि हो । नुवाकोटगढी हँुदै परापूर्वकालदेखिनै बुटवल, भैरहवा भएर भारतीय भूमिमा आउजाउ गर्ने मुख्य पदमार्ग पनि हो । कतिपय पर्यटकहरुले आफ्ना पूर्वज यात्रा गरेको पदमार्गको समेत स्मरण गर्न सक्छन् । बाग्लुङ, पर्वत, स्याङ्जा, गुल्मी र पाल्पाका मानिसहरु पाल्पाको मस्याम लेक हुँदै सिस्नेखोला, मरेक, रानीबास, बोटेगाउँ भएर कचला खोला हुँदै दोभान निस्कन्थे र दोभानबाट उकालो चढ्दै नुवाकोट गढी भएर जितगढी ओर्लेर बुटबल पुग्दथे ।

सिद्धार्थ राजमार्ग निर्माण भएपछि अहिलेको पुस्तालाई ती कुरा कथा भएको छ । अब केही समयपछि नुवाकोटगढी पुग्नको लागि पर्यटकहरुले केबुलकार चढ्न पाउनेछन् । बुटवलको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको मणि–मुकुन्दसेन उद्यान फूलबारीदेखि उत्तर–पूर्वपट्टिको शिखर देउरालीलाई आधार स्टेशन बनाएर सिद्धार्थ केबुलकारले पर्यटनको लागि केबुलकार सञ्चालनमा आएको छ । केबुलकारको पूर्वाधार निर्माण गर्दा नुवाकोटगढीका सबै ऐतिहासिक गढीका सम्पदाहरु संरक्षण र पुनःनिर्माण भएका छन् । नुवाकोटगढी प्राकृतिक भ्यूटावर हो । तर पनि पर्यटकहरुका लागि भ्यूटावर निर्माण गरिएको छ भने बालाजीको मन्दिर पनि निर्माण भएको छ । पर्यटन खुला विश्वविद्यालय हो । ऐतिहासिक पुरातात्विक सम्पदाको खोज अनुसन्धानमा रुचि राख्ने पर्यटकले नुवाकोटगढीको अध्ययन अवलोकन गर्न सक्छन् । इतिहास भनेको बितेका तथ्य घटनाहरुको यथार्थ विवरण हो । इतिहासको अध्यनबाट नै बितेका घटनाहरुको ज्ञान प्राप्त हुन्छ । इतिहासको अध्यनले बितेका घटना बुझ्न र जान्न सकिन्छ ।

इतिहास स्मृतिहरुको अभिलेख पनि हो । कर्णेल उजिर सिंहले नुवाकोटगढीमा मोर्चाबन्दी गरेर अंग्रेज फौजलाई परास्त गरेका थिए । नुवाकोट गढीमा इतिहासको खोज अनुसन्धान गर्ने पर्यटकहरुले नेपाल र अंग्रेजबीच भएको युद्धमा कर्णेल उजिर सिंहले आफ्ना फौजहरुलाई राख्न निर्माण गरिएको जितगढी, नुवाकोटगढी, काठेगढी, सिउराजगढी, बल्ड्याङगढी, दाउन्नेगढी, माथागढीलगायतका गढीहरुको बारेमा समेत अध्ययन गर्न सक्छन् ।

नुवाकोट गढीमा पुग्दा पर्यटकहरुले उत्तरतिर माछापुच्छ्रे हिमाल र दक्षिणतिर बुटवल बजारको अवलोकन गर्न पाउँदा पर्यटकहरु रोमाञ्चित हुन्छन् । नुवाकोटगढीमा तराईबाट अत्यधिक गर्मी वा जाडोमा शीतलहर र हुस्सु छल्न जाने पर्यटकहरुको संख्या बढी छ । आजभोलि पुरातात्विक अध्ययन, वनभोज र जंगल सफारीका लागि जाने पर्यटकहरु पनि कम हुँदैनन् । ऐतिहासिक, प्राकृतिक र सांस्कृतिक महत्वको नुवाकोटगढी पर्या–पर्यटनका हिसाबले अत्यन्तै महत्वपूर्ण मानिन्छ । पर्यटनका लागि बुटवल–नुवाकोट हाइकिङ यात्रा अत्यन्तै रोमाञ्चक हुन्छ । नुवाकोटगढीको भ्यूटावरबाट बुटवल बजारको मनोरम दृष्यसहित भैरहवा, परासी र सिमापारी भारतसम्मका रमणीय दृष्य हेर्न सकिन्छ । नुवाकोटगढी जाँदा पर्यटकहरुले फूलबारी पार्कको अध्यनबिना नुवाकोटगढीको ऐतिहासिक अध्ययन अधुरो हुन्छ । आजभोलि पाल्पाली सेन वंशीय राजा मणिमुकुन्द सेनको नामसँग जोडिएको फूलबारी पार्कमा पिकनिक, विवाह, भेटघाट र विभिन्न संघसंंस्थाको साधारणसभा तथा अधिवेशनको थलो बनेको छ । मणिमुकुन्द सेन राजाले निर्माण गरेको शीतकालीन दरबारको अवशेष पनि फूलबारीमा पर्यटकहरुले अवलोकन गर्न सक्छन् । फूलबारी पार्क अहिले मणिमुकुन्द सेन उद्यानको नाममा सञ्चालन भएको छ । पार्कमा पुराना भग्नावशेष दरबार, वनजंगल, फूलबारी, झरना, शहीदस्तम्भ र चिडियाखानासमेत छ । ऐतिहासिक जितगढी किल्ला अंग्रेजलाई पराजित गरेको इतिहास र पाल्पाली राजा मणिमुकुन्दको नाममा बनाइएको उद्यानले इतिहासको संरक्षण मात्र होइन धेरै पर्यटकहरुको अध्ययन अनुसन्धानको केन्द्र बनेको छ ।

जीवनमा कतिपय कुरा पुस्तक पढेर मात्र सिकिँदैन । यात्राले त्योभन्दा धेरै कुरा सिकाउँछ । ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदामा पर्यटकहरुले अध्ययन अवलोकन गर्ने धेरै कुरा हुन्छन् । इतिहासमा पढेको तर देख्न नपाएको ठाउँमा पुग्दा पर्यटक खुशी हुन्छन् । अहिले भुरेटाकुरे राजाहरुको पालादेखिनै ऐतिहासिक महत्व र पहिचान भएका सम्पदामा पर्यटकहरु पुग्न खोज्छन् । पर्यटकहरु जुन ठाउँ पुग्छन् त्यहाँको जनजीवन, भूगोल, रहनसहन, जीवनशैली, भाषा, संस्कृति, कला, साहित्य आदिका बारेमा बुझन खोज्छन् । पर्यटकलाई नदेखेको कुरा नयाँ हुन्छ । नयाँ ठाउ नयाँ कुरा र सधै देखिरहेको भन्दा फरक खालको भूगोल पर्यटकहरुका लागि छुट्टै महत्व हुन्छ । पर्यटनमा सबैलाई इतिहास, भूगोल, संस्कृति, भाषा, रहनसहनको बेग्लै महत्व हुन्छ ।

(नयाँ युगबोध राष्ट्रिय दैनिकबाट)

सम्बन्धित समाचार