शुक्रबार , मंग्सिर २३, २०७९

जोगी समुदायकाे नजोगिएको अस्तित्व, हराउँदै गए ‘फेरी’ फुक्नेहरू

फेरी फुक्ने क्रममा उनीहरू घरको ४ वटा सुरमा, मूल ढोकामा र घरभित्रको मूल बिचको थाममा उभिएर फेरी फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग नबोल्ने प्रचलन रहेको छ ।

image

  • मनोज मुस्किल

“बुवा, आज म तपाईँ सँगै बाहिर खाटमा सुत्ने नि ?”

दस/बाह्र वर्षे बालकको त्यो ‘चेब्रे’ बोलीको उत्तर दिँदै बुवा भन्नुहुन्थ्यो, “राती जोगी आउँछ । डराउँछस् तँ, आमासँगै सुत् ।”

म भाँडभैलो गर्थेँ । मेरो जिद्दीका अघि बुवा सधैँ हार्नुहुन्थ्यो र आफूसँगै सुताउनुहुन्थ्यो । बानी लागेर हुनसक्छ नौ दस कक्षा पढ्दा सम्म पनि म बुवासँगै सुतेँ । त्यति बेला मध्यरातमा जोगीले ‘फेरी’ लाएको सुन्न, बुवाको पछि डराउँदै चियाएर जोगीलाई हेर्न, मन्त्र फुकेको सुन्न खुब एड्भेन्चरस लाग्थ्यो । भोलि पल्ट सिदा लिन आउँदा आमाले नाङ्लोमा ठिक पार्नुभएको चामल, धान, दाल, आलु, जौँमा चार वटा आलु, एक मुठी दाल ज्यादा थपी माग्न लगाउँथे । टीका लगाइदिँदा जोगीको आशीर्वाद पाउने म हुन्थेँ र साथीहरूलाई गफ लाउने पनि मै हुन्थेँ । खुब रमाइलो लाग्थ्यो ।

अहिले कथा जस्तो लाग्ने माथिको कथन नेपालको पूर्वी क्षेत्रको दशौँ/पन्ध्रौँ वर्षअघिको अधिकांश बालबालिकाहरूको बालापनको सम्झना हो । दौरा सुरुवालमा, पहेँलो वा कालो रङ्गको फेटा, घाँटीमा रुद्राक्ष र प्वाँलोको माला, निधारमा टीका साथमा पाँच सात वटा कालो झोला भिरेको अनौँठो प्राणीदेखि कुन चाहिँ बालक नझस्केको होला र ? कुन चैँ बालकको अनुहार नखुम्चेको होला र ? कुन चैँ कलिलो मनको मुटु जोडजोडले नधड्केको होला र ?

तर विगतका केही वर्षहरूदेखि यो दृश्य नेपाली समाजमा कम देखिन थालेको छ । प्रायः नेपालको पूर्वी भागमा देखिने जोगी समुदाय गतिविधि निरन्तर कम भएको भान हुन्छ । उनीहरूको ‘फेरी’ लगाउँदै हिँड्ने, मन्त्र फुक्दै हिँड्ने, सिधा उठाउँदै हिँड्ने परम्परा र अन्य गतिविधिमा गुणनात्मक रूपमा कमी आएको छ ।

को हुन् जोगीहरू ?

बाबु खाना खाऊ, नत्र जोगीले लान्छ नि ! कस्तो जोगी जस्तो हुलिया बनाएर बसेको ? छोरा छोरीले हेरेनन् भने जोगी बनेर हिँड्ने हो ! कस्तो जोगी रहेछ, खाको पैसा कैले तिर्दैन मु..*”

हाम्रो दिनहुँ बोलीचालीमा हामीले होच्याउँदा, खिस्याउँदा, गिज्याउँदा, डर देखाउँदा बोलिँदै आएको बोली हो यो । त्यो बाहेक ‘जोगी’ नेपालको एउटा आदिवासी खस जातीकै सीमान्तकृत समुदाय हो भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।

१२ हजार वर्षभन्दा पहिले देखिनै जोगीहरू आदिवासीको रूपमा नेपालमा बस्दै आएका थिए भन्ने विश्वास छ । तथापि यसको इतिहास सम्बन्धी हालसम्म अध्ययन अनुसन्धानबाट पत्ता लगाइएका तथ्यहरूमा आधारित कुनै लिखित प्रमाण कतै पनि भेटिएको छैन । इकाईगत, जनसामूहिक र जातिको रूपमा तेह्रथुम जिल्लाको ओयाक्जुङ गाविसमा स्थायी बसोबास गरेको विश्वास गरिन्छ । र, जीवनयापनको दौरान जङ्गल घुम्दै, जनावर मार्दै जाँदा जङ्गगली जनवार ‘वराँठ’ को सिङ फुक्न सिकेर पछि त्यसैलाई आफ्नो पेसाको रूपमा विकास गरेको पाइन्छ ।

यसका अलावा बिरामीलाई जडीबुटी र झारफुक गरेर निको पार्ने र त्यसबापत उठाएको भिक्षादानले जीविकोपार्जन गरेको देखिन्छ । आफ्नो जीवनयापनको क्रममा पूर्वी नेपालको विभिन्न जिल्लामा उनीहरू छरिएको विश्वास गरिन्छ ।

के हो ‘फेरी’ फुक्ने प्रचलन ?

‘फेरी’ जङ्गली जनावर बराँठको सिङबाट बनाइएको जोगी समुदायको प्रचलित बाजा हो । जोगी समुदायले भैरूङ्ग (कूल देवता) को पूजामा, धूप धुँवार गर्दा, बली दिँदा, पूजा सम्पन्न गर्दा ‘फेरी’ फुक्ने प्रचलन रहेको छ । उनीहरू पूजा अवधिभरी ५ पटकसम्म फेरी फुक्ने गर्दछन् । फेरी फुक्ने क्रममा उनीहरू विशेष मन्त्र उच्चारण गर्ने गर्दछन् । जसको खास अर्थ जोगी समुदायलाई नै थाहा नभएको पाइन्छ । वर्षौँदेखि पुस्तानान्तरण हुँदै आएको उक्त मन्त्रमा जोगीहरूको आफ्नो भाषाको अंश रहेको मानिन्छ ।

भैरूङ्गको पूजा बाहेक जोगीहरू हरेक वर्ष कार्तिक र चैत्र महिनामा मात्र टाढा-टाढासम्म फेरी फुक्नका लागि जाने प्रचलन छ । फेरी फुक्ने क्रममा उनीहरू घरको ४ वटा सुरमा, मूल ढोकामा र घरभित्रको मूल बिचको थाममा उभिएर फेरी फुक्ने गर्दछन् । फेरी फुक्दा कसैसँग नबोल्ने प्रचलन रहेको छ । वर्षको २ पटक फेरी फुक्नाले घरमा भूतप्रेत नलाग्ने परिवारका सदस्यहरूलाई रोगव्याध नलाग्ने र ग्रहदशाहरू टरेर जाने घरमा सहले वास गर्ने धार्मिक विश्वास गरिन्छ ।

जोगीहरू फेरी फुकेको भोलिपल्ट दिउँसो घरघरमा गई भिक्षा दान लिने गर्दछन् । जोगीहरूलाई अन्य समुदायले झारफुक गर्न लगाउने र भविष्य हेर्न लगाउने गरेको पाइन्छ । जोगी जातिका हरेक पुरुष सदस्यहरूले जीवनमा अनिवार्य रूपमा एक पटक फेरी फुकेर हिँड्नुपर्ने परम्परागत मान्यता समेत रहेको छ ।

देशले दिन नसकेको भेषः

“धेरै जोगी मठ उजाड, जोगीको घरमा सन्न्यासी पाहुना, जति जोगी आए नि कानै चिरेका, नयाँ जोगी खरानी धेरै घस्छ ।”

माथि उल्लिखित उखानहरू बहुप्रचलित नेपाली लोक उखानहरू मानिन्छन् । नेपाली पाठ्यपुस्तकमा पढाइन्छन्, उखानका अर्थहरू लगाइन्छन् । वाक्यमा प्रयोग गर्न सिकाइन्छन् । त्योभन्दा बाहेक कतै जोगीको अस्तित्व ‘जोगी’एको देखिँदैन । माध्यमिक तहसम्मको सामाजिक पाठ्यक्रममा कतै पनि उनीहरूको इतिहासको कुराहरू पढाइँदैनन् ।

हरेक जाति र तिनका संस्कृति हाम्रा निधि हुन् भनी आदर्शका कुराहरू गरिएता पनि हरेक क्षेत्रमा उनीहरूको संलग्नता गौण छ । उनीहरूका परम्परा, मूल्य र मान्यताहरूको कतै पनि प्रवर्द्धन, संरक्षणमा जोड दिइएको देखिएको छैन । मगर जातीसँग अधिकांश रहनसहन मिल्दोजुल्दो भएको यस समुदायलाई हरेक क्षेत्रको रहनसहन र गतिविधिले अतिक्रमण गरेको छ । यिनीहरूको आफ्नै छुट्टै भाषा रहेको कुरा बुढापाकाले बताए पनि हाल यो लगभग हराइसकेको अवस्था छ । आफ्नो भाषाबारे बुडापाका समेत अज्ञात छन् । कालान्तरमा लोप हुँदै गएको उनीहरूका भाषाको अलिअलि अंश मात्र बोलिने सुनिने गरेको छ । उनीहरूका मौलिक संस्कृति, पर्व, र चालचलन ‘बाघको आँखा अघिको मृग जस्तो’ भएका छन् ।

देश, समाज र वर्तमान अवस्था

जोगीहरूको वर्तमान अवस्थाको बारे कतै सोधखोज भएको देखिएको छैन । पत्रपत्रिकामा उनीहरूबारे कहिलेकाहीँ समाचारहरू नछापिएका भने हैनन् । तर पनि उनीहरूको स्तरोन्नतिको लागि सम्बन्धित निकायबाट कुनै ठोस कदम अगाडि बढेको देखिएको छैन ।

राष्ट्रिय जनगणनाको अभिलेख तथा अन्य सरकारी, गैर-सरकारी क्षेत्रका सर्वेक्षण र तथ्याङ्कहरूमा जोगीहरूको यकिन सङ्ख्यात्मक अवस्था नदेखिनु आफैँमा दु:खको कुरा हो । यसका पछि विभिन्न कारणहरू हुन सक्छन् ।

‘फेरी’ फुक्दै हिँड्ने क्रममा भेटिएका आफूलाई अमरलाल योगी (जोगी) बताउने जोगी समुदायकै एक वृद्ध भन्छन्- “फेरि फुक्नु हाम्रो काम हो । पूजा हो । धर्म हो । तर मानिसहरूले हामीलाई माग्नेको जस्तो व्यवहार गर्छन् । हामीले काम गरेर त्यसबापत भिक्षा लिएको हो । मागी खाएको हैन ।”

‘फेरी’ लाउँदै हिँड्ने क्रममा धेरै ठाउँमा अपमान सहनु परेको उनी बताउँछन् । धेरै ठाउँमा भिक्षा लिन जाँदा ढोका बन्द गर्ने गरेको, नानाथरी गाली गरेको, कुकुर लाइदिएको, साँझको बेला फटाहा केटाहरूले धम्क्याएको तितो अनुभव सुनाउँदै उनी भावुक हुन्छन् । वर्षमा दुई महिनाको भिक्षाले खान सम्म राम्ररी पुग्दैन । झन् त्यसमाथि यति धेरै दु:ख र अपमान सहनुपर्छ उनी गुनासो पोख्छन् । उनका समुदायका धेरैजसो युवाहरू कामको सिलसिलामा विदेश गएका छन् । केटाहरू यस्तो काम गर्नै मान्दैनन्, लजाउँछन् ।

फेरि मान्छेहरूले केटाहरूले ‘फेरी’ फुक्न जान्दछन् भनेर पत्याउँदैनन्, उनी थप्छन् । यसका अलावा यस जातिका मानिसहरू सरकारी, गैर सरकारी एवं औद्योगिक रोजगारी र व्यापार व्यवसायमा धेरै कम सङ्ख्यामा मात्र संलग्न रहेको पाइएको छ । ‘फेरी’ फुक्ने प्रचलन एकदमै विकृत र असुरक्षित हुँदै गएपछि उनीहरूको जीविकोपार्जनमा समेत नकारात्मक असर पर्दै गएको छ । कतिपयले त आफ्नो थर सम्म परिवर्तन गरेका छन् । यसका अलावा यस जातिका मानिसहरू सरकारी, गैरसरकारी एवं औद्योगिक रोजगारी र व्यापार व्यवसायमा धेरै कम सङ्ख्यामा मात्र संलग्न रहेको पाइएको छ । ‘फेरी’ फुक्ने प्रचलन एकदमै विकृत र असुरक्षित हुँदै गए पछि उनीहरूको जीविकोपार्जनमा समेत नकारात्मक असर पर्दै गएको छ ।

राष्ट्रको आँखामा पर्न नसकेको यो समुदाय लोपको संघारमा रहिरहँदा देश के गरिरहेको छ ? यति बेला प्रश्न सोध्ने बेला पनि हो र उत्तर खोज्ने बेला पनि । उनीहरूको यो अवस्था पुग्नुमा देश र यही देशमा बस्ने तपाईं हामी पनि कम जिम्मेवार छैनौँ । हाम्रा उनीहरू प्रतिको दृष्टिकोण र हरेक क्रियाकलाप पनि उत्तिकै जिम्मेवार छन् ।

उनीहरूलाई सामाजिक रूपमा स्थान बनाइदिन पहल गर्नु पर्ने देखिन्छ । उनीहरूको पेसागत सुरक्षा, शिक्षा, स्वास्थ्य र विविध पक्षहरूमा विशेष महत्त्व दिन जरुरी छ । राज्यका विभिन्न तहमा उनीहरूको संलग्नता बढाउन आरक्षण दिएर मात्र हुँदैन त्यसमा उनीहरूको पहुँच पनि पुर्‍याउन जरुरी छ । उनीहरूको संस्कृति, धर्म र रहनसहन बारे अब पाठ्यक्रममा लेखिनु जरुरी छ । उनीहरूको औषधि उपचार र जडिबुटि सम्बन्धी ज्ञानलाई अझ वैज्ञानिकीकरण गर्ने आवश्यक तालिम र विभिन्न कार्यक्रमहरू ल्याउन पर्छ । उनीहरूको अन्य पेसालाई स्थायीकरण गरी उनीहरूलाई प्रोत्साहन गर्नुपर्ने देखिन्छ । हैन भने यसको क्षतिपूर्ति राज्य, समाज र इतिहासले पनि व्यहोर्न सक्ने छैन ।

सन्दर्भ स्राेत: योगी, कृष्णबहादुर (२०६८). जोगी समुदायको परिचय

सम्बन्धित समाचार