बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शनको तयारीमा रहेको छ
काठमाडौं । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ४’ प्रदर्शनको तयारीमा रहेको छ । यसअघि सफल तीन सिक्वल आइसकेको कबड्डीको यो सिक्वललाई अन्तिम समेत बताइएको छ । रामबाबु गुरुङको निर्देशन रहेको चलचित्रको पहिलो सिक्वलले दर्शकहरूबाट धेरै माया पाए तापनि दोस्रो तथा तेस्रो सिक्वलमा उस्तै कथा दोहोर्याएको गुनासो दर्शकहरूले गरेका थिए ।
प्रदर्शनमा आउनुअघि नै सार्वजनिक गरिएको चलचित्रको एक गीत ‘केशरी’ले निकै लोकप्रियता हासिल गरेको छ । जेठ १३ गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्रको ट्रेलर हालै सार्वजनिक गरिएको छ । यो लेख लेख्दासम्म चलचित्रको ट्रेलर १० भन्दा बढी पटक हेरिसकिएको छ । दयाह्यांग राई, सौगात मल्ल र मिरुना मगर मुख्य भूमिकामा रहेको चलचित्रले फेरी पनि काजीको बिहेकै कुरा उठाएको छ ।
अरू सिक्वलझैँ यो सिक्वलमा पनि काजिका साथी तथा परिवार उसको बिहेको लागि लागिपरेको देख्न सकिन्छ । बारम्बार कोसिस गर्दा पनि बिहे नभएपछि बौद्ध धर्म अपनाएर काजी गुम्बामा बस्न बाध्य भएको कुरा पनि चलचित्रको ट्रेलरमा देख्न सकिन्छ । साथै, झाँक्रीलाई बोलाएर काजीको बिहेको जोखाना हेर्ने लगायतका रमाइला दृश्यहरू ट्रेलरमा देख्न सकिन्छ ।
शान्तिको भूमिकामा देखिएकी मिरुना काजीप्रति आकर्षित भएको पनि ट्रेलरमा देख्न सकिन्छ । तर, बिचमै बमकाजीको भूमिकामा देखिएका सौगात मल्ल मास्टर्स गरेर गाउँ फर्किन्छन् र सुरु हुन्छ- कबड्डी । कसैगर्दा पनि शान्ति बमकाजीको प्रेम नस्विकारेपछी अन्ततः बमकाजीले शान्तिलाई अपहरण गरेको सम्मको घट्ना ट्रेलरबाट थाह पाउन सकिन्छ ।
चलचित्रको यो सिक्वलमा काजीको बिहे होला कि नहोला र बमकाजीले सान्तीलाई लागेपछि के हुन्छ भनेर जान्नलाई दर्शक सिनेमाघरसम्म पुग्नुपर्ने हुन्छ । चलचित्रले दर्शकहरूलाई सन्तुष्ट बनाएर पठाउँछ या फेरी उस्तै कथा देखाएर गुनासो सहित फर्काउँछ त्यो भने चलचित्र प्रदर्शनमा आएपछि थाह हुनेछ।
बाँसुरी फिल्मस्को प्रस्तुतिमा तयार भएको चलचित्रमा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, स्वर्गीय जयनन्द लामा, पुष्कर गुरुङ, कविता आले, शारदा अधिकारी, प्रकाश घिमिरे, माओत्से गुरुङ, लालशोभा गुरुङ, चिनिमाया गुरुङ, उपेन्द्र सुब्बा आदि कलाकारहरूको अभिनय छ ।
रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको संयुक्त कथा रहेको चलचित्रमा शैलेन्द्र डी.कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन रहेको छ । मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार चलचित्रका निर्माता रहेका छन् ।
भिडियो