बिहिबार , कार्तिक २८, २०८२

बेनीघाट रोराङ–१ का बासिन्दाकाे खबरदारीपछि कैलाश–२ ले सार्ने भयाे मरणघाट

बुधवार दुवै वडाका जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच भएको छलफलमा मरणघाट सार्ने निर्णय भएको बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङले बताए ।

image

काठमाडौं । धादिङको बेनीघाट रोराङ–१ का बासिन्दाको विरोधपछि मकवानपुरको कैलाश–२ ले निर्माणाधीन मरणघाट सार्ने भएको छ । मकवानपुरको कैलाश गाउँपालिका–२ ले धादिङको बेनीघाट रोराङ–१ को खानेपानी मुहान परिसरमा मरणघाट बनाउन थालेपछि विवाद उत्पन्न भएको थियो ।

बुधवार दुवै वडाका जनप्रतिनिधि र स्थानीय बासिन्दाबीच भएको छलफलमा मरणघाट सार्ने निर्णय भएको बेनीघाट रोराङ–१ का वडाध्यक्ष जीवन सिं तामाङले बताए ।

कैलाश–२ ले आफ्नै जिल्ला मकवानपुरमा पर्ने गरी धादिङको बेनीघाट रोराङ–१ को खानेपानी मुहान परिसरमा कुनै असर नपर्ने ठाउँमा मरणघाट बनाउने भएको छ ।

मरणघाट बनाउन थालिएको क्षेत्र धादिङमा र खानेपानीको मुहान परिसरमै पर्ने भएपछि धादिङको बेनीघाट रोराङ–१ का बासिन्दाले विरोध जनाएको थियो ।

कैलाश गाउँपालिका वडा नम्बर २ ले प्रदेश सरकारले दिएको १० लाख रुपैयाँको लागतमा स्थायी मरणघाट बनाउन लागिएको हो । तर, मरणघाट बनाउन लागिएको ठाउँ धादिङमा परेको थियो । आफ्नो जिल्लामा पर्ने र त्यसमाथि खानेपानीको मुहानमाथि पर्ने भएपछि धादिङको बेनीघाट रोराङ–१ का बासिन्दाले निर्माण कार्य अगाडि बढाउन दिएका थिएनन् ।

सम्बन्धित समाचार