सोमबार , भाद्र ८, २०८३

लगानी बोर्डले खप्तड एकीकृत पर्यटन परियोजनाको सम्भाव्यता अध्ययनका लागि माग्यो प्रस्ताव

image

काठमाडौं । खप्तड एकीकृत पर्यटन परियोजनाको गुरुयोजना निर्माण र पूर्वसम्भाव्यता अध्ययनका लागि प्रस्ताव माग गरिएको छ । लगानी बोर्डको कार्यालयले माघ २५ गते एक सूचना जारी गर्दै १५ दिनभित्र प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

परियोजनाको पूर्वसम्भाव्यता अध्ययन र गुरुयोजना निर्माणका लागि प्रस्ताव पेश गर्न फागुन ११ (फेब्रुअरी २३) गतेसम्मको समय तोकिएको छ । यस्तो प्रस्ताव अनलाइनमार्फत पेश गर्नुपर्ने लगानी बोर्डको कार्यालयले जनाएको छ । प्रस्ताव छनौटपछि परियोजनाको सम्भाव्यता अध्ययन र गुरुयोजना निर्माणका लागि १ वर्षको समय दिइएको छ ।

वि.सं २०७५ चैतमा सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा लगानी बोर्डको कार्यालयले यो परियोजनालाई सोकेसमा राखेको थियो । लगानी सम्मेलनका क्रममा तयार पारिएको प्रोजेक्ट बैंकको विवरणअनुसार खप्तड राष्ट्रिय निकुञ्जमा एकीकृत पयर्टन र यातायात पूर्वाधार निर्माणका लागि १८ करोड ७० लाख अमेरिकी डलर बराबर लागत अनुमान गरिएको थियो ।

डोटी जिल्लाको झिग्राना पोष्टदेखि खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयसम्म सात किलोमिटर केबलकार निर्माणको योजना लगानी बोर्डले बनाएको उक्त विवरणमा देखिन्छ । लगानी बोर्डले दुई तारे होटल, गल्फ, योगा, ध्यान, घोडचढी (हर्स राइडिङ), साइक्लिङ, हेली सर्भिस, स्काई डाइभिङ आदि सुविधा उपलब्ध हुनेगरी पूर्वाधार बनाउने योजना बुनेको देखिन्छ । लगानी बोर्ड कार्यालयको विवरणमा खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र वरिपरिका बस्तीहरूलाई सांस्कृतिक क्षेत्रका रूपमा अघि बढाउने गरी पूर्वाधार बनाउन सकिने कुरा समेत उल्लेख छ ।

लगानी बोर्डको योजना यो परियोजनालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा अघि बढाउने रहेको छ । परियोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको काम सरकारले गर्नुपर्नेछ । लगानी बोर्डकी परामर्शदाता रञ्जिता आचार्यले खप्तडमा पर्यापर्यटन (इकोटुरिजम) का हिसाबले के कति काम गर्न सकिन्छ भनेर सम्भाव्यता अध्ययन गर्न र खप्तड क्षेत्र जोडिएका बझाङ, बाजुरा, डोटी र अछाममा पर्यटन पूर्वाधार निर्माणका लागि एकीकृत योजना तयार पार्न आवश्यक छ रहेको र त्यसको लागि प्रस्ताव माग भएको बताइन् ।

विसं २०७५ मा आयोजना भएको लगानी सम्मेलनअघि यो परियोजनाबारे लगानी बोर्डको कार्यालयले सुदूरपश्चिम प्रदेश सरकारसँग छलफल गरेको र त्यो क्षेत्रको सम्भाव्य आयोजनाका रूपमा अघि बढाउन खोजेको उनको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश सरकारले खप्तड क्षेत्रका लागि एकीकृत पूर्वाधार परियोजना बनाउने बताएपछि उक्त परियोजनाका लागि सामान्य अध्ययन गरेर सोकेसमा राखिएको थियो। अहिले थप अध्ययनका लागि प्रस्ताव मागिएको आचार्यले बताइन् ।

सम्बन्धित समाचार