राष्ट्रिय विभूति शंखधर साख्वाले लख तीर्थको तटबाट निकालिएको बालुवा पछि सुनमा परिणत भएको र त्यसैबाट सारा जनताको ऋण तिरिदिएका थिए ।
इस्लाम धर्मावलम्बीको मक्कामदिना, हजयात्रा, इसाई धर्मावलम्बीको बेथलाम, बौद्ध धर्मावलम्बीको लुम्बिनी ठूला तीर्थ हुन् । अक्सर यी धर्मका अनुयायी तीर्थ यात्राको निम्ति, पुण्यप्राप्तिकाे लागि वार्षिक लाखौँलाखको सङ्ख्यामा त्यहाँ पुग्ने गर्छन् । त्यस्तै हिन्दु धर्मावलम्बीका धाम, नाथ तथा नदीमा स्नान गरिने धार्मिक तीर्थ यात्राको छुट्टै महत्त्व रहेको छ ।
प्राचीनकाल देखि नै मानिसको धर्म कमाउन, पुण्यप्राप्तिकाे लागि तीर्थ यात्रा जाने परम्परा थियो र, छ पनि । विशेषगरी हिन्दु धर्मका अनुयायीको लागि तीर्थयात्रामा जानू, पूजाअर्चना तथा धर्मकर्म गर्नु, दान दक्षिणा दिनु, धर्मकाे संस्कार हो । अझ भनौँ जीवन पद्धतिको अभिन्न अङ्ग हो । बर्सेनि हजारौँ नेपालीहरू भारत तथा नेपालका ठूलाठूला धामहरू, नाथहरूको तीर्थयात्रा जाने गरेका छन् । तर काठमाडौं उपत्यकामा रहेका १२ महातीर्थ स्थलमध्ये ७औँ स्थानभित्रको लख तीर्थ (लखु तीर्थ) बारे काठमाडौंका अधिकांश बासिन्दा अनविज्ञ छन् ।

काठमाडौं सहरभित्रको सयौँ वर्ष पुरानो इतिहास भएको बहुधार्मिक तथा सांस्कृतिक सम्पदाको धरोहर लख तीर्थ विष्णुमती किनारमा रहेको छ । महानगरपालिका वडा नम्बर १५ मा अवस्थित विष्णुमती नदीको किनारमा रहेको तीर्थ, लख तीर्थको काखमा ठूलो पिपलको रुख छ । वरिपरि विभिन्न देवी देवताका मन्दिर, पाटी, बुद्धका प्रतिमा र स-साना चैत्यहरू रहेका छन् भने बिचमा विष्णुमती लिङ्क रोडले विष्णुमती नदी र लख तीर्थलाई छुट्याएको छ ।
लख तीर्थको प्राचीन इतिहास
नेपाल भाषामा ‘लख’काे अर्थ ‘लाख’ भन्ने हुन्छ । त्यहीँ ‘लख’ शब्द र धार्मिक आस्थाले लख तीर्थ अर्थात् लाख तीर्थको पर्यायवाची तीर्थ मानिएको हो । धार्मिक किम्बदन्ती अनुसार अन्य देवी देवताका लाख तीर्थ जानू र एकपटक लख तीर्थ जानू बराबर मानिन्छ । लख तीर्थमा स्नान गर्नु भनेको ठूलो पुण्य कमाएको ठानिन्छ । दिनहुँ मानिसहरू लख तीर्थमा श्राद्ध , पूजाआजा तथा धार्मिक कार्य गर्न यस पवित्र स्थलमा पुगेको देख्न सकिन्छ ।

विशेषगरी लख तीर्थमा आज पनि नागको पूजाआजा गरिन्छ । हेर्दा सामान्य देखिए पनि हिन्दु धर्मावलम्बी र बौद्ध धर्मावलम्बीको ठूलो आस्थाको केन्द्रको रूपमा लख तीर्थ रहेको छ । तर, विडम्बना राज्यको उदासीनताले लख तीर्थ किनारको तट अतिक्रमणले गर्दा नदी किनाराको बगरलाई बाटोमा परिणत गरिएसँगै तीर्थको आकार पुरिँदै गयो । नदी कटान र अतिक्रमणको चपेटामा लख तीर्थ अहिले खुम्चिँदै सानो स्वरूपमा बसेको छ ।
वास्तवमा लखुतीर्थ के हो ?
संस्कृति संरक्षण अभियन्ता सन्दीप महर्जन बताउँछन्, “लखा तीर्थ, लुखतीर्थ, लुँखुतीर्थ आदि विभिन्न नामले चिनिने यस तीर्थ स्थललाई निधान तीर्थको नामले पनि चिनिन्छ । काठमाडौं उपत्यकाको रक्षाको जिम्मेवारी लिएका १२ महानागहरू मध्ये नन्दउपनन्द नागको वासस्थान लखतीर्थ रहेको मानिन्छ । नन्द नागको नामले पनि चिनिने नागराजालाई यसै स्थानमा पूजा गर्न आउने पर्ने परम्परा अझैँ बाँकी रहेको छ । हालको डल्लु झोलुङ्गे पुल भएको स्थान देखी टंकेश्वर टेकु सम्म फैलिएको लख तीर्थ हाल एक स्थानमा मात्र बाँकी रहेको छ । त्यो पनि उचित ढङ्गले संरक्षण नभए पुरिने अवस्थामा रहेको छ । विष्णुमती नदीको तटमा रहेको लख तीर्थ वरिपरिका विभिन्न मूर्ति तथा चैत्यहरू छरिएर रहेका छन् भने यसको पारिपट्टि श्री कंग अजिमाको शक्तिपीठ र कंग तीर्थ रहेको छ ।”

विभिन्न बौद्ध धार्मिक पुस्तकमा उल्लेख गरिएको किंवदन्ती अनुसार, राष्ट्रिय विभूति शंखधर साख्वाले लख तीर्थको तटबाट निकालिएको बालुवा पछि सुनमा परिणत भएको र त्यसैबाट सारा जनताको ऋण तिरिदिएका थिए । त्यहीँ जनताको ऋण तिरी दिएको मितिबाट नेपाल संवतको स्थापना भएको जनविश्वास रहेको छ ।
हाल विष्णुमतीको नामले प्रख्यात यस पवित्र नदिलाई स्थानीयहरू अझै पनि ‘लुँ खुसी’ भन्ने गर्दछन् । प्राय: लुँती अजिमाको कथासँग जोडिने यस नदीमा उनले फर्सी पकाउँदा सुनमा परिणत भएको झोललाई बगाएका कथाहरू विभिन्न ग्रन्थमा पढ्न पाइन्छ । सोही अनुसार यस नदीमा सुनका कणहरू पाइने भएकाले लुँ खुसी भनिएको विश्वास गरिन्छ । यसै कारणले नै नदीको मुख्य तीर्थलाई लुँ चुँ तीर्थ (सुनको धुलो/ सुनको कण) भनिएको र कालान्तरमा लुँखु र लख भएको मानिन्छ।
पहिला के विश्वास थियो भने १२ तीर्थ यात्रा गरेपछि अन्य तीर्थयात्रा नगरेपनि हुने लाेकश्रृति रहेको थियो (विभिन्न धार्मिक ग्रन्थमा आधारित )। तर आज अवस्था बदलिएको छ, भएको ऐतिहासिक तीर्थ पनि गुमनाम हुने क्रममा रहेको छ । तीर्थप्रति मानिसको आस्था महिमा आकार र संरक्षणमा जनचासो दिनानुदिन घट्दो छ ।

समाजमा आधुनिकीकरणकाे प्रवेशसँगै तीर्थ भन्दा बार क्लबको तथा स्विङपुलकाे महत्त्व बढेको देखिन्छ । विलासिताका व्यापारी स्थलहरू झिलिमिली भए तर, सांस्कृतिक पहिचान बोकेका सम्पदा ओझेलमा परे । धार्मिक आस्था र धराेहराका प्रतीक महातीर्थ यात्रा जस्ता काठमाडौं उपत्यकाका धार्मिक परम्परा, गतिविधि तथा तीर्थहरू लाेपाेउन्मुख हुने क्रममा छन् । काठमाडौंमै भएका १२ तीर्थको अवस्था, १२ तीर्थभित्र ७ महा तीर्थ ‘लख तीर्थ’को आजको अवस्था हेर्दा आधुनिकताको छाँयामा तीर्थहरू परेका स्पष्ट हुन् आउँछ ।
स्थानीयका अनुसार वि.सं. २०४०-४२ सालसम्म विष्णुमती नदीमा सुनको लागि बालुवा चाल्ने गरिन्थ्यो । नदी सफा थियो । मानिसहरू नुहाउने, लुगा कपडा तथा तरकारी धुन विष्णुमती नदी किनारमा आउँथे ।

२०५० यता उपत्यकाको जनसंख्या व्यापक ढङ्गले वृद्धि भयो । देशका विभिन्न स्थानबाट बसोबासका लागि मानिसहरू काठमाडौंमा आउने क्रम बढ्यो । जनसंख्या वृद्धिसँगै घर निर्माणको निम्ति विष्णुमती नदीबाट भारी मात्रामा बालुवा निकालियो । नदी बाट अत्यधिक बालुवाको दोहन भएसँगै नदिको सतह गहिरो हुन गयो र फलतः तीर्थ भन्दा नदी तल्लो गहिराइ बाट बग्न सुरु भयो । समयक्रमसँगै नदी कटान र बालुवा दोहनले तीर्थ अतिक्रमणको चपेटामा पर्याे र आज सीमित घेरामा रहेको छ ।
२०७६ सालमात्रै लख तीर्थको संरक्षणको निम्ति काठमाडौं महानगरले पचास लाख बजेट विनियोजन गरे पछि लख तीर्थको रूप केही फेरिएको हो ।

अन्त्यमा, राज्यको केन्द्रमा रहेको सांस्कृतिक सम्पदाले भरिपूर्ण काठमाडौंमै अवस्थित धार्मिक तथा सांस्कृतिक पक्ष बोकेको लख तीर्थको अध्ययन अनुसन्धान राज्यको तहबाट भएको देखिँदैन । लख तीर्थ उपर लेखिएका दस्ताबेज समेत पाउन मुस्किल रहेको छ । भएका पनि स्थानीय नेपाल भाषामा मात्र उपलब्ध छन् । यहीँ तरिकाले राज्य अगाडि बढे पुरातात्त्विक महत्त्व बोकेका लख तीर्थ जस्ता सम्पदा विलय हुने सम्भावना दिनानुदिन बढ्दो छ ।
सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका लागि समाजका विभिन्न निकाय सक्रियता साथ लाग्न जरुरी छ । अन्यथा आजको पुस्ताले छिटपुट रूपमा जानकारी पाएपनि भोलिको पुस्ताले कथामात्र सुन्ने सम्भावना रहन्छ । सम्पदाको रक्षाको निम्ति स्थानीय निकाय, पुरातात्त्विक विभाग र संस्कृति मन्त्रालय जाग्नुपर्छ ताकि भविष्यमा पनि भावी पुस्ताले अवलोकन, अध्ययन, मनन र चिन्तन गर्नसकाेस् ।
