शुक्रबार , अषोज १४, २०७९

‘लिटल विन्ग्स क्याफे’ , जहाँ चिया पिएर नाचिरहेका युवाहरू भेटिन्छन्

दुई कप चिया मागेर हामी भित्र प्रवेश गर्‍यौँ । भित्र साँघुरो-साँघुरो भएपनि केही युवाहरू गीत गाइरहेका थिए । कोही नाचिरहेका थिए । मैले जीवनमै पहिलो पटक कोही ‘चिया पिएर नाचिरहेको’ देखिरहेको थिएँ । कस्तो अचम्मको ठाउँ रहेछ भन्दै, राजु र म एक अर्कालाई हेरेर मुस्कुरायौँ ।

image

एक साँझ अफिस सकिएपछि वसन्तपुर दरबार क्षेत्र घुम्न मन भयो । त्यो भन्छन् नि हरेक घटना घट्नुपछि केही कारण लुकेको हुन्छ । वसन्तपुर नघुमेको त होइन तर घुम्नकै लागि भनेर नपुगेको धेरै भएको थियो । यसपालि घुम्न मनलाग्नु कतै केहीसँग जोडिन खोजिरहेको थियो । हामी अनभिज्ञ थियौँ, केही थाह थिएन ।

ए अँ साँच्ची मसँग साथी राजु झल्लु पनि थिए । बर्खाको महिना छ, घुम्दा-घुम्दै अचानक पानी दर्कियो । पानी छल्न हामी संस्कृत विश्व विद्यालयबाट थोरै दुरीमा रहेको एउटा चिया पसलतिर लम्कियौँ ।

‘लिटल विन्ग्स क्याफे’ नाम गरेको उक्त चिया पसलको माहौल नै बेग्लै थियो । पसलमा एउटा बेग्लै किसिमको ऊर्जा हामीले महसुस गर्‍यौँ । दुई कप चिया मागेर हामी भित्र प्रवेश गर्‍यौँ । भित्र साँघुरो-साँघुरो भएपनि केही युवाहरू गीत गाइरहेका थिए । कोही नाचिरहेका थिए । मैले जीवनमै पहिलो पटक कोही ‘चिया पिएर नाचिरहेको’ देखिरहेको थिएँ । कस्तो अचम्मको ठाउँ रहेछ भन्दै, राजु र म एक अर्कालाई हेरेर मुस्कुरायौँ । सयौँ पटक वसन्तपुर आउँदा पनि यो कुरा या भनौँ यो अद्भुत क्याफेमा मरो ध्यान गएको रहेनछ । चिया बनाउने दाइ पनि सहज र चाडै मित्रता गरिहाल्ने किसिमका, ग्राहकहरू उस्तै छिटो घुलमिल भइहाल्ने । त्यहाँ बस्दै गर्दा हाम्रो पनि खुट्टामा एक किसिमको थरथराहट महसुस हुँदै थियो । सायद भित्र कतैबाट हामीलाई पनि नाचूँ-नाचूँ लागिरहेको थियो ।

त्यहाँ बस्दा-बस्दै हाम्रो आँखा क्याफेको भित्तामा गयो । जहाँ विभिन्न ग्राहकले आफ्नो मनको कुरा सानो कागजमा लेखेर टाँसेका थिए । त्यहाँ कतिले आफ्नो मनोभावना पोखेको देखियो भने कतिले आफ्नो सम्झना छोडेको भेटियो । यो कुराले पनि हामीलाई रोमाञ्चित बनायो । हामीले सरसरती केही भनाइ (कोट) हरू पनि पढ्यौँ ।

लिटल विन्ग्स क्याफेको स्थापना

लिटल विन्ग्स क्याफे करिब १५ वर्ष पहिला एक साइबर क्याफे तथा ट्राभल एजेन्सी थियो । पछिल्लो समयमा प्रविधिले फड्को मारेसँगै मान्छेको हात-हातमा मोबाइल आयो, जसले साइबर व्यवसाय धर्मराउदै गयो । साइबरको वैकल्पिक व्यवसायको रूपमा केही न केही सोच्न आवश्यक थियो । करिब ८ वर्ष पहिला लिटल विन्ग्स साइबर क्याफेबाट साइबर भन्ने शब्द हट्यो र सञ्चालनमा आयो- अहिले चिया/कफीको मातमा नाच्न/गाउन सकिने ‘लिटल विन्ग्स क्याफे ।’ ७२ सालमा आएको विनाशकारी भूकम्पले पर्यटन व्यवसायलाई प्रत्यक्ष असर गर्नु पनि अहिलेको क्याफे स्थापना हुनुको कारणमध्ये एक हो ।

क्याफेमा प्राय जुनसुकै बेला ग्राहकहरू भरिएका हुन्छन्, साँझ चार बजेपछि भने बस्ने ठाउँ नपाइन पनि सक्छ । क्याफेमा विशेषगरि चिया-कफी तथा पकौडा, चप, स्याफाले. म:म, ससेज आदि खाजा उपलब्ध छन् । सानो ठिक्कको ठाउँमा ग्राहकहरू आँटि-नआँटि बसिरहेका हुन्छन् ।

सञ्चालक विकल श्रीले आफ्नो भित्तामा टाँसिएका भनाइहरू कथा हामीलाई सुनाए । नियमित चिया पिउन आउने उनको शब्दमा ‘एक जना भाइ’ले स्टिकी नोट ल्याएर केही लेख्दै थिए, त्यत्तिकैमा उनले ‘केही राम्रो लेख, म क्याफेको भित्तामा टाँसिदिन्छु’ भने । उनले लेखेको लाइन विकललाई निकै राम्रो लाग्यो र उक्त कुरा भित्तामा टाँसियो । त्यसपछि अन्य ग्राहकले पनि आफ्ना मनोभावना थप्दै गए र अक्षरहरूको भित्ता तयार भयो । भित्तासँग कुरा गर्ने भित्तामार्फत कुरा गर्ने यो प्रयोग हामीलाई निकै मनपर्यो । सञ्चालक विकलले युवाहरूले त्यहीँ लेखिएका कुरालाई स्ट्याटस बनाउने र टिकटक बनाउने गरेको पनि बताए ।

करिब २५ जना क्षमता भएको लिटल विन्ग्स क्याफेमा ठाउँलाई विचार गरेर बस्नका लागि बेन्च राखिएको छ । आफ्नै परिवारको सदस्य मिलेर सञ्चालन गरिरहेको क्याफेमा सञ्चालक विकलकी श्रीमती मधु श्रेष्ठले त्यहाँ आउने ग्राहकलाई मोटिभेसन पनि गर्ने गरेकी छिन् ।

मोटिभेसन दिँदै मधु

क्याफेमा दुर्व्यसनीमा लागेका व्यक्तिहरू आउँदा उनीहरूलाई सम्झाउने/बुझाउने गर्छिन् मधु श्रेष्ठ । त्यहाँ आएकामध्ये कहिले उनकै कारण दुर्व्यसनीबाट मुक्ति पाएको सञ्चालक विकलले बताए । सकभर आउने ग्राहकलाई चुरोट पनि सेवन नगर्न उनी र श्रीमती मधु सल्लाह दिने गर्छन् । विभिन्न उमेरका ग्राहक आउने क्याफेमा विचार गरेर साना उमेरकालाई चुरोट पिउन दिइँदैन । क्याफेमा इच्छा अनुसार बसेर रमाइलो गर्न सकिन्छ तर राजनैतिक बहस भने गर्न पाइँदैन ।

श्रीमती मधु मानसिक पीडामा परेकालाई परामर्श दिने समेत गर्छिन् । आत्महत्याको अवस्थामा पुगेका केही व्यक्ति उनकै परामर्शका कारण अहिले राम्रो जीवन बिताइरहेको विकलले सुनाए । समस्यामा परेकाहरूको कुरा सुनिदिने र परामर्श दिने गरेकाले जीवनमा परिवर्तन भएकाहरू आएर उनलाई विशेष धन्यवाद दिने गरेका छन् ।

क्याफेमा आएका कति ग्राहकहरू पैसा नतिरी भाग्ने गरेको एउटा समस्या रहेको छ भने कोही वर्षौँपछि सम्झिएर आफ्नो पैसा तिर्न आउने राम्रो पक्ष पनि रहेको छ । वसन्तपुर आएर चिया-कफीसँग तातो-तातो पकौडा खाँदै रमाइलो गर्न उनी आफ्नो क्याफे आउनु पर्ने बताउँछन् ।

क्याफे रहेको घर भत्काउने कुरा चलिरहेको छ, यद्यपि घर नभत्किउन्जेल क्याफेले निरन्तर सेवा दिइरहने विकलले सुनाए । कुरै-कुरामा हामीलाई अबेर भइसकेको थियो, त्यसैले उनीसँग बिदा माग्दै वसन्तपुर आउँदा त्यही क्याफे आउने वाचा गर्दै हामी घरतिर लाग्यौँ ।

Tags:

सम्बन्धित समाचार