मंगलबार , भाद्र ९, २०८३

लाेप हुँदै माैलिक खाद्य परिकार

कार्यक्रममा मासको दालको बारा, बटुक, सुँगुरको विभिन्न परिकार, कन्दमूल तथा घरेलु रक्सी प्रदर्शनमा राखिएको खगेन्द्र पुन मगरले बताए तापनि केही स्टलमा मात्र मौलिक परिकार तथा कन्दमूल देखिन्थ्यो । 

image

काठमाडौं । आज माघ १ गतेलाई आ-आफ्नो परम्परा अनुसार देशभरि माघे सङ्क्रान्ति, तिला सङ्क्रान्ति, चेलीत्यार, खिचरहवा, माघी पर्व आदि नामले मनाइएको छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, बाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी आदि देशका विभिन्न स्थानमा विशेष मेला तथा महोत्सव समेत लाग्ने गर्छन् ।

पूर्वदेखि पश्चिमसम्म बसोबास गर्ने विभिन्न जातजातिको यस साझा पर्वलाई आआफ्नो परम्परा, भिन्न–भिन्न विशेषता र प्रकृतिले मनाउने गरिन्छ । काठमाडौंको टुँडिखेलमा पनि मगर समुदाय तथा थारु समुदायले विभिन्न कार्यक्रम गरी पर्व मनाएका छन् । थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने यस पर्वलाई माघी तथा खिचरहवा भन्ने गरेका छन् । साथै मगर समुदायले यसलाई आफ्नो मुख्य चाड माघे साकरातीको रूपमा मनाउने गरेका छन् ।

मगर तथा थारु समुदायले टुँडिखेलमा आ-आफ्नो मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेषभूषा, मौलिक खानपिनको प्रदर्शनी तथा शुभकामना आदान–प्रदान गरी माघे सङ्क्रान्ति मनाएका छन् । दुवै कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिए तापनि आज भएको यती एयरलाइन्सको विमान दुर्घटनाका कारण उनी कार्यक्रममा आउन असमर्थ भए । सोही कारण वैकल्पिक व्यक्तिलाई प्रमुख अतिथि/विशिष्ट अतिथिको आसन ग्रहण गराई कार्यक्रम सञ्चालन गरिएको थियो ।

‘मगरात सभ्यताको संरक्षण–संवर्द्धन गर्दै पुस्तान्तरण गरौँ, मगर समुदायको महान चाड माघे सकराती–२०७९ भव्यताका साथ मनाऔँ’ भन्ने नाराका साथ मगर समुदायले माघे साकराती मनाएका छन् । मगर समुदायको यस ऐतिहासिक तथा सांस्कृतिक पर्वलाई पुसको २९, ३० र माघको १ गते भव्यताका मनाइएको नेपाल मगर सङ्घ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुन मगरले जानकारी दिए । कार्यक्रमबारे जानकारी दिँदै उनले भने ‘मगर समुदायको ओझेलमा पर्दै गएको ऐतिहासिक संस्कृतिहरू र लोप हुँदै गएको संस्कृतिलाई कसरी उजागर गर्न सकिन्छ र पुस्तान्तरण गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर विभिन्न कार्यक्रम गरिएको हो ।’

रुकुम पूर्वबाट प्रकृति पूजक मगर समाजले झाँक्री नाच, सालैजु, सोरठी, बाग्लुङमा यथावत् रहेको घाटु नाच, पूर्वको हुर्रा नाच आदि प्रदर्शन गरिएको उनले बताए । कार्यक्रममा मासको दालको बारा, बटुक, सुँगुरको विभिन्न परिकार, कन्दमूल तथा घरेलु रक्सी प्रदर्शनमा राखिएको उनले बताए तापनि केही स्टलमा मात्र मौलिक परिकार तथा कन्दमूल देखिन्थ्यो ।  कार्यक्रमका लागि निमन्त्रणा दिन जाँदा प्रधानमन्त्रीलाई समेत मगर समुदायको मौलिक परिकारहरू लागिएको उनले सुनाए । यद्यपि मौलिक खानालाई अन्य विभिन्न खाद्य परिकारले विस्थापित गर्दै लगेको वर्तमान अवस्था बारे सोध्दा उनले आफूले त्यस्तो नदेखेको बताएर कुरा टुङ्ग्याए ।

मगर समुदायको मौलिक खानाहरू प्रदर्शन गर्नमा किन कन्जुस्याइँ गरिएको होला भन्ने प्रश्नमा एक व्यापारी राज मगरले ग्राहक र समयको माग अनुसार त्यसो गर्नु परेको सुनाए । उनले भने ‘मौलिक खानाहरू प्रदर्शन नगरिनु ठिक नभए तापनि व्यापारिक दृष्टिकोणले पनि हेर्नु पर्ने हुन्छ।’

कार्यक्रममा अमृता मगरको स्टलमा मगर समुदायसँग सम्बन्धित खानाका केही परिकारहरू पनि भेटिए । उनले आफूले सकेसम्म आफ्नो समुदायसँग सम्बन्धित खानाहरू प्रदर्शनमा राख्ने कोसिस गरेको बताइन् । आफ्नो मौलिक परिकारहरू जोगाउनु पर्ने बताउँदै उनी भन्छिन् ‘मगर समुदायको मौलिक संस्कृति अनुसार पाक्ने परिकारलाई प्राथमिकता दिनुपर्छ, त्यसपछि मात्र अन्य परिकारलाई स्थान दिनुपर्छ ।’

नेपाल मगर सङ्घ केन्द्रीय समितिका उपमहासचिव खगेन्द्र पुन मगरले ओझेलमा पर्दै गएको ऐतिहासिक संस्कृतिहरू र लोप हुँदै गएको संस्कृतिलाई पुस्तान्तरण गर्ने कुरा गरे तापनि त्यसको लागि उल्लेखनिय कसरत गरेको भने देखिँदैन ।

सम्बन्धित समाचार