केही माग्नेहरू दिनभरि मागेर कमाएको पैसाले रक्सी पिउने गरेका छन् । रक्सी पिएर आएपछि एकापसमा लड्ने, होहल्ला गर्ने, एक अर्कालाई आक्रमण गर्ने गरेका छन् । विशेष पर्वमा दिन उनीहरू अन्यत्रका मन्दिर समेत पुग्ने गरेका छन् ।
सडकको कथा :
काठमाडौं महानगरपालिकाले महानगरभित्र माग्न नपाउने घोषणा गरेको धेरै भएको छैन, जसले सबैको ध्यानाकर्षण गर्यो । मलाई पनि यो कुराले कता-कता कुटुकुटु खाइरहेको थियो । एकदिन रत्नपार्कबाट अफिसको लागि यात्रा गर्ने क्रममा आखिर के-कसो छ त महानगरमा माग्नेको समस्या र उनीहरूले निम्त्याएको समस्या भन्ने बुझ्न चाहना भयो । त्यसैले म अफिसको लागि गाडी नचढी महाँकाल वरिपरि रहेका माग्नेहरूको अवस्था र मन्दिरसँग उनीहरूबाट आउने गरेको समस्या बुझ्न हिँडे ।

पण्डितहरूको कुरा
पहिला म सरासर मन्दिरभित्र सरासर प्रवेश गरेँ र त्यहाँ आउने भक्तजनका लागि पूजापाठ तथा ग्रहशान्ति गरेर घर चलाइरहेका पण्डितसँग यसबारे बुझ्न खोजेँ ।
महाँकाल मन्दिर परिसरमा पण्डित्याइँ गरेर बस्ने काभ्रेपलान्चोकका दिनेश कोइराला आफ्नो फुर्सदको समयमा त्यहाँ आउने भक्तजनका लागि पूजापाठ गरिदिन मन्दिर आउने गर्छन् । कहिलेकाहीँ काठमाडौं आएको बेलामा मन्दिर आएर केही खर्च जुटाउन उनी पण्डित्याइँ गर्ने गर्छन् ।
उनैले मलाई अर्का पुराना पण्डित रामप्रसाद उपाध्यायसँग भेट गराइदिए ।
काभ्रेपलान्चोकका उपाध्याय करिब २२ वर्षदेखि सो मन्दिरमा पण्डित्याइँ गरिरहेका छन् । उनले पहिला यो मन्दिरमा माग्नेहरू धेरै रहेका तर पछिल्लो समय घट्दै गइरहेका बताए । उनका अनुसार माग्न बस्नेहरू प्राय नेपाली नागरिक नै रहेका छन्, तर कतिपयको भने नागरिकता समेत रहेको छैन । उनी भन्छन्, “घरमा माग्न आउने जोगीहरू भारतीय हुन्छन्, यो मन्दिर बाहिर बस्ने चाहिँ नेपाली नै हुन् ।”
अधिकांशको गाउँमा बाउबाजेले ऋण गरेर खाए, ऋण तिर्न नसकेपछि जग्गाजमिन साहुले हडपे । र, उनीहरू कामको खोजीमा ज्याला मजदुरी गरेर खाने गर्दागर्दै सडकमा ओर्लिएर माग्नुपर्ने स्थितिमा आइपुगेका हुन् । कतिपयले पुर्ख्यौली पेसाको रूपमा पनि यसलाई अँगालेका छन् । नागरिकता नभएपछि उनीहरूको यो अवस्था आएको बुझिन्छ ।
पण्डित उपाध्याय सुरुमा यो मन्दिरमा आउँदा धेरै भक्तजनहरू आउने गरेको सुनाउँछन् । साथै, त्यतीबेला दिउँसै लुटपाट पनि धेरै हुने गरेको उनले देखेका थिए । मन्दिरमा सामुदायिक प्रहरी आएपछि भने अवस्थामा केही सुधार आएको छ । केही माग्नेहरू दिनभरि मागेर कमाएको पैसाले रक्सी पिउने गरेका छन् । रक्सी पिएर आएपछि एकापसमा लड्ने, होहल्ला गर्ने, एक अर्कालाई आक्रमण गर्ने गरेका छन् । विशेष पर्वमा दिन उनीहरू अन्यत्रका मन्दिर समेत पुग्ने गरेका छन् । जहाँ बढी कमाइ हुन्छ भन्ने लाग्छ, उनीहरू त्यतै पुग्ने गरेका छन् ।
उनीहरूलाई बेला-बेला मानव आश्रमले लिएर जाने गरेको छ । तर, एकापसमा मिलेर उनीहरू आफ्नो साथीलाई फर्काउने गर्छन् । कति भागेर आउँछन् भने कतिलाई अन्यले ‘मेरो परिवार हो’ भन्दै फर्काएर ल्याउने गरेका छन् ।
दोलखा घर भई हाल भक्तपुर बस्ने पण्डित ओम प्रसाद पौडेल आफ्नो खर्च जुटाउन मन्दिरमा आउने भक्तजनका लागि पूजापाठ गरिदिने गरेका छन् । २०६३ साल असारमा उनले आफ्नो एक हात गुमाए तर, सरकारले बेवास्ता गर्दा अहिलेसम्म कुनै भत्ता पाउन नसकेको दुखेसो उनीसँग छ । उनले सम्पूर्ण कागजात तथा निवेदन पनि बुझाइसकेका छन् । यद्यपि सरकार पक्षबाट भने केही पहल भएको छैन । आफैँलाई समेत बेवास्ता गरेको सरकारलाई उनी मन्दिर बाहिर बस्नेहरूका लागि पनि केही व्यवस्था गरिदिए हुने भन्ने अनुरोध गर्छन् ।
माग्नेहरूप्रति उनको गुनासो ‘रक्सी नपिइदिए हुने थियो’ भन्ने छ । शिष्ट ढङ्गले आउने-जाने भक्तजनलाई दुःख नदिई बसिदिए हुने भन्ने उनको चाहना रहेको छ ।

माग्नेहरूको अवस्था
मन्दिर प्रवेश गर्ने बेलामै मैले केही माग्नेहरू रक्सी पिएर लडिरहेको देखेको थिएँ । केही हेर्दा काम गरेर खान सक्ने हृस्ट-पुस्ट समेत देखिन्थे । केही भने विभिन्न रोगले थला परेर त्यहाँ माग्न बसेको पनि देखियो । यसैक्रममा मैले रक्सी नपिएका केही माग्नेहरूसँग भलाकुसारी गर्ने निधो गरेँ।
वीरगन्जबाट आएकी उम्रावती आफ्नो जीविकोपार्जनका लागि केही समय महाँकाल मन्दिर बाहिर माग्न बस्ने गर्छिन् । ०७२ सालको भूकम्पमा आफ्नो घर ढलेपछि उनले घर मात्र गुमाइनन्, आफ्नो परिवार पनि गुमाइन् । एक्लो र असहाय भएको मान्छेलाई आफन्तले कस्तो व्यवहार गर्छन् भन्ने कुरा नेपाली समाजमा बताइरहनु नपर्ला ! भूकम्पमा आफ्नो पति गुमाएपछि उनलाई पनि त्यही व्यवहार गरियो । देवरले भूकम्प पीडितलाई आउने राहत पनि झुक्क्याएर हडपेपछि उनी विवश भई काठमाडौंसम्मको यात्रा तय गर्न पुगिन् । उनी अहिले काठमाडौंका केही घरमा सर-सफाइको काम गर्छिन् । साथै, फुर्सदको समयमा महाँकाल मन्दिर प्राङ्गणमा माग्ने गर्छिन् । हालै महानगरपालिकाले माग्न नदिने निर्णय लिएपछि उनी निराश भएकी छिन् । महानगरपालिकाले आफ्नो र आफू जस्ताका लागि उचित आर्थिक व्यवस्थाको बाटो खुलाइदिए हुने भन्ने उनको चाहना छ ।

त्यसैगरि, रामेछापकी सरिता र उनको दाइको परिवार पनि मन्दिर प्राङ्गणमा मागेर आफ्नो घर खर्च चलाउने गर्छन् । उनको दाइ करिब २२ वर्ष अघि काठमाडौं प्रवेश गरेका थिए र थालेका थिए, भारी बोक्ने काम । भारी बोक्ने कामले सन्तोषजनक अर्थ बटुल्न नसकेपछि उनीहरूले मन्दिर प्राङ्गणमा माग्न बस्ने निर्णय लिएका हुन् । मन्दिर समितिले माग्न बसेकाले आउने भक्तजनलाई अभद्र व्यवहार गर्ने गरेको र रक्सी पिएर मन्दिर प्राङ्गण फोहोर गर्ने गरेको आरोपमा उनी भन्छिन्, “खोइ हामीले त गरेका छैनौँ, अरूले गर्दा हामीलाई पनि अप्ठ्यारो पर्ने भयो ।”
शारीरिक रूपमा अस्वस्थ उनको ढाडको हड्डी खिइएको छ, पेट सुन्निएको छ र उनलाई उच्च रक्तचापको रोग समेत रहेको छ । मागेर आएको पैसाले नै आफ्नो उपचार खर्च र परिवार पाल्ने काम भइरहेको उनी बताउँछिन् ।
नुवाकोटकी फुयाँल थरकी एक वृद्धा पनि करिब एक वर्षदेखि सो मन्दिरमा मागेर आफ्नो खर्च चलाउँदै आएकी छिन् । यो उमेरमा छोराछोरीसँग किन नबसेको भन्ने मेरो प्रश्नमा उनी भन्छिन्, “मलाई अरूको बोझ भएर बस्न मन लाग्दैन, उनीहरूको आफ्नै घर-व्यवहार छ, मैले अप्ठ्यारो पार्दिन हुँदैन, सकेसम्म गर्छु नसके हेर्लान् नि ।”
केही समय अघि हप्तौँ सम्म बिरामी भएर मन्दिर बाहिर लडिरहँदा कसैले वास्ता नगरेको उनले सुनाइन् । त्यही मागेर बस्ने अरू साथीलाई देखाउँदै उनले भनिन्, “ यिनीहरूले नै दिनरात सेवा गरेर म अहिले तङ्ग्रिन पाएको हुँ ।”
मन्दिरको भनाइ
मन्दिरमै हुर्किएका किसन ठकुरीसँग पनि यस विषयमा मेरो केही कुराकानी भयो । २०५८ साल देखि सामुदायिक प्रहरी आए पनि सोचेअनुरूप सुधार नभएको उनी बताउँछन् । २०५८ सालदेखि सामुदायिकको अध्यक्ष समेत रहेका महानगरपालिकाका पूर्व मेयर विद्या सुन्दर शाक्यले पद पाउँदा समेत मन्दिरका लागि केही उल्लेखनीय काम नगरेको बुझियो । मानव सेवा आश्रमले माग्ने व्यवस्थापन गर्ने विभिन्न कार्यनीति समेत लिएर आयो, जहाँ किसन लगायतका मन्दिरका संरक्षकहरूले सहयोग पनि गर्न खोजे । तथापि उनीहरू सफल हुन सकेनन् ।

किसनको समूहले बेला-बेला माग्नेहरूको उचित व्यवस्थापन गरिदिनु पर्यो भनेर आवाज पनि उठाउने गरेका छन् । माग्नेहरूले आउने भक्तजनहरूलाई अभद्र व्यवहार गर्ने, पछ्याउने लगायतका कार्य गर्दा मन्दिर गरिमा गुम्दै गएको छ । माग्नेहरूले भिड-भाडको मौका छोपेर लुटपाट पनि गर्ने गरेको किसनले सुनाए । केही दुर्व्यसनीमा फसेका व्यक्तिहरूले ब्लेडले गोजी चिरेर चोरी गर्ने गरेका छन् । साथै, हातहतियार देखाएर धनमाल लुट्ने गरेका छन् । प्रहरीहरू समेत उनीहरूसँग डराउने गरेको किसनले सुनाए । उनीहरूले छाप्रो हालेर सोही ठाउँ नजिक अतिक्रमण गरेर बस्ने गरेका थिए । तर, किसन लगायतका स्वयंसेवकहरूको पहलमा उनीहरूलाई लखेटेर त्यसको समाधान गरियो ।
केही माग्नेहरूको सुकुम्वासी क्षेत्रमा घर समेत रहेको किसानले सुनाए । “माग्ने आफैँमा समस्या भने होइन, उनीहरूले गर्ने व्यवहारले अरूलाई असर गरेकाले र मन्दिरको गरिमामा नै आँच आउने काम भएकाले उनीहरूलाई समस्याको रूपमा हेरिएको हो । मागेर कमाएको पैसाले रक्सी पिउने र दिनभरि मन्दिर बाहिर सुत्ने ! त्यहीँ छादिदिने, दिशा-पिसाब गरिदिने ! यसरी त कहाँ हुन्छ र ?” मन्दिर क्षेत्र फोहोर हुने र आउने जानेलाई असहज हुने हुनाले उनीहरूको व्यवस्थापन गरिनु पर्ने कुरामा मन्दिरका स्वयंसेवकले जोड दिइरहेको पाइन्छ ।
शनिवार विशेष भक्तजनको भिडभाड हुने भएकाले सो दिन आपराधिक घट्नाहरु बढी हुने गरेको छ । र ती घट्नामा अधिकांश माग्नेहरू संलग्न हुने गरेका छन् । पैसा नदिने भक्तजनलाई हात हाल्ने लगायतका कार्य गरेर दुःख दिएकाले नै माग्नेहरू समस्या बन्दै गइरहेका छन् । पहिला निम्न वर्गीय र दुःख पाएकाहरू मात्र माग्न बस्ने गरेका थिए । अहिले धेरै दुर्व्यसनीमा फसेकाहरू लागूऔषध सेवनका लागि माग्न बस्ने गरेको किसनले बताए ।
अनाधिकृति पार्किङको बिगबिगी
मन्दिर प्राङ्गणमा अवैधानिक ढङ्गले पार्किङ समेत हुने गरेको कुरा उनले सुनाए । सम्बन्धित वडाले आफ्नो चिनजानको भरमा यसको ठेक्का दिएको छ । महाँकाल गुठीको नाममा पार्किङ सञ्चालन गरेर चिट काटेर व्यक्तिको पेट भर्ने काम भइरहेको किसनले सुनाए । उनले यसको विरोध गरेर केही दिन ‘प्रोटेस्ट’ पनि गरे, पार्किङबाट भएको आम्दानीले मन्दिरमा केही सुधार नगरिएकाले नै उनी प्रोस्टेट गर्न बाध्य भएका हुन् । सो प्रोस्टेट गर्दा विभिन्न किसिमका धाक-धम्की पनि उनलाई दिइएको थियो ।
सर्वोच्च अदालतले सो ठाउँको पार्किङलाई नि:शुल्क पार्किङ घोषणा गरे तापनि त्यो कुरा लागु हुन सकेको छैन । पार्किङबाट उठ्ने पैसाको पारदर्शिता हुन पर्यो भन्ने किसनको भनाइ रहेको छ, तर यसमा राजनैतिक हस्तछेप हुने गरेको छ । यो कुरामा महानगरपालिकाको ध्यानाकर्षण होस् भन्ने उनी चाहन्छन् ।

रक्सी चढाउनाले विघ्नवाधा हट्छ
माग्नेहरूसँग सम्बन्धित कुराकानीपछि किसनले मन्दिरको बारेमा पनि केही जानकारी दिए । उनी बेला-बेला माग्नेहरूको प्रसङ्गमा जोडिन्थे भने बेला-बेला मन्दिरको कुरा पनि गर्थे ।
मन्दिरमा एउटा पुजारी (१३ जना सदस्यको ग्रुप) फेरिने गरेको छ, जो गुभाजु हुन् । मन्दिरमा चढाउने रक्सी विशेष चाडवाडमा भक्तजनहरूलाई वितरण गरिन्छ । करिब ७२ राष्ट्रका भक्तजन आउने गरेको बताइने मन्दिरको रक्सी विशेष भोज-भतेरमा गुठियारहरूले खपत गर्ने गरेका छन् । यहाँको रक्सी बिरामीहरूले पेट दुख्ने लगायतका समस्या भएको बेला खाए निको हुने जनविश्वास रहेको छ । साथै, यहाँ रक्सी चढाउनाले विघ्नवाधा टाढिने विश्वास गरिन्छ । हिन्दु धर्मावलम्बीहरूका अनुसार मन्दिरको दर्शन गरे भैरव प्रसन्न हुने र आटेको काम बन्ने विश्वास गरिन्छ । बुद्ध धर्म अनुसार महाँकाल कुल देवता पर्ने हुनाले यहाँ रक्सी चढाउने गरिन्छ ।

मन्दिरको इतिहास
वंशावलीका अनुसार कलिगत संवत् १८२२ मा एकजना महातान्त्रिक गुभाजु टुँडिखेलमा बाख्रा चराई लम्पसार परी आकाशतिर हेर्दै थिए । त्यसै समयमा आकाश मार्गमा उत्तरबाट दक्षिणतर्फ धपक्क ढाकेको महाँकाल भैरवको आकारलाई देखे । त्यस तान्त्रिकले उक्त भैरवलाई यही राख्न पाए यहाँको उपकार हुनेछ भनी आफ्ना राजा गुणकाममा विनम्रतापूर्वक उक्त कुरा जाहेर गरे । राजाले अति उत्तम भनी त्यो कार्य गर्न अनुमति दिए ।
आफूले आकाशमा दर्शन पाएका महाँकाल भैरवको आकार अनुकरण गरी कालिगडद्वारा एउटा ठुलो कालो ढुङ्गामा उक्त मूर्ति बनाउन लगाए । विधि-विधानअनुसार आफ्नो विद्याद्वारा त्यस महाँकाल भैरवलाई आकाशबाट धर्तीमा उतारी त्यस मूर्तिमा प्रवेश गराउन खोज्दा ‘तिमीले मेरो कदर गरेर मजस्तै शिलाको मूर्ति तयार गर्न लगाएर मेरो मान सम्मान गरेकोमा म साह्रै खुसी भए । तर ब्रह्माण्डभर निरन्तर यताउता घुमिरहनु परेकोले सधैँ स्थिर रूपमा यहाँ मात्र बस्न मिल्दैन । हप्ताको एकपटक शनिश्चर बारको दिनमा अहोरात्र यसै शिलामा प्रवेश भइदिउँला’ भनी महाँकालले भने । ‘जसो जसो महाँकाल, तसो तसो स्वाहा’ भनी गुभाजुले मन्जुर जनाएपछि मूर्तिलाई टुँडिखेलको पश्चिम भागमा स्थापना गरी तन्त्र मन्त्रको अमोघ शक्तिले पूजा गरी प्रतिस्थापन गरे ।
त्यहाँदेखि महाँकाललाई भक्तजनहरूले पूजा गरी सर्वशक्तिमान् मानी आएका छन् । त्यस महाँकालस्थानमा अन्य दिनमा भन्दा शनिवार बिहान र बेलुका पूजा गर्नेहरूको घुइँचो लाग्ने गरेको पाइन्छ । (वासु पासा, कान्तिपुर)

प्राचीन समयमा महाँकाल भैरवको मन्दिर हालको महेन्द्र पुलिस क्लब रहेको स्थानको पछाडि पट्टीको भागमा भएतापनि हाल भने वीर अस्पतालको सम्मुख ६ फिट उचाईको ढुङ्गाको मुर्तिसहितको मन्दिर स्थापित छ।
महाँकाल भैरव मन्दिरमा बज्रयान पूजा विधिबाटै पूजा गरिन्छ । बज्रयान पूजा विधिका लागि ख्या (दही, तेल, ज्वानो, बेसार, मसाला, चामल आदि राखेर तयार पारिएको पेय पदार्थ), रक्सी, सेतो जाँड, रातो जाँड, फलफूल, चिउरा, स्यावजी, मासु, रोटी इत्यादि आवश्यक पर्दछ । तर, महाँकाल भैरवका पूजारी उज्ज्वल बज्राचार्यका अनुसार पछिल्लो समय स्वदेश तथा विदेशमा रहेका मानिसहरुले विदेशी ब्रान्डका रक्सी तथा अन्य सामाग्री ल्याएर चढाउने गरेका छन् । तर सो बज्रयान पूजा विधिको अंग भने होइन । यस विधिमा चढाइने मदिरा स्थानीय स्तरमै विशेष तवरबाट तयार गरिन्छ ।
पूजारी बज्राचार्यका अनुसार मुख्य गरी साढेसात, शनि, राहु, केतुलगायतका ग्रहदशाको शान्ति तथा पूजा गर्नुपरे यस मन्दिरमा भक्तजनहरु आउने गर्छन् । तर, ती कार्यका लागि भने रक्सी आवश्यक नपर्ने उनले स्पष्ट पारे । पछिल्लो समय भने रक्सी चढाइने मान्यता विस्तार हुँदै जाँदा धेरैजसो भक्तजनले दर्शनका लागि आउँदा रक्सी ल्याउने गरेका छन् । पूजारी बज्राचार्यले भने, ‘हिजोआज बिहानै मन्दिर दर्शन गर्न आउनेले पनि रक्सी ल्याएर चढाउने गरेको पाइन्छ । खासमा मन्दिरमा गरिने विशेष बज्रयान, तान्त्रिक लगायतका पूजा गर्दा मात्रै रक्सी अनिवार्य रहन्छ।’
महाँकाल भैरव मन्दिरमा बज्रयान विधि जस्तै तान्त्रिक पूजा विधिबाट पनि पूजाअर्चना गरिन्छ । तान्त्रिक पूजाका लागि पनि बज्रयान पूजाअनुसार पात्र पूजा गर्दा आवश्यक सबै पूजा सामग्री अनिवार्य हुन्छ । सोका अलावा यस विधिअन्तर्गत रहेर पूजा गर्न हाँसको अन्डा पनि आवश्यक पर्छ ।