काठमाडाैं । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकास्थित मौलाकालिका मन्दिरमा वैशाख १ गतेबाट केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकारका इन्जिनियर गोकुल साउदका अनुसार केवलकार निर्माणको सबै काम अन्तिम चरणमा पुगेकोले नयाँ वर्षदेखि सञ्चालनमा आउने भएको हो ।
हरेक नयाँ वर्षमा एकैदिन मौलाकाली मन्दिरमा हजारौँ तीर्थालु पुग्छन् । नयाँ वर्षका तीर्थालुलाई केबलकारमा यात्रा गराउने गरी काम भइरहेको उनले बताए ।केवलकार सञ्चालनका लागि वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा एक हजार ३८ रूख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
गैँडाकोट–१ धारापानीमा चढ्ने र मन्दिर नजिक ओर्लने स्टेसन छन् । त्यहाँ हेलिप्याड निर्माण गरिएको छ । केबलकारको लम्बाइ १२ सय मिटर छ । ६ वटा टावर रहने केबलकारमा एउटा सामान बोक्ने र अर्को सर्भिसिङ डब्बा गरी १४ वटा डब्बा रहनेछन् । एउटा डब्बामा एक पटकमा ८ जना अट्ने क्षमता छ । हरेक डब्बा ५ मिनेटमा मन्दिर पुग्ने कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ ।
मन्दिर नजिकमा ५० कोठाको सुविधा सम्पन्न होटल पनि निर्माण भएको छ । केबलकारमा आईएमई ग्रुपको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत लगानी छ । आइएमई समूहले यसअघि काठमाडौंको चन्द्रागिरिमा केवलकार सञ्चालनमा ल्याइसकेको छ । हाल यो समूहले बुटवल र गैँडाकोटमा केबलकारको काम अन्तिम चरणमा पुर्याएको छ । मन्दिर परिसरबाट चितवन, नवलपरासी र देवघाटको मनोरम दृश्य देख्न सकिन्छ ।