शुक्रबार , अषोज १४, २०७९

पर्यटन क्षेत्र उत्साहजनक ढङ्गले लयमा फर्कँदै छ: -मणि राज लामिछाने (निर्देशक, नेपाल पर्यटन बाेर्ड)

हालसम्मको पर्यटक आगमन र मुख्य सिजनको सुरुवातसँगै पर्यटन व्यवसायीहरू उत्साहित देखिन्छन् । यस वर्ष हवाई मार्गबाट करिब ६ लाख र स्थलमार्गबाट करिब १२ लाख पर्यटक भित्रिने नेपाल पर्यटन बोर्डको आङ्कलन छ । 

image

विश्वव्यापी कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्र विस्तारै चलायमान बन्दै गएको छ । सन् २०२२ सुरु भएयता पर्यटकको आगमन पनि बढेको छ । यस वर्षको पछिल्लो ८ महिनामा नेपालमा हवाई मार्गबाट ३ लाख २६ हजार पर्यटक नेपाल भित्रिएका छन् । स्थल मार्गबाट खासगरी छिमेकी भारतबाट आउने पर्यटकको यकिन तथ्याङ्क भने छैन । 

अहिले नेपालमा पर्यटनको मुख्य सिजन सुरु भएको छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्मको अवधिलाई पर्यटनको मुख्य सिजन मानिन्छ । हालसम्मको पर्यटक आगमन र मुख्य सिजनको सुरुवातसँगै पर्यटन व्यवसायीहरू उत्साहित देखिन्छन् । यस वर्ष हवाई मार्गबाट करिब ६ लाख र स्थलमार्गबाट करिब १२ लाख पर्यटक भित्रिने नेपाल पर्यटन बोर्डको आङ्कलन छ । 

नेपाल पर्यटन बोर्ड नेपाल सरकार र निजी क्षेत्रको पर्यटन उद्योगबीच साझेदारीको रूपमा सन् १९९८ मा संसद्को ऐनद्वारा नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास र बजारीकरण गर्न स्थापना भएको नेपालको राष्ट्रिय पर्यटन सङ्गठन हो । बोर्डले सरकारको प्रतिबद्धतालाई निजी क्षेत्रको गतिशीलतासँग एकीकृत गरी नेपालको पर्यटन क्षेत्रको नेतृत्वकर्ताको रूपमा काम गर्दै आएकाे छ । 

बोर्डले नेपाललाई आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै नेपालको छवि उकास्ने काम गरिरहेको छ । यसले पर्यटन क्षेत्रको विकास र नियमन पनि गर्दै आएको छ । नेपाल पर्यटन बोर्डलाई स्वतन्त्र ढङ्गले काम गर्न र आत्मनिर्भर बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गर्ने विदेशी यात्रुबाट पर्यटक सेवा शुल्कको रूपमा रकम सङ्कलन गर्दै आएको छ । तर, पछिल्लो हप्ता मात्रै विमानस्थल बोर्डको सो राजश्व कार्यालयमा ताला लगाइदिएको छ । 

नेपालको पर्यटन क्षेत्रको अवस्था, पर्यटन पुनरुत्थानका लागि पर्यटन बोर्डले गरेका कार्यहरू र आगामी योजना, बोर्ड र अन्य पर्यटन सम्बद्ध सङ्गठन तथा निकायहरूबीच देखिएको विवाद लगायत विषयमा केन्द्रित रहेर बोर्डका निर्देशक मणि राज लामिछानेसँग हाम्रा सहकर्मी चन्द्र तामाङले गरेको कुराकानीको सम्पादित अंश: 

१. नेपालको पर्यटन क्षेत्रको पछिल्लो अवस्था कस्तो छ ? जानकारी दिनुस् न ।

– अहिले हामी सेप्टेम्बरको मध्यतिर छौँ । यो भनेको पर्यटनको सिजन सुरु हुने बेला हो । नेपालमा सेप्टेम्बर, अक्टुबर र नोभेम्बरलाई मुख्य सिजन मानिन्छ । अहिलेसम्मको पर्यटक आगमन र गतिविधिलाई हेर्दा उत्साहजनक देखिएको छ । सन् २०२२ को अप्रिलसम्म आउँदा सन् २०१९ को तुलनामा हाम्रो पर्यटन ५५ प्रतिशत रिभाइभ भएको थियो भने जुलाईमा ७५ प्रतिशत रिभाइभ भएको थियो । अगस्टमा चाहिँ अलि खस्कियो । यो अफ सिजन भएर पनि हो । अब सिजन सुरु भयो । यो सिजन राम्रो हुने अपेक्षा छ र राम्रो हुने आशाका किरणहरू देखिएका छन् ।

२. कोभिड महामारीबाट थला परेको पर्यटन क्षेत्रलाई उठाउन पर्यटन बोर्डले के-के गर्‍यो ?

– कोभिड महामारी सुरु भएपछि हामीले दुई चार वटा कामहरू गरेका छौँ । जुन देखिएको पनि छ । हामीले पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेर काम गर्ने ट्रेकिङ गाइड, ट्रेकिङ पोर्टर, रेस्टुरेन्टमा काम गर्ने वेटरदेखि र्याफ्टिङ गर्ने सम्मका जनशक्तिको लागि अल्पकालीन रोजगारी सिर्जना गर्‍यौँ । नेपाल पर्यटन बोर्ड र युएनडिपी मिलेर सस्टेनेबल टुरिजम फर लाइभलीहुड रिकभरी भन्ने कार्यक्रम गर्‍यौँ । त्यो प्रोजेक्टबाट करिब ६ हजार जनालाई रोजगारी दियौँ । यसपछि १०० किलोमिटर जति ट्रेकिङ ट्रेल, ७५ किलोमिटर जत्ति हाइकिङ ट्रेल र १५ किलोमिटर जत्ति साइक्लिङ ट्रेल पनि बनायौँ । यसैबीच हामीले टुरिजम रिकभरी स्ट्रेटजी पनि बनायौँ र यो अहिले अन्तिम चरणमा छ । यसमा यस्तै क्राइसिसहरू आउँदा टुरिजमलाई कसरी रिकभर गर्न सकिन्छ भन्ने स्ट्रेटजी छ । अन्तर्राष्ट्रिय प्रचारप्रसारमा पनि काम गर्‍यौँ । विभिन्न डिजिटल माध्यमबाट प्रचार गर्‍यौँ । हामीले फिजिकली पनि विभिन्न देशहरूमा गएर पर्यटन व्यवसायीहरूलाई पनि सँगै लिएर भारत, बङ्गलादेश, श्रीलङ्का, स्पेन लगायतका देशहरूमा प्रचार गर्‍यौँ । विभिन्न देशहरूमा रहेका दूतावासहरूमार्फत पनि हामीले प्रचारप्रसारको कामलाई अगाडि बढाइरहेका छौँ ।

३. पर्यटनको थप विकासका लागि आगामी योजनाहरू के-के छन् ?

– मुख्यगरी त हाम्रो परम्परागत बजारहरूमा अझ सशक्त भएर प्रस्तुत हुने योजना छ । त्यो भन्दा पनि ठूलो चाहिँ भारत र बङ्गलादेशको सन्दर्भमा चाहिँ त्यहाँबाट आउने पर्यटक सन् २०१९ को भन्दा पनि राम्रो ग्रोथ भएको छ । त्यहाँ अझै बढी प्रचार गर्न योजना छ । त्यसैगरी वान स्टप डेस्टिनेसन कन्ट्रीहरू जस्तै गल्फ कन्ट्रीहरू, मिडल इस्ट कन्ट्रीहरू र युरोपकाे टर्की लगायतका देशहरू, जहाँ सिधै एउटै फ्लाइटमा पुग्न सकिन्छ, ती देशहरूमा पर्यटन सहायता कक्षा स्थापना गरेर प्रचारप्रसार गर्ने र थप प्रभावकारी ढङ्गले मार्केटिङ गर्ने योजना छ ।

४. यस वर्ष कति पर्यटक नेपाल भित्रिनेछन् ? केही प्रक्षेपण गर्नुभएको छ ?

– सन् २०२२ को ८ महिनामा हवाई मार्गबाट नेपाल आउने पर्यटकको सङ्ख्या ३ लाख २६ हजार पुगेको छ । अब यो सेप्टेम्बर देखि डिसेम्बरसम्म मुख्य सिजन भएकोले यस अवधिमा साढे दुई देखि तीन लाख पर्यटक भित्रिने अनुमान छ । यस हिसाबले यस वर्ष करिब ६ लाख पर्यटक हवाई मार्गबाट आउनेछन् । स्थल मार्गबाट आउने पर्यटकको यकिन तथ्याङ्क राख्ने सिस्टम छैन । भारतबाट सामान्य समयमा १५/१६ लाख पर्यटक आउने गरेको देखिन्छ । यस वर्ष १० देखि १२ लाख भारतीय पर्यटक आउने अनुमान गरेका छौँ । भारतीय पर्यटकलाई आकर्षित गर्ने हामीले यस अघि “गर्मीसे बेहाल, चलो नेपाल” भन्ने अभियान पनि चलाएका थियौँ । जसलाई सिएनएनले पनि साथ दिएको थियो । त्यो कार्यक्रम निकै प्रभावकारी भएको थियो ।

५. पर्यटन बोर्डको आम्दानीको मुख्य स्रोत त्रिभुवन विमानस्थलमा रहेको बोर्डको राजश्व कार्यालय हो, पछिल्लो हप्ता विमानस्थलले बन्द गरिदियोनि, विवाद के हो ?

– पर्यटन बोर्ड स्थापना हुँदा नै यसलाई आफ्नै स्रोतबाट सञ्चालन गर्ने हिसाबले अगाडि बढाइएको थियो । सकेसम्म सरकारले धेरै खर्च गर्न नपरोस् र निजी क्षेत्रका व्यवसायीहरूको हितमा काम गर्न सकियोस् भनेर स्थापना गरेको हो । सुरुमा होटेल रेस्टुरेन्ट व्यवसायीहरूबाट उठाएको थियो तर कतिपय व्यवसायीले नदिएपछि पर्यटकबाटै डाईरेक्ट सेवा शुल्क लिन थालेको हो । अहिले विमानस्थलबाट बाहिरिने बेला पर्यटकबाट प्रति टिकेट रु एक हजार रुपैयाँ उठाउँदै आएको छ । तपाईँले भने जस्तै यो बोर्डको प्रमुख आम्दानीको स्रोत हो । तर, पछिल्लो घटनाको कुरा जुन तपाईँले उठाउनुभयो, यो त्यत्ति ठुलो समस्या होइन । नागरिक उड्डयन प्राधिकरण हामी पर्यटन क्षेत्रकै काम गर्ने सरकारी निकाय भएको हुनाले हाम्रो बीचमा सामान्य समस्या मतभेदहरू आउनु त्यत्ति ठुलो कुरा होइन । यो घटनाको विषयमा हामीले छलफल गरिरहेका छौँ । चाँडै समाधान हुने छ ।

६. बोर्डले विमानस्थललाई भाडा नतिरेको र पर्यटक बाहिरिने बेला उठाउने सेवा शुल्कको विषयमा पनि कानुनी व्यवस्था नभएको कुरा विमानस्थल प्रशासनले उठाएको छ नि ? 

– कोरोना महामारीका कारण आम्दानी ठप्प भएपछि हामीले समयमा भाडा तिर्न नसकेको सत्य हो तर पर्यटकलाई सेवा शुल्क उठाउने कानुनी व्यवस्था नभएको भन्ने सत्य होइन । हामीले नियम कानुनको परिधिभित्रै रहेर काम गरिरहेका छौँ । मैले अघि नै भने कि हाम्रा यी समस्याहरू चाँडै समाधान हुनेछ । हामीले निरन्तर छलफल गरिरहेका छौँ । पर्यटन सम्बद्ध निकायहरूबीचमा मिसअन्डर्सट्यान्डिङ भएर पनि समस्या आएको हो । बोर्डको उद्देश्य र प्रयोजन के हो भनेर नबुझ्दा पनि मतभेद सिर्जना भएको हो । तर, अब चाँडै समाधान हुनेछ ।

७. ट्रेक्कर्स इन्फरमेसन म्यानेजमेन्ट सिस्टम (टिम्स)को विषयमा टानसंगको विवाद के हो ? किन समाधान भएन ? 

– विवाद भनेको जे जुन विषयमा पनि गर्न सकिन्छ । हामीले नेपाल भ्रमणमा आउने पर्यटकहरूको सुरक्षा र सहजताको लागि टिम्स स्थापना गरेका हौँ । पुरानो कार्यविधि अनुसार पर्यटक आफैँले एफआइटी सिस्टमबाट सिधै टिम्स किनेर पनि भ्रमणमा जान सक्छन् । तर, हामीले भनेको चाहिँ आधिकारिक संस्थामार्फत टिम्स किनेर जानुपर्छ भन्ने हो । यसो गर्दा पर्यटकको सुरक्षा र सहजताको लागि आधिकारिक संस्था पनि हुन्छ जुन जिम्मेवार हुन्छ । पर्यटन क्षेत्रमा कार्यरत कर्मचारी मजदुरले रोजगारी पनि पाउँछन् । हामीले यसका लागि पहल पनि गरिरहेका छौँ । टिम्सको विषयमा टानसँगको विवाद सल्टिएको छ ।

८. टिम्सको व्यवस्थापन गर्न नसक्दा विवाद मात्रै सिर्जना भएको भन्दै यसलाई खारेज गर्न लागेको भन्ने सुनिन्छ नि ? 

– टिम्सको विषयमा केही अन्यौलताहरू छन्, यो सत्य हो । कसैलाई के मन पर्छ कसैलाई के मन पर्दैन । मानिसहरूका आ-आफ्ना इस्युहरू हुन्छन् । हामीले निकै लामो अध्ययन पश्चात् टिम्स लागू गरेका हौँ । पर्यटकको सुरक्षा र सहजताकै लागि टिम्स लागु गरेको हो । यसलाई थप व्यवस्थित बनाउन आवश्यक छ र गर्दै छौँ ।

९. नेपाल प्राकृतिक सुन्दरतासँगै सांस्कृतिक हिसाबले पनि अत्यन्तै धनी छ । टुरिजम बोर्डले चाहिँ प्राकृतिक तथा साहसिक पर्यटनलाई मात्रै प्राथमिकता दिएको देखिन्छ, सांस्कृतिक पर्यटनतर्फ बोर्डको नजर किन नगएको ?

– नेपालको पर्यटनको इतिहासलाई हेर्ने हो भने पनि यहाँको पर्यटन साहसिक पर्यटनबाटै सुरु भएको देखिन्छ । पदयात्रा, हिमाल आरोहण बाट सुरु भएको पाइन्छ । त्यसो हुनाले प्राकृतिक तथा साहसिक पर्यटनको विकास भएको र त्यसैतर्फ बोर्डको पनि बढी ध्यान गएको हुन सक्छ । अन्तर्राष्ट्रिय बजारमा पनि नेपाल प्राकृतिक तथा साहसिक पर्यटनकै लागि परिचित छ । तर, यसो भन्दैमा यहाँको सांस्कृतिक पर्यटनलाई बेवास्ता गरिएको भने होइन । नेपाल आउने पर्यटक नेपालका संस्कृति, भाषा, धर्म, परम्परा र जीवनशैलीसँग कुनै न कुनै रूपमा जोडिएकै हुन्छ । यहाँको साहसिक पर्यटनसँगै संस्कृति पनि जोडेर आउँछ । सांस्कृतिक र ग्रामीण पर्यटनलाई अघि बढाउन सङ्गठनहरू पनि खुलेका छन् । त्यसो हुनाले म के भन्छु भने हामीले प्राकृतिक तथा सांस्कृतिक पर्यटनलाई अलि बढी प्रचार गरेको सत्य हो, तर सांस्कृतिक पर्यटनलाई बेवास्ता गरेको चाहिँ होइन । सबै खालका पर्यटन अगाडि बढ्नुपर्छ र बढाउनुपर्छ । यो हाम्रो मान्यता पनि हो ।

१०. नेपालको पर्यटनमा पदयात्रा पर्यटन अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । पछिल्लो समय पदमार्गहरू मासिँदै गएका छन् । चर्चित अन्नपूर्ण सर्किट पनि भर्खरै विश्वको १० उत्कृष्ट पदमार्गको सूचीबाट बाहिरिएको छ । यस्ता पदमार्गहरूको संरक्षणमा बोर्डको ध्यान किन नगएको ? 

– त्यस्ता पदमार्ग तथा अन्य पर्यटकीय क्षेत्रहरूको संरक्षणको पहिलो जिम्मेवारी सम्बन्धित पर्यटकीय क्षेत्रको संरक्षण गर्न गठन तथा स्थापना गरेका निकाय र स्थानीय सरकारको हो । जस्तो यहाँले अन्नपूर्ण सर्किटको कुरा गर्नुभयो, त्यसको संरक्षणको लागि अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट (एक्याप) भन्ने बोडी छ । त्यसको आफ्नै स्रोत पनि हुन्छ । पर्यटकसँग शुल्क उठाउँछ । त्यसपछि त्यहाँको स्थानीय तह/सरकार जिम्मेवार बन्न आवश्यक छ । हामीले आवाज उठाउने, बुझाउने काम गर्छौँ । सडकको विस्तारका कारण पदमार्गहरू मासिँदै गएको जगजाहेर नै छ । पदमार्गमा सडकको पहुँचसँगै पर्यटक बसाइ अवधि छोट्टिएको छ । हामीले पर्यटकको बसाई लम्ब्याउन पनि विकल्पको रूपमा बन्जी जम्प, क्यानोइङ जस्ता अरू विकल्पहरू पनि अगाडि बढाएका छौँ । नयाँ पदमार्गहरूको पहिचान, विकास र प्रचारप्रसारमा हामी अघि बढ्दै छौँ ।

११. अन्त्यमा पर्यटन व्यवसायीहरूलाई केही सन्देश दिन चाहनुहुन्छ ? 

– पर्यटन क्षेत्र तङ्ग्रिँदै गएको छ । पर्यटक आगमन पनि बढेको छ । भारत र बङ्लादेशबाट पर्यटकको सङ्ख्या मजाले ग्रोथ भएको छ । अगस्टमा अलि कम भए पनि अमेरिकन मार्केट पनि राम्रो छ र युरोपियन मार्केट पनि पोजिटिभ नै छ । अहिले हाम्रो मुख्य सिजन सुरु भएको छ । यो सिजन राम्रै हुने देखिन्छ । तर, युक्रेन र रसियाको लडाइँले गर्दा तेल महँगो हुँदा भाडा बढ्ने र जसले गर्दा थोरै प्रभाव पर्न सक्छ । जे होस्, २०१९ को तुलनामा दुई चार वटा देशको मार्केट पोजिटिभ नै छ । आउँदा दिनहरूमा हामीले रणनीतिक हिसाबले बजारीकरण गर्‍यौँ भने हाम्रा आगामी दिनहरू सुखद हुनेछन् ।

भिडियो

सम्बन्धित समाचार