उसले नौबिसे पुगेर 'खानाको कति हो' भनेर सोधेछ । ८० रुपैयाँ रहेको बताइएछ । सस्तो रहेछ भनेर उसले 'लौ खाऔँ न त' भनेछ । एकछिनपछि थालमा भात मात्रै आएछ । 'तरकारी खै' भन्दा 'भन्नुभएको थिएन, भन्नुहुन्छ भने अर्को ८० रुपैयाँ ल्याउनुस' भनियो अरे ।'
‘सिण्डीकेट’ भन्ने शब्द प्राय सुनिने गरिन्छ । नेपालमा सिण्डीकेट शब्द राजनीतिपश्चात् ‘यातायात’ क्षेत्रमा निकै लोकप्रिय छ । आफ्नो पक्ष बाहेकका अरूको अस्तित्व नस्विकार्ने, आफू सर्वेसर्वा रहने गरि फर्जी नीतिनियम बनाउने आदि काम यातायात सिण्डीकेटले गर्दछ। केही समयअघि मात्र सिण्डीकेटकै कारण साँगामा मयुर यातायातका बसमा आक्रमण र चालक माथि हातपात गरिएको थियो । यद्यपि मयुर यातायातले सिण्डीकेटलाई उछिनेर आफ्नो सेवा दिँदै आइरहेको छ ।
यस्तै किसिमको सिण्डीकेट उपत्यकाबाहिरका सार्वजनिक यातायातमा यात्रा गर्दा पनि महसुस गर्न सकिन्छ । पूर्वको यात्रा गर्दा होस् या पश्चिमको यात्रा गर्दा होस्, यात्रुहरू नजानिँदो पारामा सिण्डीकेटको मारमा परिरहेकै हुन्छन् । धेरै समयदेखि राजधानी काठमाडौं बसोबास गरिरहेको म आफ्नो जन्मघर सुनसरी जिल्लाको इनरुवासम्म यिनै यातायातको मद्दतले आऊजाऊ गरिरहन्छु । पश्चिमको यात्रा गर्दा यी कुरा मैले त्यति नजिकबाट नियाल्न नपाएपनि वर्षौँदेखि पूर्व आऊजाऊ गरिरहेकाले केही कुराहरू विचार गरिरहेको थिएँ ।
‘यात्रुलाई खाए खाँ, नखाए घिच्’ परिन्छ
पूर्व जान मुख्यतः दुई सडक मार्ग विशेष प्रयोग गरिन्छ । एउटा सिन्धुली-बर्दिबासको बिपी राजमार्ग रहेको छ भने अर्को पुरानो महेन्द्र राजमार्ग रहेको छ । दुवैमध्ये कुनै पनि राजमार्गमार्फत पूर्व जाँदा लामो दुरीको यात्रा नै हुने भएकाले बिचमा खाना तथा खाजाका लागि ३ देखि ४ पटकसम्म गाडी रोकिन्छ । तर, यहीँनेर सबैभन्दा ठुलो सिण्डीकेट रहेको छ ।
रोकिएकै ठाउँमा खानुपर्ने बाध्यता: बाटोमा आफूले सित्तैमा खान पाउने तथा कमिसन पाउने होटेलमा मात्र यी गाडीहरू रोकिने गर्छन् । यस्ता होटलहरूमा पुगेपश्चात् खाना खानुअघि पैसा तिर्नु अनिवार्य भइगयो । फेरी होटलहरू सार्है ‘जल्दी’ मा हुन्छन् । खाना सर्भ गर्ने तरिका हुँदैन, खाना राख्दा टेबलमा आवाज आइनै हाल्छ । पैसा तिरेर खाना खाँदा खाना पस्किनेदेखि खाना सर्भ गर्नसम्ममा सबैतिर हेलचक्र्याइ मात्रै देखिन्छ ।
शाहकारीहरूले त यस्तोमा ‘शाकाहारी नै आउँछ’ भनेर नसोचेकै जाति, मांसाहारी र शाकाहारीको सगोल फ्रिज देखिन्छ ।
प्राय: ती होटेलहरू यस्तो ठाउँमा अवस्थित हुन्छन्, जहाँ अर्को होटेलको कुनै विकल्प हुँदैन । यात्रुले बाध्य भएर त्यहाँको खाना तथा खाजा सेवन गर्नुपर्ने हुन्छ । होटल बाहिर चाउचाउ, बिस्कुट, चिया-कफी पाउने अर्कै पसल हुन्छ । दिउँसोको समयमा छेउमै काँक्रा, फलफूलको नाङ्ले पसल । यसबाहेक परपरसम्म होटलको नाममा कुनै चरोमुसो देखिंदैन । ‘यहाँ खादिनँ’ भनेर मध्यरातमा भोकै पर बस्देखि झरेको यात्रुले बोल्न सक्दैन । महङ्गो मूल्यमा ऊ ‘हरितन्नम खाना’ जबर्जस्ती निल्छ ।
मूल्यमा मनलाग्दी: मूल्यको कुरा गर्ने हो भने पहिलो पटक यात्रा गरेको मान्छे तर्सिन बेर लगाउँदैन । सामान्यतया २० रुपैयाँ पर्ने पानीलाई समेत ३० देखि ४० रुपैयाँ सम्म लिने गर्छन् । ७० रुपैयाँ लेखिएको कुरकुरेलाई १०० नतिरी सुखै छैन । खाना र खाजाको मूल्यको झन् कुरा गरी साध्य छैन । राजुले एउटा कथा सुनाउथ्यो, “उसले नौबिसे पुगेर खानाको कति हो भनेर सोधेछ । ८० रुपैयाँ रहेको बताइएछ । सस्तो रहेछ भनेर उसले ‘लौ खाऔँ न त’ भनेछ । एकछिनपछी थालमा भात मात्रै आएछ । ‘तरकारी खै’ भन्दा तरकारी ‘भन्नुभएको थिएन, भन्नुहुन्छ भने अर्को ८० रुपैयाँ ल्याउनुस’ भनियो अरे ।’ यसपछी उसले भातको ८०, तरकारीको ८०, दालको ८० र अचारको २० गरेर एक थाल खानाको ३६० तिर्यो अरे !
खानाको गुणस्तर छैन: चर्को मूल्य तिरेर यात्रुले स्वस्थ खाना खान पाउने सम्भावना पनि न्यून छ । कति पटक मैले आफैँ चियाबारी लगायतका ठाउँमा रहेका होटेलका खानामा कपाल तथा भाँडा माझ्ने झुस भेटाएको छु । यता चपुर आदि ठाउँमा उस्तै हरिबिजोग देखेको छु । केही यात्रु पानी जस्तो दाल, अत्यन्तै तल्लो दर्जाको चामलको भात, सुकेका तरकारी र तन्द्रङ्ग झोल हालेको मासु जसोतसो निल्ने गर्छन् । केही भने सोही होटेल बाहिर रहेको चाउचाउको ठेलामा पाकिरहेको चाउचाउले चित्त बुझाउँछन् । यो कुरा पूर्व जाने धेरैले महसुस गरेका हुन्छन्, तर बोल्दैनन्, बोलेपनि चालकले सुन्दैनन् । कहिलेकाहीँ छेउछाउमा अन्य होटेल भएको ठाउँमा गाडी रोकिहाले धेरै यात्रु ती छेउछाउका होटेलतिर लम्किने गरेको मैले देखेको छु, जसले गाडीले खानाका लागि रोक्ने होटेलमा यात्रुले कत्तिको विश्वास गर्छन् भन्ने देखाउँछ ।
केहि समयअघि मात्र बेनिघाट रोराङ गाउँपालिका ३ मलेखु बिचबजारमा रहेको होटल हङ्ग्री बर्ड प्रवेश रिभर साउण्ड रेष्टुरेन्ट एण्ड गेष्ट हाउसमा यस्तै एक गाडी रोकियो । जहाँ माछामा किरा फेला परेर यात्रु तर्सिएनन् मात्रै बिरामी समेत भए । उक्त गाडीसहित उक्त होटलमा रोक्ने दर्जनौँ गाडी तथा होटलका मालिक प्रकाश त्रिपाठीले यस्तो घट्ना आजसम्म नघटेको र अब यस्तो कुरामा विशेष ध्यान दिइने भन्दै तत्काल सो घट्नालाई साम्य बनाउन खोजे । यस्ता घट्नाहरु गुगलमा सर्च गर्ने हो भने हजारौँ संख्यामा भेटिन्छन् तर व्यवस्था’ सुध्रिएको भने छैन ।
यसरी चर्को मूल्य तिरेर पनि यात्रुले स्वस्थ खाना खान कमै पाउँछन् । कमिसनको हिसाबमा गाडीहरू आफ्नो सहुलियत अनुसारका होटेलमा रोकिन्छन् । राजमार्गका यी होटेलहरूमा अनुगमन टोली नपुग्ने होइन, कतिपय होटेलहरू बन्द गरिएका समेत छन् । यद्यपि अझैसम्म पुरानै थितिले निरन्तरता पाइरहेको पाइन्छ ।
पेडा पसलको भुलभुलैया
पेडा पसलको कुरा पनि यो लेखसँग जोड्न उचित हुन्छ । पूर्वको यात्रा गर्ने जो कोहीले यो कुरा देखेको हुन्छ र अलमलमा परेको हुनसक्छ । सप्तरीको बरमझियामा रहेको पुरानो बाजेको पेडा पसल, असली बाजेको पेडा पसल, सबैभन्दा पुरानो पेडा पसल आदि नामले खुलेका पचासौँ पेडा पसलको भुलभुलैयामा हरकोही अलमलिने गर्छन् । त्यसमा अझ अलमल यातायातका चालकले थपिदिन्छन् । हुन् त पेडा जहाँ खाएपनि उही हो भन्ने धेरैलाई लाग्ला तर जसले यसको स्थापना गरे, उसकै पसलमा गएर यसको स्वाद लिँदा पक्कै केही फरक महसुस भने हुनेछ ।
कुनै जमानामा धेरै दूध उत्पादन हुने सप्तरीमा त्यसलाई खपत गर्नका लागि खुलेको पहिलो पेडा पसलले नै अहिलेको लोकप्रिय बरमझियालाई सबैमाझ चिनाएको हो । तर, अधिकांश चालकहरूले बरमझिया नपुग्दै या कटिसकेपछि मात्र गाडी रोक्ने गरेको पाइन्छ । पेडा त त्यहाँ पनि पाइन्छ तर, त्यहाँका होर्डिङ बोर्डले भनेझैँ असली पेडा चाख्नबाट भने जिब्रो बञ्चित हुन्छ ।
पूर्व घर भएका धेरैले बरमझियामा रहेको शास्त्र क्याम्पसँगै टाँसिएको पेडा पसललाई नै सबैभन्दा पुरानो पसल मान्ने गरेको पाइन्छ र त्यहाँको पेडा कोसेलीको रूपमा लैजान लालायित देखिन्छन् । पसलमा बैजनाथ साह (बाजे)को तस्बिर समेत रहेको छ । म स्वयम् यात्रा गर्दा पनि अन्यत्रको पेडा खरिद गरेर लैजान्न । त्यसै अलमलिइरहेका यात्रुहरूलाई बरमझियामै गाडी नरोकेर कमिसनको लोभमा चालकहरूले अन्यत्रको पेडा चिनाउनु, त्यस ठाउँको गरिमालाई र त्यहाँ आउने पर्यटकलाई अलमल्याउने दुष्प्रयास भएको भन्छु म । ‘बरमझिया’ले खाद्य पर्यटनलाई टेवा दिन सक्छ, यसलाई यसप्रकार अलपत्र पारिनुहुँदैन ।
राजमार्ग वरपर प्लाष्टिकै प्लाष्टिक
मानिस भौतिक सुविधाको पूर्ति एवं विकासको नाममा सदैव पर्यायवरण माथि खेलबाड गरिरहेको कुराको प्रमाण हो, यात्राको क्रममा हाइवे वरपर देखिने प्लाष्टिकजन्य फोहोरहरू । खानेकुरा प्याकिङ गरेका खोलहरू तथा बोतल/क्यानहरूको जथाभावी वसर्जनका कारण राजमार्ग वरपरका क्षेत्रहरू प्रदूषित हुन् पुगेका छन् नै, निकुन्ज क्षेत्रका जीवजन्तुहरूमा यसको प्रत्यक्ष असर परिरहेको छ ।
द्रुत गति जीवनको क्षति
महेन्द्र राजमार्गमा होस् या बिपी राजमार्गमा गुड्ने गाडी हुन्, भिरको कहालीलाग्दो बाटोमा चालकहरू बेपरवाह भएको धेरै यात्रुले महसुस गर्दैनन् । साँघुरो बाटोमा ओभरटेक गर्ने, आफ्नो अगाडीको गाडीलाई जित्ने प्रयास गर्ने गर्नाले धेरै यात्रुले जीवन गुमाइसकेका छन् ।
सिन्धुली बर्दिबास सडकमा चालकलाई नियन्त्रित भएर सवारी कुदाउन टाइम कार्ड नै राखिएको छ । तर, त्यसमा पनि चालकले फटाइ गर्ने गरेका छन् । टाइम कार्ड अनुसार भिमान सिन्धुली १८ किलोमिटरमा ठुला सवारीले ४० र साना सवारीले ३० मिनेट को गतिमा गुड्नुपर्नेछ भने सिन्धुली खुर्कोट ३९ किलोमिटर सडकमा ठुला सवारीले १ घण्टा ५० मिनेट र साना सवारीले १ घण्टा ३० मिनेट लगाउनुपर्नेछ। यस्तै, खुर्कोट नेपालथोक खण्डमा ठुला सवारीले एक घण्टा तीस मिनेट लगाउनुपर्नेछ भने साना सवारीले एक घण्टा १० मिनेटको गतिमा सवारी आवतजावत हुनुपर्ने टाइम कार्डमा उल्लेख छ। तर, टाइम कार्डमा उल्लेख भएको समय ट्राफिक चेकपोस्टमा आइपुग्दा मात्र लागु हुने गरी सवारी चलाउनाले धेरै दुर्घटना भएको पाइन्छ ।
टाइम कार्डको बेवास्ता गर्दै तीव्र गतिमा गाडी कुदाएर चालक कतै होटेलहरूमा गाडी रोकेर समय बिताउने गर्छन् । ट्राफिकको आँखा छल्न उनीहरूले उक्त टाइम कार्ड अनुसार समय त व्यवस्थापन गर्छन् तर गतिमा नियन्त्रण राख्दैनन् । कतिपय चालकले यात्रामा सिट बेल्ट समेत प्रयोग गर्दैनन् । यस्ता कुरामा ध्यान नदिएर ट्राफिक प्रहरीले गाडीमा क्षमता अनुसारका यात्रु छन् या बढी छन् भन्ने कुरामा मात्र ध्यान दिने गरेको पाइन्छ । गाडी स्वस्थ रूपमा कुद्ने अवस्थामा छन् कि छैनन् भन्ने कुरा समेत विचार गरिँदैन ।
केही दिनअघि मात्र म पूर्व जाने क्रममा आफू सवार गाडीको टायर खिइएर भित्रको फलामे पत्र देखिने अवस्थामा थियो । हामीमध्ये केही यात्रुले यसले दुर्घटना निम्त्याउने भन्दै यसको विरोध समेत गर्यौँ तर, चालक तथा सह-चालकले ‘केही हुँदैन’ भन्दै गाडी कुदाइरहे । सो यात्रामा गाडीको त्यो अवस्था देखेपछि केही यात्रुहरू भगवान्को नाम जपिरहेका थिए । नभन्दै गाडीको टायर बर्दिबास पुगेपछि पड्कियो र चालकले अर्को टायर परिवर्तन गर्यो । भिरको बाटोमा टायर नपड्किएर तराई पुगेपछि पड्किएकाले हामी सुरक्षित भयौँ तर, टायरमाथि भिरमै द्रुत गतिमा रहेको बेला पड्किएको भए ? यो प्रश्न हामी सबैको मनमा खेल्यो, तर चालकले आफ्नो गल्ती भने स्विकारेनन् ।
विभिन्न यातायात संस्था र त्यससँग जोडिएका कर्मचारीले चिया पिउन समेत आफूलाई पायक पर्ने ठाउँ रोज्दा, नराम्रो अवस्थाका गाडी प्रयोग गर्दा, द्रुत गतिमा गाडी कुदाउँदा यात्रुहरूले समस्या झेल्ने मात्र होइन दुर्घटनामा समेत पर्नु परेको छ । यो लेख लेख्नुको उद्देश्य यस किसिमको सिण्डीकेट बारे जानकारी दिनु मात्र नभएर आवाज उठाउनु समेत रहेको छ, साथै सम्बन्धित निकायसम्म यो कुरा पुर्याउनु रहेको छ ।
तपाईँको यात्रा शुभ रहोस् !!