सोमबार , भाद्र ८, २०८३

हिउँ नपर्दा सुस्तायो हिमाली पर्यटन बजार

कालिन्चोक केबलकारका कर्मचारी राम कार्की हिउँ नपरेका कारण यतिबेला कालिन्चोकको पर्यटनको अवस्था चिन्ताजन्य रहेको बताउँछन् ।

image

काठमाडौँ । प्राकृतिक र धार्मिक पर्यटनको एक विशेष सङ्गम दोलखाको कालिन्चोक यतिबेला सुनसान छ ।

माघ लागिसक्दा पनि हिउँ नपरेका कारणले कालिन्चोक बाहेक दामन, चन्द्रागिरि, फुलचोकी, लाकुरीभन्ज्याङ आदि स्थानमा पनि पर्यटकीय गतिविधि कम देखिएको छ ।

कालिन्चोक भगवतीको दर्शन गर्न र हिउँ खेल्नका लागि ठुलो सङ्ख्यामा मानिसहरू कालिन्चोकको यात्रा गर्ने गर्छन् । पुस माघको समयमा कालिन्चोक क्षेत्र खचाखच भरिएको हुन्छ । तर, यसपालि भने यो क्षेत्र सुनसान छ । गत वर्ष यति बेलासम्म दुईपटकसम्म हिउँ परिसकेको तर यसपालि एकपटक पनि हिउँ नपरेका कारण कालिन्चोक भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ ।

कालिन्चोकस्थित होटल कन्ट्री भिल्लाका सेल्स म्यानेजर रवि मगरातीले हिउँ नपरे तापनि आफ्नो होटलमा ७५ प्रतिशतसम्म अकुपेन्सी रहेको बताए । हिउँ पर्दा कालिन्चोक भरिका होटेल भरिने गरेको सुनाउँदै उनले भने ‘हिउँ पर्दा फरक पर्छ सर । हिउँ परेको समयमा कालिन्चोकभरिका होटेल भरिएका हुन्छन् । अहिले एक दुई होटलमा मात्र पर्यटकहरू रहेका छन् ।‘

कालिन्चोक केबलकारका कर्मचारी राम कार्कीले अहिले कालिन्चोकको पर्यटनको अवस्था चिन्ताजन्य रहेको बताए । उनले हिउँ नपर्नाले कालिन्चोकको पर्यटनमा  असर गरेको बताउँदै भने ‘पहिलाको जस्तो मान्छे नै छैनन् । सामान्य दिनमा सरदर पाँच सयदेखि एक हजारजना जति आउँछन् । बिदाको दिनमा भने ४ देखि ५ हजारको सङ्ख्यामा पर्यटक आउने गरेका छन् ।

उनले हिउँ परेको समयमा दैनिक जसो १० हजार देखि १५ हजारसम्म पर्यटक कालिन्चोक पुग्ने गरेको जानकारी दिए । कालिन्चोक पुग्ने पर्यटकमा कमी आएसँगै केबलकार चढ्ने पर्यटक पनि घटेको उनले सुनाए । केही पर्यटक कालिन्चोक पुगे तापनि हिउँ नपर्नाले समग्रमा कालिन्चोकको पर्यटनमा असर पुगिरहेको उनको कुराबाट बुझ्न सकिन्छ ।

हिउँ नपरेर चिन्तित बनेको अर्को पर्यटकीय गन्तव्य मकवानपुरको दामन पनि हो । दामनस्थित सुनगाभा होटेलका सञ्चालकमध्ये एक सुनिल बिस्टका अनुसार अघिल्लो वर्ष पुस महिनामा उल्लेखनीय मात्रामा पर्यटकहरू दामन पुगेका थिए । ६ कटेज सहित ११ कोठा भएको सुनगाभा होटल महिनाभरि नै भरिएको थियो । माघ महिनामा भने ओमिक्रोनको हल्लाले पर्यटकको सङ्ख्यामा कमी आयो । त्यसपछि देशको दुई निर्वाचन र आर्थिक मन्दीले पनि दामनको पर्यटन व्यवसायमा असर गरेको सुनिलले सुनाए ।

हिउँ परे पर्यटक आउने आशा राखेका उनी भन्छन्, ‘अलिअलि हिउँ पर्नासाथ पर्यटकहरू आउँछन् भन्नेमा म विश्वस्त छु । यद्यपि, दसैँ यता पानी पनि परेको छैन र निकै सुक्खा वातावरण छ ।’

दामनकै अर्को गौरी शंकर होटलका सञ्चालक सुजन के.सी भने हिउँ नपरे तापनि त्यस्तो चिन्ताजनक अवस्था नरहेको बताउँछन् । हिउँ परेको समयमा भने पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको उनले सुनाए । करिब १८ वटा कोठा भएको होटल अघिल्लो वर्ष जाडो मौसममा भरिभराउ थियो । अहिले भने केही मात्रामा मात्र पर्यटक दामन पुग्ने गरेका छन् । जसले दामनको पर्यटन व्यवसायीलाई राहत दिइरहेको छ । अब हिउँ पर्ने सम्भावना न्यून रहेको बताउँदै उनी भन्छन्, ‘हिमाल नै कालो देखिइरहेको छ, कसरी पर्ला र हिउँ ?’

लगनखेलबाट लुभु–पनौती जाने गाडी चढेर पुगिने लाकुरी भन्ज्याङको द टेरेस स्पा एण्ड रिजोर्टमा अहिले ५० प्रतिशत अकुपेन्सी रहेको छ । हिउँ पर्दा पर्यटकको सङ्ख्यामा केही वृद्धि भए तापनि हिउँ नपर्दा त्यति धेरै असर नगरेको होटेलकी सेल्स एण्ड मार्केटिङ एसोसिएट सलिना श्रेष्ठले बताइन् । होटलमा केही आन्तरिक तथा बाह्य पर्यटक रहेका उनले सुनाइन् ।

देउराली माउन्टेन रिजोर्टका सञ्चालक सुदर्शन लुइँटेलले हालको पर्यटकीय अवस्था सामान्य रहेको बताए । उनले विशेषगरि शुक्रबार र शनिबार आन्तरिक पर्यटक आउने हुनाले चिन्ताजनक अवस्था नरहेको बताए । लुभु लामाटारमा रहेको रिजोर्टका सञ्चालक सुदर्शनले हिउँ पर्दा पनि त्यति पर्यटक नआउने जानकारी दिए । बाटोको अवस्था नराम्रो रहेकाले र हिउँ पर्दा बाटो अझ बिग्रिने हुनाले त्यति धेरै पर्यटक आउने नगरेको उनले सुनाए । उनले भने ‘बाटो बिग्रेको छ । हिउँ पर्दा अझ चिप्लो हुन्छ । त्यसैले, हिउँ पर्दा पनि त्यति पर्यटक आउँदैनन् ।‘

लाकुरी भन्ज्याङको मनमोहकताले पर्यटकहरूलाई आकर्षित गर्ने गरेको उनले सुनाए । उनी भन्छन्, ‘उपत्यका नजिकै रहेको मनोरम लाकुरी भन्ज्याङमा मानिसहरू आफ्नो हप्ताभरिको थकान भुलेर आनन्दित हुन यहाँ आउने गर्छन् ।’

हिउँ नपर्नाले केही पर्यटन व्यवसायीलाई असर गरेको देखिएको छ भने केही आफ्नो व्यवसाय रहेको पर्यटकीय गन्तव्यमा विश्वस्त देखिए । विभिन्न पर्यटन व्यवसायीसँग कुरा गर्ने क्रममा उचित प्रचार-प्रसार भए हिउँ नपर्दा पनि पर्यटकीय गन्तव्यमा पर्यटकहरूलाई आकर्षित गर्न सकिने बुझियो । यद्यपि, बढ्दो प्रदूषणका कारण भइरहेको जलवायु परिवर्तनले नेपालको पर्यटन क्षेत्रलाई असर गर्ने हुनाले यसबारे पनि सम्बन्धित निकायले सोच्नु पर्ने हुन्छ ।

सम्बन्धित समाचार