बुधबार , मंग्सिर १८, २०८२

उहिले गाडी बोक्नेहरूकाे कथा: ‘गाडी बोक्ने केटासँग विवाह गर्न तँछाडमछाड गर्थे केटीहरू’

लामो समय गाडी बोक्ने काम गरेका हिराबहादुर घलानलाई उद्धृत गर्दै विष्टले लेखेका छन्, ‘गाडी बोक्नुभन्दा अघि मेरो विवाह भएको थिएन । गाडी बोक्न थालेपछि गाउँमा केटीहरूले मसँग विवाह गर्न तँछाडमछाड गरे । तर मैले एउटा मात्र बिहे गरेँ, अरूले त २–३ वटी नै गरे ।

image

झन्डै ७१–७२ वर्षअघि नेपालको भूगर्भीय अध्ययन गर्न भूगर्भशास्त्री टोनी हेगन चुरियामाई सुरुङ हुँदै भीमफेदीसम्म सानो गाडीमा आए । त्यहाँबाट आफू हिँडे । उनको गाडी भरियाहरूले बोके । गाडीका चारवटै पाङ्ग्रा खोलेर नोल लगाएर गाडी बोकेको देखेर उनी दङ्ग परे ।

उनी भीमफेदीबाट प्राकृतिक दृश्यहरूको अवलोकन गर्दै चित्लाङ चन्द्रागिरि हुँदै भोलिपल्ट काठमाडौँ पुगे । तर उनले भरियालाई बोक्न लगाएर छोडेको गाडी काठमाडौँ आइपुग्न १४ दिन लाग्यो । उनको मात्र हैन प्रायः भीम फेदीबाट बोकाएर गाडी काठमाडौँ पुर्‍याउन सातदेखि १६ दिनसम्म लाग्थ्यो । मकवानपुरमा लामो समयदेखि पत्रकारिता गरेका वरिष्ठ पत्रकार प्रताप विष्टले आफ्नो पुस्तक ‘छेलिएका अनुहार’ मा उल्लेख भएको प्रसङ्ग हो यो ।

नेपालका हरेक भूभागलाई राम्रोसँग बुझेका स्वीटजरल्याण्डमा नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘द हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा सुरुङ मार्गबारे स्पष्ट पार्दै भारतले समेत सुरुङ प्रविधि भित्र्याउन नसकेको बेला नेपाल सफल भएकामा खुसी व्यक्त गरिएको छ ।

वि.सं. २०१३ सम्म नेपालमा मान्छेहरूले गाडी बोक्ने गर्थे । झन्डै  ३५ वर्ष नेपालमा गाडीलाई नल कसेर बोक्ने चलन कायम रह्यो । नेपालमा १९७८ सालमा पहिलो गाडी भित्रिएको बताइन्छ । बेलायती राजकुमार नेपाल आउँदा उनले पहिलो पटक गाडी ल्याएको इतिहासकारहरू बताउँछन् । त्यसपछि राणा प्रधानमन्त्री चन्द्रशमशेरले आफ्ना लागि र राजाका लागि गाडी झिकाएको इतिहासमा उल्लेख छ । त्यो समयमा एउटा सानो गीतको अंश नै बनेको थियो, ‘हाम्रा राजा क्या अक्कलधारी, ल्याए मोटर चुरेलाई भ्वाङ पारी’ ।

नेपालका पहिलो वैज्ञानिक जनरल गेहेन्द्र शमशेरले जापानबाट गाडी मगाएर नेपालमै त्यसको पुनर्निर्माण र स्तरीकरण गरेको पढ्न पाइन्छ । राजा महाराजा तथा राणाहरूले क्रमशः नेपालमा गाडीहरू भित्र्याएका थिए । विदेशबाट नेपालको वीरगन्ज, हेटौँडा हुँदै भीमफेदीसम्म मोटर बाटोबाटै गाडी लगिन्थ्यो भने भीमफेदीदेखि काठमाडौँसम्म सडकनबनेका कारण मान्छेहरूले नै बोकेर उपत्यका पुराउनुपर्थ्यो । त्यस्ता गाडीहरू बोक्न मकवानपुरका बलिया युवाहरूलाई प्रयोग गरिन्थ्यो । गाडी बोक्नेहरूमध्ये कतिले त दुई छाक भातको भरमा पसिना बगाएको र कतिले भने गाडी बोकेरै प्रशस्त जग्गाजमिन समेत जोडेको उनीहरूको जीवनीबाट थाहा पाउन सकिन्छ ।

 

लामो समय गाडी बोकेर जीवनयापन गर्नेहरूका बारेमा खोजेर मकवानपुरका पत्रकार विष्टले पुस्तक तयार पारेका छन् । मकवानपुरमा मात्र पाइने नेपालको सबैभन्दा कम जनसङ्ख्या भएको वनकरिया जाति, सीमान्तकृत चेपाङ जातिसहित गाडी बोकेर जीविकोपार्जन गर्नेहरूको बारेमा समेटेर लेखिएको पुस्तकमा विष्टले उनीहरूको नालीबेली नै प्रस्तुत गरेका छन् । अब गाडी बोकेको अनुभव सुनाउने कोही पनि बाँकी नरहे पनि पत्रकार विष्टले आफूले फेला पारेका चार जना भरियाको अनुभवलाई चिरकालसम्म पढ्न सकिने गरी सो पुस्तकमा समावेश गरेका छन् ।

वर्षहरू बित्दै गए, त्यस्ता कथा सुनाउने पात्रहरू पनि सकिए । पहिले गाडी बोकेर काठमाडौँ पुर्‍याइन्थ्यो भन्ने सुनेपछि २०६८ सालदेखि गाडी बोक्नेहरूको खोजी सुरु गरिएको थियो । त्यसरी खोज गर्ने क्रममा जीवित रूपमा चार जना भेटिएका थिए । उहिले गाडी बोकेका फाखेलका हिरामान बलामी, चित्लाङका धनबहादुर गोले, पुरन्डीका जुक्तबहादुर वाइबा, पुरन्डीकै हिराबहादुर घलानलगायत अब सबैको निधन भइसकेको छ । विष्टका अनुसार गाडी बोक्नेहरूमध्ये अन्तिम साक्षीको रूपमा रहेका जुक्तबहादुर वाइबाको ९३ वर्षको उमेरमा २०७५ माघ २८ गते निधन भइसकेको छ । उनलाई माघ १० गते दमले चापेर काठमाडौं लगिएको र केही कम भएपछि घर ल्याइएकामा घर पुगेको तीन दिनमै मृत्यु भएको थियो ।

पुस ८, २०७७ गते प्रताप विष्टकै बाइलाइनमा ‘रहेनन् गाडी बोक्ने ‘जिउँदा इतिहास’ शीर्षकमा कान्तिपुरले समाचार छापेको छ

उनको पुस्तकमा उल्लेख भएअनुसार त्यतिबेला गाडी बोक्न पाँच फिटभन्दा बढी अग्लो हुनुपर्थ्यो । गाडी बोक्न गाडीको आकारअनुसार १६ जना, ३२ जना र ४८ जनासम्म प्रयोग हुन्थे । त्यतिखेर ३२, ६४ र ९६ मोडलका गाडी चलनचल्तीमा थिए । बत्तीस मोडलको गाडी बोक्न दुईतिर आठ आठ जना, ६४ को बोक्न १६ – १६ जना, ९६ को बोक्न २४–२४ मानिस चाहिन्थ्यो ।

गाडीमा लामा लामा नोल बाँधेर चार कुनामा काँध हालेर तन्नेरीहरूले ‘जोड गर हैँसा, भनभन भाइ हो देउसिरे’ भन्दै रमाइलो गर्दै गाडी बोक्ने गरिएको त्यतिखेर गाडी बोक्नेहरूले विष्टलाई सुनाएको उल्लेख छ । भीमफेदी, कुलेखानी, मार्खु, चित्लाङ, चन्द्रागिरि हुँदै काठमाडौंँ गाडी बोकेर पुर्‍याउँदा सात दिनदेखि १६ दिनसम्म लाग्ने गर्थ्यो । गाडी बोके बापत प्रतिव्यक्तिले बढीमा ५ आनासम्म जमिन पाउँथे । भरियाहरूले भीमफेदी, कुलेखानी, चित्लाङ, थानकोट हुँदै काठमाडौंसम्म गाडी पुराउनुपर्थ्यो ।

गाडी बोक्ने र पैदल आवतजावत गर्नेहरूका लागि बाटो बाटोमा स–साना दोकानहरू थिए । ती दोकानहरूमा मकै र कोदोको जाँड तथा ढिँडो खान पाइन्थ्यो । पैदल हिँड्ने बाटोभन्दा गाडी बोकाएर लाने बाटो भिन्नाभिन्नै हुन्थ्यो । गाडी बोक्न अलि फराकिलो बाटो चाहिन्थ्यो । त्यतिखेर गाडी बोक्न प्रयोग हुने बाटो अहिले पनि देख्न सकिन्छ ।

जुक्तबहादुर वाइबा र हीराबहादुर घलान, तस्बीर : प्रताप विष्ट

विष्टले पुस्तकमा तत्कालीन अवस्थामा जीवित रहेका तर हाल मृत्यु भइसकेका थुप्रै व्यक्तिसँगको कुराकानीमा आधारित भनाइहरू प्रस्तुत गरेका छन् । गाडी बोक्नेको समाजमा अलग्गै प्रतिष्ठा रहने गरेको विष्टको पुस्तकबाट थाहा हुन्छ । वि.सं २०१३ सम्म गाडी बोक्ने काम गरेका कुलेखानीका हिरामान बलामी गाडी बोक्ने भएरै धेरैका नजर परेका रहेछन् ।

गाडी बोकेको देखेर नै मनकुमारी बलामीले हिरामानसँग हत्ते गरेर विवाह गरेकी रहिछन् । हिरामानले मनकुमारी सहित तीन जनासँग विवाह गरेका रहेछन् । गाडी बोके पनि हिरामानले गाडी चढेका रहेनछन् । गाडी बोक्न छाडेदेखि काठमाडौंँ नगएका हिरामानको केही वर्ष अघि निधन भइसकेको छ ।

गाडी बोक्नेहरू विशेष गरी भीमफेदी, मार्खु, तसर, कुलेखानी र चित्लाङ क्षेत्रका हुन्थे । गाउँका अग्ला र बलिया युवा देखेपछि नाइकेहरूले गाडी बोक्न लैजान्थे । गाडी बोक्ने काम पाएका युवकहरूसँग केटीहरू पनि विवाह गर्न हुरुक्क हुन्थे रे !

लामो समय गाडी बोक्ने काम गरेका हिराबहादुर घलानलाई उद्धृत गर्दै विष्टले लेखेका छन्, ‘गाडी बोक्नुभन्दा अघि मेरो विवाह भएको थिएन । गाडी बोक्न थालेपछि गाउँमा केटीहरूले मसँग विवाह गर्न तँछाडमछाड गरे । तर मैले एउटा मात्र बिहे गरेँ, अरूले त २–३ वटी नै गरे ।  गाडी बोक्ने भरियाले केहीले सुरुवाल, केहीले कट्टु त केहीले लँगौटी लगाउँथे । उनीहरू सबैले खुट्टामा भने परालको चप्पल लगाउँथे । एकपटक काठमाडौँसम्म पुग्दा भरियाहरूको चार जोरसम्म चप्पल फाट्थ्यो । चप्पल फाटेपछि राति बास बस्ने ठाउँमा आँफै परालको चप्पल बुन्थे ।

विष्टका अनुसार त्यसबेला गाडी बोक्ने भरियाहरूका कथा चाखलाग्दा छन् । लाहुरे ‘बा’ हरूले सुनाउने लडाइँका कहानी जस्तै । तर वर्षहरू बित्दै गए, त्यस्ता कथा सुनाउने पात्रहरू पनि सकिए । उहिले गाडी बोकेका फाखेलका हिरामान बलामी, चित्लाङका धनबहादुर गोले, पुरन्डीका जुक्तबहादुर वाइबा, पुरन्डीकै हीराबहादुर घलानलगायत सबैको निधन भइसकेको छ ।

गाडी एसियाकै पहिलो सुरुङ मार्गबाट ल्याइन्थ्यो

सुन्दा रोचक र अपत्यारिलो लाग्नसक्छ । तर यो कुरा सत्य हो, नेपालमा आजभन्दा १०६ वर्ष अगाडि सुरुङमार्ग बनेको थियो र त्यस सुरुङ मार्गबाट गाडीहरू गुडाएर हेटौँडा प्रवेश गराइन्थ्यो । ती गाडी मोटर बाटो हुँदै भीमफेदीसम्म पुग्थे । हालको बागमती प्रदेशको राजधानी हेटौँडा र मधेस प्रदेशलाई जोड्न १९७४ सालमा नेपालमा सुरुङ निर्माण गरिएको थियो । दक्षिण एसियाकै पहिलो मानव निर्मित  सुरुङलाई ‘चुरिया माई सुरुङ’ भन्ने गरिन्छ । राजा त्रिभुवन  तथा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरको पालामा नेपाली सेनाका इन्जिनियर डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधिको प्रयोग गरेर खनिएको थियो ।

सुरुङ डिल्लीजङ्ग थापाको डिजाइन र प्रयत्नमा नेपाली प्रविधिको प्रयोग गरेर खनिएको थियो

करिब ५०० मिटर रहेको सुरुङको एकापट्टिको भाग पुरिएपछि हाल मार्गको करिब २८० मिटर मात्र बाँकी रहेको छ । यो सुरुङमार्ग ९ फिट चौडा र १० फिट अग्लो छ । चुरिया सुरुङ सन् १९१७ मै बनेको थियो । स्वीस भूगर्भविद टोनी हेगनले आफ्नो पुस्तक ‘दी हिमालयन किङ्डम अफ नेपाल’मा पनि यो सुरुङ मार्गबारे चर्चा गरेका छन् । उनले यसलाई ‘एसियाकै पहिलो मानवनिर्मित सुरुङ हुन सक्ने’ बताएका छन् ।

तत्कालीन समयमा चुरेको पहाड छेडेर तराईलाई काठमाडौँसम्म जोड्नु महत्त्वपूर्ण थियो । वि.सं १९७४ मा बाराको अमलेखगन्जलाई मकवानपुरको पुरानो सदरमुकाम ऐतिहासिक स्थल भीमफेदीसँग जोड्ने सडक बनाउने बेला तराईबाट काठमाडौंँ सवारी आवागमनका निम्ति निर्मित उक्त सुरुङले त्यो समयमा जनजीवन सामान्य बनाएको अड्कल काट्न सकिन्छ ।

भीमफेदीबाट काठमाडौँ जाने मोटर बाटो नभए पनि साना गाडी राजा तथा राणाहरूले बोकाएरै काठमाडौँ लैजान लगाउने गरेका थिए । अमलेखगन्ज-भमफेदी मार्गको बारा र मकवानपुरको सिमाना चुरे खण्डमा भने मोटर उक्लन निक्कै गाह्रो थियो । ठाडो उकालो भएका कारण मोटर उक्लन नसक्ने र उक्लिहाले पनि सामान धेरै लैजान नसक्ने भएपछि तत्कालीन सरकारले विकल्पमा त्यहाँ सुरुङ खनेको थियो ।

तस्बीर : हेटौंडा अनलाइन

पहाड खोपेर बनाइएको सुरुङमा चुनासुर्की प्रयोग गरिएको छ । सुरुङ मार्गको दुवैतर्फका भित्तामा लहरैसँग ढुङ्गाहरू राखिएका छन्, खोपाहरू कुँदिएका छन् । हाल पुनः निर्माणको क्रममा रहेको सुरुङ मार्ग पुनः निर्माणपछि सर्वसाधारणलाई अवलोकनका लागि समेत खुला गरिने जनाइएको छ । प्रजातन्त्र पुनः स्थापनापछि त्रिभुवन राजपथ बन्यो, ठूलाठूला सवारी साधनहरू भित्रिए, त्यो सुरुङ सानो भयो । त्यस क्रममा सुरुङ मार्गको छेउको एक खण्डमा विस्फोट गराएर भत्काइयो र त्यहीँ सडक बनाइयो, सुरुङको आधा भाग नष्ट भयो । सडकछेउमा देखिएका सुरुङको मुख थुनियो । बारा जिल्ला तर्फबाट मन्दिरनजिक सुरुङको मुख्य भाग भने सग्लै रहेको थियो ।

त्यो समयमा बाराको अमलेखगन्जसम्म रेल चल्ने गरेको पूर्व मुख्यमन्त्री डोरमणि पौडेल स्मरण गर्छन् । रेल पछिसम्म चले पनि सुरुङ मार्ग भने बन्द भयो ।

स्राेत सामग्री

पुस्तक: छेलिएका अनुहार

लेखक: वरिष्ठ पत्रकार प्रताप विष्ट

सम्बन्धित समाचार