शुक्रबार , अषोज १४, २०७९

ओम शब्दको वास्तविक अर्थ

विशेष कारणले पशुपति मन्दिर भित्र प्रवेश गर्न पाएका एक स्थानीयको अनुसार भित्र मन्दिरको ढोकाको दायाँबायाँ लोकेश्वरको मूर्तिहरू छन् । जुन मूर्तिहरू बाहिरबाट देखिँदैन ।

image

– प्रकाश शाक्य

(यो लेख विशेष गरेर बौद्धहरूले अलि संयतता साथ पढ्नु होला । किनभने ब्रह्मा, लक्ष्मी, सरस्वती, काली, भगवती, तारा, महादेव आदि देवदेवीहरूको ऐतिहासिकता खुलाउनु बाँकी नै छ ।)

ॐ ब्राह्मी लिपिको ओम अक्षर हो । ओ र म को बिचको तीन धर्केले ओ शब्द अलि लामो उच्चारण (महाप्राण) गर्नुपर्नेको चिन्ह हो । यो ब्राह्मी लिपिको ओम शब्द कुनै ग्रन्थबाट नभई गुगलबाट लिएको हो । ब्राह्मी लिपिमा यो शब्द हुनुले यसले यसको प्राचीनता देखाउछन् । हुन त मको (४) माथि एक धर्का नहुनुपर्ने हो तर यहाँ के कारणले राखेको थाहा भएन । धेरै धर्ममा ओम (ॐ,ओं ) एक पवित्र शब्द हो । ओम शब्द यो ब्रह्माण्डको पहिलो आवाज रे । आध्यात्मिक महाविद्धानदेखि साधारण मानिसहरूले समेत कसैले कसैको खण्डन नगरी आआफ्नै किसिमले यसको अर्थ, महिमा वर्णन गर्दै आइराखेका छन् । यसरी एकरूपता नहुनुको मुख्य कारण के यसको वास्तविक अर्थ थाहा नहुनाले हो  ?

धेरैको यो धारणा छ कि अ , उ र म अक्षर पछि गएर ओम शब्द बन्न गएको हो । यो पुरा गलत छ । कारण यस क्षेत्रको प्राचीन लिपि, ब्रह्माले सिर्जना गरिएको ब्राह्मी लिपिमा ओ शब्द छन् । यदि ब्राह्मी लिपिमा ओ शब्द नभएको भए त्यसो मान्न सकिन्छ ।

विभिन्न धार्मिक ग्रन्थहरू र शब्दकोश अनुसार ओम शब्दको अर्थ दुई किसिमले दिइराखेका छन्;

१) बुद्धकालभन्दा अगाडि – यो कालमा ओमको अर्थ ब्रह्मा र विष्णुलाई एकैपल्ट सम्बोधन गर्नु, बोलाउनु, आह्वान गर्नु, आराधना गर्नु (addressing, calling of compassion) हो ।

२) बुद्धकालपछि – यस कालदेखि हालसम्म ओमको अर्थ ब्रह्मा, विष्णु साथमा शिवलाई( the union of three god ) समेत बोलाउने, आह्वान गर्ने, आराधना गर्नु हो ।


१) ब्रह्मा, विष्णु र महेश्वर एक व्यक्तिको तीन रूप हो । त्यसो भए बुद्धकाल भन्दा अगाडि ओम शब्दमा महेश्वरको नाम किन समावेश गरेन त ?

यो संसार सिर्जना गर्ने भन्ने ब्रह्माको वास्तविक ऐतिहासिकताबारे धेरैलाई अज्ञान नै छन् । ब्रह्मा एक विशेषण नाम हो जसको अर्थ शब्द अनुसार अर्थ जान्ने । सर्वज्ञान सम्पन्न र सर्वशिल्प सम्पन्न र वेदमा वर्णन गरिएको ब्रह्माको एउटै मुख्यकार्य भनेको ब्राह्मी लिपि सिर्जना गर्नु हो । तर यी ब्रह्मालाई जस भन्दा अपजस धेरै खेप्नुपर्‍यो । त्यही कारण आफैले सिर्जना गरेको लिपिलाई ब्राह्मी भनेर स्त्रीलिङ्ग नामकरण समेत गर्नुपर्‍यो । यस्तै धेरै अपजसले गर्दा ऊ आफ्नो भूमिमा फिर्ता नभै पूर्वकाहरू उसलाई उतै लगियो र अन्त पनि उतै भयो । जम्मै देवताको नाममा विशेष दिन छन् तर ब्रह्मा देवताको कुनै एक विशेष दिन नहुनु कारण यसको अन्त आफ्नो भूमिमा नभै अन्त भएकाले हो । ब्रह्माको अरूसँग विमति हुनुको धेरै मध्ये मुख्य कारण ज्योतिष विद्यामा (दिन गणना) हो । ब्रह्माको राम्रो सम्बन्ध भएको व्यक्ति भनेको इन्द्र हो । बेदमा ६५% इन्द्रको बयान भएको कारणै यही हो । ब्रह्माले इन्द्रकै सहयोगमा ब्राह्मी लिपि विकास गरेको हो । साथै ज्योतिष विद्यामा पनि इन्द्रले नै प्रभाव पारेको हो ।

ब्रह्मा विद्धान रूप हो । द्विविधा (दु:खी) रूप विष्णु हो भने महेश्वर जीतको रूप हो तर, यो जित आफ्नो पक्षीय मात्र जित अर्थात् यो जीतमा अरूको विमति भएकाले यो कालमा ओम शब्दको अर्थमा महेश्वरलाई समावेश गरिएन ।

२). पशुपति स्थानको ऐतिहासिकता शाक्यमुनी बुद्धदेखि सुरु हुन्छ । पशुपतिको अर्थ स्थावर जङ्गम अर्थात् चल, अचल जगतको स्वामी हो । वास्तवमा त्यो बौद्ध बिहार हो । जसको स्थानीय नाम स्वाहा हो । त्यो विहारलाई काशिकरण महेन्द्रको राज्याभिषेकमा गरेको हो । त्यस स्थानको स्वरूप फेरेकोमा महेन्द्र राजा रोएको भनेर वर्णन छन् । १४ औँ शताब्दीको एक तिब्बती ग्रन्थमा पनि त्यो स्थान शाक्यमुनी बुद्धसँग नै सम्बन्धित छन् भनेर लेखिराखेका छन् । बुद्धकालको पवित्र वस्तुलाई १२ औँ शताब्दीका मुसलमानहरूले यहाँ आक्रमण गर्दा तरबारले तीन टुक्रा पारेको भनेर वर्णन छन् । हालको त्यसपछि स्थापना गरिएको हो । पशुपति मन्दिर दुई तहको मन्दिर हो अर्थात् भित्रको मन्दिर छोपेर बाहिर अर्को मन्दिर बनाएको हो । विशेष कारणले मन्दिर भित्र प्रवेश गर्न पाएका एक स्थानीयको अनुसार भित्र मन्दिरको ढोकाको दायाँबायाँ लोकेश्वरको मूर्तिहरू छन् । जुन मूर्तिहरू बाहिरबाट देखिँदैन ।

नेपाल माहात्म्य अनुसार पशुपति त्यस स्थानमा रहेकोले नै महादेव (शिव) त्यस स्थानमा आउनु भएको हो अर्थात् महादेव यस स्थानमा आउनु भन्दा अगाडि नै त्यहाँ पवित्र पशुपति स्थान भइसकेको थियो । वास्तवमा त्यस स्थानको पवित्रता बनाउन बुद्धको सँगसँगै शिवको पनि ठुलो योगदान छन् । बुद्ध र शिव समकालीन हो । यसकारण विरुपाक्षको कथामा बुद्ध र शिव सँगसँगै देखा परेका हुन । बुद्ध धर्मको महायान धर्मको विकासमा महादेवको पनि ठुलो योगदान भएकोले पछि आएर ओम शब्दले ब्रह्मा, विष्णु र शिव पनि समाहित गरियो । महायान ग्रन्थमा महादेवलाई अर्कै नाममा सम्बोधन गरिराखेको हुनाले बौद्धहरूले शिवलाई अर्कै धर्मको रूपमा हेर्ने गरिराखेका छन् । उपत्यकाका धेरै शाक्यहरूको साथै महर्जनहरूको कुलदेवता दुम्जाको महादेव हुनुको कारण त्यही हो । स्थानीयहरूले मनाउने पाँहाचर्हेमा पूजा गर्ने लुकुमाद्य: पनि यहीँ महादेव नै हो । यो संस्कृति विरुपाक्षलाई महादेवले गलत सल्लाह दिएको कारणले गर्दा उसले लखेट्न आउँदा स्थानीयहरू कहाँ लुकाएर बचाएको प्रतीक हो ।

धेरैलाई माथिको कुरा अपाच्य हुन्छ । यी हुनुको मुख्य कारण यिनीहरू ब्रह्मा र शिवको वास्तविक जीवनीलाई धेरै टाढा राख्नाले हो । वास्तवमा ब्रह्मा भन्ने वास्तविक व्यक्ति को हुन भन्ने खुलासा संस्कृत श्लोकहरूमा यत्रतत्र छन् ।

उपनिषद ग्रन्थ – विदेशीहरूको अनुसार ओम शब्द सबैभन्दा पहिला उपनिषदमा Mystic Monosyllable को रूपमा देखा परेको हो ।उपनिषद वेदको सार हो । यो ग्रन्थलाई लिएर यसरी वर्णन गरिराखेका छन् – उपनिषदको अर्थ गुरुको चरण नजिक आसनमा बस्नु हो । यस ग्रन्थमा जीवनको सबैभन्दा गूढ विषयमा छलफल गरिएको हुनाले यस्लाइ रहस्य विद्या भन्दछन् । उपनिषद हिन्दु र बौद्धको अध्यात्म दर्शनको आधार भएकोले यस्लाइ अध्यात्म विद्या भन्दछन् भने सुफी दर्शनमा यो ग्रन्थको प्रभाव निकै हुनाले यस्लाइ हिन्दु र इस्लाम धर्मको सेतुको रूपमा लिएका छन् ।

उपनिषद ग्रन्थ कहिले, कहाँ र कसले गरेको हो यो पूर्णतया अज्ञात छन् । अहिले जतिपनी उपनिषद मात्र होइन वेद पनि नागरी लिपिमा (देवनागरिक) लेखिएको हुनाले, जसको विकास ७ औँ शताब्दीमा भएकोले यी ग्रन्थहरूलाई त्यहाँबाट उता कुनै हालतमा पनि लानु मिल्दैन । अरू यो कुरा पनि बुझ्नु पर्दछन् कि आजकालको देवनागरिकमा लेखिएका ग्रन्थहरूको शब्द र विकसित भाषाले यी ग्रन्थहरू १३ औँ शताब्दी पछि मात्र लेखेका हुन।

नामसंगीती – बुद्ध धर्मलाई थेरवाद र महायान गरेर दुई भागमा विभाजित गरिराखेका छन् । गृहस्थी त्याग गरेर बुद्ध धर्ममा दीक्षित हुनेहरूलाई थेरवाद( हीनयान) भनिन्छन् भने गृहस्थीमा बसेर मान्नेहरूलाई महायान भन्दछन् । महायानको अर्थ बुद्ध धर्मका धेरै बाटोहरू छन् भनेको हो ।थेरवादहरूको ग्रन्थमा ओम शब्द प्रयोग छैन  । महायान ग्रन्थहरूमा भने ओम शब्दले ठुलो ठाउँ लिइराखेका छन् तर यस ग्रन्थहरूमा यो ओम नभई “ओं” भनेर आइरहेका छन् । नामसंगीती ग्रन्थलाई महायानको सबैभन्दा उच्च र पवित्र रूपमा लिइराखेका छन् । गुरु मञ्जुश्रीको ज्ञानकाय भनिराखेको यो नामसंगीती ग्रन्थको मुख्य मन्त्रमा ओम शब्द यसरी आइराखेका छन् –

“ओं वज्र तीक्ष्ण दु:खच्छेद प्रज्ञाज्ञानमूर्तये
ज्ञानकाय वागीश्वर अरपचनये ते नमः “

अर्थात् ओं बज्रजस्तो तीखो दुःखलाई नाश गर्ने प्रज्ञा ज्ञानको रूप, वागीश्वरको( मञ्जुश्री) ज्ञानकाय ती अरपचनयलाई नमस्कार !
(बौद्धहरूले अहिलेसम्म अरपचनय शब्दको वास्तविकता पत्ता लगाउन सकेको छैन)

थेरवादको मुख्य ध्येय भनेको यो संसार दुखमय छन् । बुद्ध जस्ताले त आफ्नो आमा विहीन भएर दुख देख्नु भयो भने हामीहरू जस्ताको के कुरा गर्ने ? यसकारण बारम्बार जन्म नलिई यही जुनीमा शिल पालना गर्दै निर्वाण प्राप्त गर्ने ।

यसको ठिक उल्टो महायान अनुसार हामी मनुष्यको जन्म लिएको कारण बुद्ध हुनलाई हो । यसकारण जति जन्म लिनुपर्ने भएतापनी बुद्धले जस्तै पारमिताहरू पूरा गर्दै , जगत् उद्धार गर्दै बुद्ध नै हुने कार्य गर्ने ।

नामसंगीती धर्म शाक्यमुनी बुद्धको प्रभावमा आएका त्यो बेलाका सानासाना राज्यका १३५० जना राजाहरूलाई स्वयम्भू पर्वतमा देशना गर्नु भएको हो । पछि गएर यसको नेतृत्व हालकै नेपालको सीमाना भित्रपर्ने एक शक्तिशाली सेनापति बज्रपाणिले लिनुभयो ।

नामसंगीती मञ्जुश्रीको ज्ञानकायला शाक्यमुनी बुद्धले देशना गर्नुभएको भनेतापनी यो पूरा शाक्यमुनी बुद्ध सम्बन्धी र शाक्यमुनी बुद्धको ज्ञानहरू मात्र हुन् । मञ्जुश्रीको ज्ञानकाय भनेर मायाजाल अभिसम्बोधि गाथामा माथिका एक श्लोकका साथ अरू दुई श्लोकहरू मात्र हुन् ।

नामसंगीतिको प्राचीनता – बौद्ध साहित्यमा ओम शब्द भयको नामसंगीती ग्रन्थ मञ्जुश्री र बुद्धकालको हो भनेतापनी प्रमाण स्वरूप त्यो कालको अर्थात् ब्राह्मी लिपिमा लेखिएको ग्रन्थ नभएकोले यस्लाइ त्यतिसम्म लान मिल्दैन ।

दसौँ शताब्दी ताका भुजिमोल लिपिमा लेखिएको एउटा यो ग्रन्थ जापानको म्युजियममा छ भनेर कसैले वर्णन गरी राखेकाले यस्लाइ १० औँ शताब्दीसम्म पनि लान सकिन्छन् । अहिले जति पनि हस्तलिखित वा छापेकाहरू हुन्, ती जम्मैको स्रोत तिब्बत भाषाका हुन । यो कुराले यो ग्रन्थलाई १३ औँ शताब्दी भन्दा अगाडि लान मिल्दैन ।

तर ई.६३५ ताकाका चद्रगोमिनिले नामसंगीतिका टीका अर्थात् पहिला लेखिएका यस ग्रन्थका अक्षरहरू उसले सच्याएर लेखी सकेका हुनाले प्रमाणका साथ यो ग्रन्थलाई छैटौँ भन्दा अगाडि लान सकिन्छन् ।

यहाँ यतिका लेखिएको अर्थ यो हो कि ओम शब्द पूरा बौद्ध हो । अनि माथिका जति घटनाहरू वर्णन गरी राखेका छन् ती जम्मै यसै उपत्यकामा भएका हुन् । यस्कारण सबै धर्मग्रन्थहरूमा यस उपत्यकालाई पवित्र भूमि मानिएका हुन् । (लेखकको सामाजिक सञ्जालबाट साभार)

Tags:

सम्बन्धित समाचार