चलचित्रको ट्रेलर अपहरणमा परेकी युवतीले प्रहरीलाई गरेको फोन कलबाट सुरु हुन्छ
काठमाडौं । नयाँ नेपाली चलचित्र ‘पासो’ को ट्रेलर युट्युबबाट सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर ‘ओयसआर डिजिटल’को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । बी.आर इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको चलचित्र आउँदो कात्तिक २५ गतेबाट प्रदर्शनमा आउन लागेको हो ।
रिष्ता बस्नेत, सुनिषा बजगाईं, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रनव आकाश आदि कलाकारहरूको अभिनय रहेको चलचित्रमा भगवान् भुजेलको लगानी रहेको छ । आर.बी पुनको कथा, पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रमा सूर्य दयालुको सङ्गीत, उत्तम हुमागाँइको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी रहेको छ ।
राजकुमार राउत कार्यकारी निर्माता, रहेको चलचित्रको ट्रेलर अपहरणमा परेकी युवतीले प्रहरीलाई गरेको फोन कलबाट सुरु हुन्छ । काठको बाकस भित्र थुनिएकी ती युवतिले त्यहीँ भित्रबाट आफूलाई बचाउन भन्छिन् र आफू बाहिर निस्किन लगातार सङ्घर्ष गर्छिन् । राम्रो ब्याकग्राउण्ड साउण्ड राखिएको ट्रेलर हेर्दा निकै चाखलाग्दो छ । यौन हिंसाको लत लागेको खलनायकले विभिन्न युवतीलाई बर्बर यातना दिएको दृश्य पनि चलचित्रको ट्रेलरमा देखाइएको छ ।
‘भगवान्सँग प्रार्थना गर कि म यहीँ मरु तर यदि म यहाँबाट बाचेर निस्किए भने खोजी-खोजी मर्छु म तँलाई’ भन्ने ती युवतीको अन्तिम डाइलग सँगै चलचित्रको ट्रेलर’ सकिन्छ । चलचित्रमा बलात्कार, हत्या, बर्बरता तथा बदलाको कथा रहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
चलचित्रलाई राजधानी बाहिर एफडी कम्पनी र राजधानीमा जीजीए ग्रुपले वितरण गर्नेछ ।
भिडियो