काठमाडौं । नेसनल स्कुल अफ साइन्सेज (निष्ट) मा कक्षा ११ मा पढ्ने १५० भन्दा धेरै विद्यार्थीहरूले मण्डला थिएटरमा जारि थिएटर भिलेजको नाटक पल्पसा क्याफे सामुहिक रूपमा हेरेका छन् । बुधबार दिउँसो १२ बजेको आयोजना गरिएको बुकिङ सो’मा उनीहरूले नाटक हेरेका हुन्।
कलेजका कार्यक्रम निर्देशक प्रकाशचन्द्र पौडेल, शैक्षिक संयोजक सहज कुमार घले लगायत अन्य ६ जना शिक्षकहरूसहित सहभागि भएर हेरिएको नाटकमा नाटक सकिए पनि केही समय नाटकको बारेमा अन्तर्क्रिया पनि गरिएको थियो । विद्यार्थीहरूले कलाकारलाई नाटकको बारेमा प्रश्नहरू गर्दै यसको प्रक्रियाको बारेमा सोधेका थिए ।
नाटक सकिएपछिको अन्तर्क्रियामा बोल्दै निर्देशक प्रकाशचन्द्र पौडेलले विद्यार्थीहरूले एनिमेसनको जमानाबाट उभिएर यस्ता प्रत्यक्ष प्रस्तुतिहरूतर्फ फर्किनुपर्ने बताए । विद्यार्थीहरूले समग्र क्षेत्रको अनुभव लिनुपर्ने भएकाले आजको प्रस्तुतिबाट धेरै कुरा सिक्न सक्ने उनले बताए ।

उपस्थित अधिकांश विद्यार्थीहरू पहिलोपल्ट नाटकघर टेकिरहेका थिए । अनि उनीहरू त्यतिका धेरै संवाद कसरी याद हुन्छ भनेर अचम्म मानिरहेका देखिन्थे । धेरैजसो विद्यार्थीहरू नाटकमा पल्प सा क्याफेको भूमिका निभाइरहेकी नायिका शृष्टि श्रेष्ठको फ्यान भएको पनि बताएका थिए । उनीहरूले नाटक सकिएपछि शृष्टिसँग फोटो खिच्दै पनि विभिन्न प्रश्नहरू गरेका थिए ।
मण्डला थिएटरमा वैशाख ९ गतेबाट चलिरहेको नाटक यतिबेला हाउसफूल भइरहेको छ । यो नाटक वैशाख २५ गतेसम्म चल्नेछ।