मंगलबार , भाद्र ९, २०८३

जब दृष्टिविहीनहरू आकाशमा उडे…!

image

सोमबार दिउँसो प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँमा भिडभाड थियो । भीडकै माझ थिए, फरक खालका यात्रुहरू । दुई विदेशीसहित १० नेपाली दृष्टिविहीन प्याराग्लाइडिङमा कास्कीकोटको मान्द्रढुंगाबाट चढेर त्यहाँ उत्रिएका थिए ।

साहसिक खेल हो प्याराग्लाइडिङ । जोकोहीले प्याराग्लाइडिङमा उड्ने आँट गर्दैनन् । सक्षम हुनका लागि दृष्टि होइन, हिम्मत, आत्मविश्वास र आँट चाहिन्छ भन्ने सन्देश दिनका लागि आफूहरूले सामूहिक प्याराग्लाइडिङ गराएको ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसी बताउँछिन् । सोमबारको उडान उनको दोस्रो प्याराग्लाइडिङ अनुभव हो ।

“जीवनको उचाइमा पुग्न वा सफलता चुम्नका लागि अपाङ्गता र दृष्टिविहीनताले छेक्दैन भन्ने सन्देश प्याराग्लाइडिङ गरेका हौँ । त्यसमा हामी सफल भएका छौँ,” उनले भनिन् । प्याराग्लाइडङ गर्दाको अनुभव शब्दमा व्यक्त गर्न नसकिने उनी सुनाउँछिन् ।

“म बादललाई स्पर्श गरिरहेकी थिएँ । उड्दै गर्दा पाइलटले गरेको वर्णनले पोखराको सौन्दर्य महसुस गरेँ । मन्द मन्द हावा, घामको ताप, शीतल हावालाई महसुस गरेँ । त्यसलाई मनको दृश्यमा कैद गरेँ,” उनले भनिन् ।

१२ दृष्टिविहीनलाई उडाउने चाँजोपाँजो ब्लाइन्ड रक्स संस्थाले मिलाएको हो । ती साहसी दृष्टिविहीनमा सम्भवी दवाडी (सुनिता), नारायणी दवाडी, मीना भुजेल, मोम्सरा सुनार, चाँदनी शर्मा र रोजिना घिमिरे तथा दुई विदेशी क्रिष्टोफर जे जोन्स र थोमस सिडिलङ छन् । उनीहरुसँगै अमिता खड्का, वासिम अन्सारी र सहबाज अन्सारीले पनि प्याराग्लाइडिङ गरे ।

उडानअघि मान्द्रढुंगा पुगेर पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हौसला प्रदान गरेका थिए । प्याराग्लाइडिङ ल्यान्ड गरेपछि काठमाडौं मूलपानीकी सुनिता दवाडीले नसोचेको सफलता चुमेजस्तो अनुभूति गरेको उल्लेख गरिन् ।

उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टेलिफोन अपरेटर हुन् । प्याराग्लाइडिङको पहिलो अनुभवमा हावाको प्रेसरले माथि माथि गएको, तल झरेको सबै महसुस गरेको उनले सुनाइन् ।

प्याराग्लाइडिङ भन्ने बित्तिकै डरलाग्दो हुन्छ भन्ने ठानेकी बागलुङ घर भई पोखराको पृथ्वीनारायण क्याम्पसमा स्नातक तहमा अध्ययनरत चाँदनी शर्मा पनि प्याराग्लाइडिङ गर्दाको अनुभव जीवनकै सबैभन्दा अविस्मरणीय रहेको बताउँछिन् ।

आकाशमा के हुन्छ होला, कस्तो हुन्छ होला भन्ने डरले सताइरहेको थियो, उनले भनिन्, ‘‘तर गाडीको सिटमा बसेर यात्रा गरेजस्तो मात्र भयो । फ्रेस हावाले मन नै आह्लादित भयो । यो अनुभवलाई म शब्दमा वर्णन गर्न सक्दिन । जीवनमा हावामा कावा खाँदै बादलको माथि माथि आकाशमा उडिएला भनेर त मैले कहिल्यै सोचेकै थिइन । तर आज एक्कासि पूरा भयो । मेरो त खुसीको सीमा नै छैन ।’’

अस्ट्रियाबाट आएका थोमसले आँखाले देख्न नपाए पनि यहाँको सौन्दर्य महसुस गरेको प्रतिक्रिया दिए। उनले भने, ‘‘नेपाल आएर जीवनमै पहिलो पल्ट उडेँ, यो मेरो जीवनकै सबैभन्दा राम्रो दिन हो ।’’

सम्बन्धित समाचार