अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जीव बाबु खड्काले यस्ता किसिमका घटनाहरूका नियन्त्रण गर्न सादा पोसाकमा थप प्रहरी कर्मचारीहरू परिचालन गर्ने जानकारी दिए ।
काठमाडौं । मिति २०७९ पुष २२ गते पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डप तथा पशुपति क्षेत्र विकाश कोषको संयुक्त आयोजनामा पशुपतिनाथ मन्दिरमा पर्यटक तथा दर्शनार्थीहरूको बढ्दो गुनासोका कारण पर्यटन क्षेत्रमा परेका समस्या र त्यसको समाधान तथा सम्बन्धित सरोकारवाला निकायहरूको समन्वयात्मक भूमिका विषयक एक दिने अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको छ । सो कार्यक्रममा पशुपति क्षेत्रमा देखिएका समस्या र त्यसको समाधानको विषयमा छलफल गरिएको थियो ।
पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले हाल पशुपति मन्दिर क्षेत्र वरपर पर्यटकहरू माथि विभिन्न किसिमका लुटपाट तथा ठगी कार्यहरू बढी रहेको र सो को नियन्त्रण तथा उक्त कार्यहरूमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन पर्यटक प्रहरी अहोरात्र खटिँदै आएको र सो क्रियाकलापहरू नियन्त्रणमा लिन सम्पूर्ण सरोकारवाला निकाय तथा सङ्घ-संस्थाहरुको समन्वयात्मक भूमिकाको बारेमा चर्चा गरेका थिए । भारतीय लगायत विदेशी पर्यटक कहिले गाइडबाट , कहिले पसलेबाट , कहिले होटेलबाट त कहिले ट्राभलबाट ठगिँदै आएका पाइएकाले , यस्ता ठगीका घटनालाई गम्भीरता पूर्वक लिएर समाधान तर्फ उन्मुख रहनुपर्ने उनले बताए।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी वृत्त गौशालाका प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जीव बाबु खड्काले यस्ता किसिमका घटनाहरूका नियन्त्रण गर्न सादा पोसाकमा थप प्रहरी कर्मचारीहरू परिचालन गर्ने जानकारी दिए । उनले शनिवार र सोमबार पर्यटकको चाप बढ्ने हुँदा उक्त दिन सुरक्षा लगायतका कुरामा विशेष ध्यान दिनुपर्ने बताए । साथै पशुपति क्षेत्रमा हेल्प डेस्क राख्ने , मन्दिर भित्र खुलेका भट्टी हटाउने, व्यापारीहरूको मनोमानी असुलिलाई रोकथाम गर्न पनि आफूहरूले प्रयास गरिरहेको कुरा उनले कार्यक्रममा उल्लेख गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले पशुपतिनाथमा तिन लेयरको सुरक्षाको व्यवस्था गरिएको र पशुपति तथा आसपासका क्षेत्रमा भारतीय पर्यटकहरूलाई सहज र सुरक्षित वातावरणमा दर्शन गर्ने व्यवस्था मिलाउन पशुपति विकास कोषले थुप्रै रणनीति बनाएको ब्यहोरा जानकारी दिए । उनका अनुसार यही आउने माघ १ गते देखि लोकल गाइडहरूलाई ड्रेस कोड तथा आइडी कार्डको अनिवार्य व्यवस्था गरी सम्पूर्ण गाइडको नामको सूची बनाई संस्कृति महाशाखामा पठाउन निर्देशन समेत दिइसकेको छ ।
त्यसैगरी गाइड एसोसिएसन अफ पशुपतिका अध्यक्ष सुदन परियारले आगामी दिनहरूमा पशुपतिका गाइडहरूले सही ढङ्गले आफ्नो काम गर्ने, नियमित रूपमा तालिमको व्यवस्था गर्ने र सम्पूर्ण गाइडहरूको पहिचान सहितको काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।