मंगलबार , असार २, २०८३

पशुपति, सूर्यघाट र विकास कोषको कर्तव्यमूढता

सूर्यघाटको विजयवतीद्वारा स्थापित शिवलिङ्गलाई पुनःस्थापना गरेर मन्दिर बनाउन पहल गर्दा विकास कोषले यो त ठूलो कुरा होइन भन्दै वर्षौँ बिताइसकेको छ ।

image

-श्रीराम स्वधर्म (योग साधक)

राजधानी काठमाडौँको गौशाला क्षेत्रमा अवस्थित भगवान शिवको आराधना हुने पशुपति मन्दिरमा देश र विदेशका भक्तजहरू आउने गर्छन् । विश्व सम्पदा सूचीमा सूचिकृत यस मन्दिरलाई नेपालभित्र र बाहिरका हिन्दू धर्मावलम्बीहरूको मुख्य तिर्थस्थलका रूपमा लिइन्छ । विभिन्न धार्मिक एवं ऐतिहासिक किंवदन्ती तथा तथ्यहरूले पशुपतिको गरिमा बढाएका छन् ।

लिच्छवी काल र पशुपतिको ऐतिहासिक सम्बन्ध भएको पाइएको हुँदा आजको बसाइँमा विभिन्न अभिलेखहरूका आधारमा ती सम्बन्धहरूलाई केलाउनेछौँ । ती सम्बन्धको ऐतिहासिकतामाथि भएका ज्यादतिका बारेमा बहस गर्नेछौँ ।

पशुपति सूर्यघाटमा मानदेवकी छोरीले थापना गरेको शिवलिङ्ग:

पशुपति सूर्यघाटमा मानदेव पुत्री विजयवतीले संवत् ४२७ (ई.५०५) मा पिता मानदेव र माता भोगिनीदेवीको यश वृद्धि र दीर्घायुका लागि थापना गरेको शिवलिङ्ग भीरमा मिल्किएको अवस्थामा छ अर्थात् बेवारिसे छ । नजिकै भजनमण्डली र साधुसन्तहरू भएपनि अहिले यो अभिलेख रहेको ठाउँ गाजा खानेहरूको मिटिङ र डेटिङ सेन्टरको रूपमा परिणत भएको छ ।
लिच्छविकालीन अभिलेखमा सबैभन्दा धेरै शैवधर्मसम्बन्धित अभिलेख मानदेवकै पालाका छन् । साना-ठूला २० भन्दा बढी मानदेवकालीन अभिलेखमध्ये १० भन्दा बढी अभिलेखमा स्वयं राजा मानदेव, उनका राजपरिवार, व्यापारी र सर्वसाधारणले शिवलिङ्ग र शिवमन्दिर बनाएको उल्लेख पाइन्छ । नारायणलाई केन्द्रमा राखेर आफ्नो पुर्ख्यौली अभिलेख चाँगुनारायणमा राख्नुले मानदेव आफैं भने वैष्णव झुकाव भएका राजा मानिन्छन् । यद्यपि, लिच्छविकालमा सर्वधर्म समभाव अरू राजाहरूमा पनि थियो । मानदेवका दुई पत्नी र छोरी समेतले शिवलिङ्ग र शिवमन्दिर थापना गर्नुले त्यो बेला समाजमा शैवधर्मको प्रभाव राम्रै रहेछ भन्ने अनुमान गर्न सकिन्छ । मानदेवको पालाका शिवलिङ्गको अभिलेख तल उल्लेख गरिएको छ ।

यो अभिलेख कहाँ छ ?

अभिलेख रहेको स्थान

यो अभिलेख आर्यघाट र गौरीघाटको बीचमा रहेको सूर्यघाटमा छ । अभिलेख अवस्थितिबारे संस्कृतिका अध्येता एवं पशुपतिका मूर्त-अमूर्त सम्पदाविज्ञ वरुण खतिवडालाई सोध्दा वासुकिघाट र गौरीघाटको बीचमा सूर्यघाटमा रहेको बताउनुभयो । धेरैले वासुकिघाटबारे अनभिज्ञता व्यक्त गरेको पाइयो । वासुकि गुफा हुँदै जाँदा सूर्यघाटमा यो अभिलेख रहेको छ । आर्यघाटबाट ७०-८० मिटरको दूरीमा नै यो अभिलेख भेटाइन्छ ।

कसरी, कुन बाटो भएर जाने ?

यो अभिलेख रहेको ठाउँमा दुईतिरबाट जान सकिन्छ । एउटा कैलाश डाँडाबाट दाहिनेतिर हुँदै तल बागमती झर्ने सिँढीको बाटो हुँदै झरेर जान सकिन्छ । झरेर तल जाँदै गर्दा तल किनारमा नपुग्दै हरेक आइतबार भजन हुने भजन मण्डली रहेकातिर देब्रे लाग्दा यो अभिलेख रहेको ठाउँमा पुग्न सकिन्छ । केही सम्म परेको चौरजस्तो ठाउँमा शिवमन्दिरभन्दा केही पर (लगभग कान्लामा) यो अभिलेख खुल्ला आकाशमुनि छ । नजिक पुगेपछि शिवलिङ्गको लिपिबाटै यो बुझिहालिन्छ ।

अर्को बाटो आर्यघाट हुँदै ब्रह्मनाल भएर जाने हो । वासुकि गुफा कटेपछि, तिलोपा र नरोपा गुफामा पुगेर सोधेपछि थाहा पाइन्छ । तिलोपा गुफामा रहेको शिवलिङ्ग पनि लिच्छविकालीन नै मान्नुभएको छ वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले । यसमा अलमल नपर्नुहोला । त्यहाँ पुगेपछि हरिनाथ अघोरी बाबालाई सोधेमा फरक पर्दैन । सबैलाई यो अभिलेखबारे ज्ञान नहुन पनि सक्छ । यो अभिलेख, सूर्यमन्दिर र सूर्यघाटको बारेमा बाबालाई सोध्दा सूर्यमन्दिरको महत्त्व थाहा पाएपछि प्रत्येक आइतबार पूजा गर्न थालेको बताउनुभयो ।
आर्या-तीर्थ कसरी आर्यघाट भयो ? तीर्थ र घाट एकै ठाउँमा हुँदा भएका समस्या, वासुकितीर्थ, सूर्यघाटको सूर्यभागा तीर्थ र यहाँ हुने पर्व, जात्रा, मेला, स्नान आदिको पौराणिक माहात्म्यको बारेमा पनि बुझ्नुपर्ने देखियो । प्रत्येक वर्ष पौष महिनाको अन्तिम आइतबार सूर्यदेवको मूर्तिमा मेला नै लाग्ने गरेको पाइयो । अहिलेलाई पुनः मूल विषयतिरै लागौँ ।

यस अभिलेखको महत्त्व के हो त ?

अन्य मानदेवकालीन अभिलेखमा मानदेवकी पत्नी भोगिनीदेवी भन्ने कुरा अस्पष्ट भएकोमा यही अभिलेखबाट मानदेवकी पत्नी भोगिनीदेवी भएको स्पष्ट रूपमा खुल्न आएकोले अन्य अभिलेखको अध्ययनमा पनि यो अभिलेखले महत्त्वपूर्ण योगदान पुर्याएको छ ।

सूर्यदेवको खण्डित मूर्ति

अभिलेख रहेको ठाउँबाट देखिएको सूर्यदेवको बागमती पारिको मूर्ति

पशुपतिको अरू अभिलेखको तुलनामा यो शिवलिङ्गको लिपि स्पष्ट पढ्न सकिन्छ । शिवलिङ्गको तल बागमती नदी र पारि सूर्यदेवको मन्दिर छ जसकारण घाटको नाम पनि सूर्यघाट रहन गयो । सूर्यदेवको खण्डित मूर्ति पनि लिच्छविकालीन नै लाग्दछ ।

राजा मानदेवको झुकाव पनि वैष्णवधर्मप्रति नै भएकाले उनकी छोरीले यो शिवलिङ्ग सूर्यघाट परिसरमा बनाएको अनुमान गर्न सकिन्छ । तर सूर्यघाट, सूर्यमन्दिर आदिको बारेमा थप अध्ययन सामग्री भने छैनन् । सूर्यदेवको मन्दिरनेर सूर्यघाट हुनु र अहिले पनि पौष महिनामा आइतबार विशेषरूपमा सूर्यदेवको पूजा भएको पाइनुले लिच्छविकालदेखि नै सूर्यदेवको पीठ स्थापना भएको अनुमान गर्न सकिन्छ । लिच्छविहरू सूर्यवंशी हुनु पनि यहाँनेर उल्लेखनीय देखिन आएको छ ।

लिच्छविकालमा सर्वधर्म समभावको भावना उच्च भएकोले यहाँ पनि श्रीसूर्यदेव र शैवमतबीचमा समन्वय रहेको प्रतित हुन्छ । लिच्छविकालकै राममन्दिर लगायतका वैष्णवपीठ नजिकै स्थापना हुनुले पनि थप धार्मिक समन्वयलाई स्थापित गरेको छ । अझै गहिराइमा बुझ्न लिच्छविकालमा शैवधर्म, बौद्धधर्म, शाक्तधर्म र वैष्णवधर्मको अभिलेख र त्यो कालका शासक र जनतामा रहेको धार्मिक चेतलाई आधार मानेर थप मूर्त-अमूर्त संस्कृति र जीवनशैलीको अध्ययन हुनपर्ने समेत देखिन्छ ।

सूर्यघाट लगायतका अभिलेखमा उल्लेख भएका संवतबारे जनसाधारणमा रहेको अन्यौलता:

लिच्छविकालीन अभिलेखमा संवत् मात्र भनिएकाले कुन संवत् भन्नेमा यकिनसाथ इतिहासकारहरूले पनि भन्न सकेको देखिँदैन । यसलाई कतै लिच्छवि संवत् भनिएकोमा यो संवत्बारे कुनै पनि ठोस आधार वा प्रमाण नमिलेकोले यही हो भन्न सकिएको छैन भनेर इतिहासविद प्रा.डा. जगदीशचन्द्र रेग्मीले बताउनुभएको छ (रेग्मी, २०७५: २८) । संवत् भनेर वि.स. लाई भन्न खोजिएको होइन । ई. र संवतको बीचमा ७८ वर्षको अन्तर रहेको छ, यस आधारमा लिच्छविकालमा चलेको कुनै संवत् भनेर बुझ्नपर्ने देखिन्छ । लिच्छविकालीन सबै अभिलेखमा यही संवतको उल्लेख भएको छ (पछि मानदेव द्वितीयपछि ई. ५७६ मा अर्को संवत् पनि चलेको देखिन्छ जसलाई अंशुवर्माले प्रचलनमा ल्याए) । नयराज पन्तले यसैलाई शक संवत् मानी थुप्रै लेख र ग्रन्थ लेख्नुभएको उल्लेख रेग्मीले आफ्नो पुस्तकमा गर्नुभएको छ भने यसलाई शक संवत् होइन भन्ने प्रमाण शङ्करमान राजवंशीले प्रस्तुत गर्नुभएको छ । यसबाट यो कुरा स्पष्ट हुन आउँछ कि यो संवतमाथि अझै अध्ययन-अनुसन्धान हुन आवश्यक छ ।

पाठक वर्गमा अभिलेखमा उल्लिखित संवत् भनेको वि.सं. होइन, वि.सं. र संवतको बीचमा ११२ वर्षको अन्तर छ भन्ने स्पष्टता होस् भन्ने उदेश्यले यति कुरा उल्लेख गरेँ । अब अन्य अभिलेखको खोजीमा लागौँ ।

राजा मानदेव, उनको परिवार, व्यापारी र सर्वसाधारणले थापना गरेका अन्य शिवलिङ्ग र शिवमन्दिर सम्बन्धित अभिलेख कुनकुन हुन् ?

लाजिम्पाट धोबीचौरमा रहेको अभिलेखयुक्त शिवलिङ्गबाट ई. ४६६ (बज्राचार्य, २०३०: ३१-३२) मा राजा मानदेवको आज्ञाले भक्त सेवक नरवर्माले शिवमन्दिर बनाएको भन्ने कुरा थाहा पाइन्छ । त्यस्तै रत्नसंघ भन्ने सार्थवाहले (व्यापारीका नेता) ले ई. ४७७ र ४८० (ऐजन, ५०-५१, ५५-५६) मा पशुपति क्षेत्रमा रत्नेश्वर र प्रभुकेश्वर शिवमन्दिर बनाएको र त्यसको लागि प्रशस्त जग्गा गुठी राखेको कुरा तिनै शिवलिङ्गमा लेखिएको अभिलेखबाट थाहा पाइन्छ । पशुपतिनाथ मन्दिरनेर ई. ४९१ (ऐजन: ६२-६३) को अभिलेखबाट जयलम्भ नामका व्यक्तिले राजा मानदेवको निगाहाबाट जयेश्वर शिवलिङ्ग थापेको कुरा पाइन्छ । जनसाधारण र व्यापारीबाट समेत यस किसिमको भक्तिभाव शिवप्रति देखिनुले त्यो बेलाको समाजमा शिवको पूजा-उपासना उल्लेख्य रहेको थाहा पाउन सकिन्छ ।

धारामानेश्वर र मानेश्वर नामका दुई शिवमन्दिर मानदेवले स्थापना गरेको पाइएको छ । विष्णुपादुका फेदीको ई. ४७६ (ऐजन: ४१-४२) मा शिवलिङ्ग थापेको पाइन्छ । अंशुवर्माको ई. ६०८ को अभिलेख (बज्राचार्य, श्रेष्ठ, २०३०: ३२०-३२१) मा मानेश्वर र धारामानेश्वर नामका दुई शिवमन्दिरलाई भेटीको व्यवस्था गरिएको उल्लेख पाइनु र ती दुवै मन्दिरको नाममा राजा मानदेवको नाम जोडिएको देख्दा ती दुवैको स्थापना राजा मानदेवले नै गरेको अनुमान सहजै गर्न सकिन्छ । ती दुई शिवमन्दिरमध्ये एउटाचाहिँ विष्णुपादुका फेदीको शिवलिङ्ग हुनसक्ने अनुमान पनि गरिएको छ । वंशावलीअनुसार मानदेवले मानेश्वरीको स्थापना गरी स्तोत्र बनाई स्तुति गरेको बताइएको छ । हाल टङ्गालमा अवस्थित मनमानेश्वरी नामको पुरानो मन्दिरमा पुरानो खालको शिवलिङ्ग स्थापित छ । यसै मन्दिरमा मानेश्वरीको गुप्ती पूजास्थल रहेकोले मानेश्वर र मानेश्वरी शिवशक्ति स्वरूपमा मानेश्वरले स्थापना गरेको सम्भावना देख्नुहुन्छ इतिहासविद जगदीशचन्द्र रेग्मी (रेग्मी, २०७६: ५८-६८) ।

मानदेवका दुई रानी क्षेमसुन्दरी र गुणवतीले शिवमन्दिर बनाएको थाहा पाइन्छ । क्षेमसुन्दरीले ई. ४६८ मा लाजिम्पाटमा एक भव्य शिवमन्दिर बनाएको प्रमाण स्वरूप अभिलेख (बज्राचार्य, २०३०: ३९) युक्त शिवलिङ्ग पाइएको छ । अर्की रानी गुणवतीले ई. ४९७ (ऐजन: ६५) मा लाजिम्पाट, टुकुचामा आफ्ना पिता किन्नरवर्माको पुण्यको लागि एक शिवलिङ्ग बनाएको अभिलेखयुक्त शिवलिङ्गले स्पष्ट पारेको छ । श्री भोगिनीदेवी जसलाई मानदेवकी बडामहारानी मानिन्छ उनकी छोरी विजयवतीले ई. ५०५ (ऐजन: ८२-८३) मा पशुपति सूर्यघाटमा शिवलिङ्ग स्थापना गरेको अभिलेखमा उल्लेख छ । राजपरिवारका अतिरिक्त जनतामा पनि शिवमन्दिर र शिवलिङ्गप्रतिको श्रद्धा-भक्ति देख्दा त्यो बेलाको समाज शैवसभ्यता र संस्कृतिमय थियो भन्ने स्पष्ट हुन्छ ।

यस अभिलेख संरक्षणमा सम्बन्धित निकायबाट भएको पहल:

पशुपति क्षेत्रको सम्पदा संरक्षणको प्रमूख दायित्व पशुपति विकास कोषको हो । तर, पशुपति विकास कोष मूल पशुपति मन्दिरभन्दा बाहिरका सम्पदा संरक्षणमा चुकेको आरोप लाग्दै आइरहेको छ । यस्ता लिच्छविकालीन मूर्ति संरक्षणमा कोषले देखाएको ढिलासुस्ती र जिम्मेवारीशून्यताले यसलाई पुष्टि गर्दछ । पशुपति क्षेत्रमा यसरी बेवारिसे भएका मूर्ति यो एउटा मात्र होइन । पाशुपत क्षेत्रकै पहिलो लिच्छविकालीन तिलगङ्गाको वामनदेवको मूर्ति पनि यस्तै बेवारिसे अवस्थामा छ । उक्त मूर्ति संरक्षणका लागि धेरै क्षेत्रबाट पहल भएपनि अहिले ढलमुक्त मात्र हुनसकेको छ । संस्कृतिविद् प्राध्यापक वीणा पौडेल लगायतले सूर्यघाटको विजयवतीद्वारा स्थापित शिवलिङ्गलाई पुनःस्थापना गरेर मन्दिर बनाउन पहल गर्दा विकास कोषले यो त ठूलो कुरा होइन भन्दै वर्षौँ बिताइसकेको छ । भष्मेश्वरमा ई. ५३३ मा स्थापना भएको ५ वटा शिवलिङ्गको अवस्था पनि यस्तै छ ।

विकास कोषले कमसेकम पनि यस्ता १५-१६ सय वर्ष पुराना सम्पदा संरक्षणमा तत्कालै पहल गर्नुपर्ने कुरा घाम जस्तै छर्लङ्ग छ । त्यसका बाबजुद कोष यो कर्तव्यबाट सयौँ कोष टाढा भाग्दै आइरहेको छ । यस्ता ऐतिहासिक तथ्यहरूमाथि खोज तथा अध्ययन गरी तिनको संरक्षण गर्नु विकास कोषको कर्तव्य हो कि होइन ? कोषलाई यसतर्फ गम्भीर ध्यानाकर्षण होस् ।

श्रीपशुपतिनाथ र यहाँको मूर्त-अमूर्त सम्पदा विश्वसम्पदा सूचिमा परिसकेकाले यस्ता सम्पदा, संस्कृति, सभ्यताको संरक्षण गर्नु सबै नेपालीको कर्तव्य हो । यिनै लिच्छविकालीन अभिलेखको आधारमा प्राचीनतम मानिएको शैवधर्म, संस्कृति एवं सभ्यताको अध्ययन गर्न सकिने भएकाले यी हाम्रा इतिहास मात्र नभएर जीवन्त परिचय र गौरवसमेत हुन् । यस्ता संस्कृति, सम्पदा संरक्षणमा सबै जनता एकजुट हुनुपर्छ भन्ने भावनालाई जगाउन लिच्छविकालीन अभिलेखमा शैवधर्म र बौद्धधर्म भन्ने आर्टिकल लेख्ने क्रममा मैले गरेको खोज अध्ययनका क्रममा खिचिएका फोटोप्रति धेरैको चासो देखिएकाले मेरा संस्कृतिप्रेमी मित्र राजु झल्लु प्रसादज्यूको सल्लाहमा यो सानो लेख छोटो समयमा तयार पारिएको हो ।

तपाईंहरू यो शिवलिङ्ग भएको ठाउँमा पुगिदिनुभयो र सम्पदा संरक्षणको अभियानमा आफ्नो तर्फबाट सकेको सहयोग गरी सम्बन्धित निकायलाई झकझक्याउन पहल गरिदिनुभयो भने यो लेखको उदेश्य पूरा हुनेछ ।

जय पशुपतिनाथ ।

सन्दर्भ सामग्री:

श्रीपशुपति माहात्म्य, पं श्रीलोकनाथ आचार्य

लिच्छवि इतिहास, प्रा.डा. जगदीशचन्द्र रेग्मी

लिच्छविकालका अभिलेख, धनबज्र बज्राचार्य

वागमती सभ्यता, डा. साफल्य अमात्य

पशुपति प्रत्यभिज्ञा, प्रा. चुडानाथ भट्टराय

सम्बन्धित समाचार