बिहिबार , कार्तिक २८, २०८२

विश्व-विख्यात विश्वविद्यालयबाट ‘मानार्थ विद्यावारिधि’काे उपाधिद्वारा सम्मानित सापकाेटा काे हुन् ?

विश्वविद्यालयले हालै युनाइटेड अरब इमिरेट्स (दुबई)मा आयोजना गरिएको दीक्षान्त समारोहमा सापकोटालाई सो उपाधिद्वारा दीक्षित गरेका हुन् ।

image

काठमाडाैं । सफल पर्यटन व्यवसायी एवम् समाजसेवी राम प्रसाद सापकोटा (कमल) लाई ‘वर्ल्ड युनिभर्सिटी अफ लिडरसिप एण्ड म्यानेजमेन्ट (उल्म) फ्रान्स’ (World University of Leadership & Management (WULM) France) ले ‘मानार्थ विद्यावारिधि’ (Honorary Doctorate) काे उपाधिद्वारा सम्मानित गरेकाे छ ।

शिक्षालाई आधारभूत मानव अधिकारको  रूपमा स्थापित गरी शिक्षण र सिकाइलाई लाेकतान्त्रिकरण गर्दै शिक्षामा सबैको समान पहुँच स्थापित गरी सामाजिक न्याय सहितको नयाँ विश्व दृष्टिकोणको विकास गर्ने उद्देश्यले स्थापित भएको (उल्म) एक विश्व प्रसिद्ध खुला विश्वविद्यालय हो । यसको मुख्यालय फ्रान्समा रहेको छ । सूचना प्रविधिको विकास र विस्तारले विश्व मानव समुदायमा भौगोलिक दुरीलाई छिचोल्दै मनोवैज्ञानिक निकटता पैदा गरिसकेको र पृथ्वीलाई नै एउटै गाउँ र विश्व मानव समुदायलाई नै एउटै परिवार मान्ने ‘ग्लोबल भिलेज’ को अवधारणा स्थापित भइसक्दा पनि  शिक्षामा असमान पहुँच कायम रहेको र शिक्षण र सिकाइलाई युगमैत्री बनाउन नसकिएको भन्दै खुला विश्व विद्यालयको अवधारणालाई स्थापित गर्ने लक्ष्यसहित स्थापित विश्वविद्यालय हो, उल्म ।

यस विश्वविद्यालयले विभिन्न क्षेत्रमा उत्कृष्ट नेतृत्वसहित व्यावसायिक सफलता हासिल गरेका व्यक्तिहरूलाई सम्मानित गर्ने गरेकाे छ । लामो समयदेखि पर्यटन, समाजसेवा र राजनीतिक क्षेत्रमा सक्रिय सापकोटालाई बिजनेस एण्ड लिडरसिप (Business &Leadership) को क्षेत्रमा सो उपाधि दिएका हुन् । विश्वविद्यालयका  निर्णायक टिमले गहन अध्ययन, विश्लेषण र मूल्याङ्कन गरेर विश्वभरबाट उत्कृष्ट व्यक्तिलाई सम्बन्धित क्षेत्रको लागि मानार्थ विद्यावारिधिकाे उपाधि दिने गरेका छन् ।

विश्वविद्यालयले हालै युनाइटेड अरब इमिरेट्स (दुबई)मा आयोजना गरिएको दीक्षान्त समारोहमा सापकोटालाई सो उपाधिद्वारा दीक्षित गरेका हुन् ।

को हुन् सापकोटा ? 

धादिङको नीलकण्ठ नगरपालिका १० मा जन्मिएका सापकोटा लामो समयदेखि पर्यटन व्यवसाय र समाजसेवामा संलग्न छन् । सापकोटा व्यवसायीमाझ शालीन, भद्र र सफल  व्यवसायीका रूपमा चिनिन्छन् । उनले काठमाडौंमा रहेर पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

सापकोटाले ग्रामीण पर्यटनको विकासका लागि काम गर्दै आएको संस्था गाउँ पर्यटन प्रवर्द्धन मञ्च ‘भिटोफ’ नेपालको नेतृत्व गरेर ग्रामीण पर्यटनको विकासमा समेत महत्त्वपूर्ण योगदान दिएका छन् । उनको कार्यकालमा नेपालका थुप्रै गाउँहरूमा होमस्टे (घर बास) सञ्चालनमा आएका छन् । धादिङको सलाङ, नलाङ, रामेछापको दोरम्बा, मकवानपुरको चित्लाङ, चितवन, बर्दिया लगायतका स्थानहरूमा सापकोटाकै कार्यकालमा होमस्टे सञ्चालनमा ल्याइएको हो ।

सापकोटाले काठमाडौंको ठमेलमा ‘माउन्टेन डिलाइट्स ट्राभल्स एन्ड टुर्स प्रालि’ र होटेल ‘काठमाडौं गार्डेन होम’ सञ्चालन गर्दै आएका छन् । सामाजिक कार्यमा पनि उतिकै सक्रिय रहेका सापकोटा अन्य विभिन्न अवार्डबाट पनि सम्मानित भइसकेका छन् । उनले यस अघि दिगो पर्यटनमा दिएको योगदानको आधारमा दिइने ‘सस्टेनएबल टुरिजम इन्स्पाएर स्टोरी कम्पीटीसन’ को टाइटल प्राप्त गरेका छन् । दिगो पर्यटनमा योगदान दिने एसियाभरिका व्यक्तिहरू यस टाइटलको लागि प्रतिस्पर्धा गर्दछन्  । त्यसैगरी सन् २०१७ मा  ‘टुरिजम म्यान अफ दि इयर २०१७’ र २०१९ मा बङ्गलादेशबाट ‘यूथ इन्स्पाइरेसन अवार्ड’ पनि प्राप्त गरेका छन्  ।

सापकाेटाले ‘टुकि नेपाल’ नामक संस्था मार्फत शिक्षा क्षेत्रमा सहयाेग गर्दै आएका छन् ।

सम्बन्धित समाचार