मंगलबार , अषोज ६, २०८३

भिटोफको रुवी भ्याली अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न

बोर्डका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि चन्द्र प्रसाद रिजालले भने, "पहिलोपटक रुवी भ्याली आउँदा नै मैले यहाँको पर्यटन प्रवर्द्धनका लागि केही गर्ने अठोट लिइसकेको थिएँ ।"

image

काठमाडौँ । भिटोफ नेपाल र रुवी भ्याली गाउँपालिकाको आयोजनामा धादिङ, रुवी भ्याली गाउँपालिका- ४ चालिस गाउँमा ‘गन्तव्य रुवी भ्यालीः अध्ययन अवलोकन भ्रमण सम्पन्न भएको छ ।

धादिङको रुवी भ्याली गाउँपालिकाको पर्यटकीय सम्भावनाको अध्ययन तथा गाउँपालिकाको आर्थिक उत्थानका लागि आयोजना गरिएको उक्त कार्यक्रम हिजो बिहीबार दुई चरणमा सम्पन्न भएको छ । गाउँ पर्यटन प्रवर्द्धन मञ्ज (भिटोफ)का अध्यक्ष गोपाल थापाको सभापतित्व र पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र प्रसाद रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमलाई नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गरेको हो । कार्यक्रममा अतिथितहरूलाई स्थानीय मौलिक भेषभुषाका रूपमा लगाइने ‘गाता’ पहिर्याई स्वागत गरिएको छ ।

भिटोफका प्रमुख सल्लाहकार एवं पर्यटन विज्ञ प्रेम लामिछाने शर्माले कार्यक्रममा ग्रामिण पर्यटनसम्बन्धी तालिम तथा प्रशिक्षण दिएका छन् । कार्यक्रमको पहिलो चरणमा बोल्दै पर्यटन विज्ञ शर्माले पर्यटन संवर्द्धन तथा प्रवर्द्धनका लागि जनचेतना जगाउने काम गरे । उनले भने, “रुवी भ्याली गाउँपालिकामा पर्यटनको सम्भावना भएर पनि देख्न नसकेका कारण गाउँपालिका पर्यटकीय हिसाबले माथि उठ्न सकिरहेको छैन । गाउँपालिकाको पर्यटकीय र आर्थिक उत्थानका लागि सुरुमा त चेतना परिवर्तन हुन आवश्यक छ ।”

शर्माले अगाडि भनेका छन्, “नयाँ संरचना थप्नुभन्दा भएकै संरचनालाई सिंगार्न के गर्नुपर्छ यसबारे सिक्न र सुधार गर्न आवश्यक छ ।”

कार्यक्रमको दोस्रो चरणमा टानका निवर्तमान उपाध्यक्ष तेज गुरुङले रुवी भ्यालीको पर्यटन प्रवर्द्धन तथा आर्थिक उन्नतिका लागि गर्न सकिने कार्यक्रमहरूमाथि चर्चा गरे । दोस्रो चरणमै गाउँपालिकाका वडा नं ३, ६ लगायतका वडाका वडाध्यक्षहरूले समेत कार्यक्रमलाई सम्बोधन गर्दै रुवी भ्याली गाउँपालिकामा पर्यटनको प्रचुर सम्भावना भएकाले सबै वडाहरूले पनि पालिकाको पर्यटन प्रवर्द्धनका लागि आ-आफ्नो स्थानमा सहयोग गर्दै आएको बताएका छन् ।

वडाध्यक्षहरूले रुवी भ्यालीको पर्यटन प्रवर्द्धनका लागि सबै वडाहरूले र हरेक सर्वसाधारणले पनि हातेमालो गर्दै अघि बढ्नुपर्नेमा एकमत व्यक्त गरेका छन् । रुवी भ्यालीको पर्यटन उत्थानका लागि पर्यटकीय सरसफाइमा सबैको ध्यान जान आवश्यक रहेको बताएका छन् । प्लास्टिक तथा नकुहिने फोहोर विसर्जन उचित ढंगले हुनुपर्नेमा उनीहरूको जोड रहेको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष फे लामा तामाङले गाउँपालिकाले आफूमा भएको सम्भावनालाई पहिचान गर्न नसकको बताएका छन् । उनले भनेका छन्, “हाम्रो यस रुवी भ्याली गाउँपालिकामा सोझा मान्छेहरूको बसोबास छ । रुवी भ्यालीमा कति महत्वपूर्ण रत्नहरू छन् यहाँका सोझा मान्छेहरूलाई थाहा छैन र ती रत्नहरूमाथि कसरी अनियमितता भइरहेको छ भन्नेबारे स्थानीयहरू पनि सचेत हुनुपर्छ । यहाँ अनियमितता भइरहेको छ, मैले थाहा पाएको छु । तर, अब रुवी भ्यालीमा यो अनियमितता हुनुहुँदैन । यहाँको पर्यटन प्रवर्द्धनका लागि यसमा सबैजना सचेत हुनु आवश्यक छ ।”

उपाध्यक्ष फे लामा तामाङले रुवी भ्यालीलाई पर्यटकीय क्षेत्र घोषणा गरेको र यसको प्रवर्द्धनका लागि कार्यक्रमको आयोजना गरेकोमा आयोजक भिटोफ नेपाल र सम्बन्धित सबैप्रति कृतज्ञता व्यक्त गर्दै धन्यवाद दिएका छन् । साथै, उनले कार्यक्रमलाई प्रत्यक्ष असर गर्ने सांस्कृतिक, प्राकृतिक तथा भौतिक कुराहरूको संरक्षण, प्रवर्द्धन तथा निर्माण गर्न गम्भीर भएर लागिपर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

यस्तै, गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले आतिथ्यको कमिले गर्दा पर्यटन क्षेत्रमा असर गर्ने हुँदा पर्यटकीय आतिथ्यतामा सुधार गर्नुपर्ने सुझाएका छन् । रुवी भ्यालीको पर्यटन उत्थानका लागि खानपान, बसाइँ लगायतका कुराहरूलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे सोच्न आवश्यक रहेको अध्यक्ष तामाङको भनाइ छ । यसैगरी, धार्मिक, प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण गर्ने, पर्यटन प्रवर्द्धनका लागि बजेट छुट्याउने र ऐतिहासिक सेताचेटमा तारबार लगाउने, तातोपानी महोत्सवको आयोजना गर्ने लगायत विभिन्न कार्यक्रमहरू गर्नुपर्ने अध्यक्ष तामाङले सुझाए ।

उनले रुवी भ्यालीमा गर्नुपर्ने काम धेरै रहेको उल्लेख गर्दै आफू जिम्मेवार भएर काम गर्ने बताए । विभिन्न विषयमाथि आएका बजेट स्वयं तिनको वस्तुस्थितिको अध्ययन गरेर खर्च गर्ने साथै, पर्यटकमैत्री वातावरण सिर्जना गर्न आफ्नो तर्फबाट आफूले मिहेनत गर्न कुनै ठाउँ नछोड्ने बताउँदै उनले सर्वसाधारणहरूको सहयोगका लागि समेत अनुरोध गरेका छन् ।

यसैगरी, कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन बोर्डका उपाध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि चन्द्र प्रसाद रिजालले आफू दुईपटक रुवी भ्याली आएको बताउँदै भने, “म दुईपटक रुवी भ्याली आइपुगेँ । र पहिलोपटक आउँदा नै म यस भ्यालीप्रति आकर्षित भइसकेको हुँदा यहाँको पर्यटन प्रवर्द्धनका लागि केही गर्ने अठोट मैले त्यतिबेलै लिइसकेको थिएँ ।”

अध्यक्ष रिजालले प्रबल पर्यटकीय सम्भावना बोकेको रुवी भ्यालीको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न उनले बोर्डमा छलफल चलाउने र यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै, रुवी भ्यालीका स्थानीयलाई विभिन्न लेखक तथा पत्रकारसँगको समन्वयमा आएर पर्यटन प्रवर्द्धन गर्न उनले सुझाव दिएका छन् । कार्यक्रमको प्रमुख आतिथ्यता गरेका उनले कार्यक्रमलाई आफूअघि सम्बोधन गर्नेहरूले उठाएका कुरामा आफ्नो सहमति रहेको समेत जनाएका छन् ।

यस्तै, आयोजक भिटोफका अध्यक्ष एवं कार्यक्रमका सभापति गोपाल थापाले पनि रुवी भ्यालीको पर्यटन प्रवर्द्धनका लागि आफूले यस्ता कार्यक्रमहरू ल्याइराख्ने बताएका छन् । कार्यक्रमको अन्तिम चरणमा बोल्दै सभापति  थापाले भने, “यही गाउँपालिका, रुवी भ्यालीमै म भारी बोकेर हिँड्ने गर्थेँ । यो ठाउँको पर्यटन प्रवर्द्धन तथा उत्थानका लागि कार्यक्रम ल्यााइराख्नेछु ।”

सभापतिको सम्बोधनसँगै सम्पन्न भएको तीन दिने कार्यक्रमको पहिलो दिन स्थानीय सहयोगी ‘चालिस महिला समूह’‘गणेश हिमाल समूह’ले कार्यक्रमको बिचबिचमा सांस्कृतिक प्रस्तुति समेत पस्किएका छन् । कार्यक्रमको बिचमा  ‘घाटुनाच’, ‘घोडानाच’, ‘मारुनी नाच’ लगायतका सांसकृतिक नृत्यहरू समेत देखाइएको छ ।

नेपाल पर्यटन बोर्ड, भिटोफ नेपाल, टान, गाउँपालिका तथा वडा लगायत अन्य विभिन्न पर्यटनसम्बद्ध संस्थाका शीर्ष पदाधिकारी, सदस्य एवं प्रतिनिधिहरूको सहभागितामा रुवी भ्यालीको पर्यटकीय विकासको सम्भावना र चुनौतीमाथि छलफल तथा सांस्कृतिक मनोरञ्जनात्मक प्रस्तुतिसँगै ‘गन्तव्य रुवी भ्याली: अध्य्यन अवलोकन भ्रमण’ नामक कार्यक्रम भव्यता र सभ्यताका साथ सम्पन्न भएको छ ।

सम्बन्धित समाचार