काठमाडौं । भारतमा जन्मिएका ब्रिटिश-अमेरिकी लेखक सलमान रुश्दीमाथि केहीदिन अघि अमेरिकाको न्यूयोर्कमा एक कार्यक्रममा सहभागी भइरहँदा चक्कु प्रहार भएको थियो । आक्रमण गर्ने व्यक्तिमाथि हत्या मुद्दा दायर गरिएको छ ।
आक्रमण गरेका व्यक्तिलाई चक्कु प्रहार गरे लगत्तै कार्यक्रममा उपस्थित व्यक्तिहरुले नियन्त्रणमा लिएका थिए । प्रहरीले २४ वर्षीय हादी मतर नामका एक व्यक्तिलाई पक्राउ गरेको थियो । मतर बिना जमानत अहिले प्रहरी नियन्त्रणमा छन् । उनीमाथि रुश्दीको हत्या प्रयास गरेको र अर्को एक व्यक्तिमाथि आक्रमण गरेको अभियोग लगाइएको छ ।
अस्पतालमा उपचाररत् रुश्दीको स्वास्थ्य अवस्था गम्भीर रहेको बताइएको छ । यद्यपि, उनलाई अहिले भेन्टिलेटरबाट भने निकालिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले उल्लेख गरेका छन् । आक्रमणपछि भेन्टिलेटरमा राखिएका रुश्दी बोल्न सकिरहेका थिएनन् । अहिले भने उनले बोल्न पनि थालेका छन् । रुश्दीको आँखामा भने गम्भीर चोट लागेको छ । रुश्दीले एउटा आँखाको दृष्टि गुमाउन सक्ने खतरा रहेको चिकित्सकहरूले बताएका छन् । आक्रमणकारीले रुश्दीमाथि १० पटकभन्दा बढी चक्कुले प्रहार गरेका थिए ।
रुश्दीलाई धेरै वर्षदेखि ज्यान मार्ने धम्की आइरहेको थियो । बुकर विजेता रुश्दीले सन् १९८८ मा दी सटानिक भर्सेस प्रकाशन गरेका थिए । त्यसयता उनलाई कट्टपन्थी इस्लामिक समूहले मार्ने धम्की दिइरहेको बताइएको छ । यो किताब प्रकाशन भए पछि उनी करिब १० वर्ष लुकेर बस्न बाध्य भएका थिए । रुश्दीको विरोधमा भारत र इरानमा भएको प्रदर्शनमा कयौं व्यक्तिको मृत्यु भएको थियो । सन् १९९१ मा सो किताबको जापानी भाषामा अनुवाद गरेका लेखकको पनि चक्कु हानेर हत्या गरिएको थियो । यस्तै, इटालियन अनुवादक र नर्वेली प्रकाशकमाथि पनि आक्रमण भएको थियो । उनीहरु भने बाँच्न सफल भएका थिए ।