काठमाडाैं । आफ्नो क्षेत्रका पर्यटकीय स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गराउने उद्देश्यले इलामको पर्यटकीय क्षेत्र सन्दकपुरमा महोत्सव आयोजना हुने भएको छ ।
सन्दकपुर गाउँपालिकाको आयोजनामा आगामी चैत २४ गतेदेखि वैशाख १० गते सम्म ‘प्रथम सन्दकपुर महोत्सव ०७९-०८०’ हुन लागेको हो । महोत्सव अवधिभर सन्दकपुर भित्रने पर्यटकहरूलाई मनोरञ्जन गराउन विभिन्न कार्यक्रम पनि आयोजना गरिएको छ ।
महोत्सवमा चैत २४ गते देखि वैशाख १ गते सम्म आमन्त्रित सन्दकपुर गोल्ड कप फुटबल प्रतियोगिता आयोजना गरिएको महोत्सव मूल आयोजक समितिका अध्यक्ष जीवन शिवाले बताए । महोत्सवमा सन्दकपुर क्षेत्रका मुख्य पर्यटकीय स्थलहरूमा जानका लागि ल्यान्डरोभर सफारी गराउने तयारी आयोजकको रहेको अध्यक्ष शिवाले जानकारी दिए ।
महोत्सवमा सन्दकपुर पुगेका पर्यटकलाई पर्यटकीय स्थलहरू माई पोखरी, टोड्के झरना, छिन्टापु, फुस्रे पोखरी, ढाप पोखरी हुँदै सन्कपुरको ३६३६ मिटरको उचाइ सम्म पुर्याउने व्यवस्था गरिएको महोत्सव प्रचार संयोजक सुरेश थापाले बताए । थापाका अनुसार हाँगे थाम सामुदायिक वनमा पाइने दुर्लभ वन्यजन्तु रेडपाण्डा, चौँरी–याक, लेकाली भोटे कुकुरको समेत अवलोकन गराइने छ ।
महोत्सवको मुख्य स्थल रहेको सन्दकपुर गाउँपालिकाको देउरालीमा महोत्सव अवधिमा पर्यटकीय स्थलहरूको भिडियो प्रदर्शनी, विभिन्न जातजातिको झाँकी, साइक्लिङ प्रतियोगिता, प्रथम खुला–इलाम माई पोखरी म्याराथन आयोजना गरिएको प्रचार संयोजक थापा बताउँछन् । महोत्सवमा आउने पर्यटकलाई स्थानीय परिकारको स्वाद चखाइने छ ।