शुक्रबार , मंग्सिर २३, २०७९

एकादशी मेलाको घुइँचो छिचोँल्दै ‘शिवपुरी पिक’ चुम्दा

जिन्दगीको यात्रामा बाटोहरू टुङ्गिनै लाग्दा पनि विकल्पहरू भेटिन्छन् र भेटिएका पनि थिए । हाम्रो त पदयात्रा नै टुङ्गियो । कहिलेकाहीँ अरू भन्दा जिन्दगीको यात्रा नै सजिलो लाग्दो रहेछ ।

image

बुढानीलकण्ठ मन्दिरमा लागेको एकादशी मेलाको घुइँचोलाई छिचोँल्दै दुई जोर मान्छेहरू रू. १८० पर्ने भात खान होटेल छिरे । अघिल्लो दिनको योजनाअनुसार उनीहरू जामाचो गुम्बा जान हिँडेका हुन् । खाना खाएर चिसै हात उनीहरू हतारोको महसुस गर्दै पानीमुहान अर्थात् शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको गेटतर्फ हानिए । हतार हतार फर्म भरेर रू. १०० को दरले चार जनाको पैसा तिरी अगाडि बढ्छन् ।

सबै औपचारिकता पुरा हुन्छ । जब उनीहरू मध्ये एकजनाले जामाचो जाने बाटो सोध्छन् त सबै कर्मचारी वाल्ल पर्छन् ।  यो स्वाभाविक पनि हो । बालाजु बाइपास भन्दा अलिक माथिबाट सुरु हुने यात्रालाई बुढानीलकण्ठतिरको गेटमा गएर सोधेपछि यस्तै त् हो । उनीहरूलाई नि आफ्नो यात्राको सुरुवाती चरण नै गलत भएको घर आएर मात्र थाहा हुन्छ । खैर, यो एउटा हाँसो उठ्दो परिस्थिति हो । हाँस्दिनुस् र छोड्दिनुस् ।  हाहा..!

कर्मचारीहरू वाल्ल परेपछि पदयात्रीहरूको जामाचो जाने सपना तुहिन्छ । त्यसपश्चात् उनीहरू विष्णुद्वारतर्फ नलागेर समुद्री सतहदेखि १,६५० मिटर उचाइमा रहेको पानीमुहानबाट दायाँतर्फ लाग्छन् । शनिवारको दिन भएकाले पदयात्रीहरू थुप्रै थिए । उनीहरू विभिन्न प्रजातिका सल्ला, उत्तिस, गुराँस, पैयुँ, अगेनो, धाइरो, काफल, चिलाउने, म्याल, शिरीष, कटुस, निगालो इत्यादिका रुख हेर्दै कहिले अघि त कहिले पछि भएर हिँडिरहे । यसौं भनौँ, तत् तत् रुखका छायाँहरू कुल्चदै रहे ।

एक डेढ घण्टा हिँडिसकेपछि बागद्वार र आनी गुम्बा जाने बाटो छुटिन्छ । उनीहरूले आनी गुम्बा जाने बाटोलाई टेढो आँखाले नि नहेरी बागद्वार तिर लाग्छन् । त्यहाँदेखि चार जनाको टोली आठ जनामा परिणत हुन्छ । उनीहरूलाई बानी लागेको छ यात्रामा अरू टोलीसँग मिसिने । यद्यपि यो उनीहरूले जानी जानी भने गरेको होइन । उनीहरूको गोसाईंकुण्ड यात्रामा पनि त्यस्तै भएको थियो ।

आठ जनाको टोली अब एक भएको छ । विगतका अनुभव र भविष्यका सपना सुनाउँदै उनीहरू अगाडि बढ्छन् । वर्तमानमा त उनीहरू आफैँ छन् । त्यो उनीहरू हामी अजय, विन्दु, म, मञ्जु, आशिष्, अविशेष, रोशन र सचिन हौँ । अजयले लगेको भाइप्रसाद, मैले लगेको ओरियो, आशिष्,अभिशेषले बोकेको बदाम, बुढानीलकण्ठमा किनेको सुन्तला हामी मिन्टुमा सक्छौँ । हाहा..!

अलिक सम्म परेको ठाउँमा यति खाएर सकाएपछि फेरी हिँड्न थाल्छौँ । गफ त यति गरियो, मानौँ धमला बोलिरहेका छन् । कसैको मुख खाली भए पो ! यसरी केही उत्साह, केही जोस, केही थकान, केही रमाइलोका साथ बागद्वार पुग्छौँ । पवित्र नदी बागमतीको उद्गमस्थल रहेको, २,४९० मिटरको उचाइमा अवस्थित बागद्वारमा विष्णुद्वारमा जस्तो खोला नै भने थिएन । भलै, तुलना आफैँमा राम्रो भने होइन ।

घाममा तातिँदै गएको शरीर बागद्वार पुगेर एकाएक सेलायो, बाघ देखेर होइन । चिसोले चाहिँ हो भनौँ । श्रीमद्पशुपति पुराणमा प्रह्लादको आराधनाबाट भगवान् शिव खुसी भई शिवपुरी पर्वतमा प्रकट हुनु भएको र उहाँको वाणीबाट वाग्मती(बागमती) नदी उत्पत्ति भएको मानिन्छ । उक्त पवित्र स्थल शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र पर्दछ भन्ने हामी सबैलाई अवगत नै छ ।

पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको शिवपुरी जलाधार क्षेत्र वि.सं. २०६५ सालमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रूपमा स्थापित भएको हो । अब विस्तारमा भन्नुपर्दा, बागद्वारबाट अर्थात् शिवका वाणी प्रकट हुने मुखरुपी द्वारबाट प्रकट भएकाले बागमती रहन गएको ऐतिहासिक स्रोतहरू बताउँछन् ।

यस क्षेत्रमा पानीको समस्या भएका कारण उक्त समस्या सुल्झाउन ब्रह्माले भगवान् शिवको आराधना गरे । भगवान् शिवले शिवपुरीको डाँडामा प्रकट भएर ब्रह्मालाई वरदान दिने बेलामा शिवको थुकबाट ब्रह्मा बिन्दु निस्किई बागमती नदी उत्पन्न भएको मानिन्छ ।

बागमतीको उत्पत्तिलाई लिएर थुप्रै धार्मिक ग्रन्थहरूले आ-आफ्नै तरिकाले व्याख्या गरेका छन् ।  स्वयम्भू पुराणकाअनुसार, क्रकुच्छन्द तथागत बुद्धले आफ्ना भिक्षुहरूलाई स्नान गराउन पानीको अभाव देखेपछि वाक्य उच्चारण (मन्त्र) मार्फत पर्वतबाट पानी उत्पन्न गराएकाले वाक्यमती हुन गएको र पछि यसैलाई ‘बागमती’ भन्न थालिएको हो ।

बागद्वार पुगेर दर्शन गरी जल भरेर हामी फेरी उकालो लाग्यौँ । एकैछिन बसिसकेपछि शरीरले उकालो हिँड्नै मान्दैन । यतिकैमा रोशनले आइडिया निकाल्नुहुन्छ- अन्ताक्षरी खेल्ने आइडिया । सुरु भयो अजयबाट । उकालोमा त्यो पनि गीत, अब सोच्नुस् स्वर कति मीठो सुनियो होला । हाहा..!

यसै गर्दागर्दै हामी थाहै नपाई शिवपुरीकै चुचुरोमा पुग्छौँ अर्थात् २,७३२ मिटर उचाइमा अवस्थित ‘शिवपुरी पिक ।’ चुचुरो भएपनि त्यहाँबाट काठमाडौं खाल्डो भने देखिँदैन थियो । उत्तरतिर रहेको लाङटाङ हिमशृङ्खला लगायतका हिमाललाई बादलले अँगालो हाल्न भ्याइसकेको थियो । बादलसँग मुर्मुरियौ र केही ईर्ष्यालु नजर फ्याँक्दै लोभियौँ ।

पिकमा पुग्दाको उत्साह बेग्लै थियो । बादल हटेको मौका पार्दै हिमालमाथि नजर कुदाउने क्रम जारी थियो । हामी बचेखुचेको खाना सिद्ध्याउनतर्फ लाग्छौँ । घामले आमाले बच्चा सेके जस्तै सेकिरहेको थियो । छोड्नै मन नलाग्ने गरी । तर, फर्किनु त थियो । केही थान फोटो खिच्छौँ र ओरालो लाग्छौँ ।

फर्किने बेला तीनचुली पुग्न बिर्सिँदैनौँ त्यहाँदेखि हिमशृङ्खला अझ राम्रोसँग देख्न पाइँदो रहेछ । २,६३० मिटर उचाइमा रहेको तीनचुलीलाई पछाडि पार्दै अगाडि बढ्छौँ । केही बेर हिँड्दै जाँदा हेरिरहूँ लाग्ने रुख आउँछ अनि त बाटै टुङ्गिन्छ । हाहा..! यात्रामा कस्तो मजाक हो यो !

जिन्दगीको यात्रामा बाटोहरू टुङ्गिनै लाग्दा पनि विकल्पहरू भेटिन्छन् र भेटिएका पनि थिए । हाम्रो त पदयात्रा नै टुङ्गियो । कहिलेकाहीँ अरू भन्दा जिन्दगीको यात्रा नै सजिलो लाग्दो रहेछ । तर पनि विकल्प खोज्नु थियो र गन्तव्य भेट्नु थियो । केही कुरा टुङ्गिनु सबथोक सकिनु होइन, मर्नु जत्तिको होइन । हामी फर्किन्छौँ र केही अगाडि छोडेर आएको बाटोलाई समात्छौँ ।

भनिन्छ नि, ‘कोसिस गर्नेहरू हार्दैनन् ।’ हामीले जित्दै थियौँ या हार्दै, त्यो त हामी मध्ये कसैलाई थाहा थिएन । तर पनि बाटोले जता पुर्‍याउला-पुर्‍याउला भन्ने हिसाबले ओरालो झरिरहन्छौँ । जसोतसो चित्त बुझाउँदै झरिरहन्छौँ, झरिरहन्छौँ.. । यस बिचमा रोशन पौडेल हाम्रो मोटीभेटर (बिन्दुको हकमा ‘फ्लप मोटीभेटर’) बनिरहनु हुन्छ ।

अजयलाई पछ्याउँदै हिँडिरहेका हामी जब चिसापानी जक्सन पुग्छौँ । आशाको दियो बल्न थाल्छ । गन्तव्य भेटिने आशा जाग्छ । तर, तल झर्दा झर्दै वनमै रात पर्ला जस्तो हुन्छ । मन आत्तिन थाल्छ । रोशनको मोटिभेसन बालुवामा पानी खन्याए जस्तै हुन्छ । बाटोमा ठाउँ ठाउँमा पिंक रिबन बाँधिएको छ । कुनैबेला नदेख्दा आत्तिएको मन अझ आत्तिएर आउँछ ।

हुन त हामी राष्ट्रिय निकुञ्जकै परिसर भित्र छौँ । स्रोतहरूले यस निकुञ्जमा के के पाइन्छ भनेर देखाउँछ, खै हामीले भने चराको आवाज पनि रात पर्नै लाग्दा, तल झर्दै गर्दा मात्र सुन्न पाउँछौ । केहिबेर तेर्सो बाटो हिँडेपछि चिसापानी लाग्ने बाटोलाई छाडेर हाम्रो टोली ओख्रेनी गाउँतर्फ लाग्छ । मोटरबाटै बाटो ओरालो लाग्छौँ । अब भने आफ्नो छायाँ देखिने अँध्यारो भइसकेको थियो । आशिष् दाइ उर्फ ‘पहेँलो लुगा लगाउने दाइ’ हिँड्न सक्नुभएन । यता आत्तिएको मनले ढ्याङ्रो ठोक्या ठोक्यै छ । मन त लाग्छ उडेरै पुगौँ । तर के गर्नु !

ओख्रेनी गाउँको पहिलो घर जहाँ बिन्दुको डराएको आवाज आउँछ, ‘दिदी सुन्दरीजल झर्न कति समय लाग्छ ?’ उताबाट जवाफ आउँछ, ‘डेढ घण्टा ।’ घडीमा छ बजेर बीस मिनेट गई सक्छ । अझै डेढ घण्टा भन्दा मुटुको गतिले रफ्तार लिन्छ । अलपत्र परिने भो भनेर होइन, दाइको गाली खाने डरले ।

सुन्दरीजल ‘शिशिर-वसन्तको कथा’मा आगोको मसिनो झिल्को देखिए जस्तै कता हो कता देखिन्छ । वरिपरि अजङ्गको पहाडहरू र जङ्गल मात्रै छ । जतिपटक गाउँले भेट्छौँ, त्यतिपटक सुन्दरीजल पुग्न लाग्ने समय सोध्छौँ । मान्छेअनुसार फरक फरक समयावधि सुन्नुपर्छ हामीलाई । र, हामीले एउटा निर्णय गर्छौँ । सरासर मोटरबाटो नै हिँडिरहने, पुग्न लाग्ने समय नसोध्ने ।

केही तल झर्दै गर्दा एउटा ट्याक्सी भेट्छौँ । हामीले नबोली हिँडिरहेका थियौँ । तर, उहाँ आफैँ गाडी रोकेर हामीलाई सोध्नुहुन्छ, ‘कहाँसम्म पुग्ने भाइबहिनीहरू ?’ हामी आफ्नो जवाफ दिन्छौँ । तब उहाँले सुन्दरीजल पुग्न दुई तीन त के हिँडेर त चार घण्टा नै लाग्न सक्ने बताउनुहुन्छ । हाम्रो मुटु थर्र काँप्छ । उहाँ बस रिजर्भ गर्न सक्ने अथवा त्यतै बस्न सक्ने विकल्प दिनुहुन्छ ।

अब हाम्रो क्यालकुलेटिभ दिमाग चल्न थाल्छ र बस रिजर्भ गर्ने निर्णय गर्छौँ । त्यो अँध्यारोमा, अपरिचित ठाउँमा, त्यो अपरिचित दाइको सहयोग देखेर तुरुक्क आशु आउँछ । कसैले देख्ला कि भन्ने डरले हतार हतार पुछ्छु । हाम्रो टोली अब भने ओख्रेनी गाउँबाट बसमा जोरपाटीसम्म झर्ने भयौँ । अब मन पुलकित छ । तर, सातो तब गयो जब हामी हिँड्नुपर्ने बाटो हामी बसमा बसेर पार गर्दै थियौँ ।

जोरपाटीतर्फ झरिरहँदा अजय भन्नुहुन्छ, ‘साहस भन्ने एउटा शब्द हो तर हामी दुस्साहस गर्दै रैछौँ ।’ हामी सबै समर्थन गर्छौँ । अनि, पहेँलो लुगा लगाउने दाइ पादवाला जोक सुनाउनु हुन्छ, हामी मरिमरी हाँस्छौँ । हाहा..!  जिन्दगी सबैको उस्तै उस्तै हो । कसरी जिउने यो आ-आफ्नो वशको कुरा हो । रमाइलो मात्रै गर्नुपर्छ भन्ने नि छैन । जसरी खुसी मिल्छ त्यसरी जिउने हो । हाम्रो टोलीको साझा खुसी भनेकै रमाइलो गर्नु हो । र भेटिए देखि गर्‍यौँ पनि ।

थाहा छैन जिन्दगीमा कुन दिन एक्लो भइन्छ । र, एक्लो हुँदा सबैभन्दा आफ्ना भनेको यादहरू हुन्छन् । हामीले भेटेदेखि छुट्दासम्म तिनै याद सँगालेका हौँ, बटुलेका हौँ । यादहरू नै एक्लोपनको ओखती हो । यसरी, हामी केही थान यादहरूको पोको लियौँ र जोरपाटीबाट छुट्टियौँ ।

सम्बन्धित समाचार