सोमबार , जेठ १४, २०८१

आउनुहोस् ‘नरैनापुर’ सँग मितेरी गाँसम …

image

बाँके नेपालको मधेस क्षेत्रमा पर्ने एक जिल्ला हो भने नेपालगञ्ज यसको सदरमुकाम । 

मध्य र सुदूरपश्चिम नेपाल अर्थात् सुदूरपश्चिम, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिम भागगरी  झन्डै २४ जिल्लाको आर्थिक र सामाजिक केन्द्रको रूपमा रहेको यो सहरबाट स्थलमार्ग हुँदै भारतका धेरै भागमा जान सकिन्छ ।  

कुनैबेला जंगबहादुरले अंग्रेजहरूबाट फर्काएको भूमि भएका कारण ‘नयाँ नेपाल’ भनेर चिनिने बाँके जिल्लामा राप्ती नदी तरेर जानुपर्ने दक्षिण पूर्व भेगमा पर्ने पहिलेका ८ गाविसहरू मिलेर बनेको भू-भागलाई बघौडा इलाका भनिन्छ । 

परिवर्तित संघीय संरचना अनुरूप अहिले यहाँ नरैनापुर गाउँपालिका र राप्ती सोनारी गाउँपालिकाका साविकको फत्तेपुरका दुइटा वडा पर्दछन् । 

साविकको होलिया गाविसको भूभाग भने अहिलेको डुडुवा गाउँपालिकामा पर्दछ ।

धेरै जातिको बसोबास र आवातजावत रहेको नेपालगञ्ज सहरका फुंग धुलो सडकहरू र पानी जमिरहने धापिलो सतहका कारण यहाँ पुगेर पनि नेपालको वास्तविक मधेस पुगेको भान हुँदैन । त्यसैले पक्का मधेसको समाज,चालचलन र संस्कृति हेर्न र भेषभूषा र चालचलनको अनुभव गर्न यहाँको नरैनापुर पुग्नै पर्दछ ।

नेपालगञ्जबाट २८ देखि ४५ किलोमिटर दक्षिण पूर्वसम्म फैलिएको यस भूभाग जोड्नको लागि राप्ती नदीमा पुल नभएको कारण नेपालको मूल भूभागसँग कटेकोले यहाँ जान केही वर्ष पहिलेसम्म राप्ती नदीमा डुंगा तरेर या भारतको नानपारा पुगेर भारतीय भूभाग हुँदै जानु पर्दथ्यो। बर्खाको बेला भने भारतीय भूभाग हुँदै जाने बाहेक अर्को कुनै बाटो थिएन ।

यिनै कारणहरूले गर्दा यहाँ भारतीय प्रभाव वा भारतप्रतिको परनिर्भरता व्यापक थियो । 

यहाँ नेपाली रुपैयाँभन्दा भारतीय रुपैयाँमा कारोबार धेरै हुने गर्दथ्यो । यहाँका बासिन्दाहरूको अत्यन्त जरूरी प्रशासनिक र राजनीतिक कामबाहेक नेपालगञ्ज जाने काम खासै हुँदैनथ्यो ।   

अहिले पनि यहाँ सहज रूपमा भारूमा कारोबार हुन्छ र कतिपय बेला मुद्राको हिसाब गर्दा भारूमै गरिन्छ । तर अहिले राप्ती नदीमा बनेको पुलले बघौडा क्षेत्रलाई बाँकी नेपालको आर्थिक र सामाजिक मूलधारमा एकीकृत गर्दैछ ।

काठमाडौंमा बसेर यी सबै कुरा सुनेर हेर्दा यो ठाउँ कस्तो होला भन्ने लाग्छ। झन् गत सालको कोरोना महामारीको आतंकले पनि यो ठाउँ पूरै नेपालभर चिनिएको थियो ।

त्यसैले यो ठाउँको बारेमा जान्ने जिज्ञासा राम्ररी मेट्नको लागि नरैनापुर घुम्न जाऊँ है त ! 

नरैनापुर बसमा जाने हो भने नेपालगञ्जबाट नरैनापुरको लागि बिहान र साँझ गरी तीन वटा बस जान्छन् भने ती तीनै वटा बस बिहानदेखि दिनको २ बजेसम्ममा नेपालगन्ज फर्किन्छन् । 

पूरै बाटो पक्की भएकोले आरामले जान सकिन्छ । 

गाडीले नरैनापुरको अन्तिम बिन्दु सुइयाँ बघौडासम्म झन्डै डेढ घन्टामा पुर्याउँछ । 

नरैनापुरमा बास बस्ने होटल नभएकोले दिउँसो २ बजे फर्किने बसमा फर्किन सकिन्छ । बस भाडा भने १ सय ६० रुपैयाँ छ । १ सय भारू पनि दिने चलन छ ।

बसबाहेक अटो रिक्सा पनि पाइन्छ । झन्डै तीन हजार तिर्यो भने  अटो रिजर्भ गरेर तीन जना गई मजाले दिनभर घुमेर फर्किन सकिन्छ । आफ्नै सवारी छ भने त गज्जबै भैगो । 

मोटरसाइकलमा घुम्दै जाँदा पनि बेस हुन्छ ।

नरैनापुरमा अन्तजस्तो दाल, भात र तरकारी खान नपाए पनि रोटी, बिर्यानी, नान रोटी, तरकारी , समोसा , पकौडा आदि खान पाइन्छ ।

नेपालगञ्ज बसपार्कबाट गाडी चढेपछि विभिन्न मस्जिद र मन्दिर अनि फूलटेक्राको फत्तेबाल आँखा अस्पताल हुँदै त्यहाँबाट अगाडि बढ्दै जाँदा बाटोमा गज्जबको खेत र खेतमा मौसम अनुसारको खेती देखिन्छ । 

धम्बिजीबाट अगाडि  पुरैनी, पुरैना नामका बस्तीहरू पुगिन्छ र त्यसको अगाडि बाटोको दायाँ किनारामा नेपालगञ्ज उपमहानगरपालिकाले बनाउँदै गरेको ‘कान्तिताल’ नामको कृत्रिम ताल पनि भेटिन्छ । 

त्यसपछि बाटोमा पर्ने डुडुवा गाउँपालिका कार्यालय कटेर अगाडि बढ्दा डुडुवा खोला आइपुग्छ र त्यसको पुल तरेपछि साविकको कम्दी भन्ने गाविसको मिलनचोक नामको सानो बजार आउँछ । 

नेपालगन्जको राँझा विमानस्थलबाट सिक्टाको नहरै नहर जाने हो भने बाटोमा पर्ने जंगल पुगिन्छ अनि सानो तर रमाइलो ताल हुँदै अगाडि बढिन्छ ।

र त्यहाँबाट मिलनचोक पुगेपछि नेपालगन्जबाट आउने बाटोमा मिसिन्छ ।

त्यो कटेपछि नेपालगन्जबाट  झन्डै १० किलोमिटर पूर्वमा  पर्ने बर्खामा झापाको जंगली हात्तीजस्तै मडारिने र हिउँदमा खान नपाएको बाख्रोजस्तै लुरे हुने राप्ती नदीको पुल पुगिन्छ । 

पुल तरेपछि झन्डै १ किलोमिटर जति चौडा बलौटे सिमसार क्षेत्र आउँछ । त्यहाँबाट बघौडा क्षेत्र सुरू हुन्छ र यसपछि आउने ठाउँ राप्ती सोनारी गाउँपालिकाको फत्तेपुर ( साविकको फत्तेपुर गाविस, हाल राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ र ७ ) पर्दछ । 

यसको केन्द्र भने यो राप्ती नदीको उत्तरमा चुरे पर्वतमालाको बीचको जंगलबीच पूर्व-पश्चिम राजमार्गको छेउमा पर्दछ जुन यहाँबाट करिब २५ किलोमिटर उत्तर पूर्वतिर पर्दछ ।

त्यहाँबाट अगाडि जाँदा बायाँतिर जंगल र दायाँतिर मनोरम खेत तथा बस्तीहरू भेटिन्छ । अलिक अगाडि बढ्दै जाँदा अलिक पर चुरे पर्वतमाला पनि देख्न सकिन्छ ।

फत्तेपुरमा थारू जातिको बाहुल्य भए पनि यहाँ रोल्पाली खाम मगरहरूको समेत बसोबास रहेछ र उनीहरू बस्ने टोललाई ‘मिनी रोल्पा’ भनेको पनि सुनियो । 

राप्ती पुलबाट झन्डै २० किलोमिटर अगाडि एउटा ‘झगडिया गाउँ’ भन्ने ठाउँ पर्दो रहेछ ।

‘किन यो गाउँको नाम झगडिया राखेको ?’ भनेर सोध्दा एक जना स्थानीय भन्दै थिए,‘पन्चायतकालमा यहाँका बसिन्दा एकदम झगडा गर्थे,त्यही भएर जीतबहादुर प्रधान (पन्चायतकालका प्रधानपन्च ) ले यस्तो नाम राखिदिएछन् । अहिले त यहाँ त्यस्तो झगडा हुन्न, तर नाम त रै’गो, कसो गर्नु र !’

त्यहाँबाट नरैनापुर गाउँपालिका सुरू हुन्छ। नरैनापुर र राप्ती सोनारीको सिमानाबाट ८ किलोमिटर उत्तरमा चुरे पर्वतको टुप्पोमा सन्तानेश्वर महादेवको मन्दिर रहेछ । 

आन्तरिक पर्यटकको गन्तव्य र पिकनिक स्पटको रूपमा विकास हुँदै गरेको त्यो ठाउँमा साउनमा मेला पनि लाग्दो रहेछ ।

नरैनापुरको सुरूमा साविकको भगवानपुर ( यहाँ प्रहरी चौकी छ ।), गंगापुर , मटेहिया गाविसका बस्ती र धान, गहुँ र अरहरको बालीले भरिएका विशाल फाँटहरू हेर्दै, पर देखिने चुरे पर्वत र त्यसको घाँचको जंगललाई बायाँ र नेपाल-भारत सीमालाई ३४ किलोमिटर दायाँ पार्दै र विशाल गाई र भैसीका बथानहरु छिचोल्दै अगाडि बढ्दा नरैनापुर गाउँ ( साविकको नरैनापुर गाविस) पुगिन्छ ( नेपालगञ्जबाट ३५ किमी टाढा ) जहाँ नरैनापुर गाउँपालिकाको केन्द्र छ । 

नरैनापुर गाउँपालिका कार्यालय पुग्न भन्दा ३ किलोमिटर वर बाटोबाट दक्षिण जाँदा २ किलोमिटरमा नेपाल-भारतको सिमाना बन्न पुगेको राप्ती नदी भेटिन्छ, जहाँ राप्ती निकै फराकिलो देखिन्छ । यहाँ चल्ने  ठूलो नाउ तरेर पारिपट्टि पुग्दा नेपाली भू-भागलाई डुबानमा पार्ने भनिएको लक्षमणपुर बाँध भेटिँदो रहेछ । 

खासमा यहाँ राप्ती यसरी ठूलो देखिएको कारण यहाँको बाँधले पानी थुनिएकोले रहेछ ।

यो बाँधको बारेमा बेला बेला नेपालको राजनीतिक वृत्तमा कुरा उठ्ने गर्दछ ।

यहाँ बाटोमा दोन्द्रा, भोजभगवानपुर, जमुनी, ननकौपुर पर्छ भने गाउँपालिका कार्यालयको उत्तरपट्टि पन्डितपूर्वा गाउँ छ । गाउँपालिका कार्यालयबाट सिधा ८ किलोमिटर उत्तर चुरे पर्वतमा ‘बर्फानी बाबा’ नामक बाबाको आश्रम छ । 

प्रशस्त गाई पालिएको र फलफूलहरू लगाइएको यस आश्रम क्षेत्र राम्रो पर्यटकीय क्षेत्रको रूपमा विकास भैरहेको छ ।  

सडकको  दक्षिणपट्टि बनियागाउँ, रोशनपूर्वा, घरदौरिया नामका गाउँ पर्दछन् । यी गाउँहरू नेपाल-भारत दुबै देशमा पर्दछन् र दुई देशको सिमाना यी गाउँको बीचै-बीच जाँदो रहेछ ।

यहाँ जाँदा यो कुन देश हो भनेर सोध्दै हिँड्नुपर्ने हुँदो रहेछ ।

त्यसपछि साविकको कालाफाँटा गाविस, बालापुर, मियाँपूर्वा र यसपछि साविकको लक्षणपुर पुगिन्छ। लक्ष्मणपुरमा ठूलो प्राथमिक स्वास्थ्य केन्द्र रहेको छ जुन परैबाट प्रष्ट देखिन्छ। मियापूर्वामा ठूलो मस्जिद पनि छ ।

मुस्लिम र मधेसीहरूको बाहुल्यता भएको नरैनापुरको वल्लो छेउ गंगापुर र मटेहियातिर केही मगर र अन्य पहाडी समुदायको पनि बसोबास छ भने जति पर गयो उति धेरै मुश्लिम र मधेसी समुदायहरूको बसोबास रहेको पाइन्छ ।

लक्ष्मणपुरबाट अलिक अगाडि बढेपछि साविकको कटकुयियाँ गाविसको गंगापुर  आउँछ र त्यहाँको सुयियाँ बघौडा भनिने ठाउँमा नेपाली सिमा समाप्त हुन्छ ।

नेपाली सिमाको पारीपट्टिको भारतमा रहेको ठाउँलाई ताल बघौडा भनिन्छ । 

त्यहाँ एउटा सानो बजार पनि छ र हरेक बिहीबार त्यहाँ ठूलो हाटबजार लाग्दछ ।

नरैनापुरको छेउ छेउमा नेपाल-भारतको खुला सीमा भएकोले नेपाल भारत आवातजावत गर्न सजिलो छ । 

नेपालपट्टि भारतीय नम्बर प्लेटका गाडीहरू चलिरहेका हुन्छन् भने नेपाली मोटरसाइकलहरू पनि सीमापारि पट्टिको भारतीय बजारसम्म निर्वाध चल्न पाउँछन् ।

भारतको सीमावर्ती क्षेत्रका बिरामीहरू उपचारको लागि नेपालका स्वास्थ्य संस्थामा पनि आउने गर्दछन् ।

नेपालको सीमासँगै भारतले उँचो खालको फराकिलो सडक बनाएको छ। तर ती सडकमा सवारीहरू खासै चलेको नदेखिने हुँदा यातायातको लागि भन्दा रणनीतिक हिसाबले बनाएको प्रतीत हुन्छ ।

यहाँबाट २४ किलोमिटर दक्षिण जाँदा भारतको भिंगा बजार आउँछ भने ३५ किलोमिटर पर नानपारा बजार र अलिक पर भारतकै बहराइच आउँछ । 

नरैनापुरबाटै ७० किलोमिटर जति दक्षिणमा श्राबस्ती नामको प्रख्यात बुद्धिष्ट तिर्थस्थल पर्दछ ।

यहाँका सीमावर्ती बासिन्दाहरूको नेपाल-भारत दुबै देशमा बिहेबारी सरोबरी हुने गर्दछ । यहाँ नेपालबाट खैनी माड्दै चिया खान भारत पुग्नु अनौठो हुँदैन । नेपाली सीमा नजिक रहेका यी भारतीय सहर बजारहरूले विगतमा राप्ती पुल नबन्दा नरैनापुरबासीलाई ठूलो गुन लगायएका थिए भने अहिले राप्तीमा पुल बनेपछि पनि नुन तेल मात्रै होइन, रोजगार समेत उपलब्ध गराइरहेका छन् । त्यसैले होला , काठमाडौंबाट हेर्दा देखिने फरक देशको भावना र फरकपनको यहाँ कुनै अनुभूति हुँदैन ।

तपाईं पनि नरैनापुर आउनुहोस् र नेपालको तराईमा बसोबास गर्ने आत्मीय मधेसी र मुस्लिम समुदायसित नजिकबाट मितेरी गाँस्नुहोस् ।

यहाँका मस्जिदहरूबाट निस्कने अजान र मन्दिरहरूबाट निस्कने भजनहरू सुनेर आनन्दित हुनुहोस्, यहाँका बासिन्दाले बोल्ने मिठो अबधी भाषा सुनेर मन्त्रमुग्ध हुनुहोस् र मदरसाबाट पढेर निस्कने नानीहरूको सुखद भविष्यको कामना गर्दै आफ्नो मन पवित्र बनाएर फर्किनुहोस् ।

– रामहरि अधिकारी

सम्बन्धित समाचार