सोमबार , जेठ १४, २०८१

मकै, भटमास र गुन्द्रकको अचारसँग सिङ्ल्हका कुरा

image

– डा. नवीनवन्धु पहाडी

पारि पहाडका टुप्पाहरुमा सेता मजेत्रो गुथेजस्ता शिखरहरुले  कन्दराबाट उकालो उक्लदै गरेको बोलेरोलाई तेर्सा आँखाले हेरिरहेका थिए, मानौँ हामी वषौं पछि नियास्रा आँखा बोकेर पट्यारलाग्दो पर्खाइ छिचोल्दै गाउँ फर्किरहेका छौं । धादिङ बेसी र काठमाडौबाट गाउँघरका तृष्णाले धापिएका लेखक तथा पत्रकारहरुको एक झुण्ड दार्खा, सत्यदेवी हुँदै सुदुर उत्तरी लेकसम्म पैतालाले नाप्दै थिए । पहिलो दिन मदौरु घामलाई जिस्क्याउँदै दार्खाबाट सत्यदेवीको उकालो उक्लँदै ग्रामीण विकास निर्माणका प्रक्रियाहरुबारे गफिंदै थियौं । कविद्वय राजु झल्लुप्रसाद, कपिल मौन र फोटोग्राफर विपिन र हामीसँगसँगै थिए – खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ ।

झमक्क साँझ परिसकेको थियो । बजारमा बस्ने होटल, लज र व्यवसायिक बासालयहरू पर्याप्त थिए । हाम्रो वाहन भने एक टिनले बनेको रमाइलो कटेज अगाडि रोकियो, जहाँ बस्थे समाज बदल्ने अनौठा योजनाहरु । जहाँ चर्चा भइरहन्थे – कृषि पर्यटन र सांस्कृतिक विरासतका स्वप्नमय समभावनाहरु । त्यसैले पनि हामीलाई त्यो कटेज छोडेर जाने रहर भएन । त्यसमाथि पनि आइहाल्यो अर्गानिक मकै, भटमास, गुन्द्रुकको अचार पनि । सादगी जीवनशैली, मातृवत् स-स्नेह सगतमा उभिनु भयो भाउजू । वास्नादार लेकाली मकैको यो सुस्वागतले झनै हामी लोभियौं । अब त त्यो रातभर नै त्यहाँ बसिरहन मन लाग्यो । स्नेहशील आतिथ्य दिने घर थियो पालिका अध्यक्ष रणबहादुर तामाङको ।

समाचारहरुले भन्छ कि अहिले धेरै भ्रष्टाचार स्थानीय निकायहरूमा भइरहेका छन् । उसमाथि डोजर व्यवसायदेखि कृषि परियोजनासम्म स्थानीय सरकारहरूकै आसपास घुमिरहेको छ । आफन्तहरुकै पोल्टामा बर्षिरहेका छन् तर त्यहाँ ती अव्यवस्थाहरुको कुनै छनक थिएन । आलिशान महलको सपना थिएन । सहिद परिवार हुनुको घमण्ड थिएन । पालिका स्रोतमाथि जथाभावी गर्ने सपना थिएन र राजनीतिलाई व्यवसाय बनाएर अकुत कमाउने लोभ पनि थिएन । त्यसैले होला त्यहाँ प्राप्त भएको मकै भटमासको स्वाद मोहनीमय लाग्यो । आफ्नै माटोमा उब्जिएको स्पन्दनको रुपरेखाजस्तो जो हाम्रो नशा-नशामा ताजगी बनेर बगिरहेको छ ।

सबालहरु उठे कि ग्रामीण पर्यटनको । हाम्रा विद्यालय/महाविद्यालय, आमा समूहहरु दार्जीलिङ, असाम, सिलगुडी भ्रमणमा उक्लिरहन्छन् । नैनीतालका सेरोफेरो चहार्छन् । पोखरा, बागलुङ, बेनी पर्वततिर हानिन्छन् । इलामका चियाबगान र धरान धनकुटा पाख्रिबासको सेरोफेरोमा रमाउँछन् तर गुम्दी, रि, घले दरबार, म्हन्दङ, बिजुलुङ युम्बा, सिङ्ल्हका टुप्पाहरूमा भएका कुंकर, गुम्बा र गुफाहरूमा किन उक्लँदैनन ? यहीँ छ पर्यटनको मिठास । यसैमा छ जीवनको सुगन्ध र, यसमा नै छ भ्रमणको अल्हादक अनुभूति । रणबहादुरको यो तर्कमा हामी सहमत भयौं तर समस्या छ बाटोको  । अनेक घुम्ती र मोडहरु छिचोल्दै उक्लनु पर्ने पहाडका चुलीतिर भनेजस्ता बासालयहरुको अभाव छ । होमस्टेहरु बन्न सकेका छैनन् । हेर्नकै लागि भिन्न भिन्न प्रकृतिका पौराणिक र ऐतिहासिक वास्तुकलाको भनेजस्तो संरक्षण भएको छैन । जबजब सुरक्षित बाटाघाटा बन्नेछन्, पुर्खाहरुबाट सिर्जित वास्तुकला, संस्कृति, सभ्यताको अटल अक्षुण संवर्धन हुनेछ, तब आँखाभर हेरे पनि धीत नमर्ने हाम्रा दूरदराजका यी गाउँघर सधैं पहुनाहरुका पावन पाइलाले कुल्चिरहन्छन् । गृहस्थ र अभ्यागतका समलापका स-स्नेह मिलन भइरहन्छ । हामीले त्यस रात यी र यस्ता कुरा गरेर वार्तालाई निष्कर्ष दियौं ।

दोस्रो दिन,

बिहानै सूर्यरश्मिको आलोकले गणेश हिमाल शिखरमा रक्तिम आभा नपोत्दै हाम्रा नयन खुले । सहरका अनेक रुक्षता र भागादौडलाई केही समय पन्साएर हामी शान्त, शालीन ग्राम्यताको शौम्य सभ्यतामा प्लावित बन्दै थियौ । सिनित्त मनभर त्यहाँको निष्कपट शान्तिलाई पलकभरमा नै मनले प्युन चाहन्थ्यौं । त्यसैले शहरमा जस्तै गरी शयनमा प्रभातीय याम बिताउनु थिएन । प्रकृतिकै कालीन काखमा बिताउनु थियो, उषाका चिर्विराहटमै हराउनु थियो आफूलाई । त्यसैले बिहान छ बज्नु अगाडि नै व्युँझिएर उकालियौं – आदिकालीन घले दरबार निरीक्षणमा ।

घले दरबार जहाँ एकीकरणकाल अगाडि सिद्ध घले राजाको आवास सुरक्षित निवास थियो । थुम थुमका राजाहरुको बेमेल र शक्तिको खिचातानीले तत्काल ग्राम्य सरल जीवन  आकान्त  पनि थियो । तत् समय सामरिक महत्वले पहाडका उच्च शिखरहरु कसरी सुरक्षित थिए त्यसको नमुना नै घले दरबार थियो । घले दरबारको अहिले अवशेष मात्र बाँकि छ । जहाँ  गुराँसका रहरलाग्दा बाटिका छन्, मृग शावकहरुका अकण्टक क्रिडाकार्य छन् र आदिम राज्यव्यवस्थाका इन्ट्री पोष्टका अवशेषहरु छन् । कथनअनुसार, घले दरबारका तीन पर्खाल घेराहरू थिए, सबैभन्दा अगाडिको पर्खाल घेराभन्दा दोस्रोको उचाई दोब्बर थियो ।  दोस्रोको भन्दा तेस्रो पर्खाल घेराको उचाई दोब्बर थियो ।

अब बाँकी छ त त्यसलाई तीन सय साल पूर्वका अवस्थामा पुनःनिर्माण गरेर पर्यटनका अलभ्य लाभ लिन बाँकी रहेछ र त्यसको पनि तत्काल कार्यारम्भ हुन आवश्यक रहेछ ।

घले दरबारको अवलोकनपश्चात हामीले करिब ११ बजेतिर तल वस्तीमा झरेर स्थानीय खाना खायौं । प्रेमले स्थानीयवासीले तयार गरेका स्नेहशील भोजनले तृप्त भएर हाम्रो यात्रा म्हन्दङ, ल्याक्चे कुण्ड तथा बिजुलुङ युङ्बातर्फ मोडियो ।

ल्याक्चे कुण्ड आदिकालमा तपोस्थल थियो । यो तपोधाममा वर्तमानमा मानवीय अतिक्रमण  र जल शुष्कताको प्रभावमा परिसकेको छ । नवनिर्माणका केही प्रयासहरू त भएका छन् तर पूर्व परम्पराको मूल्य अनुकुलता र दीर्घजीवि तरिकाले भएका छैनन् । त्यसका लागि थप अध्ययन र प्रयास आवश्यक छ नै ।

नजिकै रहेको  म्हन्दङ जहाँ प्राचीन मन्त्र र इतिहासका पाइलाहरु छन् तिनीहरुको पनि संरक्षण र संवर्धनको आवश्यकता छँदैछ ।

ल्याक्चेकुण्ड तथा म्हन्दङको अलिक तल ७३ मिटर अग्लो विशाल शिला ठिङ्ग उभिएको छ । जसलाई पालिका अध्यक्षले नेपालकै सबैभन्दा विशाल शिला भनेर घोषणा गरेका छन्  र त्यसको पुष्टि हुन बाँकि नै छ । त्यसको माथामा सजाइएको देशको अचल झण्डा नित्य फर्फराइरहेको छ । त्यसको शिखर आरुढ भएर हामी सबैले सगौरव स्पन्दनका आवज जसरी फर्फराइरहेको चन्द्र सूर्य अङ्कित निशानीको प्रणाम गर्यौं र गौरवले फुलेल भयौं । त्यो विशाल देशकै ठूलो शिलाका आसपास जुन किसिमले बगैंचा र सौन्दर्यहरुको सिर्जना गरिनु पर्दथ्यो, त्यसको अभिलेखन,उत्खनन् र महिमा मण्डित गर्न बाँकि नै छ । त्यसपछि हामी फर्किएर पुनः सत्यदेवीमै निवास गरेका थियौं ।

भोलिपल्ट,

बिहानै झार्लाङतर्फ हामी उचालियौं । बाटोमा परेको गाजली खोला (डुन्डुरे खोला) को पुल पार गरेपछि हामी तातो पानीको मुल भेट्टाउन नेत्रावती नदी किनार झर्दै थियौं । डरलाग्दो पहरोलाई काटेर बनाइएको सिढी ओर्लर्दै गर्दा एकपटक मुटुले ठाउँ छोड्ला जस्तै हुने रहेछ । स्रोत र साधनको कमीले नै होला, पहरा खोपेर सिंढी लगाइएको रहेछ ।  त्यसमा क्याटिलिभर प्रविधि जोड्न सकिएको भए अझै सुन्दर देखिने थियो ।

सडकबाट पन्ध्र मिनेट ओर्लिएपछि भेटिने नदी किनार मानव वस्तीबाट एकान्तस्थलमा छ र त्यहाँको कल्लेलपूर्ण जलप्रपातले दीव्यानन्दको मानसिक विरेचन गराइदिंदो रहेछ । तब पो ऋषिमुनिहरूले अरण्यक युगमा मन्त्रदृष्टा बन्न सकेका रहेछन् भन्ने भान भयो । मतापको वाफिलो तातोपानीको तिरतिरे धारामा स्नान गर्न गोर्खा र नुवाकोटसम्मका मानिसहरु आउने रहेछन् । लेकाली धुप र नदी पूजा पनि गर्ने प्रचलन रहेछ । यहाँ स्नान गरेपछि छाला र नसाको उपचार हुने आम जनविश्वास पनि जीवित छ ।

तातोपानीको अवलोकन पछि हाम्रो यात्रा झार्लाङ्तर्फ उचालियो । झार्लाङ एकै गाउँलाई सतसठ्ठी वर्षदेखि निरन्तर चलिआएको पहिरोले एकै मुटुलाई टुक्राए जसरी दुई फ्याक गरिदिएको थियो । त्यो अकण्टक अथक पहिरो छ दशक पार गरेर पनि जेठो थियो र अझै अभिषाप बनेर थर्काइरहेथ्यो सरल ग्राम्य जीवनलाई । अझै हुङ्कारिरहेको थियो दुर दराजका घर, टहरा र सरल जीवन शैलीमा मृत्युका बगर लगाएर । अहिले पनि थाकेको छैन त्यो अघोरी पहिरो । अझै अगाएको छैन, जसले कैयौं निर्दोष जनताको लास धर्तीको गर्तमा बिलीन गरायो । कैयौंका घरबास उठायो ।

हामी त्यही अघोरी पहिरो चिरेर खनिएको बाटो कुल्चिँदै अगाडि बढ्यौं र उक्लियौं । सिङ्ल्ह  गाउँमा, जो दिल खोलेर हामीलाई आतिथ्य पोख्न आतुर थियो ।

सबै घरका घरका दैला बन्द थिए, बिहानैदेखि राती आँखा देखिउञ्जेलसम्म किसानहरु खेतबारीमा नै निमग्न थिए । जोतेर, खनेर, आलोपालो गरेर आलु रोप्न व्यस्त किसानहरुको समर्पणले त्यहाँको आलु संसारमै प्रख्यात बनाउँदै थियो । देश विदेशमा त्यसको स्वादको चर्चा चुलिएको । यस्तो लाग्दथ्यो कि ती सरल किसानहरुमा न लोभ, न ईष्र्या, न तेरो मेरोको छिनाझपटी थियो । थियो त सादा, सरल र आनन्दमय  र सन्तुष्टिको जीवन शैली । माटोमा मिल्नु, माटोसँगै रमाउनु र माटोमा खोस्रेर जीवन खोज्नु नै त्यहाँको सौन्दर्य हो ।

खेतीमा निमग्न किसानहरुलाई देख्दा रसिया युक्रेन युद्ध, महिला वा पुरुष हिंसाका तँछाडमछाडको आतङ्कमय छायाँ नै त्यहाँ पटक्क देखिँदैन । त्यसैले  त्यो जीवनको लोभलाग्दो निश्चल भोगाइप्रतिको आत्मसम्मान चुलिएर मनभरि भयो र पोखिएर आलु आलुमा रुपान्तरण हुन पुग्यो ।

सन्ध्याको छड्के किरणले सिङ्ल्हदेवीको चुचुरालोलाई ग्वाम्लाङ्ग अँगालो हालिसकेको थियो । रिमरिम उज्यालोले बाटोघाटोमा गोधुली माधुर्य छरिरहेको थियो । त्यतिबेला हामी मित्र विमल तामाङको पिढींमा झोलीतुम्बा बिसाउन पुगेका थियौं । हँसिला रसिला उनका परिवारसँग हाम्रो आत्मियता छिटै गाँसिन पुग्यो । हामी एकै परिवारजस्तै बन्यौं ।

सिङ्ल्ह माध्यमिक विद्यालयका प्रधानाध्यापक विमलले आफ्नो गाउँमा शैक्षिक आलोक छर्न र समाजमा समरसताको भाव विकास गर्न जे योगदान दिए, त्यसको महनीय मूल्य र उच्च सामाजिक आदर्श स्थापित भएको तथ्य कतैबाट छिपेको छैन । त्यही गाउँमा बस्नुहुन्छ विमलजी अर्थात् विमल तामाङ जसले विद्यालयलाई सकेसम्म सजिलोसँग सामाजिक पँहुचमा लैजान कोसिस गरिरहेका छन् । स्तरीय शिक्षाका लागि अभ्यास गरिरहेका छन् र क्रिश्चियन बहुल गाउँमा बसेर सामाजिक सद्भाव कायम गर्न अर्थात् बौद्ध र क्रिश्चियन समुदायको मेलमिलापको स्नेह सेतु कायम गर्न अग्रसर बन्नुहुन्छ । त्यसैले त नेपाली समाजको वास्तविकता अस्र्थात समाजिक सद्भावको नमुना बनेको छ सिङ्ल्ह गाउँ ।

अर्कोदिन,

विमलजीको घरमा  पाएको मिठो आतिथ्यता र स्वादिष्ट भोजनको साथमा रात गुजारेपछि हामी सिचेतसम्म पुगेर त्यहाँको गोठ सार्ने व्यवस्थासँग परिचित भयोैं । केही गोठ र चौरहरुमा भ्रमण गर्यौं ।

बाटाभर चरिरहेका र चौरमा पारिलो घामको पहारमा उग्राइरहेको पशुवस्तुहरुको बथान छरपष्ट थिए । गोठमा बसोबास गरिरहेका अव्यवस्थित बसोबास जहाँ मान्छे र वस्तुभाउ सँगसँगै सुत्छन्, खानेपानीको व्यवस्था उस्तै उस्तै छ । सिचेत र यसका आसपास लगभग २०,२२ गोठबासीहरुका लागि शौचालयको बन्दोबस्त छैन । खानेपानीको धारो छैन ।  राताम्मे गुँरासको फेद र वरपर देखिने गाउँवस्तीहरुको तरेलीमा मुग्ध भएपछि फर्कने रहर मर्दै जाँदो रहेछ । हामीलाई लाग्यो झार्लाङको सामाजिकर साँस्कृतिक उन्नयनका लागि त गोठहरु सुधार गर्दै सुविधाजक बनाएर गोठ पर्यटनको  विकास गर्न सके आगन्तुकलाई भिन्न स्वाद दिन पो सकिने रहेछ । त्यसो भैदिए पशुपालन पनि संरक्षित हुने र पर्यटनको नौलो आयाम पनि विकास हुने दोहोरो फइदा पाइने थियो भन्ने सोच मनमा खेलिरह्यो ।

यस्तो लाग्यो कि प्रकृतिकै काखमा न हो विचारका तरेली पर्ने र चेतनाका उभारहरु तँछाडमछाड गर्दै व्युँझने पनि । मनभित्र सामाजिक परिवर्तनका अनेक संभावनाका कल्पना अटेसमटेस गरेर उदाउँदै थिए । सूर्यरश्मीले ओह्रालो पाइला चालेपछि त्यहाँ बसिरहन सम्भव भएन । हामी गिलिञ्चो गुम्बा र नाग दह हुँदै ओरालिन थाल्यौं ।

गिलिङजो गुम्बा वि.सं ७०० भन्दा अगाडि नै बनेको किस्साहरु स्थानीयहरुबाट सुन्यौ तर त्यसको आधिकारिकता पुष्टि गर्ने प्रमाणहरु पाइएको थिएन । त्यससँग जोडिएका अनेक कहावतहरु जनमनमा बग्रेल्ती छाएका थिए । साँस्कृतिक अतिक्रमण हो वा उरण्ठेउलाहरुको निर्ममताको सिकारले हो गुम्बाका मुर्तिहरु तोडिएका थिए । शिरोच्छेदन भएका थिए । गुम्बारुपी छाप्रोमा मादक पदार्थ सेवन गरिएका सिसीका टुक्राहरु यत्रतत्र छरिएका बिद्रुप परिदृष्यले आँखा मन दुबैमा नराम्रोसँग चहर्याउँछ । आशा गरौं सबै किसिमका पुननिर्माण र पुनःरुत्थानले समाजमा नयाँ समरसताको सिञ्चन हुनेछ र सबै जातको फूलवारीको महक लहराउनेछ ।

गुम्वाहरु, चर्चहरु,

लामाहरु, शिक्षालय….. ।

सम्बन्धित समाचार