एजेन्सी । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमसिङ्घ अचानक देशको कार्यवाहक राष्ट्रपति नियुक्त भए । तर यो पदोन्नतिबाट प्राप्त उत्तरदायित्व कति समय उनीसँग रहन्छ भन्ने कुरा सबैको चासोको विषय बनेको छ ।
श्रीलङ्काले भोगेको चरम आर्थिक सङ्कटका कारण आक्रोशित सर्वसाधारणहरू आन्दोलित भएपछि राष्ट्रपति गोटाबय राजपक्ष देशबाट भागेर मङ्गलवार राति माल्दिभ्स पुगेका थिए । उनले पदत्याग गरिसकेका छैनन् । बरु आफ्ना समर्थक तथा प्रधानमन्त्री रनिल विक्रमसिङ्घलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेको जानकारी सभामुखमार्फत् दिए ।
राजपक्षले राजीनामा दिन बाँकी भएकाले कार्यवाहक राष्ट्रपतिसँग धेरै शक्ति छैन ।
विक्रमसिङ्घ विगत दुई दशकमा बारम्बार प्रधानमन्त्री बनेका वरिष्ठ नेता हुन् । तर उनी कहिल्यै पनि पूरै अवधि पदमा बस्न पाएका छैनन् ।गत मे महिनामा छैटौँ पटक प्रधानमन्त्री नियुक्त हुनुअघि उनी संसद्मा विपक्षमा थिए ।
महिन्द राजपक्षले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि राष्ट्रपतिले विक्रमसिङ्घलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । उनको नियुक्ति राष्ट्रपति गोटाबय राजपक्षले आफू सत्तामा टिक्ने अन्तिम प्रसासस्वरूप गरेको देखिएको छ । राजपक्ष अन्ततः देश छोड्न बाध्य भए ।
विक्रमसिङ्घ वकिल पनि हुन् । उनी राजनीतिक र व्यावसायिक पृष्ठभूमि भएको धनी परिवारका सदस्य हुन् । उनी सन् १९७७ मा पहिलो पटक संसद्मा निर्वाचित भएका थिए । सन् १९८९ मा रणसिङ्घ प्रेमदास राष्ट्रपति निर्वाचित भएपछि दलभित्रको राजनीतिमा उनको उन्नति भयो ।
उनी पहिलो पटक सन् १९९३ देखि १९९४ सम्म प्रधानमन्त्री बनेका थिए ।
सन् १९९४ मा सन्दिग्ध तमिल विद्रोहीहरूले गामिनी दिशानायकको हत्या गरेपछि विक्रमसिङ्घ यूनाइटेड न्याश्नल पार्टी (यूएनपी) को नेता बने ।
इप्पावाला सहरमा आयोजित एउटा सभामा भाषण गर्दै गर्दा उनको हत्या गर्ने उद्देश्यले बम विस्फोट गरिएको थियो । तर उनी जोगिए ।
राजपक्ष परिवारसँगको निकटताका कारण अहिले उनी निकै अलोकप्रिय मानिन्छन् । तर पहिलाको अवस्था भिन्न थियो ।
विक्रमसिङ्घले पार्टीका भ्रष्ट सदस्यहरूलाई हटाउने उद्देश्यले अनुशासन आयोग गठन गरेका थिए । त्यसबाट उनको पार्टीको छवि सुधार भएको थियो ।
आफूलाई आकर्षक देखाउन उनले विभिन्न शैलीमा कपाल काट्ने गरेका थिए । उनले गाउँगाउँमा पुगेर आफ्नो दलप्रतिको जनसमर्थनलाई फराकिलो बनाउने प्रयास गरे ।
सामान्य परिस्थितिमा राष्ट्रपति निर्वाचित हुनको लागि उनी सशक्त दाबेदार मानिन्थे, तर समयसँगै उनको लोकप्रियता कम हुँदै गयो ।
सन् २०१९ को ईस्टर सन्डेमा घातक बम विस्फोट हुँदा उनी प्रधानमन्त्री थिए । उक्त घटनामा कम्तीमा २५० जनाको ज्यान गएको थियो ।
त्यो आक्रमण हुनुअघि गुप्तचर निकायले दिएका चेतावनीबारे आफूलाई थाहा नभएको र सूचना पाउने अधिकारीको सूचीमा आफूलाई समावेश नगरिएको उनले बताएका थिए ।
कुनै समय देशमा शासन गर्ने उनको दल गत संसदीय निर्वाचनमा एउटा स्थानमा मात्र सीमित भयो । उनको पार्टीबाट उनी मात्र निर्वाचित भए । त्यसैले विपक्षीहरूले उनी कुनै कार्यकारी पदका लागि योग्य भएको दाबी गरेका हुन् ।
धेरै मानिसले सन् २०१५ मा राजपक्ष परिवारले शक्ति गुमाउँदा विक्रमसिङ्घले सहयोग गरेको ठानेका छन् ।
गत शनिवार हजारौँ प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीका सरकारी निवासमा प्रवेश गरेपछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
कार्यवाहक राष्ट्रपति बनेपछि विक्रमसिङ्घले गरेको पहिलो काम देशमा सङ्कटकाल घोषणा गर्नु थियो । तर अहिले उनी आफूलाई नयाँ भूमिकामा स्थापित गर्ने प्रयासमा देखिएका छन् ।
बुधवार टेलिभिजनमार्फत् सम्बोधन गर्दै उनले प्रदर्शनकारीहरूलाई “फाँसीवादी”को सङ्ज्ञा दिए ।
उनी कार्यवाहक राष्ट्रपति नियुक्त भएको विरोधमा हजारौँ मानिसहरूले राजधानीस्थित उनको कार्यालयमा धावा बोलेका थिए ।उनले सेना र प्रहरी प्रमुखहरूको नेतृत्वमा गठित एउटा नयाँ समितिलाई सुव्यवस्था पुनर्स्थापना गर्न “आवश्यक काम गर्न” निर्देशन दिएका छन् ।
अहिले श्रीलङ्कालीहरू यति आन्दोलित छन् कि विक्रमसिङ्घले गर्न खोजेको कामका लागि कस्तो उपाय आवश्यक हुन्छ अनि त्यो काम गर्न उनी उपयुक्त पात्र हुन् कि हैनन् भन्ने स्पष्ट छैन ।