शनिबार , अषोज ३, २०८३

“अरूको फोटोकपी गरेर हुँदैन, मौलिकतासहितको पर्यटन विकास जरुरी छ”, -पर्यटनमन्त्री किराती 

image

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली मौलिकतासहितको पर्यटन विकास आजको आवश्यकता भएको बताएका छन् ।

बिहीबार काठमाडौंको दरबारमार्गस्थित होटल याक एण्ड यत्तीमा नेपाल एशोसिएसन अफ टूर्स र ट्राभल एजेन्सीज (नाट्टा)को २४औँ राष्ट्रिय सम्मेलन तथा ५६औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् ।

“हामीले अरूको फोटोकपी गरेर हुँदैन र त्यो आवश्यक पनि छैन । नेपालको दरबारमार्गलाई सिङ्गापुरको सहरसँग तुलना गरेर हुँदैन । ठमेललाई अरू देशको सहरसँग दाँजेर हुँदैन”, मन्त्री किरातीले भने, “नेपालको दरबारमार्ग नेपाली दरबारमार्ग नै हुनुपर्छ, नेपालको ठमेल नेपाली ठमेल नै हुनुपर्छ । मौलिकता भनेको त्यही हो ।”

मन्त्री किरातीले नेपालको आफ्नै मौलिक संस्कृति र सांस्कृतिक सम्पदा हुँदाहुँदै विदेशी संस्कृति र सम्पदाको नक्कल गर्नु मूर्खता भएको बताए ।

“हाम्रो आफ्नै विशिष्ट संस्कृति छ, सम्पदा र इतिहास छ । जो अरूसँग छैन । हामीले तिनै संस्कृति र सम्पदालाई जोगाउने हो । पर्यटनसँग जोड्ने हो ।” उनले भने ।

नेपाल संस्कृति र प्रकृतिले धनी भएकाले पर्यटनको विकासका लागि नयाँ संरचनाहरू बनाउनुभन्दा पनि विद्यमान मौलिक संस्कृति, सम्पदा र प्रकृतिको संरक्षणमा जोड दिनुपर्ने मन्त्री किरातीको भनाइ छ ।

“हामीसँग संसारमा कतै नभएका अनौठा संस्कृतिहरू छन्, सगरमाथा हामीसँगै छ, बुद्धको जन्मस्थल हामीसँगै छ, हरियाली वनजङ्गल हामीसँगै छ । हामीले तिनलाई संरक्षण गरिदिए पुग्छ । पर्यटक यतिकै आउँछन् । नयाँ बनाउन आवश्यक नै छैन ।” मन्त्री किरातीले भने ।

नेपालमा दशकौँ पुराना पर्यटन ऐन लागु भइरहेको र ती ऐन, नीति तथा नियमलाई परिमार्जन गर्दै जानुपर्ने उनले बताए । “नेपालमा हाल लागु भइरहेको पर्यटन ऐन पुरानो भइसकेको छ । तिनले आजको पर्यटनलाई सम्बोधन गर्न सक्दैन । हाम्रो इच्छा, आकाङ्क्षा र भावनालाई सम्बोधन गर्न सक्दैन । नयाँ ऐन, नीति तथा नियम बनाउनुपर्ने छ । अब नयाँ आर्थिक वर्षमा नै सम्बन्धित सबै सरोकारवालाहरूलाई समेटेर सबैको सल्लाह सुझाव लिएर नयाँ पर्यटन ऐन बनाउनेछौँ ।” उनले भने ।

मन्त्री किरातीले पर्यटनको विकासका लागि हवाई यातायात अनिवार्य भएकाले नेपाल वायुसेवा निगमको सेवा विस्तार जरुरी रहेको बताए । हवाई सेवाको विस्तारका लागि नयाँ जहाजको खरिद प्रक्रिया अगाडि बढाएको उनले जानकारी दिए ।

आगामी जुन १२ को रातीदेखि मलेसियाबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान हुने मन्त्री किरातीले जानकारी दिए । त्यसैगरी जुन १३ को रातीदेखि मलेसियाबाट भैरहवा र भैरहवाबाट काठमाडौं उडान हुने छ । सोही अनुरूप दुई तीन दिनभित्रै टिकेट बिक्री सुरु हुनेछ ।

त्यसैगरी २३ जुनदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका विभिन्न सहरमा चार्टर फ्लाइट सुरु गर्न लागिएको उनले बताए ।

उनले नेपालका १८ वटाभन्दा बढी एयरपोर्टहरू गौचरणमा परिणत भइरहेको र तिनलाई सञ्चालनमा ल्याउन पहल गरिरहेको जानकारी दिए ।

मन्त्री किरातीले नेपालको आर्थिक विकासको आधार पर्यटन नै भएको र यसको विकास, विस्तार र प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्रले हातेमालो गर्नुपर्ने बताए । नेपालको पर्यटनको विकासमा नाट्टाको भूमिका महत्त्वपूर्ण रहेको जनाउँदै आगामी दिनमा अझ सशक्त ढङ्गले काम गर्न शुभकामना दिए ।

सम्बन्धित समाचार