भारतको लोकप्रिय टेलिभिजन रियालिटी सो ‘सुपर डान्सर’ नेपालमा पनि आयोजना गरिने भएको छ
काठमाडौं । भारतको लोकप्रिय टेलिभिजन रियालिटी सो ‘सुपर डान्सर’ नेपालमा पनि आयोजना गरिने भएको छ । कार्यक्रमलाई ए.डी. रिलिजले फ्रेन्चाइको आधिकारिक रूपमा नेपाल भित्र्याएको हो ।
बालबालिकाको प्रतिभा प्रदर्शन गराउने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितात्मक कार्यक्रमका लागि पोखरा, इटहरी, हेटौँडा, बुटवल, नेपालगन्ज, काठमाडौं र नेपाल बाहिरका नेपाल भाषीहरूको अडिसन लिएर प्रतियोगी छानिनेछ । सहभागिताका लागि इच्छुकले प्रारम्भिक अडिसन मार्फत सहभागिता जनाउन सक्ने बताइएको छ ।
अडिसनबाट छानिएका प्रतियोगीलाई विशेष प्रशिक्षण दिइनेछ । जसका लागि १२ जना विशेष प्रशिक्षक सुपर गुरुका रूपमा रहनेछन् । त्यसैगरि प्रत्येक प्रतियोगीलाई एक जना कोरियोग्राफरले दिशानिर्देश गर्नेछन् ।
३० भागको कार्यक्रम प्रत्येक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । यो कुराको जानकारी ए.डी. रिलिजका कम्युनिकेसन म्यानेजर रश्मि अग्रवालले एक प्रेस विज्ञप्ति मार्फत दिएकी हुन् ।