हामी झरना पुग्दासम्म बादलको पर्दा उघारेर हामीलाई हेरिरहेकी लाङटाङ हामी झरनासँग रमाउन थालेपछि निमेकभरमै किन अलप भइन् ?
…हामीले झरनामा खेलेर एउटा महत्त्वपूर्ण क्षण चाहिँ गुमाएछौँ । झरनामा पुग्दासम्म सेतो बादलको पहाडमाथि चाँदी झैँ टलक्क टल्किँदै उभिरहेकी थिइन्, लाङटाङ हिमाल । हामी झरनामा खेल्दा खेल्दै बादलको पर्दाभित्र लुकि पाे सकिछन् । तिनलाई हामीले क्यामेरामा कैद गर्न भुलेछौँ । हुन त केही पाउन केही त गुमाउनैपर्छ । हामीले लाङटाङलाई क्यामेरामा कैद गर्न मात्रै नपाएका हौँ, झरनामा खेलेर पनि कम्ती रमाइलो गरेको चाहिँ होइनौँ ।
र यो पनि : ‘भर्जिन गन्तव्य’ सूर्य चाैरकाे राेमाञ्चक यात्रा- आउनुस्, ‘सँगै यात्रा गराैँ’
तर हामी झरना पुग्दासम्म बादलको पर्दा उघारेर हामीलाई हेरिरहेकी लाङटाङ हामी झरनासँग रमाउन थालेपछि निमेकभरमै किन अलप भइन् ? प्रश्न उठ्छ । सायद हामी झरनासँग रमाउन थालेपछि रिसाएकी होलिन् । हामीले झरनासँग रमाइलो गरेको देखेर डाहा लागेको हुनसक्छ । हेर्न नसकेर लुकेकी होलिन् ।
सायद यो पनि हुनसक्छ कि सुन्दर सूर्य चाैरमा आज को-को आउँदैछन् भनेर एकैछिन बादलकाे पर्दा खोलेर हेर्दै थिइन् । जसरी घर-गाउँमा नयाँ पाहुना आउँदा हामी पनि झ्यालबाट हेर्छौँ । चिनेका भए ‘ए, फलानो पो रहेछ’ भन्दै झ्याल थुन्छौँ । नचिनेका भए ‘काे रहेछन् ?’ भन्दै अलि बेर हेर्छौँ । लाङटाङले चाहिँ हामीलाई चिनिन् या चिनिनन् थाहा भएन । उनी गयल भइन् । हामी पनि गन्तव्यतिरै लागिरह्यौँ ।
हामी पुग्दा सूर्य चौरलाई कुहिरोले ढाकिएको थियो । ढाकिएको भनाैँ कि, घुम्टो ओढेकी भनाैँ । घुम्टो ओढेकी भन्न पनि अलि नमिल्ला । हामीसँग दुलाहा नै थिएन । न त हामी जन्ती नै गइरहेका थियौँ । बरु यसो भनाैँ, ‘बादलको सिरक ओढेर मज्जाले सुतिरहेकी थिइन् ।’ त्यही भएर शान्त र स्निग्ध थिइन्, सूर्य चाैर ।
सुन्दर कटेजहरू कुहिरोभित्र हराइरहेका थिए । तिनका छानाले हामीलाई नमस्ते गरिरहेका थिए । कटेज अगाडिको आँगनमा कुखुरा, बाख्राका पाठाहरू अनि ‘भलाद्मी प्राणी’ कुकुरहरू खेलिरहेका थिए । सायद हामी पुग्दा उनीहरू रमाइरहेका थिए । जसरी घरमा पाहुना आउँदा हामी केटाकेटी रमाउँछौँ ।
हुस्सुले ढकमक्क ढाकेपछि उकुसमुकुस भएर हाे या अलि टाढाका दृश्यहरू हेर्न नपाएर, साथीहरूले प्रश्न गरे, ‘यहाँ यस्तै हो ?’ म पहिला नै पुगिसकेको हुनाले मलाई जानकारी हुनसक्ने आङ्कलन गर्दै साथीहरूले मैसँग प्रश्न तेर्स्याउँथे ।
‘होइन, यो उचाइमा भएको ठाउँ यस्तै हो, छिन-छिनमै हुस्सु लाग्ने र हट्ने भइरहन्छ । एकैछिनमा हुस्सु हट्छ ।’ मैले भनेँ ।
मैले यति भनेपछि साथीहरू अलि एक्साइटेड भए । वरिपरिका सबै दृश्यहरू हेर्न पाइने कल्पना गरेर साथीहरूसँगै म पनि रोमाञ्चित भएँ ।
भर्खरै झरनामा खेलेर कपडा भिजेको थियो । त्यसमाथि हुस्सु लागेको हुनाले निकै चिसो लागिरहेको थियो । जोजो दाइको कटेजमा गएर चिया बनाउन भन्यौँ । जाेजाे दाइ, लक्ष्मी दिदीको बुढा । हामी पुगेपछि उहाँहरू निकै खुसी हुनुभयो । एकैछिनमा दिदीले चिया बनाइदिनुभयो । चिया असाध्यै मिठो थियाे । साथीहरूले चिया मिठो भएको प्रतिक्रिया दिएपछि दिदी पनि निकै खुसी भइन् ।
हामी चिया पिउँदै थियौँ । अगाडि रहेको भाँडा माझ्ने ठाउँमा बडेमानको रातो भाले लडिरहेको थियो । जोजो दाइले कतिबेला हत्या गर्नुभएछ थाहै भएन । एकैछिनपछि जोजो दाइले ठुलो कराइभरी तातो पानी ल्याउनुभयो अनि डुबाउनुभयो भालेलाई । तातो पानीमा डुबाउँदा भालेको खुट्टा काँपिरहेको थियो । भालेको खास मृत्यु भएको रहेनछ । त्यो क्षण देख्दा चाहिँ मन अलि अमिलो भयो ।
‘जोजो दाइले काटेर तातो पानीमा डुबाउनु भयो अब पाप लाग्ने भयो’ भन्ने मनमनै सोचेँ । तर पाप जोजो दाइलाई होइन हामीलाई लाग्ने भयाे । जोजो दाईले काटे पनि, काट्न लगाउने त हामी नै थियौँ । यदि हामी त्यहाँ नपुगेको भए, भाले काट्न नभनेको भए भालेले काटिनु पर्ने थिएन । तातो पानीमा डुबिनुपर्ने थिएन । भन्छन् नि ‘गर्नेभन्दा अह्राउने ठुलो’ । हुन त यो उखान सबै कुरामा लागु नहोला । तर भालेको हत्यारा चाहिँ हामी नै थियौँ । त्यसपछि के-के…!
बडेमानको भाले भुत्लाउँदै गरेको देखेर होला, साथी उत्सवले ‘भोक लाग्यो’ भने । हुन त साथी उत्सवलाई सबभन्दा धेरै भोक लाग्छ । बडी बिल्डिङमा रुचि राख्ने उनका लागि खान्कीले महत्त्व राख्छ । सुगठित शारीरिक बनावट भएकाले उनलाई कक्षाका साथीहरूले कहिले बिराज भट्ट र कहिले सलमान खान भन्दै उपनाम राख्दिन्छन् । खैर, साथीलाई साँच्चै भोक लागेको थियो या भालेले भोक जगायो त्यो त थाहा भएन । हामीले चाहिँ ‘खाना खान हतार नगरौँ’ भन्यौँ । त्यसपछि वरिपरिको दृश्यावलोकन गर्न चौरतिर निस्कियौँ ।
हरियाली चौरमा घोडा चर्दै थिए । नजिकै गाई भैँसी पनि आ-आफ्नै धुनमा घाँस लुछ्दै थिए । ‘नजिक नजाउ, हान्छन् । नयाँ मानिस देख्दा हान्न सक्छन् ।’ साथीहरू भन्दै थिए । तर, हानेनन् । हामी नजिकै गएर हल्ला गर्दा पनि तिनलाई कुनै मतलब थिएन । हुन त दिनकै नयाँ मानिसहरू पुगिरहने ठाउँ, कतिलाई हान्नु ? तिनको चर्ने ठाउँ त्यही हो । घाँस खाएर भोक मेट्नु कि नजिक आउने मानिसलाई हानेर रिस मेट्नु ?
म चाहिँ गाई भैँसी देख्दा डराउँछु पनि डराउँदिन पनि । तर गोरुसँग चाहिँ डराउँछु । यसको एउटा कारण छ । घटना छ । गाउँमा मकै छर्ने बेलामा हलीको पछिपछि हिँड्दै हलोले बनाएको डोबमा एक-एक दाना गर्दै मकै हाल्नुपर्थ्यो/पर्छ । त्यसरी मकै हाल्ने बेला मलाई गोरुले तीन गरा मुनि फालिदिएको थियो । त्यहाँदेखि मैले मकै हाल्न छोडिदिएँ । गोरु देख्दा पनि डर लाग्छ । ‘अगुल्टाले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ’ भनेझैँ अहिले पनि गोरू देख्दा चाहिँ म साइड लागिहाल्छु ।
म अलि टाढा बसेर गाई भैँसी, घोडा चर्दै गरेको दृश्य क्यामेरामा कैद गर्दै थिएँ । साथीहरू अलि पर पुगिसकेछन् । म दौडिँदै गए । त्यतातिर केही थान जोडीहरू आ-आफ्नै संसारमा रहेछन् । एक जोडी चाहिँ हामीतिर नै आउँदै थिए ।
‘यो त अति भयो, हेर्नु न, उ…!, मात्रै लगाएकी छे ।’ एक जना साथीले भने । खै, कुन्नि ! साथीले के-के देखेछन् थाहा भएन । ‘अलि सानो स्वरमा बोल्नुस् न’ भनेँ ।
साथीहरू सिग्रेड(चुराेट) सल्काउँदै गफिन थाले । सिग्रेड र गफ बहाना मात्रै थियो । आँखा भने कता-कता थिए थाहा भएन । गफगाफको प्रसङ्ग सुन्दा मात्रै आङ्कलन गर्न सकिन्थ्यो ।
मैले साथीहरूको ध्यान भङ्ग गराउँदै लोकल भाले र लोकल…! को प्रसङ्ग निकालेँ । यसै त रोमान्टिक मुडमा थिए, झन् थप रोमान्टिक बनाउने चिजको सेवन गर्न तम्सिए साथीहरू ।
जोजो दाइलाई सोध्दा मकै, कोदो, चामल सबैबाट बनेको आइटम पाइने जानकारी आयो । सुरुमा चामलको एक…मगाए । कुखुरा राँगाको आइटम पनि आयो । बिस्तारै एक-एक रित्तिँदै गयो । त्यसअघि कहिल्यै सेवन नगरेका साथीहरूले पनि सेवन गरे । तर ढङ्ग पुर्याउन नजान्दा उनीहरू एकैछिनमा…..! भए । स्थितिलाई त्यति बिग्रन भने दिइएन । साथी उर्मिलाले मनिटरिङ गर्नुभयो । उहाँ सबैभन्दा भलाद्मी साथी । गफगाफ मीठै चल्यो । (धूम्रपान र मद्यपान स्वास्थ्यका लागि हानिकारक छ )
यति भइसकेपछि हामी अलि माथिको डाँडातिर लाग्यौँ । लमतन्न परेको हरिया चौरमा बसेर गगनचुम्बी शिवपुरी डाँडा अनि तल नागबेली झैँ बगिरहेकी तादी नदिलाई नियाल्यौँ । केही थान तस्बिर भनसुन यन्त्रमा कैद गर्यौँ । यति गर्दागर्दै मोबाइलमा गीत बजाएर नाच्ने प्रस्ताव आयो । नाच्न थाल्यौँ । एकैछिनमा ठुलो उफर पनि आइपुग्यो ।
सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका विभिन्न समुदायका साथीहरू भएकाले हामीले सुदूरपश्चिमको देउडा, काँठ क्षेत्रमा बज्ने काठे भाका, लोकदोहोरी, तामाङ सेलोदेखि पूर्वेली भाकामा नाच्यौँ । एकअर्कालाई नाच्न सिकायौँ । त्यो क्षण फगत नाचगान मात्रै थिएन । एक अर्काका संस्कृति, गीतसङ्गीत बुझ्ने अवसर पनि थियो । रमाइलो कुरा के भने हामी जम्मा नौ जनाको टिममा छ वटा समुदायका सदस्यहरू थियौँ । हामीले नेपालको सुविधा वञ्चित समूहमा पर्ने छन्त्याल समुदायकी साथी मेनुका छन्त्याल, आदिवासी जनजाति थारु समुदायकी सरिता थारु र अर्की साथी अनिशा निरौला, शकुन्तला लाेथ्याल लगायत साथीहरूलाई डाँडामा बसेर खुब मिस गर्यौँ ।
त्यतिबेला दुई बजिसकेको थियो । हामी खाना खान कटेजमा पुग्यौँ । लक्ष्मी दिदीले मीठो खाना खुवाउनु भयो । खानामा लोकल भाले त छँदै थियो, लोकल ताजा न्यूरोको तरकारी झनै मीठो थियो । हामीले थपी-थपी खायौँ । खाना खाइसकेपछि हामी फर्कियौँ त्यतै…. जताबाट पुगेका थियौँ ।
पर्खनुस् है,
अब म सूर्य चौरबारे जानकारी दिन्छु:
प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय ठाउँ सूर्य चौर नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा पर्दछ । शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरमा पर्ने सूर्य चौर काठमाडौं उपत्यकाबाट करिब १५ किलोमिटरको दूरीमा रहेको छ । समुन्द्री सतहबाट २३ सय मिटरको उचाइमा अवस्थित सूर्य चौर प्रकृतिप्रेमीहरूका लागि प्राकृतिक सुन्दरता अवलोकन गर्न उत्कृष्ट गन्तव्य हो । जहाँबाट उत्तरतर्फ लामबद्ध हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । माछापुच्छ्रे, गणेश, लाङटाङ, जुगल लगायत हिमाललाई आँखै अगाडि देख्न सकिने भएकाले हिमालको दृश्यावलोकन गर्नका लागि पनि उत्कृष्ट गन्तव्य हो सूर्य चौर । सेता हिमशृङ्खला, काला चट्टानी पहाड, हरिया डाँडादेखि नागबेलीझैँ बगिरहेका नदीसम्म सूर्य चौरबाट अवलोकन गर्न सकिन्छ । भनौँ, जहाँबाट प्रकृतिका सबै रङ्गहरू हेर्न पाइन्छ । सुन्दरताका सबै रङ्गहरू नियाल्न पाइन्छ ।
राष्ट्रिय निकुञ्जभित्रको बाटोमा यात्रा गर्नुको आनन्द अर्कै छ । घना जङ्गलबिचको बाटो, चराचुरुङ्गीको चिरबिर, किरा फट्याङ्ग्राको आ-आफ्नै आवाज, झरनाको छङछङ, सबैको सम्मिश्रणबाट बनेको प्राकृतिक सङ्गीतको जादु, आहा !, जसले त्यहाँ पुग्ने जोकोहीलाई अर्कै संसारमा पुर्याइदिन्छ ।
सूर्य चौरमा प्याराग्लाइडिङको पनि सफल परीक्षण भएको छ । त्यो ठाउँ निकट भविष्यमै प्याराग्लाइडिङको लागि काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य बन्नेछ । त्यहाँ प्याराग्लाइडिङ सेवा दिनका लागि विभिन्न कम्पनीहरूले इच्छा देखाइरहेको र निकट भविष्यमै यसको लागि प्रक्रिया अगाडि बढाउने शिवपुरी ७ का वडाध्यक्ष वीर बहादुर तामाङले जानकारी दिए ।
कसरी पुग्ने ?
सूर्य चौर जान काठमाडौंको सामाखुसी चोकबाट यात्रा सुरु गर्न सकिन्छ । सामाखुसी चोकबाट ग्रान्डी अस्पताल, टोखा, पन्जेटार, झोर, जगाती बसपार्क हुँदै गुर्जुभन्ज्याङ पुग्छ । गुर्जुभन्ज्याङदेखि चाहिँ तेस्रो जानुपर्दछ । जहाँबाट सूर्य चौर देख्न पनि सकिन्छ ।
राष्ट्रिय निकुञ्ज परिसर भएकाले सूर्य चौर जान टिकेट काट्नुपर्दछ । निकुञ्जले प्रतिव्यक्ति एक सय ५० रुपैयाँको टिकेट काट्ने गरेको छ । मोटरसाइकल भए थप एक सय रुपैयाँ तिर्नुपर्दछ ।
अब, जाने होइन त सूर्य चौर ?
तस्बिरहरू:


