सोमबार , भाद्र ८, २०८३

माघ १ र २ गते नवौँ तारेभिर पर्यटन महोत्सव आयोजना हुँदै

प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थानबाट सुन्दर हिमाली शृङ्खलाका साथै उपत्यकाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

image

काठमाडौं । साविक बालुवा गाउँ विकास समिति र हाल गोकर्णेश्वर नगरपालिका अन्तर्गत रहेको मनोरम डाँडा तारेभिरमा पर्यटक आकर्षित गर्ने उद्देश्यले ‘नवौँ तारेभिर महोत्सव आयोजना’ गरिने भएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको तारेभिर गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३मा अवस्थित छ ।

गोकर्णेश्वर महादेव मन्दिरबाट १० किमीको दूरीमा रहेको तारेभिरमा तामाङ जातिको बाहुल्यता रहेको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यस स्थानबाट सुन्दर हिमाली शृङ्खलाका साथै उपत्यकाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

प्रकृतीप्रेमीहरू पैदल यात्रा गरी यस स्थानसम्म पुगेर रमाउने गर्दछन् । त्यसैगरि सर्वसाधारण माझपनि तारेभिर एक रमणीय हाइकिङको गन्तव्य बन्दै गइरहेको छ ।

गोकर्णेश्वर नगरपालिकाका सूचना अधिकारीले नगरपालिका क्षेत्र तथा तारेभिरको बारेमा जानकारी होस् भन्ने उद्देश्यले यो महोत्सव आयोजना गर्दै आइएको बताए । उनले भने ‘पर्यटकीय सम्भावना बोकेको तारेभिर जस्तो गन्तव्यको बारेमा देश-विदेशमा सबैलाई जानकारी होस् भन्ने मनसायले यो महोत्सव आयोजना गरिँदै आइएको हो ।‘

माघेसंक्रान्तिको अवसरमा आयोजना हुन लागेको यस महोत्सवमा स्थानीयवासी नै आयोजक रहेको उनले जानकारी दिए । वि.स २०७० साल देखी आयोजना भइरहेको महोत्सव बिचमा कोरोना महामारीका कारण रोकिएको थियो ।

महोत्सवका प्रमुख आकर्षणहरूमा स्थानीय रूपमा पाइने भुईँ स्याउ लगायतका कन्दमूल, स्थानीय परिकार, हस्तकलाका सामाग्री, परापूर्वकालदेखि सो स्थानमा प्रयोग हुँदै आइरहेका विभिन्न बस्तु, स्थानीय लोक संस्कृतिसँग जोडिएका झाँकी तथा सांगितक कार्यक्रम रहेको छ ।

उप-प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजना हुन लागेको महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने गोकर्णेश्वर नगरपालिका वडा नम्बर-३ का वडाध्यक्ष मुरारी प्रसाद कुइँकेलले जानकारी दिए ।

तारेभिरको पर्यटन प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवमा तामाङ जातिको मौलिक संस्कृति, भेषभूषा र नाचगान प्रस्तुत गरिने उनले बताए ।

तारेभिर क्षेत्रमा भूमेश्वर र तारेभिर महादेवको शिला छ । पानी नपरी सुक्खा लागेका बेला दुवै महादेवस्थानमा पूजा गरेपछि वर्षा हुने गरेको स्थानीयवासीको विश्वास रहेको छ ।

परापूर्व कालमा तारेभिरमा गुफा थियो । गुफामा भगवान् महादेव बस्थे । विवाह, व्रतबन्धजस्ता धार्मिक कृत्यमा भाँडाकुँडालगायत सामग्री आवश्यक पर्दा गुफामा गएर माग्दा पाइन्थ्यो । धार्मिक कार्यक्रम सकिएपछि माग्नेले भाँडा माझेर गुफामै लगेर राख्ने गर्थे । एक जनाले भाँडा नमाझी राखिदिँदा गुफा बन्द भई भाँडा पाउन छोडेको किंवदन्ती यहाँका स्थानीयवासीमा प्रचलित छ ।

सम्बन्धित समाचार