शुक्रबार , अषोज २, २०८३

कालुराम जिम्बाले बनाए दोलखामा तामाङ मिनी सङ्ग्रहालय

image

काठमाडाैं । दोलखाको वैतेश्वर –६ नाम्दुका कालुराम जिम्बा तामाङको एकल प्रयासमा तामाङ मिनी सङग्रहालय निर्माण भएकाे छ । बेलायत अध्ययनको क्रममा त्यहाँ म्युजियममा रहेका महत्त्वपूर्ण सामानहरूबाट आकर्षित भएर मिनी सङग्रहालय निर्माण गरेको तामाङले बताए ।

समाजसेवी, पेशाले चित्रकार र व्यवसायी तामाङले सङ्ग्रहालयमा पुराना ठेकी, पेरुङ्गो, घुम, हर्पे, लालटिन, प्रेट्रोलमास, ओखल ढिकी, पुराना झ्याल ढोका, झाँक्रीका मूर्तिलगायतका लोमप हुन लागेका वस्तु राखेका छन् । यी वस्तुले अवलोकन अनि बुझ्न प्रेरित गर्दछ । त्यहाँ तामाङ संस्कृति झल्किने बुद्धको मूर्ति, लुङदार पनि देख्न सकिन्छ । उनका अनुसार पहिला यस्ता वस्तुहरू दैनिक प्रयोग गरिन्थ्यो तर प्लास्टिक, रबर, टिनका भाँडाकुँडा आउन थाले पछि यी वस्तुहरू प्रयोग विहीन भएका हुन् । तामाङका अनुसार सङ्ग्रहालय बन्न घर सहित करिब पाँच लाख रुपियाँ खर्च भएको छ ।

सिङ्गापुर, बेलायत जस्ता देशमा बसेर धर्म, संस्कृति, पुराना वस्तुहरूका महत्त्व बुझ्नु भएका तामाङले भूकम्पले भत्केका घरहरूबाट र केही फालिएको ठाउँबाट सामान सङ्कलन गरे र सङ्ग्रहालयको परिकल्पना गरेका हुन् । यस्ता पौराणिक वस्तुहरूले हाम्रो संस्कार, इतिहास, धर्म र अनगिन्ती कथा बोकेकाले यसको संरक्षण र सम्वद्र्धन जरुरी महसुस भएकाले सङग्रहालय बन्न पुगेको उनको भनाइ छ ।

सङग्रहालय निर्माणले पर्यटकलाई आकर्षित गर्ने तथा शिक्षक र विद्यार्थीलाई पौराणिक वस्तुबारे बुझ्न, सिक्न मद्दत पुग्नुका साथै पुर्खाको जीवन र जीवनयापनका विधि बुझ्न सकिने वातावरण बन्न लागेकोमा स्थानीयहरू पनि अचम्मित भएका छन् ।

तामाङ मिनी सङग्रहालय नामक संस्था स्थापना गरी विकास तथा विस्तार गर्ने लक्ष्य रहेको छ । “घर पनि पुरानै शैलीको बाँसबाट बनाउने र फराकिलो जग्गा पनि खोेज्जे सोच बनाएको छु”, उनले भने, “यसलाई स्थानीय सरकारले अहिले खासै चासो दिएको छैन । घचघच्याएर भए पनि केही आर्थिक सहयोग पाए लक्ष्य हासिल हुने थियो ।”

सम्बन्धित समाचार