दार्चुला । पत्रकार र कलाकार सम्मिलित एक टोलीले ‘ताप्लेजुङ–दार्चुला बाइक टूर’ सफलतापूर्वक सम्पन्न गरेको छ । नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले जेठ १० गते काठमाडौंबाट यात्रा सुरु गरेको टोली ४५ भन्दा बढी जिल्ला पार गर्दै जेठ २३ गते दार्चुला पुगेको हो ।
जेठ १४ गते सुदूरपूर्वी जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङबाट औपचारिक यात्रा सुरु गरेको टोली दशौँ दिनमा सुदूरपश्चिमको दार्चुला पुगेको हो । बुधवार दार्चुलामा पत्रकार सम्मेलन गर्दै यात्रा सफलतापूर्वक सम्पन्न भएको टोलीले जानकारी दिएको हो ।
मङ्गलवार दिउँसो दार्चुलाको सदरमुकाम खलङ्गा प्रवेश गरेको टोली साँझ दार्चुलाको दुहुँ गाउँपालिका–२ स्थित हिकिला गाउँ पुगेका थिए । टोलीलाई दुहुँ गाउँपालिकाले स्वागत गरेको थियो । टोलीले दुहँ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयसँग सो क्षेत्रमा पर्यटनको सम्भावना र चुनौती, पर्यटकीय आकर्षण, प्रवर्द्धन, जलवायु परिवर्तन लगायत विषयमा अन्तर्क्रिया गरेको छ ।
टोलीले पाँच वटा प्रदेशको विभिन्न स्थानमा स्थानीय जनप्रतिनिधि, पर्यटन सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधि लगायत स्थानीय सरोकारवालाहरूसँग पर्यटन प्रवर्द्धन, पर्यटनमा जलवायु परिवर्तनको असर लगायत विषयमा छलफल गरेको छ ।
कोशी प्रदेशको ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको लुम्बिनी, बर्दिया र सुदूरपश्चिम प्रदेशको दार्चुलामा स्थानीय जनप्रतिनिधि, प्रशासनिक निकायका महत्त्वपूर्ण व्यक्ति तथा पदाधिकारी, उद्योग वाणिज्य सङ्घ, हान, नाट्टा, टान लगायतका सङ्घ संस्थाका प्रतिनिधि र स्थानीयसँग अन्तरक्रिया गरेको हो ।
विभिन्न स्थानमा गरी एक हजारभन्दा बढी लोकल स्टेकहोल्डरसँग अन्तरक्रिया गरेको टूरका संयोजक विष्णु विवेक विश्वकर्माले जानकारी दिए ।
बुधवार पत्रकार सम्मेलनमा उनले भने, “यात्राका क्रममा हामीले एक हजारभन्दा बढी लोकल स्टेकहोल्डरहरूसँग छलफल गर्यौँ । उहाँहरूका भनाइहरू सुन्यौँ । हाम्रा अनुभवहरू पनि सुनायौँ ।”
आफ्नो संयोजनमा टिमले गरेको यात्रा ऐतिहासिक भएको र यसले नेपालको पर्यटन प्रवर्द्धनमा निकै ठुलो योगदान पुग्ने उनले दाबी गरे ।
“मेची महाकाली यात्रा सबैले गर्छन्, किनकि तराईको बाटो राम्रो छ । तर, मध्येपहाडी लोकमार्गको यात्रा सहज छैन । निकै कठिन भोग्दै हामीले सफलतापूर्वक यात्रा सम्पन्न गर्यौँ । हाम्रो यात्राले मध्येपहाडी लोकमार्गमा बाइक टुर गर्न सकिन्छ भन्ने प्रमाणित गरिदिएको छ ।”
टोलीसँगको अन्तरक्रियामा बोल्दै दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले पत्रकार र कलाकार सम्मिलित टोलीको यस यात्राले दार्चुलाको मात्रै नभएर समग्र देशको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । दार्चुलालाई अन्तिम गन्तव्य निर्धारण गरेर यात्रा गरेको भन्दै टोलीप्रति आभार व्यक्त गरिन् ।

किरण जाेशी, प्रमुख जिल्ला अधिकारी, दार्चुला ।
प्रमुख जिल्ला अधिकारी जोशीले दार्चुलाको पर्यटन प्रवर्द्धन, विकास र विस्तार, सम्भावना र चुनौती लगायत विषयहरूमा सञ्चारमाध्यमहरूमा प्रचारप्रसार गरिदिन आग्रह गरेकी छन् ।
अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी किरण जोशीसहित जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी तर्कराज पाण्डे, महाकाली नगरपालिकाकी उपमेयर दुर्गा कुमारी खत्री, उद्योग वाणिज्य महासङ्घ दार्चुलाका अध्यक्ष, सुरेश सिं थापा, नेपाल पत्रकार महासङ्घ दार्चुलाका अध्यक्ष कृष्ण दामी लगायत उपस्थित थिए ।
एनटिपी मल्टिमिडिया ग्रुपको संयोजन, नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घ, हान, नाट्टा, टान आदी सङ्घ संस्थाको सहकार्यमा टूरको आयोजना गरिएको हो ।
विभिन्न सङ्घसंस्थाको सहकार्यमा टूरको आयोजना गरिएको भनिए पनि व्यक्तिगत जोखिममा यात्रा गरेको एक जना क्रु मेम्बरले बताए । “विभिन्न सङ्घ संस्थाको सहकार्यमा टूर गरिएको भनिए पनि हामीले सहयोग भने खासै प्राप्त गरेका छैनौँ । हामीले आफ्नै खर्चमा जोखिम मोलेर यात्रा गरेका हौँ ।” उनले थप भने, “हामीले कसैको स्पोन्सरमा घुमघाम र रमाइलो गर्ने उद्देश्यले भन्दा पनि देश घुम्ने र माटो चिन्ने हुटहुटीले पर्सनल रिस्कमा यात्रा गरेका हौँ ।”
टूर टिममा संयोजक विष्णु विवेक विश्वकर्मा, चन्द्र तामाङ, राजाराम पौडेल, पवित्रा खड्का, चन्द्रकला कार्की रहेका छन् । टाेली विहीबार काठमाडाैंकाे लागि प्रस्थान गर्ने छ ।