मंगलबार , भाद्र ९, २०८३

पर्यटन कार्यालय बाँकेका तत्कालीन निर्देशकसहित ६ जना विरुद्ध भ्रष्टाचारकाे मुद्दा

image

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन कार्यालय बाँकेका तत्कालीन कार्यकारी निर्देशक दीपक बहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध आरोपपत्र दायर गरेको छ । सोमबार बुढाथोकीसहित सब-इन्जिनियर, उपभोक्ता समितिका अध्यक्ष, अनुगमन समितिका संयोजक लगायत ६ जना उपर गैर कानुनी लाभ तथा हानी पुर्‍याइ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि बाजुराको काँडा गाउँ विकास समितिमा पर्यटन विकास प्रवर्द्धनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट निकासा भएको रकममा भ्रष्टाचार गरेको आरोप छ । अख्तियारका अनुसार बुढाथोकी, तत्कालीन सब-इन्जिनियर ललन कुमार मण्डल र खप्तड क्षेत्र पर्यटन विकास समितिका तत्कालीन सब-इन्जिनियर दिपेश महताराद्वारा खप्तड लसके खानेपानी योजना निर्माण कार्यको फिल्डमा भएको खुद कामभन्दा बढी परिमाण देखाई झुट्टा नापी किताब, ठेक्का बिल र कार्य सम्पन्न प्रतिवेदन तयार गरिएको छ ।

त्यसैगरि अख्तियारको आरोपपत्रमा निर्धारित शर्त तथा मापदण्ड विपरीत भएको निर्माणलाई शर्त तथा मापदण्डबमोजिम भएको हो भनी सिफारिस गरेको पनि उल्लेख गरिएको छ । जसअनुसार झुट्टा नापी किताब, ठेक्का बिल तथा कार्य सम्पन्न प्रतिवेदन लगायतका कागजातहरू स्वीकृत गरी १,५६,५५३ बढी भुक्तानी दिएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ ।

यसैगरी खप्तड लसके खानेपानी योजनाको उपभोक्ता समितिका अध्यक्ष मान बहादुर रावत र सचिव वीर बहादुर बुढाले योजनाको निर्माण कार्यमा खप्तड क्षेत्र पर्यटन विकास समितिसँग भएको सम्झौताको शर्त पालना नगरी वास्तविक रूपमा फिल्डमा नभएको–नगरेको कार्यलाई समेत नापी किताबमा चढाउन लगाई १,५६,५५३ हानी पुर्‍याएको अख्तियारको दाबी छ । खप्तड लसके खानेपानी योजनाको अनुगमन समितिका संयोजक ज्ञान बहादुर शाहीले पनि फिल्डमा सम्झौताबमोजिम निर्माण कार्य सम्पन्न नभए तापनि सम्झौताबमोजिम सम्पन्न भएको भनी अनुगमन गरेर गलत सिफारिस गरेको पाइएको जनाइएको छ । प्रवक्ता श्यामप्रसाद भण्डारीले उनीहरू उपचर कैद र जरिवाना सजायको माग दाबी लिई सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरिएको जनाएका छन् ।

सम्बन्धित समाचार