काठमाडाैं । सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा पर्यटकको बसाइँ अवधि र खर्च घटेको छ । पर्यटकको सङ्ख्या र आम्दानी बढे पनि उनीहरूको औसत खर्च र बसाइँ अवधि घटेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क–२०२२’ अनुसार पर्यटकको बसाइँ औसतमा १३.१ दिनमा झरेको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सन् २०२१ मा पर्यटकको सरदर बसाइँ अवधि १५.५ दिन थियो ।
बसाइँ अवधि घटेसँगै पर्यटकको सरदर दैनिक खर्च पनि घटेको छ । एक पर्यटकको प्रति दिन खर्च घटेर अहिले ४०.५ डलरमा आएको छ । सन् २०२१ मा यो खर्च ४५ डलर थियो ।
विश्वव्यापी कोभिड महामारीपछि २०२२ मा पर्यटक आगमन बढेसँगै पर्यटन क्षेत्रबाट आर्जन हुने आम्दानी पनि वृद्धि भएको छ । पर्यटक आगमन ३०७ प्रतिशतले र आम्दानी १९० प्रतिशतले बढेको छ । सन् २०२१ मा यसबाट ३२ करोड ६२ लाख विदेशी मुद्रा आम्दानी भएकोमा सन् २०२२ मा भने यस्तो आम्दानी बढेर ४६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
पर्यटनका लागि अङ्ग्रेजी महिनाअनुसार वर्षमा दुइटा सिजन हुन्छन् । पहिलो मार्च, अप्रिल र मे दोस्रो सेप्टेम्बर, अक्टोबर नोभेम्बर र डिसेम्बर । यी सिजनमा मासिक एक लाख हाराहारीमा पर्यटक आइरहेका छन्। यसले पनि पर्यटन क्षेत्रमा थप उत्साह देखिएको छ ।
मन्त्रालयकै तथ्याङ्क अनुसार पनि सन् २०२१ को तुलनामा सन् २०२२ मा ३०७.३ प्रतिशतले पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । २०२२ मा ६ लाख १४ हजार ८६९ पर्यटक भित्रिएका छन् । यसमध्ये हवाई मार्फत ५ लाख ९२ हजार पर्यटक र स्थलमार्ग हुँदै २२ हजार दुई सय पर्यटक भित्रिएका हुन् ।
सन् २०२३ मा पर्यटकको आगमन बढेको छ । पछिल्लो ६ महिनामा चार लाख ७६ हजार पर्यटक नेपाल भित्रिएका छन् । यस वर्ष कुल १० लाख पर्यटक भित्रिने पर्यटन बोर्डले अनुमान गरेको छ ।
तथ्याङ्कः
