कोरोना महामारी सामान्य बन्दै गएसँगै नेपाल भित्रिने पर्यटककाे संख्या ह्वात्तै बढेको हो ।
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा साढे ३ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागका अनुसार गएकाे एक वर्षमा ३ लाख ५५ हजार ६७६ जना विदेशी पर्यटक नेपाल आएका हुन् ।
कोरोना महामारी सामान्य बन्दै गएसँगै नेपाल भित्रिने पर्यटककाे संख्या ह्वात्तै बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा करिब ६९ हजार विदेशीमात्र नेपाल आएका थिए ।
गएको एक वर्षमा नेपाल भित्रिने विदेशी पर्यटकमा २ लाख १८ हजार ६८१ पुरुष र बाँकी महिला रहेका छन् । अध्यागमनको तथ्यांकअनुसार १९७ देशका नागरिक नेपाल आएका थिए ।
दक्षिण एसियामा सबैभन्दा बढी भारतीय एक लाख ४० हजार ६३९ जना नेपाल आएका थिए । १६ हजार ३५३ जना बंगलादेशी, एक हजार ३९७ श्रीलंकन, २०८ जना माल्दिभ्सका, २ हजार ४७३ जना पाकिस्तानी र ९४८ जना भूटानी नेपाल आएको तथ्यांकले देखाएको छ ।
अन्य देशमध्ये चीन, दक्षिण कोरिया, जापान, मलेसिया, इजरायल, फिलिपिन्स, सिंगापुर, थाइल्यान्डबाट धेरै नागरिक नेपाल आएका छन् ।
४ हजार ३१४ चिनियाँ, जापानी ३ हजार ८६, मलेसियन २ हजार ५४५, २ हजार ४६१ फिलिपिनो, २ हजार ९० सिंगापुरे, २ हजार ८५६ दक्षिण कोरियाली, ३ हजार २९ टर्किस र २ हजार ५२५ थाइ रहेका छन् । २ हजार ५३१ जना इजरायली पनि पछिल्लो एक वर्षमा नेपाल भित्रिएका थिए ।
युरोपियनतर्फ बेलायतबाट २४ हजार २२१, टर्कीबाट ३ हजार २९, ८ हजार ४३७ फ्रान्सेली, ८ हजार ७६३ जर्मन, ३ हजार ३०२ जना डच, ३ हजार ६५२ रुसी, ३ हजार ३८४ स्पेनिस, २ हजार ७७ स्वीस, २ हजार ४४९ पोर्चुगिज, एक हजार ९८७ जना इटालियन, एक हजार ४०९ जना डेनिस र २ हजार ९८३ जना बेल्जियन रहेका छन् ।
यसैगरी ४६ हजार ८१३ जना अमेरिकी, ६ हजार १४२ जना क्यानेडियन र १२ हजार ४०९ जना अस्ट्रेलियन नागरिक नेपाल भित्रिएको अध्यागमनको तथ्यांक छ ।
विश्वव्यापी काेराेना महामारीबाट थला परेकाे पर्यटन क्षेत्र विउँतिन थालेकाे छ । विदेशी पर्यटककाे संख्यामा उल्लेख्य वृद्धि हुँदै गएकाे छ । पर्यटककाे संख्या बढेसँगै पर्यटन व्यवसायीहरू उत्साहित बन्न थालेका छन् । पर्यटकीय गतिविधि बढे नेपालकाे घट्दाे वैदेशिक मुद्राकाे सञ्चितिमा पनि सुधार हुनेछ ।