बुधबार , बैसाख १९, २०८१

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा, सुविधा तथा सरसफाइमा क्रमिक सुधार 

पर्यटनमन्त्रीमा नियुक्त भए लगतै मन्त्री किरातीले विमानस्थलको यात्रु सेवा सुविधा, सरसफाइ तथा समग्र सेवा प्रवाहमा सुधार ल्याउन कडा निर्देशन दिएका थिए ।

image

काठमाडाैं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीकाे कडा निर्देशनपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा सुविधा तथा सरसफाइमा सुधारको सङ्केत देखिएको छ । पर्यटनमन्त्रीमा नियुक्त भए लगतै मन्त्री किरातीले विमानस्थलको यात्रु सेवा सुविधा, सरसफाइ तथा समग्र सेवा प्रवाहमा सुधार ल्याउन कडा निर्देशन दिएका थिए ।

मन्त्री किरातीले विमानस्थल सरसफाईको उच्चतम स्तर कायम हुनुपर्ने, शौचालयमा मधुर धुन जडान गर्नुपर्ने, अन्तर्राष्ट्रिय आगमन तर्फ रहेको IMS Group द्वारा सञ्चालित Travelator (विद्युतीय सिँढी) मा देखिएको समस्या यथाशीघ्र समाधान हुनुपर्ने, उक्त स्थानमा यात्रु चापलाई धान्न सक्ने थप Lift को व्यवस्था हुनुपर्ने, ट्रलीहरू हरहमेसा चुस्तदुरुस्त अवस्थामा पर्याप्त सङ्ख्यामा रहनुपर्ने, विमानस्थल परिसरको खर घाँस सरसफाइ नियमित रूपमा हुनुपर्ने, विमानस्थलबाट यात्रा गर्ने यात्रुहरूको लागि आवश्यक Signage हरू स्पष्ट र सबैले बुझ्ने हुनुपर्ने लगायत विमानस्थलको समग्र पक्षमा प्रदान गर्नु लगायतका निर्देशनहरू दिएका थिए ।

निर्देशन अनुसार अन्तर्राष्ट्रिय आगमन क्षेत्रमा विद्युतीय सिँढीमा यात्रु लड्ने समस्या पूर्ण रूपमा समाधान भएको साथै उक्त स्थानमा दश जना सम्म अटाउन सक्ने क्षमताको थप एक थान Lift को व्यवस्थाको लागि आवश्यक कारबाही अगाडी बढाइएको विमानस्थलको आन्तरिक एवं अन्तर्राष्ट्रिय टर्मिनल भवनको सम्पूर्ण क्षेत्रमा सरसफाईको उच्चतम स्तर कायम गर्न मिति २००९ माघ २४ गते देखि यात्रु चाप नरहेको समय (रात्री १२ बजे देखि बिहान ६ बजे सम्म) पारि Deep Cleaning को व्यवस्था मिलाइएको विमानस्थलले जनाएको छ ।

त्यसैगरी शौचालयहरूमा मधुरधुन जडानका साथै QR Scanning को माध्यमबाट सरसफाइ कार्यको पृष्ठपोषणका लागि Online Passengers Feedback System सञ्चालन गरिएको, समस्या देखिएका ट्रलीहरूको मर्मत कार्यका लागि विमानस्थलमा ट्रली मर्मत केन्द्र (work shop) को स्थापना गरी मर्मत कार्य जारी रहेको र केही दिन भित्र पहिलो चरणको मर्मत कार्य सम्पन्न हुने, अपुग थप ५०० ट्रली खरिदका लागि टेण्डर भई मूल्याङ्कनको चरणमा रहेको र ट्रलीका लागि चक्का लगायत अन्य आवश्यक Spareparts खरिदका लागि बोलपत्र आह्वान गरिएको विमानस्थलको टर्मिनल भवन भित्र प्रस्थान तथा आगमन क्षेत्र लगायत भवन बाहिर यात्रु आवागमन हुने मुख्य क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको Signage राख्ने सम्बन्धमा बोलपत्र आह्वान गरिएको जनाएको छ ।

निर्देशनकाे पालना भएको/नभएको विषयमा आज (बिहीबार) बिहान मन्त्री किरातीले अनुगमन गरेको र कार्य प्रगतिका सम्बन्धमा सन्तोष व्यक्त गर्दै विमानस्थल व्यवस्थापन तथा कार्यरत सम्पूर्ण सरसफाइकर्मी तथा कर्मचारीहरूलाई धन्यवाद समेत दिएको विमानस्थलले जनाएको छ । मन्त्री किरातीले यात्रु सेवा सुविधा अभिवृद्धि तथा भौतिक पूर्वाधार निर्माण एवं विस्तारका सम्बन्धमा भइरहेको कार्यहरूको जानकारी लिई आयोजना कार्यान्वयनमा रहेको बाधाअड्चन फुकाई आयोजनाको कार्यान्वयन यथा समयमा सम्पन गर्न निर्देशन दिएको जनाएको छ ।

त्यसैगरी तथा विमानस्थलको हवाई सुरक्षा सुदृढीकरणको लागि आवश्यक २ थान Body Scanner जडान गर्न र  बाँकी कार्यहरूलाई यथाशीघ्र सम्पन्न गर्न समेत निर्देशन दिएको विमानस्थलले विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित समाचार