काठमाण्डू । राजधानीको मुख्य सहरका गल्लीगल्लीमा बिहानैदेखि सांस्कृतिक पर्व गाईजात्राका झाँकीले रौनकता छाएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न एकसाथ विभिन्न ठाउँमा संचालनमा आएको हो ।

काठमाडौँको हनुमानढोका परिसरमा गाईजात्राका अवसरमा आफन्तको सम्झनामा गाईको भेषमा सजिएका आफन्त ।
विगत दुई वर्षको भन्दा यसपटक राजधानी सहरमा गाईजात्रा रौनक बढेको देखिन्छ । विगत दुई वर्ष कोरोना महामारीको त्रासका कारण गाईजात्रा भव्य हुन सकेको थिएन । वि.सं. २०७७ र २०७८ मा गाईजात्राको विधिमात्र पूरा गरिएको थियो ।

काठमाडौँको हनुमानढोका गाईजात्रा पर्वका अवसरमा मृतक आफन्तको सम्झनामा नगद तथा विभिन्न सामाग्रीहरु वितरण गर्दै सर्वसाधारणहरु ।
एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आआफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेको छ । भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ ।

हरेक वर्ष दिवंगत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्वको दिन मध्यपुर थिमिमा गाईको भेषमा नगर परिक्रमा गर्दै मृतकका आफन्त ।
तस्बीरहरू : रत्न श्रेष्ठ, प्रदीपराज वन्त
यो पनि पढ्नुहोस्,
लिच्छवीकालदेखि चलेको गाईजात्राको अनेक किम्बदन्तीहरू
गाईजात्राः जहाँ फुल्थे जीवनका रङ्गहरू
गाईजात्राको अवसरमा लैंगिक अल्पसंख्यक समुदायको र्याली
आज गाईजात्रा : महेन्द्रको ‘कू’ पछि गाईजात्रामा प्रतिबन्ध लागेको इतिहास