सन् १७५८ मा, भर्जिनियामा हाउस अफ बर्जेसका लागि चुनाव हुने भयो र मतदाताहरूलाई आकर्षित गर्न ठुलो रक्सीको मात्रा प्रयोग भयो । रक्सीसँग भोट किन्ने इङ्गल्याण्डमा पहिलेदेखि नै चलन थियो । जर्ज वाशिंगटनले आफ्नो सम्पूर्ण अभियान बजेट (५० पाउन्ड) १६० ग्यालन रक्सीमा खर्च गरिदिएका थिए । तात्कालिन अवस्थामा योग्य मतदाताको सङ्ख्या ३९१ थियो । मतदाताहरूलाई उनले आफ्नो सबै बजेट रक्सी खुवाउनमा नै खर्च गरेका थिए ।
वाशिंगटनले भर्जिनियाको परम्पराला पछ्याइरहेको थिए, जहाँ रक्सीको ब्यारेलहरू चुनावको दिनमा अदालतको वरपर र मतदान स्थलहरूमा घुमाउने गराउने गरिन्थ्यो । वाशिंगटन आफैँमा रमका सौखिन थिए ।
बेलायती उपनिवेशवाद विरुद्धको अमेरिकी क्रान्तिकारी युद्ध (१७७५ देखि १७८३) को समयमा सेनाको कमाण्डर प्रमुखको रूपमा आफ्नो समयमा वाशिंगटनले आफ्ना लडाकुहरूको नैतिकतालाई कायम राख्न रक्सीले महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन् । उनी आफ्नो आत्मकथा जेनेरले जर्ज वाशिंगटनमा भन्छन्, ‘रक्सीलाई प्रयोग गरिएमा केही फाइदाहरू हुन्छन्, यो सेनाहरूमा केही मात्रामा छुट हुनुपर्छ र रक्सीको प्रयोग विवादित हुनु हुँदैन ।”
१७८५ मा युद्ध समाप्त भयो र वाशिंगटन विधिवत् रूपमा संयुक्त राज्य अमेरिकाको पहिलो राष्ट्रपति भए । वाशिंगटनले आफ्नो राष्ट्रपतिको भोजन समारोहमा टोस्टमा बार्बाडियन रम उपलब्ध गराउन जोड दिएका थिए ।
नेपालमा पनि चुनावमा रक्सीको प्रयोग हुने गर्छ । यो कानुनी रूपमा गलत हो । निर्वाचन आयोगले चुनाव आचार संहितामा, कुनै पनि पार्टी र सङ्गठनले चुनावी प्रचार प्रसारमा मदिरा जन्य वस्तुको प्रयोगमा रोक लगाएको छ । तर, पार्टीले आफ्ना कार्यकर्तालाई प्रलोभनको रूपमा रक्सीको प्रयोग गर्ने गरेको देखिन्छ । यो कानुनी रूपमा मात्र नभएर नैतिक रूपमा समेत गलत देखिन्छ ।
निर्वाचनलाई मर्यादित र निष्पक्ष बनाउन निर्वाचन आयोगको काम कर्तव्यभित्र पर्छ । निर्वाचन आयोगले वर्षभरि निर्वाचनको कार्ययोजना बनाउने र मतदान नामावली सङ्कलन गर्ने बाहेक अन्य कार्यमा जोड नदिएको देखिन्छ ।
निर्वाचनमा जाँड–रक्सी, मासु–भातमा भोट हाल्नेहरू निर्वाचनलाई कमाई खाने भाँडो कसरी बनाउने होला भन्दैमा व्यस्त छन् । पत्रकार, युट्युबरदेखि गाउँमा हल्लिनेहरू समेत निर्वाचनलाई दसैँ जसरी लिइरहेका छन् । यो काममा निर्वाचन आयोगले ध्यान दिन र रणनीतिलाई प्रयोगमा ल्याउनुपर्ने देखिन्छ । यसो गरिएन भने, निर्वाचन आउने महिना दसैँ र बाँकीका पाँच वर्ष यो निर्वाचन दशा हुने देखिन्छ ।