कफी भान्सामा मात्र सीमित रहेन, पूर्वी शहरका सार्वजनिक कफी हाउसहरू (जसलाई ‘काहवेह खनेह’ भनिन्छ) मा देखा पर्न थाल्यो । यतिबेलासम्म कफीले वर्ग निर्धारण, वर्ग विभेद, असमानता जस्ता सामाजिक गतिविधिलाई अस्तित्व ल्याइसकेको थिएन । तर, यो स्थिति धेरै समय रहेन ।
नेपालका साना–ठूला सबै शहरहरूमा कफी संस्कृति मौलाइरहेको छ । गाउँले परिवेश दूध, दहि र मोहीबाट हात धुँदो अवस्थामा छ । शहरमा चिया संस्कृति पनि बढ्दो छ । मट्का संस्कृतिले राजधानी लगायतका शहरमा राम्रै फड्को मारिरहेको छ । पारिवारिक पी चिया त हाम्रै घर-आँगनको उत्पादन हो तर कफी कल्चर भने हाम्रो होइन (चियाचर्चा अरु कुनै बेला )।
आज यहाँ, कफीसँग सम्बन्धित (लगभग मिथक भन्न मिल्ने) पुराना घटनाहरूलाई अगाडि ल्याउने जमर्को गरिनेछ ।

प्रथमतः नेपालतर्फ हेरौँ,
हिरा गिरी भन्ने जोगीलाई तत्कालीन समयमा नेपालमा कफीको बोट भित्र्याएको जस दिने गरिन्छ । बर्मामा जागिर गर्ने क्रममा गिरीले १९९५ सालमा बर्माबाट अरेबिया जातको बोट गुल्मीको आपचौरमा रोपेका थिए । त्यही बोटबाट आज नेपालको ४२ जिल्लामा कफीको व्यावसायिक खेती हुँदै आएको छ । वि.सं. २०२५ सम्म कफीको पात खाने कि फल खाने भन्नेसम्म जानकारी नभएका नेपालीहरू आज व्यावसायिक कफी खेतितर्फ लागेका छन् । यो खुसीको कुरा हो ।
तर, नेपाल कफी उत्पादनतर्फ अगसर हुन् सकिरहेको छैन । भारतमा कफीको उत्पादन वार्षिक तीन लाख टन, भियतनामले नौ लाख टन उत्पादन गर्दा नेपालको हकमा वार्षिक सात सय टन मात्रै कफी उत्पादन भइरहको छ । । नेपालमा अहिले एक लाख टन उत्पादन गरे पनि तुरुन्त निर्यात हुने बताइन्छ ।
अब कफीको प्राचीन इतिहास नियालौँ,
कफीको इतिहास इथोपियाबाट सुरु भएको मानिन्छ । प्राचीन समयको इथियोपियाको पठार क्षेत्रमा चरिरहने एक बाख्रालाई कफी अन्वेषणकर्ता मानिन्छ । अन्वेषणको सम्पूर्ण श्रेय मानिसलाई दिइने/लिइने मानवीय चेतका कारण सो बाख्राका गोठालो ‘काल्दी’लाई कफी अन्वेषणको श्रेय दिइयो । तर, इतिहासमा पहिलोपटक बाख्राले कफी पत्ता लगाएको थियो ।
भएको के रहेछ भने, इथोपियाको जंगलमा एक बाख्राले सधै एक प्रकारको पात र फल खाएर दिनदिनै मोटाउँदै गएको र फुर्तिलो बन्दै गएको फेला पर्यो । सो बाख्रा रातिको समय निदाउन समेत छाड्न थाल्यो । अरू किसानको बाख्रा दुब्लाए पनि त्यो पात र दाना खाने बाख्रा हृष्टपुष्ट हुनुको रहस्य किसानले खोतल्न थाले ।
किसानले खोतलेको रहस्य रहस्य रहिरहन सकेन । स्थानीय मठाधीशहरूले साँझको प्रार्थनालाई अझ लामो र आफूलाई एकाग्र बनाउन सो बिरुवालाई आफ्नो पेय पदार्थमा मिलाउन थाले । ऊर्जावान बिरुवाको नाममा विस्तारै यसको चर्चा/परिचर्चा बढ्दै गयो ।

जसरी शब्द (लिपी)हरूको बसाईसराइदर पूर्वतर्फ ज्यादा भएको इतिहास छ, उसैगरी कफीको हकमा पनि इथोपियाको ऊर्जावान बिरुवा अरेबियन पेनिसुलिया (अरब प्रायद्वीप)तर्फ फटाफट बसाइँ सर्न थाल्यो । यो सुरुवाती यात्रा थियो, जहाँदेखि ऊर्जावान बिरुवा उर्फ बिन्स (कफी)सम्मको यात्रा तय हुनेछ ।
अरब प्रायद्वीपः
अरब प्रायद्वीपमा पुगेपश्चात कफी खेती र व्यापार सुरु भयो । १५ औं शताब्दीसम्म, कफी अरबको येमेनी जिल्लामा उब्जाउने गरिन्थ्यो । तर १६औं शताब्दीको सुरुवातसँगै फारस, इजिप्ट, सिरिया र टर्कीमा कफीले आफ्नो पहिचान बनाउन सक्यो ।
कफी भान्सामा मात्र सीमित रहेन, पूर्वी शहरका सार्वजनिक कफी हाउसहरू (जसलाई ‘काहवेह खनेह’ भनिन्छ) मा देखा पर्न थाल्यो । यतिबेलासम्म कफीले वर्ग निर्धारण, वर्ग विभेद, असमानता जस्ता सामाजिक गतिविधिलाई अस्तित्व ल्याइसकेको थिएन । तर, यो स्थिति धेरै समय रहेन ।
कफी संरक्षकहरूले कफी पिउने काम मात्रै गरेनन् । कफीका बारे बातचित सुरु गरे । बातचितमा मात्रै पनि उनीहरू संलग्न भएनन्, कफी पिउँदै संगीत सुन्ने, चेस खेल्ने र समाचार पढ्ने जस्ता कार्यहरू अघि सारे । यसपश्चात कलाप्रेमी, साहित्यप्रेमी एवं समाजका मनोसामाजिक घटनाहरूमा रुचि राख्ने व्यक्तिहरूले कफीको बारेमा जानकारीहरू आदान-प्रदान गर्न थाले । क्रमशः कफी ‘बुद्धिमानीहरूको खान्की या बुद्धिमानहरूको स्कुल’को रुपमा दरिन आइपुग्यो ।

अझ, मक्का-मदिना हज गर्न आउने हजारौँ तीर्थयात्रीहरूले ‘अरबको वाइन’ नामले कफीको चर्चा-परिचर्चा गरेर विश्वका कुनाकाप्चीमा कफीलाई पुर्याउन सघाए । यसप्रकार कफीले विश्वमा आफ्नो उपस्थिति देखाउन पुग्यो ।
कफीको युरोप प्रवेशः
अर्ब नजिकैका पूर्वी युरोपेली यात्रीहरू एक असामान्य गाढा कालो पेयको कथाहरू आफ्नो घर-गाउँसम्म पुर्याए । १७औं शताब्दीसम्ममा कफी यूरोपको लागि लगभग नौलो विषय थियो तर विस्तारै कफीको लोकप्रियता युरोपमा बढ्दै गयो । हाल युरोपमा कफीले अत्यावश्यक पेय पदार्थको रुपमा आफूलाई उभ्याईसकेको छ ।
युरोपका केही मानिसहरूले नयाँ पेय पदार्थप्रति शंका एवं डर पनि व्यक्त गरे । ती मानिसहरूले यस नयाँ पेय पदार्थलाई ‘शैतानको कटु आविष्कार’ (bitter invention of Satan) नाम दिएका थिए । सतान (शैतान) लाई लुसिफर भन्ने गरिन्छ । लुसिफर नामको एक वेभ सिरिज नेटफ्लिक्समा उपलब्ध छ ।

English coffeehouse during the Restoration, painting from 1668. Some of the most famous coffeehouses of Europe flourished in London as ready points for news, discussion, and political and financial society. © Lordprice Collection/Alamy
यस घटनापश्चात कफी विवाद निम्तियो । इस्वीको १६१५ मा नै कफी भेनिस पुगेको थियो । कफी आफूकहाँ आएपछि स्थानीय पादरीहरूले कफीको निन्दा गरेका थिए। यो विवाद यति ठूलो थियो कि पोप क्लेमेन्ट आठौंलाई हस्तक्षेपकारी निर्णय नै लिनु परेको थियो । तर रमाइलो के भयो भन्दा, उनले निर्णय लिनु भन्दा पहिले कफीको स्वाद लिने चाह व्यक्त गते । जसै कफी पिए, उनी यति सन्तुष्ट भए कि उनले उक्त पेय पर्दाथलाई ‘पोपल अनुमोदन’ दिए । रोमन क्याथोलिक चर्चमा पपको आदेश सबैभन्दा माथि हुने समय थियो त्यो, थप विवाद निम्तिने कुरै थिएन । कफीले यसप्रकार पोपल अनुमोदन लिएर युरोपको गल्लीगल्ली डुल्न थाल्यो ।
यस्ता विवादहरू निम्तिरहे तर कफीको जित भइरह्यो । इंग्ल्याण्ड, अष्ट्रिया, फ्रान्स, जर्मनी, हल्याण्ड जस्ता देशका ठूला शहरहरू कफी प्रचारप्रसार केन्द्र बनिरहेका थिए । यो काम दिनानुदिन बढ्दो थियो । यो सिलसिला यतिमै रोकिनेवाला थिएन । कफीको हस्तक्षपले अन्य पेय पदार्थमा किनारमा पर्न थाले । बियर र वाइन जस्ता पेयहरूलाई कफीले प्रतिस्थापन गरिदियो।
रक्सीको सट्टा कफी पिउने सुझावहरू आउन थाले । स्वास्थ्य गुणवत्ताको हिसाबले पनि कफी रक्सीभन्दा धेरै ठीक थियो । यसप्रकार नामुद जड्याहहरू पनि नामुद कफी पियक्कड बन्दै गए ।
१७औं शताब्दीको मध्यसम्म आइपुग्दा, लन्डनमा ३०० भन्दा बढी कफी घरहरू निर्माण भइसकेका थिए । कफी घरहरूमा प्रायजसो, पानीजहाज व्यापारी, दलाल एवं कलाकारहरूको आगमन बढ्न थाल्यो । यस अलवा मध्यमवर्गीय तर समान विचारधाराका संरक्षकहरूलाई पनि कफीले आकर्षित गर्न सक्यो ।
धेरै व्यवसायीहरू कफीघरतर्फ आकर्षित भए । ल्योल्ड ओफ लन्डन (Lloyd’s of London) सोही समयमा स्थापित भएको कफी घर हो । पछि यसले अन्य व्यापारमा आफ्नो हात बढायो ।

नयाँ विश्वमा कफीः
प्रथमतः कफीको अमेरिका प्रवेशबारे पनि चर्चा गरौँ,
१६ औँ शताब्दीको मध्यताका कफी दक्षिण अमेरिकाको गुयानास्थित न्यू एम्सतडम शहर पुगेको इतिहास भेटिन्छ । पछि ब्रिटीसहरूद्वारा न्यूयोर्क पुर्याइयो ।
इस्वीको १७७३ आइपुग्दासम्म उपनिवेशकारी देशहरू एवं शासकहरूको मनपसन्द पेयको रुपमा कफी स्थापित भइसकेको थियो । उपनिवेशकारी राजामध्येकै एक किङ जर्जले चियामा भारी कर लगाए, जसलाई बोस्टन चिया विद्रोह भनिन्छ । यसपश्चात अमेरिकामा कफीले आफ्नो उपस्थिति देखाएको पाइन्छ । यसैताका ‘कफी सभ्य संसारको प्रिय पेय’ हो भनेर थोमस जेफरसनले प्रचार नै गरे ।

कफी खेतीको विस्तारः
यसपश्चात संसारभर कफी वृक्षारोपणको होडबाजी चल्यो । बाहिरी देशहरूले कफी खेती प्रतिष्पर्धामा आफूलाई सरिक गराए । डचहरूले १८ औँ शताब्दीको उत्तरार्धमा कफीको बिरुवा पाए । उनीहरूले भारतमा कफीको विरुवा लगाउने असफल प्रयास गरे तर प्रयास जारि राखे र अन्ततः उनीहरू बटाभिया, जाभा टापु (इन्डोनेसिया) मा सफल भए ।

बिरुवाहरू फस्टायो र चाँडै नै कफी उत्पादन र बढ्दो व्यापारका लागि डचको नाम अगाडि आयो । डचहरूले क्रमशः सुमात्रा र सेलेब्सको टापुहरूमा कफी रूखहरूको खेती विस्तार गर्दै गए । डचलाई अरू देशहरूले पछ्याउँदै गए ।
मिशनरी, यात्री, व्यापारी एवं उपनिवेशवादीहरूले कफीको बीउहरू नयाँ-नयाँ भूमिहरूमा लैजान जारी राखे । यसप्रकार कफीको बिरुवाहरू दुनियाभर रोपिन थालियो । ११८औँ शताब्दीको अन्त्यसम्म, कफी विश्वको सबैभन्दा लाभदायक निर्यात बाली मध्ये एक भएको थियो । कच्चा तेलपछि, कफी संसारमा सबैभन्दा माग गरिएको कमोडिटी हो । (क्रमशः..)