आफ्नो छोरा (जी-बब) लाई बन्धक बनाएको भन्दै र्याप गायन आयोजक कम्पनी (एएनटिएफ) विरूद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका आमाबुबाले उजुरी दिएका थिए ।
काठमाडौं । जी–बबको नामले चर्चित र्याप गायक सुदिप भण्डारी र उनको परिवारबीचको विवाद सुल्झिएको छ । सोमबार दुबै पक्षले तीन बुँदे सहमती गर्दै विवाद सुल्झाएका हुन् ।
उनीहरूबीच तीन बुँदे सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । जी–बबका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच परिसरमा छलफल पछि दुबैले तीन बुँदे सहमती गर्दै विवाद सुल्झाएका हुन् ।
सहमति भएको तीन बुदा यस्तो छ ?
१. सुदिप भण्डारी (जी–बब) को इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा रहेका अन्य व्यक्तिसरह नै राखिने छ ।
२. केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने छ ।
३. कुनै प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनुपर्ने छ ।
भएको के थियो ?
आफ्नो छोरा (जी-बब) लाई बन्धक बनाएको भन्दै र्याप गायन आयोजक कम्पनी (एएनटिएफ) विरूद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शुक्रबार उनका आमाबुबाले उजुरी दिएका थिए । बुबाआमाको उजुरीपछि आफ्नो मानहानी भएको र स्वतन्त्रता पाउनु पर्ने माग गर्दै जी-बबले पनि उजुरी दिएका थिए ।
(जी-बब)का बुबाआमाले शुक्रबार पत्रकार सम्मेलन गर्दै एएनटिएफले लागुपदार्थ खुवाएर आफ्नो छोरालाई भेट्न समेत नदिएको बताएका थिए।
उजुरी पछि प्रशासनले महानगरीय प्रहरी परिसरलाई दुवै पक्षलाई झिकाएर छलफल गर्न निर्देशन दियो । काठमाडौं प्रहरी प्रवक्ता दिनेश मैनालीले शुक्रवार दुवै पक्षलाई राखेर छलफल गरिए पनि सहमति नभएको जानकारी दिएका थिए । सोमबार फेरी उनीहरूको उजुरीमा छलफल भएको हो । छलफलपछि उनीहरूको बीचमा तीन बुँदे सहमति भएको छ ।