सेतो बादलको घुम्टो ओढेर उभिरहेकी गगनचुम्बी हरिया पहाड । कतै घामको किरणले उज्यालो त कतै मन्द प्रकाशले धुमिल । सुन्दरताका सबै रंगहरू एकै ठाउँमा देख्न सकिन्थ्यो । अद्भुत दृश्यहरूले आनन्दित तुल्याइरहेका थिए । हामीलाई स्वागत गर्न सिँगार-पटार गरी शिवपुरी डाँडा उभिरहेकी थिइन् ।
असार १५ गते बिहान भृकुटीमण्डल्पस्थित भृकुटी क्याफेमा बसेर चियाको चुस्की लिँदै गफिँदै थियौँ । सिमसिम पानी परिरहेकाले निकै चिसो थियो । दही चिउरा खाने दिन भएपनि हामी भने चियाको चुस्कीमै रमाइरहेका थियौँ ।
‘ए, आज त दही चिउरा खाने दिन होइन र ? साथी रेखा चन्दले सोधिन् ।’
‘ह्या…, हामी खेतमा हलो जोत्न, आली लाउन जाने हो र दही चिउरा खानलाई ?’ साथी राहुल मगरले जवाफ दिए ।
हुन पनि हो, हामी अम्ब्रेला टेबुलमा बसेर गफ गर्दै थियौँ । खेतमा गएर काम गर्ने योजना कसैको थिएन । हुन त खेतमा गएर काम गर्न काठमाडौंमा हाम्रो खेत पनि छैन । काठमाडौंमा घर हुने साथीहरूको पनि खेत छैन क्यारा ! कसैले पनि ‘खेतमा जानु छ’ भनेनन् । आफ्नो घर-गाउँमा हुँदा चाहिँ खेतबारीमा काम गर्ने भएर होला हामीलाई हिलो खेल्न खेत खोज्दै जान मन पनि भएन । खैर, प्रसङ्ग बदलौँ ।
गफ गर्दै जाँदा कतै घुम्न जाने योजना बन्यो । तर वर्षाको बेला भएकाले धेरै टाँढा जान नसकिने निष्कर्ष निस्कियो । नजिकै कतै जाऊँ भन्ने सल्लाह भयो । असार १८ गते शनिवार घुम्न जाने निधो भयो । तर, काठमाडौं र वरिपरिका अधिकांश ठाउँमा घुमिसकेको हुनाले कहाँ जाने भन्नेमा निकै अन्योल भयो । मैले पनि काठमाडौं उपत्यका र वरिपरिका डाँडा-पाखा चाहरीसकेको हुनाले कहाँ जाने भनेर भन्न सकिन । साथीहरूले पनि ‘यो ठाउँमा जाऊँ’ भनेर भन्न सकेनन् । त्यस दिन ‘कहाँ जाने र को-को जाने भोलिसम्म टुङ्गो लगाउने हैँ’ भन्ने सर्तमा हामी आ-आफ्नो वासस्थानतिर लाग्यौँ ।
घर पुगेपछि घुम्न जाने नयाँ ठेगाना खोज्न कहिबेर घोत्लिएँ । साथीहरूलाई ग्रुपमा सोधेँ, ‘कहाँ जाने भयो ?’ जवाफ आएन । मैले नै प्रस्ताव राखेँ, ‘नुवाकोटको सूर्य चाैर भन्ने ठाउँमा जाऊँ ।’
म चाहिँ सूर्य चाैरमा चार पाँच पटक पुगिसकेको थिएँ । साथीहरूलाई सोध्दा उनीहरूका लागि भने सूर्य चाैर नयाँ गन्तव्य नै रहेछ । म पहिल्यै आधा दर्जन पटक पुगेको भएर मलाई त्यहाँको धेरथोर जानकारी थियो । त्यहाँ मेरा फुपूकी छोरी विवाह गरेर पुगेकी भएर म गएको थिए । त्यहाँ फुपूकी छोरी लक्ष्मी दिदीले ‘कटेज’ पनि खाेलेकी छन् । त्यहाँ घुम्न गए दिदिकै कटेजमा खाने बस्ने गर्नुपर्ने भएकाले दिदिलाई फोन गरेँ । वर्षातको बेला भएकाले बाटो कै कुरा गरेँ । पुग्न सकिन्छ कि सकिन्न सोधेँ । दिदीले ‘बाटो ठिकै छ, आउनुस् भन्नु भयो ।’ दिदिलाई लोकल भाले अनि लोकल…! तयार पार्न भनेँ ।
घुम्न जान गज्जबको टिम पनि बन्यो । गज्जब कुन अर्थमा भन्दा सानो टिममा पनि सुदूरपश्चिमको कैलाली र बझाङदेखि पूर्वको खोटाङसम्मका साथी सहभागी हुने भयो । हामीलाई सँगै मिसाइदिने काम चाहिँ त्रिभुवन विश्वविद्यालय पत्रकारिताको केन्द्रीय विभागले गरेको हो । हामी सबै सो विभागमा स्नातकोत्तर तहको अन्तिम सेमेस्टरमा अध्ययनरत छौँ । सुदूरपश्चिम कैलालीकी रेखा चन्द, बझाङका चित्रराज भण्डारी, रामेछापका दशराज श्रेष्ठ, काठमाडाैंकी उर्मिला तामाङ, खोटाङकी सुस्मिता मगर, काठमाडौंका राहुल मगर, गोरखाका सुमिस श्रेष्ठ, डडेलधुराका उत्सव बोहोरा र धादिङको म गरी नौ जना जाने भयौँ । शनिवार बिहान ७ बजे सामाखुसी चोकमा जम्मा भएर जाने सल्लाह भयो ।
शनिवार बिहान चार बजे बिउँझिँदा पानी परिरहेको रहेछ । तर हामी पानी परिरहे पनि जाने सल्लाह भएको थियो । सोही बमोजिम तयार भएँ । पाैने सात बजे साथी राहुलकाे फोन आयो, ‘हामी कलङ्की चोकमा आइपुग्याैँ, तयार हुनुस्,’ मैले ‘हस्’ भनेँ । लगतै साथी उत्सवको पनि फोन आयो । हामी ७:३० मा सामाखुसी चोकमा जम्मा भयौँ ।
रातिदेखि झमझम परिरहेको पानी रोकिएको थियो । आकाश खुल्दै थियो । भर्खरै पानी रोकिएको भएर सडकमा धुलो उडेको थिएन । बिहानको समय, सवारी चाप कम थियो । सामाखुसी चोक निकै सुन्दर र सफा देखिएको थियो । साथी सुस्मिता, ‘वाउ…!, क्या गज्जबको मौसम’ भन्दै थिइन् । मैले पनि ‘अँ त नि’ सहमति जनाएँ ।
बाइकमा तेल हाल्न पेट्रोल पम्प पस्यौँ । पेट्रोलको महँगीको प्रसङ्ग निस्कियो । ‘भयो, घुम्न जाने बेला यस्ता गुनासो के गर्नु’ भनेर टारिदिएँ । पत्रकारिताका विद्यार्थी भएकाले यस्ता जनचासोका विषयमा बोल्नु, लेख्नु, चिन्तन गर्नु स्वाभाविक नै हो, थियो । तर घुम्न जान लागेको हुनाले रमाइलो कुरा मात्रै गर्ने सहमति भयो । हुन त मनलाई कसले नियन्त्रण गर्न सकिन्छ र ? कसले के सोच्यो थाहा भएन । हुन त, स्वतन्त्रता भनेकै सोच्न मात्रै त हो नि संसारमा ।
पेट्रोल हालेपछि बाइकको पेट भरियो । तर मान्छेका पेट भने खाली भएर हावा भर्न थालिसकेको थियो । साथीहरूले कालो चियाको साथमा दुनोट टोक्न थाले । तर मैले चाहिँ बिहानै एक कप कालो कफि पिइसकेकोले त्यहाँ खाइन । बरु साथीहरूलाई छिटो खान भन्दै दबाब दिएँ ।
ठ्याक्कै आठ बजे हाम्रो यात्रा सुरु भयो । ग्रान्डी अस्पतालका गगनचुम्बी टावरको फेद हुँदै यात्रा अघि बढ्यो । टावरहरू तँछाडमछाड गर्दै उभिरहेका थिए । मानौँ उनीहरू शिवपुरी डाँडाभन्दा पनि अग्लो बन्न चाहन्छन् । साँच्चै तीनका फेदबाट हेर्दा शिवपुरी डाँडा भन्दा पनि अग्ला देखिँदा रहेछन् । नेपालमा पनि यति ठुलो अस्पताल छ भन्ने सोचेर मनमा गर्भानुभूति पनि भयो । तर कसले उपचार पाउँछन् कसले पाउँदैनन् भन्ने सोच्दा चाहिँ फेरी मन तितो भयो । मनलाई थप चङ्गा बनाउँदै अघि बढ्यौँ ।
साथीहरू कोही अगाडि, कोही निकै पछाडि हुन थालेछन् । पर्खिँदै सँगै जाने पूर्व योजना बमोजिम अगाडि पुगेको साथीले रोकेको देखे रोक्ने अनि सँगै जाने गर्न थाल्यौँ । बाटोसँग परिचित चाहिँ म भएकाले म अगाडि बढ्नु पर्ने भयो । तर म अगाडि हिँड्दा साथीहरूलाई पाइला नपुग्ने भएपछि साथीहरू अगाडि बढ्दै दोबाटो आएपछि मलाई पर्खिँदै गर्न थाले । ऐतिहासिक एवम् सांस्कृतिक सहर टोखा पुग्यौँ । त्यहाँका पुराना घरहरू, पोखरी देख्दा मन थप चङ्गा भयो ।
माथि शिवपुरी डाँडाको दृष्य अझै रोमाञ्चक थियो । सेतो बादलको घुम्टो ओढेर उभिरहेकी गगनचुम्बी हरिया पहाड । कतै घामको किरणले उज्यालो त कतै मन्द प्रकाशले धुमिल । सुन्दरताका सबै रंगहरू एकै ठाउँमा देख्न सकिन्थ्यो । अद्भुत दृश्यहरूले आनन्दित तुल्याइरहेका थिए । हामीलाई स्वागत गर्न सिँगार-पटार गरी शिवपुरी डाँडा उभिरहेकी थिइन् । हामीलाई पनि त्यहाँ पुग्न निकै हतार भयो । कालोपत्रे नागबेली सडकमा बाइकको यात्रा गर्नुको आनन्द अर्कै थियो । हामी टोखा झरना पुगेपछि एकछिन रोक्यौँ । त्यहाँबाट काठमाडाैं सहर नियाल्यौँ । माथिबाट नियाल्दा काठमाडौं सहरको चित्र अर्कै देखियो । हुन त त्यत्ति टाँढाबाट सहरभित्रको धुलो धुवाँ कहाँ देखिन्छ र ? । खैर, सहर सुन्दर देखिएको थियो । सहरलाई पृष्ठभूमिमा पारेर दुई चार थान छायाँ क्यामेरामा कैद गरेपछि हामी लाग्यौँ गत्नव्यतिर ।
जगाती बसपार्क पुगेपछि शिवपुरी राष्ट्रिय निकुञ्ज सुरु हुन्छ । जङ्गलभित्रको यात्राको आनन्द अर्कै थियो । तर आनन्द धेरै बेर टिकेन । किन कि हामी दुई मिनेटमै डाँडा पुग्यौँ । डाँडा पुगेपछि राष्ट्रिय निकुञ्ज वरिपरि घुम्न जानेले टिकट काट्नुपर्छ । तर त्यस क्षेत्रमा भएका आफन्त भेट्न जानेलाई टिकेट लाग्दैन । हामी पनि मेरा आफन्तकोमा जान लागेको भन्दै हामीले टिकेट काटेनौँ । हामी गुर्जुभन्ज्याङ पुग्यौँ । त्यहाँ पुगेपछि राष्ट्रिय निकुञ्जको बोर्ड अगाडि उभिएर तस्बिर कैद गर्न तँछाडमछाड नै भयो । केहिबेर गफगाफ, हाँसो, ठट्टा चल्यो । हरिया जङ्गलको बिचमा चराचुरुङ्गीको चिरबिर, किरा फट्याङ्ग्राको आवाज, प्राकृतिक सुन्दरताबिचमा रमाइला साथीहरूका प्रसन्न मुहारले घेरिएको क्षण साँच्चै अद्भुत थियो ।
गुर्जुभन्ज्याङबाट सूर्य चौर पुग्न राष्ट्रिय निकुञ्जको बिचबाट बनेको तेस्रो बाटोबाट अघि बढ्यौँ । बर्षाका कारण बिग्रिएको बाटो, ठाउँ ठाउँमा पहिरो पार गर्न निकै गाह्रो भयो । निकै चुनौतीपूर्ण थियो तर हामीले पार गर्यौँ । चुनौतीको सामनापछिको आनन्द अर्कै थियो । बिच बाटोमा छङछङ गर्दै गरेको झरना देखेपछि रोकियौँ । साथीहरूले पानी छ्याप्न थाले । अग्लो ठाउँ भएकाले पानी चिसो थियो तर चिसो पानी छ्याप्नुको मजा अर्कै हुँदो रहेछ । झन्डै आधि घण्टा झरनासँगको रोमान्सपछि हामी सूर्य चौरतर्फ लम्कियौँ…!
(सूर्य चौर र त्यहाँ बिताएको क्षण अर्को भागमा)