बिहिबार , जेठ २१, २०८३

अधिकारप्रति बेखवर नेवा: दलित

सफा र फाइदाजनक काम कथित उच्च जात भएकाले आफ्नो सिन्डिकेट लागू गरे र फाेहाेरसँग सम्बन्धित काम नेवा: दलितलाई प्रदान गरे ।

image

हामीमध्ये धेरै काठमाडौंका सार्वजनिक शौचालय अवश्य गएका छौँ । एकाबिहानै सडक किनारमा, गल्लीहरूमा झाडु, फोहोर बोक्ने गाडा गुडाइरहेका मानिस देखेका छौँ । ती शौचालयका अगाडी पैसा लिन बसेका र सडक किनारमा सरसफाइमा खटिएका मानिस कहाँका होलान् ? एउटै भाषिक लवज भएका मानिस मात्र किन निश्चित ठाउँमा देखिएका होलान् ? यी प्रश्नको उत्तर खोज्न, काठमाडौं उपत्यकाका नदी किनारका बस्ती डुल्नुपर्छ । उक्त समुदायलाई किन खोला किनारमा बस्न बाध्य बनाइयो, त्यो इतिहास बुझ्नुपर्छ । विष्णुमती किनारको पुरानो  ढल्कु (पोडे टोल ), बाग्मती र विष्णुमतीको सङ्गम, टेकु दोभान नजिकैको स:बहाल (खि: ढल, खिको अर्थ दिसा भन्ने हुन्छ), भक्तपुरको भेलुखेल लगायतका बस्तीमा आज पनि नेवा: दलितकाे (नेवार दलित) बसोबास रहेको छ ।

लेखक राजेन्द्र मानन्धरका अनुसार, ‘द्योला समुदाय नेवार जातिभित्रको सबैभन्दा पुरानो रैथाने समुदाय हुनसक्छन् । लिच्छवी र किरातीबीच युद्ध हुँदा द्योला जातिले किरातीको पक्षबाट युद्ध लडेका थिए भनिन्छ । अनि पराजित जाति भएकोले जितुवा शासकले भूमिबाट वञ्चित गरी मूल सहरभन्दा बाहिर नदी किनारमा राखिएको थियो । उनीहरूको प्राचीन पेशा माछा मार्ने, सरसफाइ गर्ने र देउताका विशेषगरी (अजिमा) देवीका मन्दिरको पुजारी रहने व्यवस्था थियो । उनीहरुले ढकिया, टोकरी, खर्पन आदि सामग्री बनाउने काम पनि गर्छन् । हाँस, कुखुरा, सुँगुर पाल्छन् । साथै उनीहरुले झारफुक गर्ने, झाँक्री बस्ने काम पनि गर्छन् । यस जातिलाई दलितभन्दा पनि पराजित र वञ्चितीकरणमा परेको समुदाय मान्नु पर्छ । शदियौंदेखि विभेद र बहिष्करणमा परेकोले राज्यले तीनै तहका सरकारले उनीहरुको उत्थानको विशेष व्यवस्था गर्नुपर्छ ।’

एकातिर नेवा: दलितको निकै लामाे इतिहास छ, त्यो पनि केन्द्रकृत काठमाडौंमै । बसोबास काठमाडौं भएकाले धेरैको अनुमान नेवा: दलितप्रति आम नेवार समुदायको जस्तै रहन्छ । नेवार समुदायलाई आदिवासीभित्रकाे विकसित समुदाय मानिन्छ । अन्य आदिवासी जनजातिकाे तुलनामा नेवार समुदायको शैक्षिक, आर्थिक सामाजिक अवस्थामा धेरै राम्रो छ । तर, नेवा: दलितको अवस्था भने आम नेपाली समुदायले सोचे जस्तो छैन । राजनीतिक, आर्थिक तथा सामाजिक उपस्थित झन् चिन्ताजनक देखिएको छ । आजकाे मितिसम्म पनि केन्द्रीकृत ठाउँमा रहेर नेवा: दलितकाे उपस्थिति  राज्यको मुलधारमा  छँदै छैन भन्दा पनि हुन्छ ।

राजधानीकै रैथाने समुदाय भएर पनि नेवा दलितको राजनीतिक प्रतिनिधित्वको हिसाबले समेत पछाडि रहेको छ । सदियाैँदेखि बहिष्करणमा पारिएको समुदाय अहिले पनि अधिकारमा समेत बहिष्करणमा रहँदै आएको छ  । अहिलेसम्म कति नेवा: दलित सांसद, मन्त्री भए त ? कति नेवा: दलित कार्यकारी पदमा बसेका छन् ? कति प्राज्ञिक पेशामा छन् ? उल्लेखनीय रूपमा छैन । शिक्षा र आर्थिक सामाजिक अवस्था कमजोर भएकाले पनि नेवा: दलितमा सामाजिक रूपान्तरण, परिवर्तनमा र राजनीतिक मूलधारमा उपस्थिति कमी देखिएको अनुमान लगाउन सकिन्छ। अर्को कुरा, पहिलादेखिको बहिष्करणले निरन्तरता पाउँदा नेवा: दलित बहिष्करणको मार्गमा अझै अड्किएकाे छ ।

काठमाडौं उपत्यका  नेवा: दलित बस्तीभित्रकाे वर्तमान भौतिक अवस्था हेर्दा साँघुरो बस्ती, एकाध घर बाहेक अधिकांश घर २ पैसा, १ आनामा बनेका खुम्चिएका घर देखिन्छन् । अझ कतिको अवस्था भूमिहीन नै रहेको छ । आर्थिक अवस्था पनि सन्तोषजनक छैन । सरसफाइ पेसामा उनीहरू छन् तर, सामाजिक सन्तुलन छैन । शैक्षिक अवस्थाको मूल्याङ्कन गर्दा यति लामो इतिहास बोकेको समुदायको अवस्था राम्रो देखिँदैन। जसकारण आज पनि नेवा: दलित उहीँ प्राचीन जातवादी पेसा अभ्यास गरेको देखिन्छ । केन्द्रमै रहरले पनि राजनीतिक आर्थिक सामाजिक बहिष्करणको चपेटामा परेको छ ।

फतिमा देउला (नाम परिवर्तन)काे दैनिक काठमाडौंका सडक गल्लीमा फोहोर उठाउने गाडा र झाडुसँगै सुरु हुन्छ । उनको काम भनेको सडक किनारका फोहोर उठाउने, झाडुले सफा गर्ने र महानगरपालिकाको गाडीमा राख्ने हो । विगत सात वर्षयता देउला सरसफाई काममा सक्रियताका साथ लागेकी छन्  । सरसफाइ पेसामा उनले थाहा पाएसम्म उनको परिवारकाे चार पुस्ता यसै सरसफाइ पेसामा संग्लग्न रहेको छ। अर्को रोचक कुरा के छ भने उनको नातागोता, निकटका प्राय व्यक्ति सरसफाइ पेसाबाट आफ्नो जीवनयापन चलाइरहेका छन् ।

काठमाडौंका अधिकांश सार्वजनिक शौचालयमा नेवा: दलितको उपस्थिति बाक्लो देखिन्छ । शौचालय र सडकमा मात्र नभई सहरका विभिन्न कार्यालय, अस्पताल तथा व्यापारी भवनको सरसफाइ र शौचालयको सरसफाइको निम्ति यहीँ समुदायको उपस्थिति देखिन्छ । रोजगारीको चर्चा गरिरहँदा धेरैलाई लाग्न सक्छ, ‘काम गर्नु राम्रो हो, श्रमको सम्मान गरिनुपर्छ’ भन्ने तर्क अगाडि अवश्य राख्नेछन् । तर जसरी पहाडी र तराईका दलितलाई पेसाकै आधारमा निश्चित काम तोकिएको थियो, कालान्तरमा त्यहीँ पेसा अभ्यास गरेको आधारमा जात तोकियो र अछुतको पगरी प्रदान गरियो । ठ्याक्कै त्यहीँ कथित संस्कार र संरचना नेवा: दलितमा पनि लागू भएको छ । पहिला जातलाई मुख्य आधार बनाएर कामको बाँडफाँड भयो । सफा र फाइदाजनक काम कथित उच्च जात भएकाले आफ्नो सिन्डिकेट लागू गरे र फाेहाेरसँग सम्बन्धित काम नेवा: दलितलाई प्रदान गरे । आज पनि वर्षाैँ पहिले तोकेको काम नेवा: दलित गर्दै आइरहेको छ । फलतः सफा काम गर्ने सत्ता र शक्तिमा आसीन छन् । नेवा: दलितकाे भने हिजो र आजको अवस्थामा तात्त्विक भिन्नता देखिँदैन । उनीहरू हिजो पनि सरसफाइमा छन् र, आज पनि ।

नेवा दलितको सवालमा एउटा निश्चित पेसा, निश्चित समुदायलाई निरन्तरता दिनु र कसरी हुन्छ जातवादी पेसामै राख्ने माहौल सृजना गरिनु नियोजित जस्तो  देखिएको छ । काम गर्नु राम्रो हो तर, त्यहीँ काम गरेरै कथित उच्च जातका नेवार समुदायमा र त्यहीँभित्रकाे नेवा: दलितको राजनीतिक सामाजिक आर्थिक अवस्थामा के-कति भिन्नता देखियो ? नेवा: दलितको शैक्षिक सामाजिक चेतनाको अवस्थामा कति परिवर्तन भयो ? अध्ययन गर्दा, पेसा र जातकै आधारमा नेवा: दलित र गैरदलितकाे सामाजिक आर्थिक राजनीतिक अवस्थामा धेरै फरक देखिएको छ । नेवा: उच्च जात, राज्यको शक्तिसँग सदैव निकट रहेको देखिन्छ । सामाजिक र  शैक्षिक उपस्थिति गैरदलित नेवाको उच्च स्थान र अग्र गतिमा छ । जबकि नेवा: दलितको अवस्था कहालीलाग्दो छ । उनीहरूको उपस्थिति एकाध बाहेक बहुसङ्ख्यक जनसङ्ख्या भने सरसफाइ पेसामा सीमित रहेको  छ ।

राज्यका ठूलाठूला कार्यालयकाे सरसफाइमा नेवा: दलित खटिएका हुन्छन् तर, सत्ता शक्ति भने उपस्थित छैन । एउटा कोणबाट हेर्दा नेवा: दलितलाई राजधानीमै बसेर किन समता समानता र सामाजिक स्वतन्त्रताका लागि विद्रोह गरेन ? किन राज्य र नेवा समुदायले अधिकारको सवालमा नेवा: दलितलाई बहिष्करणमा पार्याे ? भलै काठमाडौंमा  वि.सं. २००४ सालमा नेवा: दलित  सहर्षनाथ कपालीले आफ्नो संयोजकत्वमा ‘टेलर युनियन’ स्थापना गरी जातीय भेदभावविरुद्ध आवाज उठाउन थालेका थिए । सात दशकअघि दलित आन्दोलन काठमाडौंका नेवा: दलितबाट सुरु भएको थियो । तर आजको अवस्था फरक छ, गएको वैशाख ३० काे स्थानीय तहको निर्वाचनमा दलित महिला सदस्यमा बाहेक कार्यकारी पदमा दलित नेवाले जित दर्ता गरेको पाइएन । किन राजधानीकै रैथाने समुदायमा यस्तो अवस्था आयो ?

सर्सर्ती हेर्दा बहिष्करणमा पारिएकै आधारमा  दलित नेवा: मा राजनीति चेतनाको धेरै कमी भएको पाइएको छ । बहिष्करणमै पारिएकाले नेवा: दलितकाे सामाजिक आर्थिक शैक्षिक अवस्था देख्दा, सदियौँदेखि काठमाडौंमै रहेर पनि आफ्नो हकअधिकारबारे बेखबर जस्तो देखिएको छ । नेपालको संविधानले तोकेको मौलिक अधिकार उपर  पनि नेवा: दलित बेखर छ । फलतः राज्यले दलितका निम्ति प्रदान गरिदै आएको विशेष  सेवा सुविधा, हक अधिकारप्रति उक्त समुदायले कहिल्यै आवाज उठाएको छैन । जबकि पहाडी र तराई भेगका दलितहरूमा विद्रोही भाव र राजनीतिक चेतना देखिएको । फलतः क्याबिनेट, संसद् र प्रशासनिक अङ्गमा केही दलितका अनुहार देखिएका छन् ।

तुलनात्मकता नेवा: दलितको अवस्था र राजनीतिक चेतना भन्दा पहाडी दलितको सुधारोन्मुख देखिन्छ  । काठमाडौं उपत्यका रैथाने भएर पनि परिवर्तन र रूपान्तरणमा भने नेवा: दलित एकदम पछाडि रहेको देखिन्छ । अन्त्यमा, राज्यले दलित अधिकारवादी निकायले कसरी हुन्छ नेवा: दलितलाई राज्यको मूलधार ल्याउन सकिन्छ, त्यसको मार्गचित्र काेर्नुपर्ने देखिन्छ । संविधानले तोकेको समावेशीकरण सिद्धान्तलाई सार्थक तुल्याउनुपर्छ । काठमाडौं उपत्यकाका नेवा: दबु, गुठी संस्थान, स्थानीय निकायले पनि कसरी हुन्छ नेवा: दलितलाई आजको अवस्थाबाट सत्ता शक्ति परिवर्तन र रुपान्तरणकाे दिशातर्फ अगाडि बढाउनुपर्छ । अनि मात्र समाजले, सदियौँदेखि बहिष्करणमा पारिएको समुदायले अधिकारको आभास गर्नसक्छ ।

सम्बन्धित समाचार