शुक्रबार , अषोज २३, २०८३

स्वयम्भूनाथ स्तूप बनाउँदा बचेको सामानले बनाइएको ‘काशी स्वयम्भू’

स्वयम्भूनाथ स्तूपको निर्माण सकिसकेपछि बाँकी रहेको सामग्रीको प्रयोग गरी यो स्तूपको निर्माण गरिएको हो भन्ने गरिन्छ ।

image

काठमाडौं मन्दिरहरूको शहर हो । यहाँका गल्ली-गल्लीमा, ढुङ्गा-ढुङ्गामा देवताहरूको बास छ । कति देवताले मानिसहरूको ध्यान या भनौँ पूजा पाइरहेका छन् भने कति भएर पनि नभएको अवस्थामा छन् ।

काठमाडौंको वसन्तपुरबाट क्षेत्रपाटी जाने बाटोको बिचमा रहेको ‘काठे स्वयम्भू’ (जसलाई काशी स्वयम्भू समेत भनिन्छ) ले मानिसहरूको त्यति रुचि या चासो कमाउन सकेको छैन । काठे स्वयम्भू लेखिएका बोर्डहरू यहाँ देखिन्छन्, जो काशी स्वयम्भूको अपभ्रंश हो । यस स्तुपा रहेको स्थानलाई हाल प्राय:ले सिगल भनेर भन्ने गर्दछन् ।

स्वयम्भू चैत्य जस्तै देखिने यो चैत्यलाई बज्रधातु चैत्य भनिन्छ भने स्वयम्भूलाई धर्मधातु चैत्य भनिन्छ । यहाँ दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरूले स्वयम्भूनाथ मन्दिरको दर्शन गर्न नपाए यस चैत्यको दर्शन गरेर उतिकै लाभ लिन सक्छन् भन्ने विश्वास छ ।

धार्मिक हिसाबले यो ठाउँ जति महत्वपूर्ण छ, त्यति नै ऐतिहासिक महत्त्व समेत बोकेको छ । काठे स्वयम्भू श्री घ: चैत्य स्वयम्भूनाथमा रहेको एक लघु प्रतिकृति हो । सन् १६५० मा निर्माण गरिएको यो चैत्य तिब्बती तीर्थस्थल मध्ये एक हो । यो चैत्यलाई ‘श्री घ: शान्ति घट वज्रधातु महाचैत्य’, ‘काठेशम्भु स्तूप’ वा ‘काशी स्वयम्भू’को नामले समेत चिनिन्छ ।

मुख्य स्तूप तिब्बती मठझैँ समान सानो चैत्य शिलालेखहरू, मूर्ति र प्राचीन मठले घेरिएको छ । अवलोकितेश्वरको एउटा मूर्ति स्तूपको ठिक अगाडि रहेको छ । स्तूपमा चढ्नको लागि बनाइएको १३ खुड्किलाहरूले निर्वाण पुग्नको लागि आवश्यक १३ चरणहरूको सङ्केत गर्दछ ।

यो पुरानो काशी स्वयम्भू, विहार बन्नुभन्दा पहिले कोम्बहालबाट खिचिएको फोटो हो । स्रोत : अमृत चित्रकार

यस्ता छन् किम्बदन्ती :

एक पौराणिक कथाका अनुसार क्वा-बहाका आचार्य वक-वज्रलाई गङ्गा नदीको किनारमा यात्रा गर्दा बनारसका राजाले बनाएको चैत्यको पूजा गर्न भनिएको थियो । वक-वज्रले स्मारकमा गङ्गाबाट पानी छर्केका थिए तर उनको शक्तिलाई राजाले विश्वास गरेनन् । आफ्नो शक्ति प्रदर्शन गर्न, वक-वज्र ध्यानमा बसे र चैत्यलाई उठाएर काठमाडौंको हालको स्थानमा लगेर राखेका थिए ।

त्यसैगरि अर्को पौराणिक कथा अनुसार स्वयम्भूनाथ स्तूपको निर्माण सकिसकेपछि बाँकी रहेको सामग्रीको प्रयोग गरी यो स्तूपको निर्माण गरिएको हो भन्ने गरिन्छ ।

तस्बीर : राजु झल्लु प्रसाद

यो स्तूपको निर्माण सन् १५५२, (नेपाल संवत् ७६२) मा गरिएको एउटा शिलालेखमा उल्लेख छ । शिलालेख अनुसार यो चैत्यको सुनौलो शिखर मेघराजले उनको मृतक छोराको सम्झनामा दान गरेका थिए । उनले वार्षिक स्मरणार्थ एउटा गुठीको समेत स्थापना गरेका थिए । यो गुठी क्वा-बहाका पुजारीहरूसँग सम्बन्धित छ। राजा प्रताप मल्ल (सन् १६२४–७४) को शासनकालमा यो स्तूपको मर्मत कार्य गरिएको थियो । सन् १६४७ मा चैत्यलाई अपवित्र बनाइएको भए पनि सन् १६५३ मा पुनः यसलाई बज्राचार्यहरूले स्थापित गरेर पवित्र बनाएका थिए ।

त्यसैगरि अर्को किम्बदन्ती अनुसार सूर्यवंशी राजा नृपेन्द्र मल्लका पालामा कान्तिपुरका समन्तभद्र नामका तान्त्रिक (गुभाजु) काशी गएका थिए । त्यहाँ जैनहरूले ठुलो चैत्य बनाई प्राण प्रतिष्ठा गर्न तयार थिए । प्रतिष्ठा गरिदिने व्यक्तिको खोजीमा थिए । समन्तभद्र गुभाजु त्यहीँ पुगेकाले सम्मानसाथ प्रतिष्ठा गर्न लगाए ।  गुभाजुले पनि गङ्गाजल ल्याई सिञ्चन गरी प्रतिष्ठा गरे । पूजा सामान छ भनी गुभाजुलाई ठग ठानेर जैनहरूले उल्याए ।

गुभाजुले पनि ‘पत्याउँदैनौ भने तिमीहरू जति छौ त्यस्तै बलिया डोरीले बाँधी चैत्यलाई समाउने, म बोलाउँछु, मतिर चैत्य आएमा प्रतिष्ठा भयो, आएन भने भएन’ भने । सयौँ जैनहरूले डोरीले बाँधेर ताने तर गुभाजुले चुट्की बजाउने बित्तिकै चैत्य गुभाजुकै पछि लाग्यो । त्यही चैत्य काठमाडौं ल्याए । जैनहरू पछुतो मान्दै फर्किए । नेपाल संवत् ७९०मा यो ‘सिम्भु’ स्थापना भएको मानिन्छ । विशाल चाँदीको कराहीमा घोप्टाएर गुभाजुले काठमाडौंको नघल टोलमा स्थापना गरेको मानिन्छ र अहिलेसम्म यो चैत्य छँदै छ । काशीबाट ल्याएकोले यसलाई काशी स्वयम्भू पनि भनिन्छ ।

नघलटोलमा रहेको ‘काठे स्वयम्भू/ काशी स्वयम्भू’ नेपाल संवत् ७७३ (ई.स १६५३) को अभिलेखमा यो चैत्यलाई बज्रधातु भनिएको छ । काठे स्वयम्भू पछाडि रहेको एक सानो घर जस्तो मन्दिरभित्र ६ वटा प्रस्तरका घडाहरू थपिएका छन्, जसलाई शान्तीघट भनिन्छ । प्रारम्भिक मल्ल कालतिर अनावृष्टि भएकाले सो को निवारणका लागि बौद्धचार्यहरुले यो शान्तीघटको स्थापना गरेको पाइन्छ । तर यसको प्रामाणिक उल्लेख पछि मात्र पाउन थालिन्छ । ने.स ७७३ (ई.स १६५३)को प्रमाण अनुसार ‘श्री ३ शान्तीघट’को रूपमा यसको उल्लेख हुन थालेको पाइन्छ तर, ने.स ४२८ (ई.स १३०८)को प्रमाणमा उल्लेखित ‘श्री सतिगल’ नामको ठिक अर्थ वा नामाकरणको कारण स्पष्ट बुझिँदैन तर यो पनि ‘शान्तीघट’कै लौकिक रूपमा हुनु सम्भव छ ।

तस्बीर : राजु झल्लु प्रसाद

कतै यो काशी स्वयम्भू क्वावहालका तान्त्रिक वाक् बज्र बज्राचार्यले  ई.स ५५० तिर निर्माण गरेको हो भन्ने पनि गरिन्छ ।

मानसिक रूपमा शान्ति दिने यो ठाउँ अहिले उचित व्यवस्थापनको अभावमा छ । ठाउँ-ठाउँमा फोहोर फ्याँकिएको भेटिन्छ भने कतै मानव विकार समेत देख्न सकिन्छ  । वरपरका स्कुले विद्यार्थीहरू चैत्यमा फोहर जुत्तासहित उफ्री-पाफ्री गरिरहेको देख्न सकिन्छ । ऐतिहासिक महत्त्व बोकेको यो ठाउँले यसरी नै फितलो व्यवस्थापन झेलिरहने हो भने केही समयमै यसको अवस्था नाजुक नहोला भन्न सकिँदैन । यसप्रति सम्बन्धित निकाय र सँगै रहेको बिहारको ध्यान पुगे यसले पर्यटकलाई स्वच्छ काठमाडौं घुम्न मदत गर्ने थियो ।

सन्दर्भ सामग्री : जगदीश चन्द्र रेग्मी (काठमाडौंको सांस्कृतिक अध्ययन), सन्दीप महर्जन (द नेवार), घटराज भट्टराई (नेपालका धार्मिक स्थलहरू) आदि ।

Tags:

सम्बन्धित समाचार