सरकारको उपेक्षामा परेको बाँकेको पर्यटकीय क्षेत्रबारे आफ्नै खर्चमा भएपनि पर्यटकलाई जानकारी दिन प्रयास गरिने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम प्रसाद शाहले बताए ।
काठमाडौँ । विश्वव्यापी कोभिड-१९ महामारीले थला पारेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न, यस क्षेत्रको थप प्रवर्द्धन, विकास र विस्तार गर्न भन्दै अघिल्लो सरकारले सन् (२०२३-२०३२) लाई ‘नेपाल पर्यटन दशक’ का रूपमा मनाउने घोषणा गर्याे । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको विकासमा ‘काेशेढुङ्गा’ साबित हुने दाबी गर्दै १० वर्षे कार्ययाेजना अगाडि सारेका थिए । केही हप्ताअघि पर्यटन दशकको रणनीतिक कार्ययाेजनाकाे प्रतिवेदन पनि तयार पार्याे । तर, कार्ययाेजना तयार हुनेबित्तिकै सरकार परिवर्तन भयो । सरकार परिवर्तन भएसँगै योजना कार्यान्वयन हुनेमा आशङ्का बढ्न थालेका छन् ।
‘सबैका लागि पर्यटन’ भन्ने अवधारणासहित आगामी १० वर्षभित्र नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या ३५ लाख पुऱ्याउने, पर्यटन क्षेत्रको पुनरुत्थान गर्दै आगामी दुई वर्षभित्र यस क्षेत्रलाई कोरोना संक्रमणकालभन्दा पूर्ववत् अवस्थामा पुऱ्याउने र आगामी १० वर्षभित्र पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारले लिएको छ । लक्ष्य प्राप्तिका लागि १० वर्षमा १० फरक फरक विषय र क्षेत्रमा केन्द्रित रहेर उत्सवहरू मनाउने योजना छ ।
नेपालको भौगोलिक, प्राकृतिक, वातावरणीय, सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधतालाई पर्यटन क्षेत्रसँग आबद्ध गर्ने, पर्यटकीय सम्भाव्यताको आधारमा विशेष पर्यटकीय क्षेत्र घोषणा गरी त्यस्ता क्षेत्रमा बहुपक्षीय पूर्वाधारको विकास गर्ने कार्ययोजनामा उल्लेख छ ।
सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रको सहकार्य एवम् साझेदारीमा वृद्धि गर्ने, आन्तरिक, क्षेत्रीय एवं विश्व पर्यटन बजारमा नेपालका पर्यटकीय स्थलको प्रभावकारी बजारीकरणका लागि प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने तथा नयाँ पर्यटकीय क्षेत्रको पहिचान तथा प्रचार-प्रसार गरी प्रदेश सरकार र स्थानीय सरकारको प्रत्यक्ष सहभागितामा पर्यटनको लाभ स्थानीय समुदायसम्म पुर्याउने कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ ।
भ्रमण दशकसँगै नेपालमा पर्यटकको प्रतिदिन खर्च ४८ डलरबाट १२५ पुर्याउने लक्ष्य राखिएको छ । कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदानलाई समेत १० प्रतिशत पुर्याउने लक्ष्य पर्यटन मन्त्रालयले लिएको छ । यसका लागि संस्थागत सुदृढीकरण, पूर्वाधारको स्तरोन्नति, लगानी प्रवर्द्धन, पर्यटन सेवा सुदृढीकरण तथा विस्तार, पर्यटन प्रवर्द्धन तथा जनसम्पर्क विस्तार, पर्यटन क्षमता विकास, आन्तरिक पर्यटन प्रवर्द्धन, पर्यटन उपजको विकास र विस्तार र देशैभर पर्यटनसम्बन्धी अभियान चलाइने समेत कार्यदलको सिफारिसमा उल्लेख छ ।
नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक गरिए तापनि यसले अपेक्षा गरिए जसरी नै काम गर्नेमा पर्यटनसँग सम्बन्धित व्यक्ति तथा निकायहरू नै सन्दिग्ध भेटिएका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै विभिन्न चुनौतीहरू आउँछन् । विभिन्न किसिमका भौतिक संरचना निर्माण गर्ने या क्षमता वृद्धि गर्ने, व्यवसायीहरूलाई प्रोत्साहन गर्ने, पर्यटनसँग सम्बन्धित विभिन्न निकायहरूसँग समन्वय गरी पर्यटक मैत्री वातावरण निर्माण गर्नेमा ध्यान दिनुपर्ने हुन्छ ।
पर्यटन विभागमा दर्ता भएअनुसार नेपालमा पर्यटकलक्षित विभिन्न किसिमका गरी जम्मा २७६ होटेलहरू रहेका छन् । बढ्दो पर्यटकको सङ्ख्यासँगै के त्यति होटेल तथा अन्य भौतिक संरचना पर्याप्त होलान् त ? ३५ लाख पर्यटकलाई के ३०० भन्दा कम होटेलले धान्ने ल्याकत राख्लान् त ? के दर्ता भएका होटेलले पर्यटकमैत्री वातावरण सिर्जना गरिरहेका छन् ? सो अनुसारका सेवा सुविधा दिइरहेका छन् ? होटेल व्यवसायसँग सम्बन्धित विभिन्न निकाय तथा व्यक्तिहरूको यसबारेमा के कस्तो धारणा तथा योजना छ ? लगायतका प्रश्नको उत्तर खोज्न हामीले विभिन्न निकाय तथा व्यक्तिसँग सम्पर्क गरेका छौँ ।
के भन्छन् सम्बन्धित निकाय तथा व्यक्तिहरू ?
होटेल एसोसिएसन नेपाल (हान)का महासचिव साजन शाक्यले नयाँ सरकारले उक्त योजनालाई कसरी अघि बढाउँछ भन्ने पर्खाइमा आफूहरू रहेको बताएका छन् । साथै, बढ्दो पर्यटकका लागि पर्याप्त होटेल रहेको र आफूहरू त्यसको लागि तयार रहेको बताउँदै उनले भने ‘वार्षिक ३० लाख पर्यटकलाई सेवा दिन सकिने होटेलहरू रहेका छन् ।’
कोरोना महामारीका कारण सुस्ताएको पर्यटन व्यवसाय उकास्न ल्याइएको यो कार्यक्रम स्वागतयोग्य रहेको बताउँदै महासचिव शाक्यले नयाँ गठन हुने सरकारले यसलाई कार्यान्वयन गरे पर्यटन व्यवसायसँग सम्बन्धित सबैको हित हुने धारणा राखे ।
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल शाहले सरकारको यो योजनाबाट जनकपुर अछुतो रहन नसक्ने हुनाले त्यही अनुसारको तयारीमा आफूहरू जुटेको जानकारी दिए । आएका पर्यटकलाई के-कसरी उच्चस्तरीय सेवा सुविधासहित व्यवस्थित गर्न सकिन्छ भन्ने कुरामा आफूहरू गम्भीर रहेको उनले बताए ।
सरकारले ल्याएको पर्यटक दशकको योजना आजभन्दा १० वर्ष अघि नै आउनुपर्ने योजना रहेको र यसलाई सफल बनाउन आफूहरूले सहयोग गर्ने उनले बताए । उनले जनकपुरधामदेखि सिन्धुलीगढी, दोलखाको भीमेश्वरसम्म लिंकअप गर्ने समेतको तयारी भइरहेको जानकारी दिँदै पर्यटन दशकका लागि उत्साह प्रकट गरे । उनले भने ‘एक पटक जनकपुर आइसकेका पर्यटकको बसाइँ लम्ब्याएर उनीहरूलाई केबलकार कसरी चढाउने भन्नेसम्म योजना बुनिरहेका छौँ ।’
अध्यक्ष शाहले सम्बन्धित निकाय, सर्वसाधारण र पर्यटनसँग सम्बन्धित सङ्घ-संस्थाहरूले एकापसमा समन्वय गरेर यसलाई सफल बनाउन अनुरोध गरेका छन् । साथै, जनकपुरधाम आएका पर्यटकका सेवा-सुविधाका लागि होटेल तथा रेस्टुराँहरूको क्षमता विकास गर्ने काम भइरहेको र कुनै पनि पर्यटकलाई कुनै किसिमको समस्या परेको खण्डमा बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा सम्पर्क गर्न उनले अनुरोध गरेका छन् ।
होटेल क्राउन मेचीका असिस्टेन्ट जनरल म्यानेजर निरञ्जन श्रेष्ठले भने योजना कार्यान्वयन हुनेमा शङ्का व्यक्त गरे । उनले भने, ‘सरकारले ल्याएको योजना योजनामै सीमित नहोस् !’ यद्यपि, सरकारले सार्वजनिक गरेको पर्यटक दशकको योजना कार्यान्वयन भएको खण्डमा यसबाट राम्रो प्रतिफल आउनेमा उनी विश्वस्त छन् । उनले कार्ययोजना राम्रो बनेकोमा खुसी व्यक्त गरे भने योजना कार्यान्वयनमा जान्छ-जाँदैन भन्नेमा आफू सशङ्कित नै रहेको जनाए ।
योजनाअनुरूप सरकारले प्रदेश नं १ मा पर्यटक आकर्षणका नयाँ गन्तव्यहरू खोज्नुपर्ने तथा भएका पर्यटकीय स्थलहरूलाई व्यवस्थित गर्नुपर्ने बताए । सरकारको योजनाअनुसार नै पर्यटक भित्रिएको अवस्थामा प्रदेश नं १ का पर्यटक व्यवसायीहरू तयार रहेको समेत उनले दाबी गरे । उनले भने, ‘योजनाअनुरूप पर्यटकको सङ्ख्या बढ्दै जान थाल्यो भने हामी पनि एकापसमा समन्वय गरी मागअनुसारका संरचनाहरू थप्दै जानेछौँ ।’
योजना कार्यान्वयन भए यसले थप रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनहरू खपत हुने हुँदा समग्रमा पर्यटक दशकको योजना राम्रो रहेको उनको भनाइ छ । साथै, बाह्य सँगसँगै आन्तरिक पर्यटक आकर्षित गर्न समेत सरकारले पहल गर्नुपर्ने आवश्यकता उनले औँल्याएका छन् ।
बाराही हस्पीट्यालिटी एण्ड लेजरका कर्पोरेट म्यानेजर राजकुमार के.सीले सरकारले ल्याएको पर्यटन दशकको योजना स्वागतयोग्य रहेको र यसले पर्यटन क्षेत्रमा आबद्ध सबैलाई प्रोत्साहन गर्ने बताए । यद्यपि, पर्यटकहरूको सेवा सुविधालाई ध्यानमा राखी संरचनाहरू विस्तार गर्न र भएका संरचनाहरूको क्षमता अभिवृद्धि गर्न भने आवश्यक रहेको उनको ठहर छ ।
उनले भने, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट लेकसाइड जाने बाटो निकै सानो रहेको र यसबाट पर्यटकहरूले असुविधा महसुस गरिरहेको पाइएकाले पर्यटकलाई प्रत्यक्ष असर पार्ने यस्ता कुरामा सरकारले ध्यान दिन आवश्यक छ ।’ साथै, योजनाअनुसार पर्यटकको सङ्ख्या वृद्धि भए उनीहरूलाई स्तरीय सेवा सुविधा उपलब्ध गराउन पोखराको पर्यटनसँग आबद्ध सबै तयार रहेको उनले जानकारी दिए ।
होटेल सेन्ट्रल प्लाजा, कोहलपुरका सेल्स एण्ड मार्केटिङ म्यानेजर राजेश पाठकले भने बाँके क्षेत्र सरकारबाट उपेक्षित भएको गुनासो व्यक्त गरे । उनले भने ‘पर्यटन बोर्डको ब्रुसरमा नेपालका प्राय सबै पर्यटकीयस्थल समेटिँदा बाँकेको नाम भने कतै भेटिएन ।’
सरकारले सार्वजनिक गरेको पर्यटक दशकलाई बाँकेको पर्यटनसँग सम्बन्धित सबैले सकारात्मक रूपमा लिएको र त्यसका लागि आवश्यक छलफल तथा समन्वय गर्ने तयारीमा रहेको पाठकले जानकारी दिए । उनका अनुसार आएका पर्यटकलाई गाँसबासको सुविधा दिन पर्याप्त होटेलहरू बाँकेमा छन् ।
पर्यटन व्यवसायी एवम सम्बन्धित क्षेत्रका अगुवाहरूले पर्यटन दशकको योजना कार्यान्वयन हुनेमा आशङ्का व्यक्त गरिरहेका बेला योजना कार्यान्वयनकाे जिम्मेवारी बोकेको पर्यटन विभागका कतिपय अधिकारीहरू योजनाबारे नै अनभिज्ञता प्रकट गरिरहेका छन् ।
पर्यटन विभाग, हाेटल शाखाकी शाखा अधिकृत राधिका गिरिले आफू यसबारे अनभिज्ञ रहेको बताइन् । आफ्नो अनभिज्ञता प्रस्तुत गर्दै उनले भनिन्, ‘यो मौखिक विज्ञप्ति होला, घोषणा भएको भएपनि नीतिमा आइसकेको छैन भन्ने बुझेका छौँ ।’
उनले अगाडि भनिन्, ‘सरकारको योजना अनुसारको कुनै पनि किसिमको कार्यक्रम या नीति आइसकेको छैन । यदि आइहालेको खण्डमा हामी तयारी अवस्थामा रहेका छौँ । पर्यटन विभागमा कार्य सम्पादनका लागि पर्याप्त जनशक्ति रहेको छ ।’ यद्यपि, पर्यटकको सङ्ख्या बढेसँगै त्यही अनुसारका सेवा सुविधासहितका होटेलहरूको सङ्ख्या तथा तिनको क्षमता बढाउन सरकारले ध्यान दिनुपर्ने र योजना बनाउनुपर्ने उनले औँल्याइन् । साथै, अहिले भइरहेका होटेलहरूको सङ्ख्या पर्याप्त नरहेको पनि उनको दाबी छ ।
नेपालको राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा सरकार परिवर्तन भएसँगै अघिल्लो सरकारले तयार पारेका योजनाहरूलाई डस्टविनमा मिल्काउने र नयाँ योजनाको तयारीमा लाग्ने चलन छ । जसका कारण योजना बन्ने र कार्यान्वयन नहुने शृङ्खला चलिरहन्छ । यसो हुँदा योजनाको निर्माणमा मात्रै राज्यको ढुकुटी रित्तिने गरेको छ । नेपालमा पर्यटनको अथाह सम्भावना रहेकोमा दुई मत छैन । र, यो नेपालको अर्थतन्त्रकाे महत्त्वपूर्ण र तुलनात्मक लाभकाे क्षेत्र पनि हो । पर्यटन क्षेत्रको पुनरुत्थान, विकास र प्रवर्द्धनका लागि ठोस योजनाहरू बनाएर अघि बढ्न जरुरी छ । यसका लागि सरकार, पर्यटन व्यवसायी र सम्बद्ध सबैले गम्भीर बन्न जरुरी छ । पर्यटनसँग सम्बन्धित ऐन, नीति तथा नियमहरूलाई परिमार्जन गर्दै युग सुहाउँदो र पर्यटन एवम व्यवसायमैत्री बनाउँदै लैजान आवश्यक छ ।
तर, यसरी नै योजना बन्ने र कार्यान्वयन नहुने क्रमले निरन्तरता पाइरहे नेपाल र नेपालीले ‘सुनको कचौरा बोकेर माग्न बस्ने र मागेरै खाने’ अवस्थाको अन्त्य हुनेछैन ।