बिहिबार , भाद्र २५, २०८३

ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने 

बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको पर्यटन नीतिको खाकामा 'ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने' उल्लेख छ । 

image

काठमाडाैं । बागमती प्रदेश सरकारले ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने भएको छ । बागमती प्रदेश सरकार, संस्कृति तथा पर्यटन मन्त्रालयले रायका लागि सार्वजनिक गरेको पर्यटन नीतिको खाकामा ‘ग्रामीण पर्यटनलाई पर्यटन व्यवसायको उपक्षेत्रको रूपमा अघि बढाइने’ उल्लेख छ ।

पर्यटन क्षेत्रको लाभलाई ग्रामीण तहसम्म पुर्‍याउन होमस्टेलाई एक प्रमुख माध्यमको रूपमा विकास गरिने भएको छ । जैविक कृषि तथा होमस्टेसहितको कृषि पर्यटनलाई बढावा दिने कार्यक्रम सञ्चालन गरिने पर्यटन नीतिको खाकामा उल्लेख छ ।

त्यसैगरी प्रदेश सरकारले घरेलु तथा हस्तकलाको प्रवर्द्धन गरी आयआर्जनको लागि बजारीकरणको सुविधा विस्तार गरिदिने भएको छ ।
नीतिको खाकामा भनिएको छ, “स्थानीय समुदायहरूद्वारा उत्पादित मौलिक परम्परागत हस्तकला तथा अन्य उपहार सामग्रीको बिक्री वितरणको लागि बजार व्यवस्थापनको उचित प्रबन्ध मिलाइने छ ।”

नयाँ पर्यटन नीतिको खाकाअनुसार ‘पर्यटकलाई आकर्षण गर्न सक्ने स्थान विशेषका स्थानीय कृषि उत्पादनमा विशेष सहयोग गरी बजारीकरणको सहजीकरण सरकारले गर्ने व्यवस्था मिलाइने’ छ ।

विकास प्रक्रियामा समेट्न नसकिएका महिला, मधेसी, दलित, आदिवासी जनजाति लगायतका विपन्न समूह समेतमा पर्यटन व्यवसायबाट प्राप्त लाभको बाँडफाँड गर्न समावेशी र सहकारीको माध्यमबाट उपयुक्त संरचनाको निर्माण र विकास गरिने भएको छ ।

त्यसैगरी स्थानीय उत्पादनलाई पर्यटन प्रवर्धनसँग आबद्ध गरी पर्यटनबाट प्राप्त  लाभलाई स्थानीय समुदायसम्म पुर्‍याउने प्रबन्ध मिलाइने भएको छ । साथै महिलाको नेतृत्वमा वा महिला समूहद्वारा सञ्चालन गरिने पर्यटकीय क्रियाकलापहरूलाई विशेष प्रोत्साहनसहित प्रवर्धन गरिने भएको छ ।

ग्रामीण क्षेत्रका पर्यटकस्थलबाट प्राप्त भएको आम्दानी निश्चित हिस्सा स्थानीय स्तरमा पर्यटन पूर्वाधार, वातावरण संरक्षण लगायत सामाजिक क्षेत्रमा खर्च गर्ने व्यवस्था पनि मिलाइने भएको छ ।

सम्बन्धित समाचार